‘म भोलि तिम्रो पैसा ल्याइदिन्छु ।’
भइहाल्यो, पर्दैन । कामै नगरी पैसा लिन मेरो नैतिकताले मानेन ।’
त्यसभन्दा बढ्ता केही भनिनन् उनले । सरासर गइन् । मतिर फर्केर पनि हेरिनन् । बरू, मैले नै उनी गएतिर धेरै बेरसम्म हेरिरहें । हावा चलिरहेको थियो । शङ्करदेव क्याम्पस परिसरका रूखका पात मज्जाले हल्लिरहेका थिए । त्यही हावामा तैरिरहेको थियो मेरो, साथीको र उसको नैतिकता । एउटा विशाल प्रश्न बनेर ।
मलाई मेरो साथीले त्यसरी धरापमा नपारिदिएको भए यो प्रश्न यसरी यातना भएर मेराअगाडि उपस्थित हुने थिएन ।
पहिलोपल्ट अमेरिकाबाट ऊ पिताको मृत्युमा आएको थियो । तीन-चार वर्ष भइसकेको थियो ऊ अमेरिका गएको । तर, पिताको मृत्युमा गाई दान गर्ने पैसा पनि थिएन ऊसित । मसित भेटिंदा लामो सास फेरेर भनेको थियो, ‘अमेरिका बस्दैमा कहाँ पैसा हुन्छ र ! श्रीमती बिरामी भइरहन्छिन् । काममा जान सक्दिनन् । म एउटाको कमाइले अपार्टमेन्टको पैसा र अरू महिनावारी खर्च धान्न पनि गाह्रो हुन्छ । क्रेडिट कार्डको लिमिट पनि नाघिसक्यो । म त अमेरिकामा पनि ऋणमा छु यार ।’
आफ्नो उमेर मिल्ने श्रीमतीलाई बिहे गरेको एक-डेढ वर्षमै छाडेर उसले आफूभन्दा निकै जेठी एकल महिलासित विवाह गरेको थियो । विवाह पनि के भन्नू । बस्, सँगै बस्न थालेका थिए र अनमेल सम्बन्धका सारा समस्यासित जुझिरहेका थिए । पारिवारिक रूपमा ऊ सबैबाट बहिष्कृतजस्तै भएको थियो । मसितको भेटमा ऊ पटक-पटक आफूले दोस्रो विवाह गरेर गल्ती गरेको कुरा भन्थ्यो । तर, अब त्यो गल्ती सच्याउन सक्ने स्थिति थिएन । भए । कसोकसो अमेरिका जाने मौका पाए उनीहरूले र नेपालबाट पलायन भए ।
बाबुको काजकिरियामा आएको निकै वर्षपछि ऊ फेरि नेपाल आयो । काठमाडौमा बैनीको डेरामा बस्यो । यस पटक उसले केही रकम जोगाएर ल्याएको थियो । मसित भेटमा भन्यो, ‘यार, तिमीलाई सबै कुरा थाहा छ । तिमीसित के कुरा लुकाउनू । स्वास्नी बूढी भई। उसित शारीरिक सम्बन्ध बडो कष्टकर हुन थाल्यो। म त एकदम पीडित भएँ। अमेरिकामा पैसा तिरेर कलगर्लहरूसित शारीरिक सम्बन्ध राख्न हामी नेपालीको कमाइले भ्याउँदैन । यस पटक केही पैसा जोगाएर ल्याएको छु । मोज गर्नुपर्छ यहाँ ।’
उसको यौन कुण्ठा अनुहारमा झल्किरहेको थियो । अनमेल सम्बन्धको दलदलमा भास्सिएपछिका सारा पीडा उसको व्यक्तित्वमा समाहित भएका थिए । ऊ तरोताजा देखिएको थिएन । जीवनका सबै उत्साह समाप्त भएझै ऊ निराशाका कुरा नै गरिरहन्थ्यो। भन्थ्यो, ‘मेरो त अमेरिकामा पनि साथी छैनन् । काम गर्ने ठाउँमा पनि सबैसित झगडा भैरहन्छ ।’
साथी कसरी हुन्थ्यो ! घरमा आमाकी उमेरकी श्रीमती थिइन् र यो कुरा ऊ त्यहाँ पनि सबैबाट गोप्य राख्न चाहन्थ्यो । त्यसैले कसैलाई आफ्नो घरमा ल्याउँदैन्थ्यो र श्रीमतीलाई लिएर कसैकहाँ जाँदैन्थ्यो पनि ।
एक दिन मलाई भन्यो, भोलि दिनभरिका लागि एउटी केटी खोजी देऊ ।
नगरकोटमा होटल चलाएर बसेका एक जना मित्रका बारेमा अर्का मित्रले भनेका थिए, ‘ऊसित दर्जनौ केटी सम्पर्कमा छन् ।’
अनि मैले नै नगरकोटका मित्रलाई फोन गरें। अमेरिकाबाट फर्किएका मित्रको आवश्यकताका बारेमा पनि लाजै पचाएर भनिदिएँ । उनी हौसेर एउटा टेलिफोन नम्बर दिए ।
फोनमा कुरा भयो । भोलिपल्टका लागि भेट्ने समय पनि निर्धारित भयो । सोधिन, साडी लगाएर आऊँ कि सख्याल र्स्था ? कि पाइन्ट लगाएर आऊँ?
तिमीलाई जे सजिलो लाग्छ, त्यही लगाएर आऊ ।’
उसो भए म भोलि साडी लगाएर आउँछु। काम सकेर फर्कंदा साथीको बिहेमा जानु छ । त्यसैले साडी लगाएर आएँ भने मलाई फेरि लुगा फेर्न डेरामा आइरहनुपर्दैन ।’
त्यसमा मलाई आपत्ति हुने कुरै केही थिएन। मैले मानें । उनले फेरि भनिन्, मसित त साधन छैन । मलाई त शङ्करदेव क्याम्पसनिर आएर तपाईंले नै लैजानुपर्छ ।’
म त आउँदिनँ । तिमीलाई लिन मेरो एक जना साथी आउँछ । उसले ट्याक्सीमा लैजान्छ तिमीलाई । म उसलाई तिम्रो नम्बर दिइराख्छु,’ मैले भने ।
त्यसपछि मैले मित्रलाई फोन गरे । फोनमा उसले मसित अनुरोध गर्यो, ‘यार, मसित बाइक छैन। तिमी नै उनलाई रानीवनसम्म ल्याइदेऊ । म त्यहीँ एउटा रिसोर्टमा तिमीहरूलाई पर्खिरहन्छु । प्लिज, मेरा लागि यति सहयोग गरिदेऊ ।’
भोलिपल्ट म शङ्करदेव क्याम्पसनिर गएँ । उनी निर्धारित समयमा निर्धारित रङ्गकै साडी लगाएर आइन् । उनलाई चिन्न गाह्रो भएन । रङ्ग कालो भए पनि उनी हिस्सी परेकी थिइन् । जीउडाल पनि राम्रै थियो । उनले लगाएको साडीचाहिँ अलिक सस्तो खालको देखिन्थ्यो । उनको कालो रोगनमा पहेंलो रङ्गको साडी खासै सुहाएको थिएन । तर, साडी भने उनले मिलाएर लगाएकी थिइन् । उनी त्यतैतिरका कुनै चल्तीका सङ्गीतकारको घरमा डेरा लिएर बस्दिरहिछन् । कुरै कुरामा भनिन्, ‘अब त्यो डेरा पनि सर्नुपर्ने छ मैले ।’
किन ?
घरधनी साहै बिग्रेका छन् । राति भयो कि रक्सी खाएर घरमा हल्ला गर्दै स्वास्नी कुट्छन् । रक्सी नखाएका बेला रातभरि हार्मोनियम बजाएर सुत्नै दिँदैनन् ।’
त्यसपछि प्रसङ्ग फेर्दै उनले सोधिन्, पैसा कति दिनुहुन्छ ?
‘तिम्रो रेट के हो ? तर, पैसा मैले दिने होइन । मेरो साथीले दिने हो, मैले कुरा स्पष्ट गरिदिएँ ।
पन्ध्र सय लिन्छु ।’
त्यो पैसा मेरो मित्रले दिने भएकाले मैले बार्गेनिङ गरिनँ ।
‘तर, म एक जनाभन्दा बढीसित सुत्दिनँ नि, बडो स्पष्ट स्वरमा भनिन् उनले । यसमा मलाई समस्या थिएन । उनलाई मैले साथीकै निम्ति खोजेको थिएँ ।
मेरो बाइकमा बसिन् उनी। कुनै गाह्रो काम त गरिरहेको थिइनँ मैले । तर, मित्रका लागि भनेर बडो अनैतिक काम गरिरहेको थिएँ मैले । त्यसैले उनलाई भेट्दा नै म आत्मग्लानिले अधमरो भइसकेको थिएँ ।
तिमी के गर्थ्यो ?’ मैले सोधे ।
हँ ?’ उनले कुरा बुझिनन् । मैले स्पष्ट गरें, ‘यो कामबाहेक अरू के गर्थ्यो ?
‘पढ्छु । पीकेमा बीए सेकेन्ड इयर । घर नगरकोटतिरै हो । यहाँ बैनी र म बस्छौं ।’
‘तिमीले यस्तो काम पनि गर्थ्यो भन्ने बैनीलाई थाहा छ त ?
‘खै, थाहा छैन होला । मैले मार्केटिङ अफिसमा काम गर्छु भनेकी छु । सधैं राति अबेरअबेर पुग्दा भने थाहा पाइसकी कि जस्तो पनि लाग्छ । तर, उसले केही भनेकी छैन । ऊ नर्सिङ पढ्छे । मैले नै पढाइरहेको हो उसलाई । बाआमाको हामीलाई पढाउने ल्याकत छैन ।’
सही-गलत के भनेकी थिई कुन्नि । तर, यही भनेकी थिई । मैले नपत्याउनु पनि ठीक थिएन । यहाँ कसैले पनि रहरले देह व्यापार गर्दैन ।
कुनै न कुनै समस्या र बाध्यताले नै उनीहरूलाई यस्तो पेसामा धकेलेको हुन्छ ।
पुतलीसडक, कमलादी, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे, बालाजु हुँदै रानीवनतिर लाग्यो मेरो बाइक । बाटोमा उनले सोधिन्, तपाईचाहिँ के गर्नुहुन्छ नि ?’
उसलाई ढाँट्नु जरूरी थिएन । मैले भनिदिएँ, ‘म लेखक है।
उनी खितित्त हाँसिन् र छक्क परेझै सोधिन्, ‘लेखक ?
त्यसपछि उनले नाम सोधिन्। मैले भनिदिएँ । मेरो नाम सुनेर एकछिन चुप लागिन् । त्यसपछि बोलिन, ‘नाम त कताकता सुनेजस्तै लाग्छ । फेरि भनिन्, ‘अस्ति नगरकोटमा एक जना लेखकले नै लैजानुभाको थियो मलाई ।
उनले लेखकको नाम भनिन र सोधिन, चिन्नुहुन्छ उहाँलाई ?
चिन्छु नि । खासमा उहाँले नै तिमीलाई लैजानु भनेर सिफारिस गर्नुभएको थियो ।’
मैले यथार्थ कुरा भनिदिएँ । उनले हाँस्दै भनिन्, ‘पहिला पहिला भलादमी मान्छेमात्र लेखक हुन्छ होला भन्ने लाग्थ्यो । तर, लेखकहरू पनि खतरा हुँदा रहेछन् ।’
म चुप लागे । व्यङ्ग्य थियो यो। सहे। मैले आफ्नो सफाइमा केही भन्न सक्ने स्थिति पनि त थिएन। म एउटी देहव्यापार गर्ने युवतीलाई आफ्नो बाइकमा राखेर साथीकहाँ पुन्याइदिँदै थिएँ । मेरो नैतिकता र सदाचारले मजाले मेरो मजाक उडाइरहेको थियो ।
बालाजुबाट अलिक अगाडि बढेपछि बाइक रोकें मैले । मलाई एक पटक साथीलाई फोन गरेर आफू बालाजुसम्म आइसकेको जानकारी दिनु उचितजस्तो लाग्यो । तर, साथीको मोबाइल उठेन । तीन-चारपल्ट पनि फोन नउठेपछि मैले साथीलाई ल्यान्डलाइनमा फोन गरें । साथीकी बैनीले फोन उठाइन् । फोनमा मलाई भेटेर बैनी खुसी पनि भइन् । नेपालगन्जमा साथीको घर जाँदा केही पटक देखेको थिएँ उनलाई । आज निकै वर्षपछि उनीसित फोनमा कुरा भएको थियो । केहीबेरको कुशलक्षेमपछि मैले साथीका बारेमा सोधे ।
खै दाइ, उहाँ त हिजो दिउँसोदेखि नै आइसेको छैन । मेरो त फोन पनि उठाउनु भएको छैन । केही काम थियो कि ?
ॐ त्यस्तो खासै काम त हैन चैनी । आज हामी भेटने कुरा थियो: मैले भने ।
उसो भए त आउनुहुन्छ होला नि ।
यतिन्जेल म झस्किसकेको थिएँ । अलिकति आत्तिएँ पनि । उनले बाइकपछाडिबाट सोधिन, ‘के भयो ?’
‘केही हैन ।’
मैले सामान्य हुने प्रयास गरे । फेरि सोचे साथी म भन्दा अगाडि नै रिसोर्ट पुगिसकेको हुनुपर्छ । किनभने देह सुखको व्यग्रता त उसैलाई थियो । मरिहत्ते त उसैले गरेको थियो । यस्तो सुनौलो मौका उसले किन छोड्थ्यो ।
साथीले भनेकै रिसोर्टमा पुगें । रिसेप्सनमा पुगेर सोधे। तर, साथी आएकै रहेनछ । त्यसपछि हामी दुवै साथीको प्रतीक्षामा रिसोर्टबाहिर कार्ल्सवर्ग लेखेको बडेमानको छातामुनि कुर्सीमा बस्यौं । समय बिताउनका लागि यताउताको कुरा गर्न थालें । कुराकानी गर्दा गर्दै थाहा पाएँ, केही महिनाअघिमात्र उनको इन्नोजमेन्ट भएको रहेछ । उनले उदास हुँदै भनिन्, ‘तर, बिहेको दुई दिनअघि केटाको घर गएर मेरो पुरानो ब्वायफ्रेन्डले मेरो र उसको शारीरिक सम्बन्ध पनि भइसकेको कुरा भनिदियो । बिहे रोकियो ।’
त्यसपछि उनले आफ्ना रूचिका कुरा गरिन् । उनले केही गजल पनि लेखेकी रहिछन् । सुनाइन् मलाई । मायाप्रीतिका सामान्य गजल थिए ती । तर, त्यसबाट पनि उनीभित्रको सिर्जनात्मक क्षमता भने झल्किन्थ्यो ।
एक घन्टा कुर्दा पनि साथी आएन । यसबीच धेरैपल्ट मैले उसको मोबाइलमा फोन गरिसकेको थिएँ । केहीबेरसम्म घन्टी बजिरहेकै थियो। तर, त्यसपछि उसको मोबाइल स्वीच्ड अफ भयो । मैले सोचें, बाटोमा आउँदा आउँदै ब्याट्री सकियो होला । यताउताका कुरा गरेर समय त बिताइरहेको थिएँ मैले । तर, मेरो व्यवहारमा असहजता आउन थालेको उनले पनि बुझिसकेकी थिइन् । सोधिन्, ‘खै त तपाईंको साथी ? अबेर भयो नि ।’
‘बाटोमा होला । मोबाइल पनि अफ भयो । तर, पक्कै आउँछ ।’
करिब दुई घन्टा भएपछि उनी झर्किन थालिन । म पनि लाचार थिएँ । साथी आउँदै आएन । मेरो अनुहारमा झल्किएको तनाव देखेर उनले भनिन्, ‘अरू भएको भए मान्दिनथे । जसका लागि आएको उसैका लागिमात्र मान्थे । हाम्रो पनि नियम हुन्छ नि त। तर, तपाईं लेखक हुनुहुँदो रहेछ । तपाईंसित मान्छु ।’
सरी, मसित पैसा छैन ।’
के रे ?’ उनी झर्किइन्, ‘अनि, खल्तीमा पैसै नराखेर केटीलाई यहाँ ल्याउने त ?
मैले आफ्ना लागि ल्याएको होइन तिमीलाई । उसैले भनेको थियो ।
यसरी धरापमा पारिदेला भन्ने त सोचेकै थिइनँ, मैले रून्चे स्वरमा जवाफ दिएँ ।
‘यसो भनेर कहाँ हुन्छ ? जिम्मेवारी लिएपछि तर्किन पाइन्छ ?
उनले यसरी तीखो कुरा गरेपछि मलाई त्यहीँ धुरुधुरु रुन मन लागेको थियो । तर, रोएर परिस्थिति सहज हुने कुरा थिएन ।
मलाई पैसा जसरी भए पनि चाहिन्छ ।’
तर, मसित उनलाई दिने पैसा थिएन । म लाचारीले भुइँमै भास्सिन लागेको थिएँ। म निकैबेर मौन भएँ। उनले भनिन्, ‘तपाईंको मोबाइल धरौटी दिनूस् मलाई। भोलि पैसा ल्याउनूस् अनि फिर्ता गर्छु ।’
म तयार भएँ । सिमकार्ड झिकेर मोबाइल सेट दिएँ उनलाई । त्यसपछि उनलाई फेरि बाइकमा राखें । केही नबोली बाइक स्टार्ट गरें । म आक्रोश आत्मग्लानिले एकसाथ रन्थनिएको थिएँ । म जुन बाटोबाट गएको थिएँ, त्यही बाटोबाट फर्किएँ। यतिन्जेल उनीसित बोलचाल भएकै थिएन । लैनचौर नाइपुगेपछि मैले सोधे, ‘साथीको बिहेमा जानु छ भन्थ्यौ । कहाँ छाडिदिऊँ ?
गिफ्ट किनिदिने पैसा भए पो बिहेमा जानू । जान्नँ अब ।’
उनले ठुस्स परेर जवाफ दिइन् ।
त्यसपछि म पुतलीसडक हुँदै शङ्करदेव क्याम्पसनिर आएँ । जुन बउँमा उनी भेटिएकी थिइन्, त्यहीँ बाइक रोकें । उनी ओर्लिइन् ।
रिसाउनु भयो मसित ?’ अलिक सहज भएर सोधिन् उनले ।
‘तिमीसित के रिसाउनू । साथीसित भने साहै रिस उठेको छ ।’
उनले गहिरिएर मेरो अनुहारतिर हेरिन् । खोइ, के सोचिन् कुन्नि । ब्याग खोलिन । ब्यागबाट मेरो मोबाइल झिकिन र मेरो हातमा राखिदिँदै भनिन, ‘लेखक हनुहुँदो रहेछ । तपाईंको मन दुखाइदिन मन लागेन । लैजानूस् आफ्नो मोबाइल ।’
मैले मोबाइल लिएँ । खासै अग्ली त थिइनन् उनी । तर, मैले उनलाई निकै अग्लो देखें । उनका अगाडि यतिबेला म बामपुड्के भएको थिएँ । ग्लानिको समुद्रमा निथुक्क भिजेको त्यही घडीमा मैले उनीसित भनेको थिएँ, ‘म भोलि तिम्रो पैसा ल्याइदिन्छु ।’
भैहाल्यो पर्दैन । कामै नगरी पैसा लिन मेरो नैतिकताले मानेन ।’
हो, यति भनेरै उनी गएकी थिइन् । मतिर हेर्दै नहेरी । म लाचार भएर उभिइरहेको थिएँ, उनी गएको हेर्दै । म, मेरो साथी र उनको नैतिकताको एउटा त्रिकोण निर्माण भएको थियो । त्यही त्रिकोणको बीचमा एउटा विशाल धराप निर्माण भएको थियो । म यतिबेला त्यही धरापमा परेको थिएँ । र, मेरो साथी गए राति डान्स रेस्टुराँका केटीहरूलाई हातपात गरेको अभियोगमा थुनामा परेको थियो ।
(नयनराज पाण्डेको कृति ‘यार’बाट)

