एकाएक मेरा आँसु बग्नथाल्छन् । म रुन थाल्छु र ऊ फुल्याउन थाल्छ । हामी दुवै फुलिन्छौं, अनि म सोध्छु, “ओ.पी. तेरो आत्महत्या के भएर असफल भयो रे ?” परार उसले मुसा मार्ने बिख खाएको थियो ।
—-
म रोएँ । मलाई भारतको, पटनाको छात्रावासको यस कोठामा रुनु पनि रहेछ ।
अघि-अघि पनि रुन्थेँ हुँला आमाको काख नपाएर, टाँसिने छाती नपाएर, सानु थाहा नपाउने हुँदा । थाहा पाउने भएर धेरै वर्षपछि फेरि रोएँ ।
किन रोएँ हँ ? कसलाई सम्झेर ? किन मेरो आँखा भनिने काँचका गुज्जा रसाए ? किन मेरो मुटु नामधारी रगत तान्ने फ्याँक्ने यन्त्रसमेत कल्पियो ?
मान्छे जन्मिनु पर्दा रुन्छ । मर्नु पर्दा रुन्छ । भेट्दा रुन्छ । छुट्टिँदा रुन्छ । हर्कमा रुन्छ । बिस्मातमा रुन्छ । हराउँदा रुन्छ । पाउँदा रुन्छ । मैले आफ्नो घर हराएँ । देश हराएँ । आफन्त हराएँ । पढाइ हराएँ, पाएँ, के ? कलम, रक्सी र नकार । हराउँदा त म रोएको थिएँ, पाउँदा रोइनँ । हराउनु र पाउनुबाट म धेरै अघि मुक्त भैसकेको थिएँ । म फेरि किन रोएँ ?
आँसुहरू जिन्दगीका नयाँ-नयाँ ढोका घच्घचाउँछन् । यी आँसुले नयाँ जिन्दगीको थालनी पो गरे कि ?
एक जुनीमा कति जिन्दगीहरू हुन सक्छन् ? के प्रत्येक पाइलो एक जिन्दगीको थालनी हो र दोस्रो पाइलो त्यस थालनीको समाप्ति ? के प्रत्येक मोड जिन्दगीको मोड हो ?
सम्भवतः हो ।
आँसुका गिर्खाहरू मेरो जिन्दगीमा मोड बनेर आए । मेरा आँखाबाट कमला, गिला आँसु निस्केनन् । कोपिला होइन, ढुङ्गेबगर बनेर ती आए पहाडी खोला बनेर तीमाथि बगे ।
रामेछापको मन्थली गाउँ ।
म घर छोडेर ओरालो झर्दैछु । मेरा आँखा बग्दैछन् । के म रुँदैछु ? के आँसु बग्नु रुनु हो ?
गोटादसेक घरको गाउँछ मन्थली शिखर । चार हजार फिट जति उचाइमा पर्छ । आधा कोस जति ओर्लनु छ तल उपत्यका, मन्थली बेंसी पुग्न अलिकति बेत हिंडेपछि तामाकोसी तर्ने ठाउँ आउँछ- मन्थली घाट, त्यो तरेर म पश्चिम लाग्नेछु काठमाडौँ । म पढ्ने काठमाठौं । म पढ्न काठमाडौँ पठाइँदै छु ।
बिदा हुने बेलामा आमालाई ढोग्न निहरिन्छु । आमा पछि हट्नुहुन्छ र भन्नुहुन्छ- ‘बिदा नलेऊ वा, विदा लिएर परदेश नलाग्नु… चाँडै….. आउनू ।’
बिदा लिएर हिँडेपछि हिँडेको हिँड्यै होइन्छ… बेपत्ता… म आमाको गोडामा टाउको बिसाउँन्नँ । फर्कन्छु । हिँड्छु । भरिया हिँडिसकेको छ । ओरालो म मृर्ग जस्तै फुट-फुट ओर्लंदैछु ढुङ्गाको थाप्लैथाप्ला टेकेर । ढुङ्गाका बीचको माटाका गिजा भलले बगाएको छ । म आमालाई फर्केर हेर्न सक्तिनँ । मेरो रुन जान्दै नजानेको मन रुँ-रुँ गर्न थाल्छ ।
तल्ला घरकी भाउजूले भन्नुभएको थियो- “तपाईं जानेहरूलाई के वास्ता ? तपाई हिँडेपछि आमा कति रुनुहुन्छ ।”
म गोठालो गएको थिएँ । भाउजू पानी भर्न आउनुभएको थियो । पात्ले पंदेराको ठूलो सालको रूख मेरो निम्ति बोधि वृक्ष हो, त्यसले मलाई जीवनमा पैलो पल्ट आँसुको अस्तित्व दियो, यहीँ मैले थाहा पाएँ मेरो निम्ति रुने आमा पनि हुनुहुन्छ ।
म आमा सम्झन्छु ।
खरूकीको पाखा सम्झन्छु । साल र सल्ला सम्झन्छु । सतीबयर काफल, ऐंसेलु, आट, धँगेरो, किन्दुक, शिरीषको वन सम्झन्छु । पात्ले पँधेरा सम्झन्छु । रमिते, लिसन पानी, केउरे पानी, ठूलो पात्लेमा गाई चराएको, बन्दुक बोकेर बरालिएको सम्झन्छु ।
मेरो आँखाअगाडि बढीमुहानको उठेको डाँडो छ । त्यहाँमाथि थानपति महादेवको थान छ । ती महादेव वैरा छन् रे । तिनीसँग कराएर वर माग्नु पर्छ रे । सुने भने मात्र मागेको दिन्छन् रे । कुमारीहरू लाजले केही माग्दैनन् । बच्चा पाउन इच्छुक गृहिणीहरू लाज पचाएर कराईकराई सन्तान माग्छन् । थानपतिले दिएका सन्तान यताहुँदी थुप्रै छन् । हाम्री आमाले सन्तान माग्नुपरेन । हामी तेह्र थान फटाफट जन्म्यौँ । तीनवटा दाजुहरू हुर्केनन् । साढे पाँच फुटभन्दा अग्ला, पैसट्ठी किलोग्रामभन्दा गह्रौँ हामी चार ज्यूँदा छौ, सग्ला छौ। आमा भन्नुहुन्थ्यो-सबै भन्थे, यस्ता छोराहरूकी आमा कस्ती भाग्यमानी होली ।
मेरा आँसु थामिएनन् ।
त्यो डाँडाको पश्चिमतिर भटौली खोलाको गहिरो र परसम्म लाम खोल्सो देखापर्छ । झन् पश्चिममा पकरबास डाँडा छ । अनि छ भर मैले उक्लनु पर्ने सान्नेको नाक ठोकिने उकालो । पकरबास माडीका खेतहरू ।
अनि तामाकोसी । … तामाकोसी … तामाकोसी । तामाकोसी मेरी प्रथम प्रेमिका हो । सप्तकोसीको यस शाखाले मलाई पैलो रोमाञ्च दिएको थियो । म यसलाई मन्थली गाउँ-बेंसीबाट आँखाले दिनभरि पिएर अघाउन्नँ । यससँग म दोहोरी गीत गाउँछु। पहाडी नदी सधैं चेतन हुन्छ । हेमन्त, शिशिर र वसन्तमा यसको पहिरन गाढा हरियो सङ्लो हुन्छ । देख्दै खाऊँ -खाऊँ जस्तो डुबूँ-डुबूँ बगूँ-बगूँजस्तो, उत्रूँ-उत्रूँजस्तो । ग्रीष्ममा मास्लो पत्र सेतो-सेतो हुन्छ । हिमाल नजिकै छ सिरानैमा, पग्लेर आइपुग्छ । पानी बढ्छ । चिसो पनि बढ्छ । लेक बर्सेको छ भने बढी कालो हुन्छ । गडतिर बर्सेको छ भने बढी रातो हुन्छ । होइन भने बर्खाभरि नै मैलो हुन्छ । कहिलेकाहीँ पहेंलो पनि हुन्छ । भेलको कोसीको रङ्ग कहाँबाट मुख्य भलवाढी आयो, त्यसमा भर पर्छ। लेकबाट बगेर मुढाहरू आउन थाल्छन् । गाउँ बगेको छ भने घरका थाम, निदाल, दलिन डुब्दै उत्रिँदै मुल्कैमुल्को कुद्छन् । हिमताल फुटेर पैरिएको छ भने बङ्गुर जत्रा माछा पाखामा आफलिन्छन्-ज्यादै धमिलो पानीमा बाँच्न नसकेर । … अनि, अनि बल्ल मूल फुट्छ । मूल फुट्न यति बिघ्न हुनुपर्छ । … मेरा आँखाको मूल एकाएक केही नभैकन कसरी फुट्यो ? शरद्को सङ्लो भेलजस्तो मेरो आँसु … ।
तामाकोसीसँग मेरो आत्मीय सम्बन्ध छ, यसमाथि मेरो हार्दिक अधिकार छ । मेरा पुर्खा यसैको काखमा डढे, मलाई पनि यसैको छेउमा आगो लागिमाग्ने धोको छ । मेरी प्रेमिका तामाकोसी ऊ त्यो डाँडाको कातकातै बगेकी छ, नाङ्गै सुतेकी छ । मेरा आँखा त्यसको पाउबाट थालेर त्यसको बाङ्गो-टिङ्गो शरीर जम्मै सुम्सुम्याएर सिउँदोसम्म पुग्छन् ।
सिँउदोपछाडि मेलुङ-चरिकोट जाने उकालो ठडिन्छ । उत्तरतिर जफेमालू डाँडाको थाप्लामा टार खेतका गराहरू । अनि गौरीशङ्कर र रोल्वालिङ हिमालहरू । पूर्वतिर गिद्धेको लेक । रनजोर खोलाको शिरको भीषण पहिरो-घ्याप्चे । अलि वर सालु देउराली । अनि सुकाजोर खोलाको शिर । अनि भालुखोप र हिलेपानी । त्यहाँबाट पनि अलि यतै पर्छ रामेछाप बजार ।
मेरो मुटुमा सम्पूर्ण दृश्यको नक्सा घुम्छ । ढुङ्गाको, माटाको, वनको, पहराको, खोल्साको, चराको, चिनेजानेका मान्छेको… अहँ म कैल्यै फर्कन्नँ मन्थली … कैल्यै पनि… बाँचुन्जेल अहँ… अहँ फर्कंदै फर्कन्नँ…।
घाट तर्न डुङ्गा चढ्छु । बा मलाई खर्च दिँदै भन्नुहुन्छ- ‘राम्ररी पढ्नु ।’ मैले कैल्यै राम्ररी पढिनँ । कलेजमा शान्तिले एक दिन सोधिन्- “सन्चो छैन ?”
“किन…?”
“अनुहार किन पहेंलो ?”
“रगत नभएर ।”
“सन्चो नभै नभै किन क्लास गर्नुपर्यो त ?”
केटा र केटी गरी हामी डेढ सय जति आइ.एस्सीका विद्यार्थीहरू एउटा क्लास सकेर अर्कामा जाँदैछौ । ऊ कुन्नि कताबाट कुन्नि किन मनिर आइपुग्छे । मलाई भनूँभनूँ लाग्छ- “म भोकै छु ।”
मैले आजसम्म कसैसँग यै एउटा कुरा भन्न सकेको छैनः भन्दिनँ । उसप्रति श्रद्धा जाग्छ । क्लास छाडिदिन्छु । यसै दिन भोकभोकै पढेर ठूलो मान्छे नहुने निधो गर्छु । हिजो बिहानदेखि म भोकै थिएँ । हिजो बिहान कुन्नि कसरी भात जुरेको थियो । हामी चार जना विद्यार्थीको भान्सा थियो । दुई जना दाजुहरू थिए, दुई जना भाइहरू थियौँ । दाजुहरू मेसका भान्से मात्र थिए, हामी भाइहरू भान्से र भाँडा माझ्ने नोकर पनि थियौँ । केही दिनदेखि चुल्हो बल्दैनथ्यो, हामी मागी खाँदैनथ्यौं, हामी इज्जतदार थियौं ।
हिजो साँझ म दश पैसाको भटमास खाएर सुतेको थिएँ । एकोहोरो आङको थिएँ । गहिरा आँखा झन् भासिएका थिए । त्यति बेलामा शान्तिभन्दा एक कप चियाको लागि कल्पिरहेको थिएँ ।
डेरा फर्केर म रोएँ ।
एक दिन भाइले भन्यो, “म घर छाडिदिन्छु ।”
म चुप लागिरहें।
सुनिरहें ।
मनले भन्यो, चार मैनाको पेट बोकेकी स्वास्नी बोकेर के एडभेन्चर गर्छस् ?
उसले मेरो मनको कुरा सुन्यो ।
“म ड्राइभरी गरेर पनि स्वास्नी पाल्न सक्छु,” उसले भन्यो ।
ड्राइभरी गरेर स्वास्नी पाल्ने साहस नभएर मैले स्वास्नी ल्याएको थिइनँ । बाबु, दाजुसँग पालीमाग्न स्वास्नी फकाउने मेरो सिद्धान्त थिएन ।
मैले केही भनिनँ ।
एकाएक ऊ डाको छोडेर रुन लाग्यो ।
म फुल्याउन लागें ।
र, म पनि रुन लागें ।
“मेरो घर भए म तँलाई जान दिने थिइनँ,” मैले भनें ।
‘घर भएको भए तँ यसो भन्ने थिइनस्’ उसको मनले भन्यो होला, सोचें ।
उसले घर त्यागिदियो । मैले घर समाएकै थिइनँ ।
अमाले भन्नुभो, “अरू आठ वर्ष बाँच्छु ।”
मान्छेका शरीरको खडकुँलामा जब यातना उम्लेर बाफ बन्दछ-त्यो आँसु बनेर चुहिन्छ । त्यस आँसुलाई रक्सी पनि भन्दछन् ।
मेरा बगेका आँसुका थोपा जब म भएको ठाउँ फेरि आए-ती रक्सीको नदीको रूपमा आए ।
जतिन्जेल मैले रक्सीको नदीमा पौडी खेलें, मेरा आँसु बगेनन् । बिखको ओखती बिख ।
मैले सोचेथेँ, त्रिभुवन विमानस्थलमा एभ्रोको ढोकासँगसँगै मेरो जिन्दगीमा एउटा पानु ढप्कियो र पटना विमानस्थलमा खुलेको त्यही ढोका सँगसँगै जिन्दगीको अर्को पानु उघ्रियो ।
रक्सी मैले काठमाडौँसँगै छाडिदिएँ । लामा दारी खौरें । साहित्यकारिता, पत्रकारिता जीवनको त्यो ढर्रा औरङ्गजेबले सङ्गीतलाई गाडेको जस्तो गरी त्यही गाडिदिएँ । फेरि विद्यार्थी हुने चेष्टा गरें । होस्टलमा बसें ।
पटनाले मलाई धेरै थोक दियो-ती चीजहरू जो समयले मसँग असमयमा खोसेको थियो युनिभर्सिटी, सँगै पढ्ने साथीहरू, विद्यार्थीजीवन । मेरो पटनाको पढाइ सकियो । फर्कने बेला आयो ।
उसले भनी, “म पनि जान्छु ।”
मैले भनेँ, “म तिमीलाई लैजान सक्तिनँ ।”
उसले भनी, “किन प्रेमको नाटक गर्यौ त ?”
मैले भनेँ- “प्रेम त तिमीले गर्यौ होला । मसँग प्रेम गर्ने हृदय छैन । मैले तिमीलाई राम्रो व्यवहार मात्र गरें ।”
काँचको भुइँमा बनेको ह्विस्कीको पाखेरीमा, मेरा चेतनाका केही माछाहरू सल्बलाउँछन् मेरा नजिकैका नाताहरू साथीहरू … ।
बिहान आठ बजे बिउँझिएँ। सोझै वारमा पुगें, हिजोको तुस मार्नु जरूरी थियो । एक्लै खान मन लागेन । बोतल बोकेर ओ.पी. सिंहको कोठामा पुगें । पर्सि उसले बिहारको लोकसेवा आयोगको अन्तिम जाँच दिनु छ।
“ओ.पी. बोतल फोर ।”
“न खा । न खा । मातेर के गर्छस् ? मातलाई त उत्रिनु छ, छ ।” ऊ उपदेश दिन्छः हरेक जँड्याहा उपदेश दिन्छ । म पनि कटुवाललाई यसै भन्थें । देवानलाई यसै भन्थें । वैद्यलाई यसै भन्थें ।
“पानी ल्याऊँ ?”
“पानी मिसाएर म रक्सीको बेइज्जत गर्दिनँ,” म भन्छु ।
ठूलो बोतल, दुई घुट्कामा ऊ आधा निखार्छ । कुर्सीमा बसेर रुन थाल्छ । ऊ मेरो पटनाको सबभन्दा नजिकको साथी हो ।
बाँकी आधा म निखार्छु र फुल्याउन थाल्छु ।
एकाएक मेरा आँसु बग्नथाल्छन् । म रुन थाल्छु र ऊ फुल्याउन थाल्छ । हामी दुवै फुलिन्छौं, अनि म सोध्छु, “ओ.पी. तेरो आत्महत्या के भएर असफल भयो रे ?” परार उसले मुसा मार्ने बिख खाएको थियो ।
“घरका मान्छेले चाँडै थाहा पाए,” ऊ भन्छ, “वास्तवमा मैले राति खाएर सुत्नुपर्ने दिउँसै खाएँ ।”
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट)

