अगि-अगि मलाई लेख, कविता, कितापहरू सबै द्यौताले लेखेका चिज हुन् भन्ने धारणा थियो । त्यसैले त्यसका कुराहरू सबै सही र मान्य छन् भन्ने विश्वास थियो । १८ वसन्त खाइसकेपछि बल्ल मलाई थाहा भयो, कितापहरू त मानिसहरू नै पो लेख्दा रहेछन् । किताप मानिसको कृति भन्ने थाहा हुनासाथै कितापका कुराहरूमा कीरा परेको मैले देख्न थालेँ, अर्थात् कितापका कुरा पनि काँचै कुरा भन्ने मलाई लाग्यो । नत्र म कितापका कुराहरू जम्मैका जम्मैजसो श्रद्धापूर्वक मान्दथे । पछि कितापका जुन पनि कुराहरू मान्नमा म साह्रै कन्जूस र अनुदार हुन थालेँ । अनि मलाई मानिसहरूले लालबुझक्कडको उपाधि चढाएर हँस्सी गर्न थाले । लालबुझक्कडको उपाधि मलाई बडै तीतो लाग्थ्यो । त्यसैले मैले कितापको कुराहरूका बारेमा केही पनि नबोल्ने विचार गर्न थालेँ, र भित्रैभित्र म आफैं पनि कितापका लेखक किन नबनूँ भनेर इखिन थालेँ ।
सबभन्दा पहिले किताप हेर्न चाख लगाएको शहीद श्री शुक्रराज शास्त्रीको ‘स्वर्गको दरबार’ ले हो । त्यो किताप ज्यादै व्यावहारिक, सामयिक, सामाजिक र सरल भएको हुनाले बिघ्नै घत लागेको थियो । दुई-तीनचोटि मैले दोहोऱ्याएको थिएँ र त्यसले मलाई धेरै कुरामा कुतकुत्यायो । तर त्यो पनि मैले द्यौताले नै लेखेको पुस्तक मानेको थिएँ । त्यसपछि शायद त्यही सालमा होला श्री बालकृष्ण समजीको ‘मुटुको व्यथा’ हेर्ने सौभाग्य पाएको थिएँ । त्यो नाटक रहेछ । श्री ३ महाराजको जन्मोत्सवको उपलक्ष्यमा आधा मोलमा दिएको हुनाले भद्रकालीहाउसबाट किनेर ल्याएको थिएँ । तर सो नाटक मैले त्यस वेला पटक्कै बुझ्न सकिनँ । त्यो भन्दा अगाडि त्यति बुझ्न गाह्रो किताप हेरेको पनि थिइनँ । त्यसले मलाई गाह्रै किताप हेर्न र बुझ्न पर्छ भन्ने पूरा प्रेरणा जगाइदिएको थियो । तर स्तर बढाउने हेतुले त होइन, साथीहरूको बीचमा बुज्रुक बन्न पाउने विचारले मात्र हो । बुज्रुक बन्ने अहं उम्राइदिएकोले सो किताप बुझ्नलाई पढ्न म निकै घचेटिएको थिएँ । २,३ चोटि गढेर पढेँ, तर टाउकोमा भएभरका गिदी उचालेर बुझ्न बल गर्दा पनि सार केही भेट्टाउन सकिनँ । यसैबीच मैले भानुभक्तको ‘सुन्दरकाण्ड रामायण’ र लेखनाथजीको ‘ऋतु-विचार’ पनि पढेको थिएँ ।
यी सब भए तत्किञ्चित् कुनै ठोस विषयका किताप हेर्ने प्रेरणा आएका कुराहरू । यस्ता विशिष्ट पुस्तकहरू हेर्ने प्रेरणा कसरी आउन सक्यो, यसबारेको इतिवृत्त बताउनु पनि मैले कर्तव्य ठानेको छु ।
साँच्चै भनूँ भने मलाई हेर्न डोऱ्याएको इन्द्रजाल र त्यस कोटिका कितापहरूले हुन् । यस किसिमका कितापहरू मैले निकै हेरेको थिएँ । तर थोत्रा भए तापनि यी पुस्तकहरूको घोक्रयाइँबाट असलै ठाउँमा पछारिन गएछु, किनभने यिनबाट किताप हेर्ने अभिरुचि बढेको हो । यस किसिमका कितापहरू मैले किन हेर्न चाहेको भने प्रायः रोगी हुनाको कारण केटाकेटीमा म अलि दुर्बल थिएँ । दमथरी केटाकेटीमा म सबभन्दा कमजोर थिएँ । त्यस वेलाको केटाकेटीहरूको युगमा अहिलेजस्तो शिक्षाको प्रचार थिएन । छोरा पाउनु देश र समाजको निर्माण गरेर सृष्टि र संसार सुन्दर पार्नाका निम्ति हो । तर आफूले रत्ती सुकर्म नगरीकन छोराबाट पिण्डदान पाएर सुगति पाउने धारणा त्यस बेलासम्म पनि प्रबल थियो । त्यसैले शिक्षा-प्राप्तिमा समाज र सरकारबाट समेत विशेष ध्यान नदिइएकोले मेरो पालाका केटाकेटीहरू बढ्ता बरालिएकै थिए । स्थितिअनुसार त्यस बेला केटाकेटीमा लड्नु, झगड्नु, कुस्ती खेल्नु इत्यादि बदमासी कामकै बोलबाला थियो । आफू भने रोगको कारण जहिले पनि चुत्थो ।
एक दिन म एउटा किताप हातमा लिएर एउटा जङ्गीसेल पसलसँगैको पाटीमा बसिरहेको थिएँ । एक जना साथी आएर मेरो हातमा रहेको किताप ६ पैसामा किन्ने अफर गर्यो । च्वाइँ-च्वाइँ पाकिरहेको जङ्गीसेलले मलाई बोलाइरहेको थियो अनि भित्र खाऊँ खाऊँको आन्दोलन चलिरहेको थियो । बस त्यस मौकामा हातमा आएको छ पैसा गुमाउने मूर्खता किन गर्ने ?
त्यस बेला कितापको गणना के हुन्थ्यो ? तुरुन्त मानिहालेँ र ६ पैसाको तात्तातो जङ्गीसेल किनी खाइहालेँ । भोलिपल्ट त त्यो साथी आएर “लौ तेरो किताप मलाई मन परेन, मेरो ६ पैसा फिर्ता दे” भन्न थाल्यो । मैले दिन सकिनँ । तुरन्तै ‘डबल’ भनेर १२ पैसाको असामी बनाइहाल्यो । अझ यो पनि घोषणा गर्न थाल्यो कि भोलि दिनभरमा तिरिनस् भने फेरि डब्बल । दिनदिनै यस्तै डब्बल गर्दै गर्दै तिरिनसक्नु साहू त्यसले मेरो काँधमा बोकाइदियो । फेरि जति तिरे पनि उ ऋण नहुने, तिरेको जति कट्टा गरी बाँकीको डब्बल गर्ने । त्यसले यहाँसम्मको अचाक्ली गर्न थाल्यो कि जहाँ भेटे पनि आङमा खानतलासी गर्थ्यो र खल्तीमा केही नभेटेमा लाइराखेको टोपी, मोजा, पटुकासमेत पनि फुकाल्न लगाई उसको इच्छाअनुसार “टोपीको यति पैसा, पटुकाको यति पैसा” भनी मोल राखी जम्मामा कट्टा गरी बाँकीको दोब्बर गर्थ्यो । त्यसका यही अत्याचार र आफूले पछार्न नसक्ने अरू साथीहरूको बलात्कार खपिनसकेर मैले उनीहरूलाई मार्नाको निम्ति ‘इन्द्रजाल’ आदि किताप हेर्न थालेको, किनभने ती कितापहरूमा ‘शत्रुमारण मन्त्र’ आदिको उल्लेख हुन्थ्यो । त्यसमा उल्लेख गरिएका बूटीहरू थाहा नपाएर त्यसको अर्थको निम्ति ‘बूटीकोश’ हरू पनि खूब हेर्न थालेँ । कोश हेर्न प्रेरणा त्यसैबाट मैले पाएको थिएँ ।
यसैबीच मैले प्रेम-साहित्य पनि खूब हेरेँ । म प्रायः मानिसहरूको प्रवृत्ति वा झुकावसित नमिल्ने वा अपवाद भए कुन्नि, नत्र मेरो अनुभव बताउँछ कि मानिसहरू केटाकेटीदेखि नै यौन भावनाबाट प्रेरित छन्, अर्थात् यौन-कामना पूर्ण गर्ने सामर्थ्य नभए तापनि अथवा त्यस बाटोमा गमन गर्ने खास इच्छा नभए तापनि मानिस यौन भावनाबाट त प्रेरित छन् कि भन्ने मलाई विश्वास लाग्दछ । त्यसलाई म जिन्दगीको स्वस्थता पनि मान्ने धृष्टता गर्दछु । मानिसमा त्यस्तो भाव नउठ्नु महात्मत्वभन्दा पनि पुंसत्वविहीनता अथवा शारीरिक अस्वस्थताको चिह्न होला भन्ने मलाई लाग्छ । अँ, त्यसमा संयम नराख्नु भने अवश्य पशुता हो ।
मैले बताउन लागेको कुरा के भने म १२,१३ वर्षको हुँदा पठितसम्म थिइनँ, तर साक्षर त भइसकेको थिएँ । हस्तलिखित र मुद्रित दुवै किसिमका हरफहरू राम्रै बाच्न सक्तथेँ । त्यस वेला अरू थोकभन्दा गीत अनि गीतमा पनि प्रेम-गीत पढ्न, बाच्न, सार्न मलाई निकै चाख लाग्थ्यो । प्रेमको गीत भएका पुस्तक-पुस्तिकाहरू खोजी खोजीकन खूब रमाएर पढ्दथेँ । प्रेम-गीतको साथै प्रेमदोहा पनि निकै रसाउँथे । यस्ता किसिमका कितापहरू खोज्दा तोतामैनाको किताप भेटिँदा म निकै सन्तुष्ट भएको थिएँ । तोतामैना कतिचोटि दोहोऱ्याएको थिएँ ।
प्रेम-गीतमा चुम्बिकिएर यौवनिरहेको दिल प्रेम-पत्र हेर्नमा चकचकिन पुग्यो । अनि प्रेम-पत्रकै पुस्तक वा प्रेम-पत्रले सुशोभित कहानी, उपन्यासहरूको खोजी गर्न थालेँ । प्रेम-गीत र प्रेम-पत्रको प्रबल प्रेरणाको कारण त्यस कोटिका कितापहरू निकै हेरिए । यसले गर्दा आफू जवान नहुँदैका जवानीका सर्जाम सबै जुटिइसकेका थिए । तर चढ्दो जवान भइसक्ता भने तरुणीको तर्फबाटै प्रेम गीत वा प्रेम-पत्रमा सम्बोधन गराउने अर्धेल्याइँमा पर्खेरै जवानी ओइलायो । आफू अर्घेलो भएर कोही युवतीलाई प्रेम-गीत छेड्न वा प्रेम-पत्र पठाउनमा मेरो अभीच्छा कहिल्यै साहसी हुन सकेको छैन । किनभने भलादमी बन्ने लोभले पनि मेरो भित्र निकै घर गरेको थियो । इच्छा पुंसक भएर जवानी बलिष्ठ हुन नपाएकोले होला । संयमी, भलादमी र मानव बन्ने शिक्षा-सङ्गति केटाकेटीदेखि पाउने प्रबन्ध आर्थिक स्थिति कमजोर भएका कारण घरबाट नभएको र सरकारबाट नगरिएको हुनाले सभ्य बन्ने सौभाग्य नपाए तापनि शारीरिक निर्बलताको कारण दुस्साहसी हुनमा बल सञ्चय नभएको हुनाले मलाई खराब हुनबाट बचाइदिएको श्रेय मैले रोगलाई नै दिएँ । त्यसैले म रोगी भएर पनि अहिले सन्तोषी छु । नत्र हावापानी असलको कारण शरीर स्वस्थ भए तापनि जिन्दगी स्वस्थ हुने कुनै खास अवस्था हाम्रो देशमा थिएन र अझै पनि छैन ।
चन्द्रकान्ता, भूतनाथ र ऐयारी, तिलस्मी तथा जासूसी कितापहरूबाट पनि मलाई किताप हेर्ने प्रेरणा र प्रोत्साहन निकै मिलेको थियो । विशेष तत्त्व केही नभए तापनि सरल भाषामा यस्तै मीठो, चलाकी र चुट्किला कुराहरू भएका किताप हाम्रो भाषामा पनि हुनु म त बेस ठान्दछु, किनभने यिनबाट साधारण मानिसहरूलाई पुस्तक हेर्ने बानी गराउन घचघच्याइन्छ ।
यी सब भए कितापहरू पढ्ने हेर्ने प्रेरणा पाएका कुराहरू । अब लेख्ने प्रेरणा पाएको कुरा बताउँछु मेरा पिताज्यू अलि राम्रो चिट्ठी र बिन्तीपत्र लेख्नुहुन्छ । उहाँको जस्तो राम्रो लेख्ने ईर्ष्या मलाई खूब थियो । पिताज्यूले एकाध चिट्ठी लेख्ने बेहोरा पनि सिकाइदिनुभएको थियो । त्यसैको आधारमा र उहाँले लेख्ने चिट्ठी प्रायः हेरेर म निरक्षरहरूको चिट्ठी खूब लेखिदिन्थेँ र स्याबासीको प्रोत्साहनले अगाडि बढ्थेँ । आफ्नी कोही प्रेमिका नभए तापनि साथीहरूको प्रेम-पत्र पनि म खूब लेखिदिन्थेँ, त्यसबाट पनि लेख्ने कुतकुती केही बढेको थियो ।
खास लेख लेख्ने प्रेरणा आएको चाहिँ आफ्नो नाम बदल्नाले र ‘शारदा’ पत्रिकाको प्रकाशनले हो । मेरो नाम अगि चन्द्रप्रसाद थियो । यही नामबाट म अगि आफ्नो संसारमा जाहेर थिएँ । चन्द्रप्रसाद नाम धेरैको भएर त्यो नाम मलाई साह्रै घीन लाग्यो र बदल्ने ताकमा म लाग्न थालेँ ।
त्यसै ताकमा ‘शारदा’ मासिक पत्र निस्किरहेको थियो । संयोगवश एक जनाको हातमा ‘शारदा’ देखेँ । त्यस बेला मलाई पत्रपत्रिका भनेको कुन चराको नाम हो, थाहा थिएन । त्यसमा धेरै जनाको नाम देखेर मैले ती मानिससित सोधेँ – “यी नामहरू किन लेखिएका ?” उनले जवाफ दिए, “यी सबै लेख लेख्नेहरूका नाम हुन् ।” मलाई हौसला र साथै झौंक उठ्यो अनि मैले भनेँ – “त्यसो भए मैले लेखे मेरो पनि नाम रहन्छ त ?” उनले भने- “जरूर” । उनी अलि समझदार थिए । अनि मैले भनेँ – “म मात्रै किन लेख नलेखूँ, लेखेर यसमा दिन्छु ।” त्यस दिनदेखि लेख लेख्ने धुन सवार हुन थाल्यो ।
नाम बदलेर नयाँ नाम प्रचार गर्नाका निम्ति लेखद्वारा नामकरण गर्न खोजेकाले पनि लेख लेख्ने हिम्मत बढ्ता बढ्यो । नामको अजमायश गर्दा-गर्दा ‘हृदयचन्द्र’ पत्ता लाग्यो । यो नाम ज्यादै राम्रो लाग्यो । अनि त झन् लेख लेख्न हडबडाएँ । कैयन् महीना टाउको फोड मिहिनेत गर्दा-गर्दा बल्ल आफूलाई सन्तोष भएको एउटा ‘भ्रातृ-स्नेह’ भन्ने लेख तयार भयो । लेख के हुन्थ्यो ? दाजु-भाइमा प्रेम हुनुपर्छ भन्ने कुराका शब्दको जमघट थियो । तर त्यसताक लेखकको अभावले पत्र भर्न सम्पादकलाई बिघ्नै धौ-धौ भइरहेको वेला हुनाले मेरो थोत्रो लेख पनि सम्पादकजीलाई गनिमत भयो । प्रोत्साहन ज्याला दिएर साहित्यिक रथ तान्नुपर्ने अवस्था थियो, २/४ शब्दमा टाईटुइँ गर्न सक्ने मानिसलाई पनि ठोकठाक गरेर लेखक बनाउन पर्थ्यो, त्यसैले मेरो मखण्डी लेखलाई पनि उहाँले स्थान दिनुभयो । बस लेख छापिँदा मेरो हौसलाको सीमा रहेन । अनि पढ्न-सढ्न छाडेर पनि दिनदिनै कागजमा कलम कोर्न समाधि कस्न थालेँ ।
दुइटाजति लेख लेखिसकेपछि कविता रच्ने धुन सवार भयो । त्यस बेला कवितामा श्री लेखनाथजी र श्री बालकृष्ण समजीको नाम प्रख्यात थियो । उहाँहरूमा मेरो श्रद्धा पनि ज्यादै थियो । समजी राणा बाबूसाहेब हुनाले सिकाइ माग्न जाँदा पनि दण्डको भागी हुनपर्ने डर थियो । त्यसैले उहाँछेउ जान साहसै भएन । अनि श्री लेखनाथजीको एउटा चेला भेट्टाएर उहाँछेउ पुगेँ । त्यस बेला आफ्नो रूपरेखा नै पनि हुल्याहा र उरन्ठेउला जस्तो भएको र फेरि पढाइको नाममा फुट्टी केही नभएको देखेर मबाट कविता तयार हुने नदेखी लेखनाथजीले टाउको हल्लाएर पठाउनुभयो । अनि त कोहीसित सिक्न जान नै झन् डर भयो । हुन पनि चेला बन्ने सामानसम्म पनि त्यस वेला आफूसित केही थिएन । कसैले “ह्रस्व-दीर्घकै पत्ता नभएका घुसीले लेख लेख्ने भन्ने किसिमको छेड पनि हान्न थाल्यो । तर वास्तवमा सब कुरा ठीकै थियो ।
आफूमा केही गुण नभएर पनि के लाग्यो लेख लेख्ने सङ्कल्प र इच्छाले भने निरन्तर धकेल्न थाले । अनि केही नलागेर ‘पिंगल-प्रबोध’ र ‘अलंकारचन्द्रिका’ भन्ने दुइटा पुस्तक खूब हेर्न थालेँ, तर कैयन्पल्ट दोहोऱ्याउँदा पनि कति बुझ्न सकिनँ । तैपनि हिम्मत नहारीकन हेर्दै, कोशिश गर्दै गरेर बल्ल बल्ल ‘विनय-पुकार’ भन्ने एउटा कविता तयार गरी छपाउन दगुडेँ । ‘शारदा’ का सम्पादकजीले त्यसलाई पनि स्थान दिनुभयो । अनि गद्य र पद्य दुवैमा हौसला बढ्यो । शुद्धाशुद्धिको निम्ति त्यस वेला निस्किरहेको ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ पुस्तिकाले नपुगेर कोशका कोश पल्टाई शब्दका रूप-रेखा पत्ता लगाउँदा आफ्नो निम्ति शुद्धाशुद्धिको एउटा सजिलो र फुट्टै जानिने व्याकरण पनि तयार गरूँ भन्ने हिम्मत बाँध्न थालेँ । १० वर्षपछि ‘शब्द-शुद्धि-विज्ञान’ त्यसैको अनुसन्धानमा तयार भएको हो ।
अलि राम्रो किसिमका लेख लेख्न सक्ने भएँ भन्ने बुज्रुकहरूबाट सिफारिश पाउन थालेपछि साहित्यका विभिन्न विषयमा लेख्ने कुतकुती भयो र खण्डकाव्य र महाकाव्यबाहेक फन्डै जुन पनि विषयमा हात हाल्न पनि थालेँ । पछि आएर मलाई पद्य-कविताबाट विरक्तिएर गद्य-कविता लेख्ने धुन सवार भयो । गद्य-कविताको प्रेरणा मलाई श्री भीमनिधिजीको ‘प्रेमको परिणाम’, ‘समदृष्टि’ र ‘निस्वार्थता’ ले निकै दिए, अनि गोपालप्रसाद रिमालका गद्य-कविताहरूबाट । त्यस्ता कविता लेख्ने लोभ मलाई खूबै भइरहेको थियो अनि धेरै पछि श्री विजयबहादुर मल्लले गद्य-कविता लेखी मलाई सुनाउन आइरहनुहुने हुनाले पनि गद्य-कविता लेख्न म साह्रै कुतकुतिएँ, र लेख्न पनि शुरू गरेँ । लेखनाथजीको शब्दलालित्य, समजीको भावगाम्भीर्य, देवकोटाजीको शाब्दिक छमछम र सिद्धिचरणजीको सरल गाम्भीर्यबाट पनि म निकै प्रेरित भएर अनुकरण गर्न खोज्दैछु । अहिले श्री केदारमान ‘व्यथित’ र श्री माधवप्रसाद घिमिरेका वार्णिक र मातृक छन्द-सौन्दर्य देखेर पद्य-कविता लेख्नमा पनि कुतकुतिरहेको छु, तर प्रयास गरेको छैन । गद्यमा श्री रुद्रराजजीको ‘रूपमती’ र श्री शिवप्रतापशमशेर थापाका ‘दुर्गेशनन्दिनी’ र ‘शैव्याहरिश्चन्द्र’ बाट पनि प्रेरणा पाएको छु ।
अहिले मलाई सबभन्दा बढ्ता निबन्ध लेख्नमा सोख छ । तर यसको प्रेरणा मैले अरूबाट पाएको नभई आफ्नै आफू बितेका कुराहरू उन्न खोज्ने चेष्टा गरी निबन्ध बनाउन खोजेको मात्र हो । यस्ता निबन्ध लेख्न चाख बढेको ‘मेरो नयाँ कलम’ र ‘म अर्को जुनीमा पनि पुड्को बनूँ’ भन्ने निबन्ध लेखेदेखि हो ।
(सिंहको निबन्धसङ्ग्रह ‘कुरा साँचो हो’बाट ।)

