साहित्यपोस्ट डट कम

क्लासिक कथा : एउटा अपराधको बकपत्र

क्लासिक कथा : एउटा अपराधको बकपत्र

“श्रीमान् ! अब मेरो अपराध प्रमाणित हुन कुनै कसर बाँकी छैन । यत्तिकै प्रमाणको भरमा तपाईं मलाई सबभन्दा ठूलो सजायँ छानेर दिन सक्नुहुन्छ । (र मलाई थाहा छ तपाईं त्यसो गर्नुहुन्छ पनि) किन्तु मौका मिलेकोले म आफ्नो केही भन्ने लोभ पचाउन सक्तिनँ । (किनभने यही मैले बोल्न पाउने आखिरी मौका हो ।)”

न्यायाधीशको अगाडि उभिएको अपराधीले त्यति भनेर आफ्ना प्रभावकारी आँखा दर्शकहरूको समूहमा घुमायो । त्यस जन-समूहमा उठेको माहुरीको घारको भुनभुनौँ स्वर अदालतको भव्य कोठामा गुन्जियो । अभियुक्तले आफ्ना आँखाबाट रोल्डगोल्डको पावरदार चश्मा उतारेर रुमालले पुछ्यो र फेरि आँखामा चढायो । उसको वजनदार स्वर फेरि एक पटक घन्क्यो “… त म एक पटक बिरामी हेर्न एउटा दरबारमा लगिएँ । हो, त्यो दरबार नै थियो आफ्नो वर्तमान सबै गुमाएको केवल भूतको अवशेष पुरानो वैभवको सम्झना मात्र काखी च्यापेर उभिएको । यसको सम्पूर्ण श्री राणा वंशकी राज्यश्रीको अस्तको साथै अस्ताएको थियो भन्ने कुरा त्यहाँका प्रत्येक गिर्खाले चिच्याई चिच्याई विज्ञापन गरिरहेझैँ लाग्दथ्यो । ठूलो क्याम्पभित्र पस्नासाथ दायाँ बायाँ चौर जहाँ रूखहरू, फूलका बिरुवाहरू र एउटा फोहोरासहितको तलाउ थियो तर ती सबै कुन युगदेखि तिर्खाएर भोकाएर रोइरहेका देखिन्थे- फूल र फलका बोट बिरुवा मालीको सुमार नपाएर सुकेका, फोहरा र निर्जीव पोखरी पत्कर जमेको सुख्खा । अनि उत्तर-परखालमा जोडिएको एउटा तबेला जस्तो देखिने टहराको पनि कैयौं गतिला थामहरू गायब थिए; त्रिखण्डी टायल उघारिएको र एकापट्टिको गाह्रो लडेको ।

म दायाँतिर घुमेको बाटो हुँदै मूल दरबारमा लगिएँ । त्यसको पनि कम दुर्दशा थिएन । अधिकांश झ्यालका ऐना उखाडिएका, ठाउँ-ठाउँका ईंट, बज्र र सिमन्टी उप्किएका र पोर्टिको अनि दरबारको पेटीमा ठाउँ-ठाउँमा झ्यासभुसका झाडीझैँ उम्रिएका । म एउटा अँध्यारो र ढुसी गन्हाउने भै-बैठकबाट एउटा कीरा र धमिराले ध्वस्त पारेको, हिँड्दा बुङबुङ धूलो झर्ने थोत्रो जीर्ण भऱ्याङ हुँदै दुई तला माथि लगिएँ । बाहिरको भन्दा भित्रको हालत कुनै रूपमा पनि राम्रो थिएन प्रायः सबै भनेजस्ता कोठा निर्जन र ड्वाङड्‌वाङती । तिनमा सात पत्र धूलो जमेको माकुराका जाला र झुत्रा कसिङ्गरले भरिएका यहाँको एकान्त र यी कोठाका पुराना गुफा थोडार झैँ अवस्था देखेर एक्लै दोक्लै र नौलो मान्छेको सातो कायम रहन मुश्किल थियो । म यस्तै अनेकौं भूतका डेराझैँ कोठाहरू हुँदै एउटा अलि गतिलो देखिने कोठामा पुऱ्याइएँ । हुन त यसको अवस्था पनि कुनै मुर्दाको अवशेषभन्दा बढी राम्रो थिएन, तर पनि अरू हेरी यसले वर्तमानमा पनि धुकधुकी सास फेरेको थाहा पाइन्थ्यो । चारैतिर भित्तामा झुन्डिएका जङ्गबहादुरदेखि लिएर सबै राणा भाइ खलकका जङ्गी पोशाक सहितका पुराना र मैला बड़े बड़े तस्वीरहरू थिए । कोठाको बीच सिलिङमा एउटा धेरै प्रीज्महरू झरिसकेको झाड, अनि ठाउँ-ठाउँमा राखिएका एक दुई चकटी, अनि पुराना जमानाका बुट्टादार स्प्रीडवाल गद्दादार मेच, काउच, आल्मिरा यदि सामानहरू आज पनि जमानाको सम्पन्नताको कथा भनिरहेझैँ लाग्दथे । मैले कोठामा पस्नासाथ केही सेकेन्डमै कोठाको सम्पूर्ण कुनाकाप्चामा आँखा पुन्याएँ- यो केही जीवित देखिने कोठाको पनि दुर्दशाको कुनै कसर बाँकी थिएन । भित्तामा टाँसेको फूल-बुट्टे कागत ठाउँ-ठाउँमा च्यात्तिएको देखिन्थ्यो अनि ठाउँ-ठाउँमा लिउनका पाप्राहरू कोतरिएर उप्किएर ज्यादै छ्याकटो अनुहार झैँ लाग्दथ्यो- एउटी बूढी ज्यापुनीको छ्याकटो अनुहारजस्तै ।

मलाई यस घरका यी सबै कुरासँग साक्षात्कार हुँदा कता-कता आफ्नो जवानीको सम्झनामा चाउरी परेका गालामा आज पनि निर्घात लाली र फा पोतेर हिँड्ने जुद्धशम्शेरको पालाकी द्वारे बूढीसँग सहवास गरेझैँ विरक्त लागेर आयो तर म त डाक्टर, मलाई बिरामी हेर्न लगिएको । मलाई अरू कुराको के चासो ! त्यसैले मैले आफ्ना आँखालाई पूर्व र उत्तरतिरको कुनाको पलङतिर लगाएँ । त्यसमा शिरदेखि पैतालासम्म गुम्लुङ्ग ओढ्नेले ढाकिएको एउटा मानिसको आकृति लमतन्न सुतिरहेको थियो तर यस आकृतिको जीवितको अस्तित्वको पनि उसले ओढेको ओढ्नेको बारम्बार उकास्सिने र सेप्रिने चालबाट मात्र अनुमान हुन्थ्यो । यसबाहेक अरू कुनै जीवनको चिह्नसम्म त्यस कोठामा थिएन ।

यस एकान्तको भयावह स्थितिले एक पटक मेरो मुटु ढक्क फुल्यो । म कहाँ ल्याइएँ ? मैले पछाडि फर्केर हेरें- मलाई ल्याउने नोकर गैसकेको थियो । म केही आत्तिएझैँ भएँ तर त्यत्तिकैमा पश्चिमतिरको ढोकाको पर्दा हल्लियो र त्यसबाट एउटी भव्य महिलाले कोठामा प्रवेश गरिन् । उनको अनुहार सफा, गोरो र भव्य थियो । उनको शरीरको परिधान ज्यादै सरल र साधारण अनि दुःख, चिन्ता र पीडाका पाइलाले असङ्ख्य डोरेटाहरू बनाएर छोडेको अनुहारमा केही मलिनता ल्याएको भए पनि व्यक्तित्व र चाल-ढालमा एउटा अनौठो भव्यता, एउटा दुर्दमनीय तेज फुट्दथ्यो । उनी ठाडो शिर र ठाडो छातीले कोठामा पसिन् । (यिनी उमेरमा निकै विलासी र निकै अभिमानिनी हुँदी हुन् ।)

“को डाक्टर ?” उनका आँखा कति तेजिला थिए- मानो तिनले मलाई घोचिरहेका थिए अनि उनको सोधाइमा एउटा हुकुमको रोब थियो । उनी रोगीको पलङ्गनजिकै गइन् र गम्लङ्ग छोपेको ओढ्ने झिकिदिइन् । अब मेरा आँखाअगाडि त्यस अचेत सुतिरहेको रोगीको अनौठो व्यक्तित्व थियो । यस जमानाको मारले असङ्ख्य बुढ्‌यौली, कष्ट र पीडाका रेखाहरू छोडिदिएको यस व्यक्तिको व्यक्तित्व पनि कम भव्य र कम आतङ्ककारी थिएन । लामो उठेको नाक, चौडो निधार, पातला, राता ओठ, कठोर चिउँडो, विशाल कोसदार आँखा र गोरो रोगनमा बाक्ला तीलचामले जुघा- यी सब मिलेर उसको खान्दानी बडप्पन र व्यक्तित्वको भव्यताको साछी बकिरहेझैँ लाग्दथ्यो ।

म रोगीको नजिकै गएँ । उसको सास अल्कोहलको भारी बोकेर बडो कष्टसँग चलिरहेको थाहा हुन्थ्यो । मुटुको चाल पनि त्यति राम्रो थिएन । मलाई भान भयो यसको फोक्फाको केही भाग कडा रक्सीको आँचले जलिसकेको छ ।

“ज्यादा अल्कोहल लिनुहुन्छ क्यार !” मैले महिलाको अनुहार हेरें । उनको अनुहारमा तत्काल वेदनाका धर्साहरू कोरिएका र आँखा सजल भएर प्राएका देखिए ।

“के गर्नु डाक्टर, कत्ति भने पनि लाग्दैन, कत्ति गरे पनि लाग्दैन । के गरूँ, म त त्यसै आजित भैसकें ।…” बुढियाले भरिएको स्वरमा भनिन् । त्यो साँच्चै भित्र छुने खालको थियो । मेरो मनमा भित्रभित्र कस्तो कस्तो सहानुभूतिको भाव पैदा भयो । यी श्रीमन्तहरू र यिनका पहिलेका धाक रवाफ, मैले त्यहाँका पुरातात्त्विक अवशेषहरूमाथि एक पटक आफ्ना आँखा फेरि दौडाएँ । ठीक त्यसै बेला अधि ती महिला निस्केको ढोकाको पर्दा फेरि हल्लिएको देखियो र त्यसको अन्तरबाट दुइटा बडा-बडा चम्किला आँखाले झुलुक्क च्याएको देखियो । मेरो नसा एकै पटक झनन्न भएझैँ लाग्यो- कस्ता आँखा हुन् ती! मलाई घरीघरी त्यतै हेर्ने आवश्यकता अनुभव भयो- घरीघरी ती आँखाले मलाई बडो उत्सुकतासाथ हेरेझैँ भान भयो ।

“को … हेलेन ?”- महिलाले मेरो यांखाको अनुसरण गरेर तीखा आँखाले ढोकातिर हेरिन् । (यहाँ ती महिलाले लिएको नाम त अर्कै थियो । तर यहाँ त्यो वास्तविक नाउँ दिनु सट्टा ‘हेलेन’ नै भन्नु ठीक ठान्छु ।) महिलाको स्वर बोलीमा निस्कनासाथ पर्दा पूरै उम्रियो र ढोकामा एउटी जलपरीझैँ देखिने सुन्दर बालिका देखा परी । एउटी एघार बाह्र वर्षकी बालिका ? एउटा साधारण टोप्रेलको फ्रकबाट बाहिर च्याएका उसका सीपी जस्ता पिडौला, नाङ्गा पाखुरा र नाङ्गो गर्दन, अनि कालो बन्ड हियरले चारैतिर घेरेको सुडौल-बान्किलो र अति आकर्षक अनुहार सागरको माझबाट शिर उठाएर च्याउने मत्स्यकन्याको अनुहार भान हुन्थ्यो ।

ऊ आफ्ना माछा बान्कीका सुन्दर आँखाका कोसमा एउटा मोहक र अनौठो मुस्कान नचाउँदै आफ्नो अनौठो र जादू चालले भित्र पसी । यति बेला उसको अनिन्द्य सुन्दर मुहुडामा खेलिरहेको मुस्कान हिमालयको चुचुरामा खेलिरहेको झुल्के घामको मुस्कानझैँ मोहक देखिएको थियो । ऊ यति आकर्षक र मोहक लागिरहेकी थिई कि म एकदम सम्मोहित अवस्थामा जडवत् उसलाई हेर्न थालें । यो परी कन्या भयानक सुन्दर बालिका को हो ?.. यो भूतको डेराझैँ उजाड महलमा यो कसरी बाँचिरहेकी छ ?… मेरो मनमा अनौठो आन्दोलन चल्न थाल्यो । त्यो केटी अहिले ती भद्र महिलाको बगलमा उभिएर विचित्र चमकदार आँखाले मलाई हेरिरहेकी थिई र मलाई लाग्यो ती धारिला दुई आँखा मेरो मुटुभित्र क्रमशः गहिरो गहिरो धसिँदै गइरहेका छन् ।

मलाई आफूमा एकोहोरो हेरिरहेको देखेर त्यो केटी एक पटक अलि सग्बगाएझैँ देखिई अनि अकस्मात् उसका गालामा एउटा अस्वाभाविक मुस्कान फिलिङ्गोझैँ राँक्किएको मैले देखें- उसको देखिएको बाल्य-वयसँग बिल्कुलै नमिल्ने खालको मुस्कान ! हे ईश्वर के यो मेरो आँखाको क्षणिक भ्रमपूर्ण अनुभव मात्र थियो अथवा साँच्चै त्यस कलिलो-सुकुमार देखिने बालिकाको अनुहारमा मैले त्यो अनौठो फिलिङ्गो राँक्किएकै देखेको हो । माननीय महोदय हो! तपाईं देख्नुहुन्छ, मेरो तीस-बत्तीस वर्षको यो सुगठित र सुन्दर व्यक्तित्वमा एउटी युवतीको मनभित्र वासना र कामना जगाउने क्षमता छ । तर मेरो त्यस क्षमता र यो बालिकाको कलिलो उमेरको बीचमा के तारतम्य हुन सक्छ ? मलाई ज्यादै आश्चर्य लाग्यो र साथै अस्वाभाविकता र असजिलोपनको बोध भयो । मेरो मनमा क्रमशः जाग्न थालेको अपराधबोधको तत्काल आभास मलाई भयो । धत्… कति कुत्सित भावना ! मैले आफूलाई नियन्त्रण गर्न प्राणपणतले प्रयत्न गरें तर त्यो केटी हेलेन । ऊ अझै मलाई उही भावले हेरिरहेकी थिई र उसका आँखामा उही अनौठा ज्वाला र उसका गालामा उही अस्वाभाविक फिलिङ्गो सल्किरहेको थियो यो केवल मेरो आँखाको भ्रम मात्र थिएन । क्रमशः म झन् सम्मोहितझैँ भएँ र मलाई क्रमशः त्यस बालिकाको कमलो र निर्दोष देखिने अनुहारबाट एउटी अर्कै परिपक्व, पूर्ण यौन-चेतन र वासनापूर्ण युवती च्याइरहेझैँ भान हुन थाल्यो । मेरो मन-मगज त्यसै उत्तेजनाले बिस्फोट होलाई लागिरहेको थियो । मलाई आफ्नो भावनामा काबू पाउन भीषण कष्ट परिरहेको थियो ।

जसरी तसरी रोगीको लागि “प्रेस्कृप्सन” र पथ्य लेखिदिएर म त्यस महलबाट निस्कें । मलाई बाटाभरि पनि त्यस केटीका चुम्बके आँखाले बारबार पछाडि तानिरहेझैँ अनुभव भइरह्यो । घर पुगेर लुगा पनि नफुकाली त्यसै कौचमा पल्टें । एउटा विचित्र किसिमको अनुभूतिले मेरो सम्पूर्ण चेतनालाई कहाँ कहाँ पुऱ्याइरहेको थियो । ती आँखा.. ती करेण्टजस्ता आँखा ! कहाँ देखेको मैले ती आँखा ? मलाई घरीघरी अनुभव भइरहेको थियो, ती आँखासँग मेरो धेरै पुरानो परिचय छ, ती आँखामा छचल्किने विचित्र लागूपदार्थसँग मेरो ज्यादै घनिष्ठता छ अनि म त्यसै भए त्यसै छट्पटाउन- भित्रभित्रै उकुसमुकुसाउन थालें । असोज-कार्तिकको महिना पनि मलाई भित्रभित्र गर्मी भएझैँ लाग्यो । सडकपट्टिको झ्याल खोलेर उभिएँ । सडकको कालो अलकत्रामा मर्करी ल्याम्पको जुनेली प्रकाश दूधझैँ बगिरहेको-सडक आवागमनको व्यस्तता बोकेर पूर्ण यौवनमा थियो तर मलाई किन हो यसदेखि अनि वितृष्णाजस्तो लागेर आयो ।

त्यत्तिकै वेला श्रीमती चिया लिएर अगाडि उभिन आई । उसका मार्मिक र करुण आँखा हच्केका दच्केका झैँ मेरा आँखामा आएर टिके । मलाई पनि किन हो उसका आँखामा गहिरो डुबेर हेर्ने इच्छा लाग्यो ।

(यहाँनिर म एउटा कुरा बताइदिइहालूँ । यो मेरी बिहा गरेर ल्याएकी श्रीमती हो । यसको र मेरो जीवनमा कुनै विशेषता छैन- स्वास्नी छ, ऊ घरका सबै व्यावहारिक काममा मलाई सहयोग गर्छ र म पनि उसका भौतिक आवश्यकताहरू जुटाइदिन्छु । वश, यत्तिमै हामी दुवै लोग्ने स्वास्नीको कर्तव्य टुङ्गिएको छ । यत्तिकैमा हाम्रो गृहस्थी सुव्यवस्थित भएर आफ्नो गतिमा अगाडि बढेको छ (कमसे कम म यस्तै ठान्छु ।) यसभन्दा बढी, ऊ मबाट के चाहन्छे, सन्तुष्ट छ कि छैन ?… इत्यादि कुनै कुराको खोजीनिती मैले गरेको छैन । त्यति मात्र होइन म आफै उसबाट पूर्ण सन्तुष्ट छु अथवा असन्तुष्ट छु भन्ने कुराको पनि मैले कुनै चासो लिएको छैन- एक त पेसाको व्यस्तताको कारणले, दोस्रो यस कुराको कुनै आवश्यकताकै अनुभव मैले गरिनँ । त्यसैले मैले उसको मुख आजसम्म राम्ररी हेरेको पनि छैन ।)

तर आज किन हो मलाई उसको अनुहार राम्ररी हेर्न मन उठ्यो । मैले गडेर उसमा हेरेँ । मेरो यस अप्रत्याशित हेराइले ऊ हडबडाएझैँ देखिई । यहाँ उसको अनुहार र सम्पूर्ण व्यक्तित्व यति निरीह र दयनीय देखियो, मानों ऊ यस घरकी जन्मान्तरकी क्रीतदासी हो । साधारण दृष्टिले पातली, सुसुपाल र पिलन्दरी भए पनि उसको रूप छिः भन्ने खालको त थिएन तर ती मूर्दाका जस्ता शून्य दृष्टि र सोहोरिएका गालामा ज्यादै ठूलो नाक, मलाई किन किन अहिले उसदेखि वितृष्णा लागेर आयो । त्यो रूपप्रति घृणितझैँ लाग्यो । अनि मैले अरूचिले मुख अर्कोतिर फर्काएँ ।

ऊ चिया त्यही टेबिलमा राखेर मेरो सबै मौन उपेक्षालाई मौन सुस्केराद्वारा नै शायद स्वीकार गरेर कोठाबाट निस्की ! मैले ऊ गएपट्टि हेरें- मेरी बीसौं शताब्दीकी यो श्रीमती- कुनै विरोध छैन, कुनै विद्रोह छैन मानो कुनै उसको जीवित अस्तित्व नै छैन ! मलाई ऊ एकदम अरूचिकर लागेर आई र त्यसको परोक्षमा अर्कै दुई मोहक आँखा प्रस्ट भएर झन्झन् मेरो अन्तरमा धसिँदै गएझैँ मलाई भान हुन थाल्यो । त्यस आँखाको घातक तेज मेरो शरीरका प्रत्येक रेशा रेशामा फैलिँदै गइरहेको छ र त्यसको परोक्षमा मेरो कुनै अस्तित्व नै छैन यही बारम्बार मलाई अनुभव हुन थाल्यो ।

पलभरमा मनको तहमा अङ्कुराएको मोह र तृष्णाको बिरुवाले त्यस रातको एकान्त छातीमा आफ्नो जरा फैलाउने प्रशस्त मौका पाएछ । भोलिपल्ट उठ्दा त त्यस केटीका आँखाको रहस्यमय चमक झन् प्रबल आकर्षण लिएर मेरो कल्पनाको सूक्ष्म कणमा घुस्न सफ भैसकेको थियो । त्यसपछिको अर्को दिन र रातले त्यसलाई झन्झन् हुर्कायो अनि त मलाई त्यस केटीलाई फेरि र फेरि हेर्ने इच्छा साह्रै छटपटी भयो । एकातिर आफ्नो सामाजिक मान, इज्जत र अर्कोतिर त्यस आँखाको प्रबल आकर्षण, मनमा घोर सङ्घर्ष चल्ल थाल्यो । आखिर धेरै दिनको द्वन्द्वात्मक सङ्घर्षपछि मलाई त्यस चुम्बकले तानेर उसको अगाडि उभ्याई नै दियो ।

त्यो मोहिनी केटी अब मेरो अगाडि थिई । म फेरि उसै गरी सम्मोहितझैँ उसको अत्यन्त मीठो अनुहारमा हेरिरहेको थिएँ । उसका आँखाका कोसमा उही रहस्यमय मुस्कान आज पनि खेलिरहेको थियो उसका गालामा उही जादूको फिलिङ्गो सल्किरहेको थियो । म संज्ञाशून्य थिएँ- मेरो सम्पूर्ण चेतना उसको त्यो मोहक व्यक्तित्वमा हराइरहेको थियो ।

“बुवालाई नहेर्ने डाक्टर साब ?” म अझ कति बेरसम्म यस स्थितिमा रहन्थे कुन्नि, तर अकस्मात् उसको मधुझैँ बोलीले मलाई यथार्थमा ल्याइदियो । “आज त बुवालाई धेरै फाइदा छ ।”

म उसको पछिपछि अस्तिकै कोठामा पसें । उही अस्तिकै दृश्य- राणाकालीन वैभवको प्रतीक स्वरूप त्यो ठूलो कोठा । आज रोगी खाटमा सुत्नुको सट्टा उठेर बसिरहेका थिए । एउटा ज्यादै जीर्ण पाटीझैँ शरीर, तर रोबपूर्ण अनुहार ! उनले बडो मर्मभेदी आँखाले मेरो निरीक्षण गरे र अनि बडो खुसामदी स्वरमा भने- “साहूजी ! … दुई चार दिन त पख्नुपर्ला ।… पिन्सिन बन्द भइगो… खान्गी झिकियो तर धन्दा नमान्नोस्, अझै हिङ नभए पनि हिङ बाँधेको टालो…”

उनी कति बेर बडबडाउँथे कुन्नि, तर एक्कासि गृहिणी उही अस्तिकी भद्र महिलाले भित्रबाट निस्केर उनलाई बीचैमा रोकिन्- “छिः हजूर त, मान्छे चिन्नुपर्दैन; मुखमा जे आयो त्यही !… उहाँ डाक्टर.. हजूरलाई आराम गराउन !…”

“ए डाक्टर ?” उनले भने र मलाई आफ्नो नजिकै मेचमा बस्ने अनुमति दिए अनि निकै बेर तीखा आँखाले मलाई हेरेपछि उनी एक्कासि हाँसे । “तिमी मलाई आराम गराउन आएका !… तर के आराम गराउँछौ ? रोगीलाई पो आराम गराउन सकिन्छ । आज तिमी औषधी दिएर जान्छौ, भरे म त्यस औषधीको पनि औषधी गरिदिन्छु । (विस्तारै साउती गरेर) थाहा छ तिमीलाई म रक्सी खान्छु ? … निर्घात खान्छु बुझ्यौ ? … तिमी अडकल गर्न सक्तैनौ, के यो कोठाको गति सधैं यस्तै थियो होला त ?… ऊ त्यहाँनिर जुद्धशम्शेर महाराजबाट बक्सेको ठूलो हलब्बी ऐना थियो, अनि ऊ त्यहाँ हस्तिहाडको ठूलो टेबिल पलङ… के के पो थियो । अब के बाँकी छ भन त ?… थाहा छ डाक्टर, म असाध्ये रक्सी खान्छु – खूब खान्छु बुझ्यौ ? यी कोठाका सामान सबै रक्सी भएर बगे” भन्दाभन्दै यस जीर्ण ऐतिहासिक मान्छेको अनुहार मलिन देखियो, आँखामा प्रति मार्मिक वेदनाको छायाँ उत्र्यो । उनले खिस्सिएको हाँसो ओंठमा चढाएर गृहिणीतिर हेरे, तर उनी अगि भित्र गइसकेकी थिइन् ।

“…त बुझ्यौ डाक्टर, म निर्घात रक्सी खान्छु । तिमी पनि त खाउला नि खाँदैनौ ?… आज भोलि त रक्सी नखाए मान्छे नै हुन्न भन्छन् ।… अँ हेलेन !… ए हेलेन !… ए यो त यहीं रहिछ । यसलाई चिनेका छौ ? यो मेरी छोरी । अब त यो निकै ठूली देखिइन त ?… राम्री पनि त छे नि … तिमीलाई मन परी, डाक्टर ? … पख तिमीलाई नै दिउँला यो छोरी !”

उनी अझै बडबडाउँदै थिए, गृहिणी आँधीझैँ कोठामा पसिन् र उनलाई बोल्दा-बोल्दै रोकिन्, “चूप लागिस्योस् । खालि जँड्याहाले झैँ चाहिँदो नचाहिँदो बकेको छ ।… के गर्नु डाक्टर, यस्तै बानी छ ।… तिमी त आफ्नै छोरा समानका-नराम्रो नमान है ?… के गर्नु पहिले यसै दरबारमा के थिएन ग्याइँग्याइँती नोकर-चाकर, धाई-सुसारे, चाकरीदार !…. सम्झेर ल्याउँदा छाती पोल्छ । … त्यसै त्यसै भाउन्न छुटेर आउँछ । … तर दिनले यस्तै पार्‍यो, बौलाएर खुट्टा छोडेर भएन भन्यो, सम्झायो, तर सम्झाउन्जेल मात्रै … ।”

बोल्दाबोल्दै एक्कासि ती महिलाका आँखा पनि सजल भएर आएझैँ देखिए । उनले धोतीको सप्कोले घाँखा पुछिन् र त्यस विचित्र लोग्नेलाई विस्तारै चिच्याउँदै भित्रतिर गइन् तर भित्रबाट पनि उनको गुनासो हावामा रुमल्लिएर आई नै रहेको थियो- “के गर्नु होशहवास नै छैन । … तर सधैं एकटङ्कार खोजेर कहाँ हुन्छ ।”

म त्यसै पुरानो सम्झनामा केही बेर हराएझैँ भएँ । कस्तो थियो अगाडिको यिनीहरूको धाक रवाफ ! अकस्मात् मलाई हेलेन आफ्नो ज्यादै नजिक भएको थाहा भयो । ऊ साँच्चै मसँग टाँस्सिएर उभिएकी थिई । उसको यस्तो नजिकको सम्पर्कले मेरा नसा नसामा एउटा नौलो विचित्र अनुभूतिको निर्जना गरिरहेको थियो । म सम्मोहित उसको स्वर्गीय रूपलाई हेर्न थालें र ऊ विचित्र मुस्कान र चेष्टाले प्रतिपल मेरो झन्झन् नजिक हुन थाली ।

“बुवा यस्तै होइसिन्छ । जोसँग पनि यस्तै ।” उसले मसँग करीब टाँस्सिएर भनी । उसको मिश्रीजस्तो मीठो स्वर मेरो कानमा चुहिरहेको थियो । म उसको अनुहार पिउँदै एउटा भावुक सपनामा डुबिरहेको थिएँ- “यत्तिकै … सधैं यत्तिकै … योभन्दा पनि नजिक ।” यो केटी जन्मजन्मान्तरदेखि यस्तै गरी, मेरो यत्तिकै नजिक, यत्तिकै नजिकमा मसँग हाँस्तै, बोल्दै आएकी छे । म अद्भुत कल्पनाको छालमा माथि माथि, अझ माथि पुग्दै गैरहेको थिएँ । मलाई यो कुराको कुनै चेत नै भएन कुन बेला साँझ पर्‍यो, कुन बेला म उसबाट छुटै र कुन बेला म घर आएर सपनामा डुर्बे तर अकस्मात् श्रीमतीको उपस्थितिले पो मलाई त्यस लागूझैँ सपनाबाट बिउँझाइदियो ।

श्रीमती कति बेरदेखि चिया लिएर उभिरहेकी थिई मलाई होश भएन । धेरै बेरपछि उसको आभास पाएर म झसङ्ग भएँ । ऊ मेरो अगाडि आफ्नो उही निरीह र खुम्चिएको मन र व्यक्तित्व लिएर अस्तित्वहीन पुतलीझैँ उभिइरहेकी थिई । उसको त्यो दयनीय-व्यक्तित्व र आफ्नो त्यो मधुर सपना यी दुईको विरोधी चित्रले मेरो ब्रह्माण्डमा नराम्रो विक्षुब्धता पैदा गरिदियो । (हो साँच्चै त्यति बेला मलाई उसका रौं-रौंदेखि विना-कारण धीन लागेर आइरहेको थियो) ।

“तिमी किन यहाँ ?… मलाई एक छिन एकान्तमा बस्न पनि दिन्नौ ?” एक्कासि आफ्नो कटु स्वरको आफैलाई आभास भयो । मेरो त्यस बिना-कारणको कटु व्यवहारले ऊ साह्रै हच्किएकी दब्किएकी देखिई । हड्बडाएझैँ उसको मुखबाट निस्क्यो- “चि… चि… या… चिया ।”

“खान्नँ म चियासिया!… मलाई एकान्तमा बस्न देऊ ।” मेरो मन ज्यादै रूखो भएर आयो- विरक्त लागेर । मेरो कानमा हेलेनको प्रत्येक मीठो स्वर अझ गुञ्जिरहेको थियो- उसकी आमाकी र उसको बाबुको स्वर अक्षर अक्षर सजीव भएर मेरो सम्झनामा नाचिरहेको थियो । यसै कटु र मधु भावको सङ्गमस्थलमा मेरा आँखा स्वतः औषधीहरू राखेको आल्मिरामा गएर टिकेछन् त्यहाँ अगाडि नै बार्बिच्यूरेट्स प्रेपरेशन (Barbiturats preparation) को शिशी टड्‌कारो देखिएको थियो । मेरो मनमा एक्कासि एउटा भयानक विचार एउटा जघन्य अपराधको भावनाले जन्म लियो । मैले अनौठा आँखाले श्रीमतीमा हेरें- उसको हर्दम रोइरहेझैँ अनुहार मलाई अतिशय नमीठो लागिरहेको थियो । ऊ अहिले आफ्नो अर्धमृत व्यक्तित्वलाई विस्तारै घिच्याउँदै कोठाबाट बाहिर निस्किरहेकी थिई म एक्कासि उठें र त्यस औषधीको शिशी दराजबाट झिकेर हातमा लिएँ र के के सपनामा डुबेझैँ म त्यसमा हेर्न थालें ।

तर मेरो मनको लागि यो एउटा ज्यादै जटिल परीक्षा थियो । कसरी यत्रो भयङ्कर काम पठाउने ? तर मेरो अन्तरमा यो अपराधको भावना जुन जन्म्यो त्यो विस्तार विस्तार पोसिँदै बढ्दै गयो । त्यसलाई झनझन बलियो गराउन हेलेनसँगको प्रतिदिन बढ्दो घनिष्ठताले प्रतिपल मलको काम गरिरहेको थियो । अब म एक किसिमले उनीहरूको फेमिली डाक्टर नै भएको थिएँ (खास कुरा त के भने मलाई फिस दिने तकलीफ उठाउनुपर्दैनथ्यो) त्यसैले अब उसकहाँ जान मलाई समय-अवसर कुनै कुराको पनि रोकटोक थिएन । म फुर्सत पायो कि (साँच्चै भनौँ भने फुर्सत निकालेर पनि) म उसकहाँ पुग्थें । म उसको अगाडि घण्टौं सम्मोहितझैँ बस्दथें । ऊ नाना तरहका मीठा मीठा कुराले मेरो मन बहलाउँथी- मेरो मनको सपनालाई उजिल्याइरहन्थी । कहिले ऊ सिनेमाका कुरा गर्थी खास गरेर नायक नायिकाको रोमान्सलाई लिएर, अनि कहिले अंग्रेजी नाच र बुनू मैयाँको र मास्टरको लभको विषयमा ।

“डाक्टर साहेब मलाई सिनेमा नलाने ?” ऊ अकस्मात् मेरो हात समातेर भन्थी । म कुनै दिन लगुँला भनेर उसलाई वचन दिन्थें । यसै गरी हाम्रो घनिष्ठता बढेर गएको थियो । यस कुराबाट घरका मालिक मालिक्नी बेहोश थिएनन् तर यसबाट उनीहरूलाई कुनै आपत्ति थिएन । खास गरेर बूढोको तर्फबाट त कुनै आपत्ति थिएन ।

“अँ, खूब मेल छ हगि तिमीहरूको आज बिहानदेखि एक थोपै मुखमा परेको छैन ।… डाक्टर तिमीसँग केही रुपियाँ होला !.. गोरे गएको छ, ऊ आएपछि फर्काइदिउँला” उनी भन्थे । मलाई उनको त्यो निर्लज्ज माग देखेर कता-कता रिस र घृणा लागेर आउँथ्यो तर केही नबोली दश रुपियाँ जेबबाट झिकेर उनको हातमा राखिदिन्थें । यसै गरी कैयौं पटक उनले “फर्काइदिउँला भनेर” मसँग धुतेका छन् । मलाई थाहा छ ‘फर्काउने’ शब्द खालि प्रयोगको लागि मात्र हो ।

रुपियाँ हात परेपछि उनी एक किसिमको घृणित सङ्केत आँखामा नचाउँदै जान्थे । म अनि हेलेनको सौन्दर्यमा टुपीसम्म डुबेको बेहोशझैँ भएर उसको गन्धमा लट्पटिन्थें- एउटा झिगाजस्तो । यसै गरी त्यस केटीको मोहले मलाई फर्कन नसक्ने गरी आफूमा लीन पारिसकेको थियो । ऊ मलाई कहिले गीत गाएर सुनाउँथी, कहिले अंग्रेजी नाच नाचेर देखाउँथी ।

“डाक्टर साब, तपाईंलाई ‘बाल’ नाच्न आउँछ ?” एक दिन अकस्मात् उसले भनी र मेरो हातमा समातेर उठाउँदै मलाई नाचका स्टेपहरू र चालहरू सिकाउन थाली । यस सिकाइमा कहिले ऊ मेरो छातीसँग टाँसिन्थी र कहिले पर धकेल्थी, कहिले आँखा र मुख विचित्र चेष्टामा नचाउँथी, मुस्काउँथी । उसको यति नजिकको सहवास पाएर मेरो रगत र नसामा विचित्र तरङ्ग उठ्न थाल्यो । म एउटी बालिकाको पूर्ण अँगालोमा छु, उसको तातो मेरो रगतको प्रत्येक कणमा घुसेर मेरो रगतमा एउटा अनौठो उत्तेजना दिन थाल्यो । यो मेरो अँगालोमा बाँधिएकी एउटी बालिका हो- एउटी अबोध र निर्दोष बालिका । तर त्यो सत्य अहिले मेरो चेतनाबाट पूर्णतया हराएको थियो । मैले आफ्नो विवेक र चेतना पूर्ण गुमाइसकेको थिएँ र मेरो अँगालोमा हेलेन छे- हेलेन, त्यो मोहक जादू । उसका आँखा लठ्ठिएझैँ एउटा स्वाभाविक तीव्रतामा चम्केका छन् । मैले विस्तार विस्तार (एक किसिमले बेहोश भनूँ) उसलाई पलतिर धकेल्दै लगें ।

“अँ डाक्टर के बालडान्स हुँदै छ ?” अकस्मात् हेलेनका बाबु त्यहाँ उब्जे । मेरो उत्तेजनाले तातेको मोहक चेतनामा अकस्मात् कसैले हिउँको पानी खन्याइदियो । मेरो सम्पूर्ण शरीर र दिमाग एकदम चिसो भएझैँ लाग्यो । स्वतः हेलेनको अँगालोबाट मेरो शरीर अलग्गियो- “मैले तिमीहरूलाई डिस्टर्ब त गरिनँ ?… अँ डाक्टर…”

मलाई उनको सङ्केत नै यथेष्ट थियो । मनमा एक किसिमको कटुता जन्मे पनि मैले एउटा दशको नोट उनको हातमा राखिदिएँ । उनी हाँस्तै हाँस्तै कोठाबाट निस्के । यो एउटा घृणित ब्ल्याक मेल !

त्यस घरीको अभूतपूर्व अनुभूतिको सुख मेरो सम्पूर्ण मस्तिष्कमा छाइरहेको थियो । कति मीठो अँगालो-कति मादक अनुभूति । म त्यसै लागूमा रक्स्याहार्थों झुल्दै घर फर्के तर आज श्रीमती मेरो बाटो हेरिरहेकी थिइन । यो परिवर्तनमा मलाई भित्र कता कता एउटा असजिलोको आभास भयो अनि मैले चिया लिएर आएको नोकर दिवेलाई सोधें- “दुलैसाब खोइ त ?

“दुलैसाबलाई साँझदेखि सन्चो भएन ।” उसले भन्यो । यस अनपेक्षित घटनाले पहिले त एउटा कस्तो किसिमको धक्का लागेझैँ अनुभव भयो । म विस्तारो श्रीमतीको कोठामा पसें । उसको निरीह अनुहार ज्वरोको उष्णताले राँक्किएको थियो । भित्र कता कता एउटा नजानिँदो करुणाको सोतो फुटेझैँ मलाई लाग्यो । उसको हालत सोधपूछ गरेर म आफ्नो कोठामा फर्केर मेचमा त्यसै लेटेझैँ बसें । अकस्मात् मेरो आँखा दराजको उही अस्तिको ड्रगको शिशीमा टड्‌कारै पुग्न गयो । एक्कासि भित्र कता कता एउटा भयङ्कर प्रकाश फैलिएझैँ मलाई भान भयो । पागलझैँ उठेर मैले दराज खोलेर त्यो शिशी हातमा लिएर हेर्न थालें । मेरो भित्र एउटा भयानक अट्टहास गुन्जिरहेको थियो र एउटा भयानक द्वन्द्व !

यही द्वन्द्वात्मक स्थितिमा मलाई निद्रा लाग्न सकेन । करीब आधारात बितेपछि क्रमशः हेलेनका ती भयानक आँखा मेरो कल्पनामा आएर मादक रूपमा हाँस्न थाले । एउटा पागल सपनाले मेरो त्यस अपराधी व्यक्तित्वलाई फेरि भँगेल्यो- “धत् लाछी ! डराउँछस् ? अपराध त निर्धाको लागि हो त्यही पनि प्रकाशमा आउन पायो भने । तँ त डाक्टर होस् । तेरो लागि त्यो कुन ठूलो कुरा हो ?… हेलेनलाई हेर ! तेरो स्वर्गीय सपना !”

अनि हातमा त्यस घातक विषको शिशी लिएर म हिस्टेरियाले छोपेको व्यक्ति डगमगाउँदो गोडाले श्रीमतीको कोठामा पसिरहेको थिएँ । ऊ ज्वरले पग्लिएझैँ इन्तु न चिन्तु थिई । म उसको सिराननजिक गएर उभिएँ र उसको करुण अनुहार हेरिरहैं । अकस्मात् मनको कुन कुनामा एउटा ज्यादै कातर स्वर उठेझैँ लाग्यो ! … हे ईश्वर यो के गर्दै छु म ? … अनि मेरा उत्तेजित नसाहरू त्यसै सेलाएझैँ भए । औन्स ग्लासमा त्यो औषधी खन्याउँदा खन्याउँदैको हात एक्कासि लुलो भएझैँ लाग्यो र शरीर सर्वाङ्ग काँपेझैँ – पसिना चिट्चिटाएझैँ ।

त्यसै बेला श्रीमतीले आँखा उघारी । म एक्कासि चोरी गर्दागर्दै पक्डिएको चोर झैँ के गरूँ र कसो गरुँको स्थितिमा परेँ । मेरो हातको शिशी झन्डै खस्नबाट बच्यो । मलाई लाग्यो, त्यतिबेला श्रीमतीका आँखामा कुन किसिमको एउटा शङ्काको छायाँ प्रस्टिएको थियो अनि मैले हातको शिशी त्यसै त्रिपाईमा राखिदिएँ ।

तिमीले औषधी खायौ ? … अहिले कस्तो छ ? बल्लतल्ल आफ्नो मानसिक अवस्थामा काबू पाएर मैले भनें । उसले टाउको हल्लाएर “खाएँ” भन्ने सङ्केत गरेपछि म पिँजडाको ढुकुर उडेझैँझैँ उसको अगाडिबाट भागें र आफ्नो कोठामा गएँ । ओ, मेरो हातबाट कत्रो भयङ्कर काम हुँदाहुँदै बाँच्यो । मन अलि शान्त भएझैँ लाग्यो र आश्वस्त भएर सुतें ।

तर भोलिपल्ट बिहान उठ्दा मेरो अन्तरको त्यो कोमल भावना बाफझैँ कता उडिसकेको थियो कता, हृदयमा त फगत त्यस असफलताको क्षोभ मात्र बाँकी थियो । मलाई घरीघरी हेलेनका ती तीखा आँखाले घोचिरहे झैँ लाग्न थाल्यो, त्यत्ति काम पनि फत्ते गर्न सकिनस् ? … लाछी! म ज्यादै विक्षुब्ध भएँ । यही विक्षुब्ध मनस्थितिलाई लिएर म बिहान उसको कोठामा पसँ । त्यहाँ पसेर मेरा आँखा सबभन्दा पहिले औषधी राखेको त्रिपाईमा घुम्न पुगे । मुटुको एउटा तीव्र धडकनलाई समालेर मैखे देखें- त्रिपाईमा शिशी त थियो, तर रित्तो ।

“तपाईंले हिजो छोडेर जानुभएको, खाने होला भनेर खाइदिएँ ।” श्रीमतीले डुबेको स्वरमा भनी । यस असम्भाव्य सफलताले मेरो भित्रको अपराधी मान्छेको के अवस्था भयो होला ? त्यस सफलताको उग्र प्रसन्नताले करीब-करीब एक क्षण संज्ञाहीनौँ भयो अनि भित्रभित्रै उग्र रूपले खित्खितायो तर गोलघरको भयानक चित्र आँखामा नाचेर डरले शरीर शीताङ्ग भयो अनि हत्त र पत्त म बाहिर निस्कँ र एउटा चिनेको साथी – डाक्टरलाई बोलाएर श्रीमतीको चिकित्साको भार उसैलाई सुम्पिदिएँ र साथै उसको शुश्रूषाको भार एउटी नर्सलाई सुम्पिदिएँ ।

तर आफ्नो अप्रत्याशित सफलतामा मेरो प्रसन्नता भित्रभित्र अटाई नअटाई भैरहेको थियो । त्यसैको उद्वेगमा आफ्नो अपराधी भावनाको तृप्तिका लागि प्रत्येक दिन श्रीमतीको कोठामा पस्थ र सोद्धथे “कस्तो छ डाक्टर ?”

“सीरियस !” डाक्टर निराशाले मलिन अनुहार लाएर भन्थ्यो । वास्तवमा ऊ स्थिति बुझ्न नसकेर किंकर्तव्यविमूढताको स्थितिमा परेको थियो । बुद्धू डाक्टर ! वास्तविक कुराको उसलाई पत्तो थिएन । उसले लेखिदिएको प्रेस्कृप्शनको औषधीको साटो म प्रत्येक पटक त्यही ढीला-विष श्रीमतीको पेटमा थप्दै गैरहेको थिएँ । त्यसैले उसको अवस्था प्रतिपल सप्रनुको सट्टा बिग्रँदै गैरहेको थियो ।

श्रीमती साँच्चै प्रतिपल मृत्युतिर धकेलिँदै गैरहेकी थिई । उसको यो अवस्था देखेर मेरो भित्रको नीच मान्छे एकदम खुसीले उन्मत्त भएर चिच्याउँथ्यो । मेरी हेलेन ! मेरी सानी परी ! अब म प्रतिपल स्वतन्त्रतातिर बढिरहेको छु । केही दिनपछि म उसलाई पूर्ण रूपले आफ्नी बनाउन समर्थ हुन्छु! मलाई कसैले रोक्न सक्तैन -कानूनले रोक्न सक्तैन, समाजले रोक्न सक्तैन । यही खुसीको उन्मादमा उन्मत्त म एक दिन हेलेनको घरतिर जान निस्कें तर उता जानुभन्दा पहिले म सहरतिर लागें र सरासर एउटा गतिलो होटेलमा पुगें । त्यहाँ मैले कुन प्रेरणाले हो- केही दिनका लागि भनेर एउटा कोठा रिजर्भ गरेँ र त्यही भन्न नसकिने मानसिक स्थितिमा म उसकहाँ पुगें ।

“आज सिनेमा जाऊँ ।” मैले एक्कासि ऊसँग भनें । उसको कैयौं दिनदेखिको आकाङ्क्षा पूर्ण भएकोले यस प्रस्तावमा ऊ ज्यादै रमाएकी देखिई अनि झटपट हामी एउटा ट्याक्सी गरेर सिनेमा गयौं तर मेरो मनमा भयङ्कर आन्दोलन चलिरहेको थियो । सिनेमामा मनै अड्‌दैनथ्यो । जसरी तसरी समय पूरा गरेर हामी त्यहाँबाट निस्क्यौं ।

“खाना खान जाऊँ”- मैले सिनेमा छुटेपछि उसलाई सरासर आफूले रिजर्भगरेको होटेलको कोठामा ल्याएँ र उसले भनेजस्तो खाने कुरा मगाएँ । अब म त्यहाँ पूर्ण मुक्त थिएँ र मेरो मनमा अपराध र वासना उन्मत्त भएर क्रीडा गरिरहेको थियो । खाइपिई सकेर ऊ आलस्यले भरिएझैँ त्यहीं एउटा कौचमा लेटी । अहिले मेरो मदान्ध आँखामा हेलेन नै हेलेन – उसको आँखाको लठ्याउने चमक, उसका गालाको त्यही रोक्किएको फिलिङ्गोको आकर्षण थियो तर पहिले ऊ केटाकेटी होइन अबोध बालिका होइन, एउटी स्वास्नीमान्छे थिई पूर्ण र कुशल स्वास्नीमान्छे, चेतनशील युवती-प्रेमिका । म लठ्ठिएको सर्पझैँ विस्तारै ऊतिर बढे र एउटै कोचमा गएर बसें, म विस्तारै उसका नौनीझैँ नरम छाला मुसार्न थालें उसका नरम र रेशम केश खेलाउन थालें । यति बेला मेरा आँखा उसका ती लागूझैँ आँखामा टिकेका थिए । उफ् कस्तो भयानक आँखा छ यो!… मेरी हेलेन … मेरी कविता, मेरी कल्पना ! अब मेरो शरीर उसको शरीरको सम्पूर्ण तातोले बेरिएको थियो- रगतका कण-कणमा एउटा अभूतपूर्व सुखको लागू फैलिएको थियो । मैले विस्तारै आफ्नो मुख बढाएँ । अब उसको श्वास-प्रश्वासमा रङ्गिएको चकलेटको गन्ध मेरो रौं-रौंमा घुस्न थालेको थियो । अकस्मात् हेलेन मेरो गर्दनमा माला बनी र उसले आफ्नो मुख मेरो मुखमा यति आकस्मिक रूपले ल्याएर जडिदिई कि हाम्रा दाँत आपसमा रगडिएको प्रस्ट सुनियो ।… अनि… त्यसपछि म कुन अनुभूतिको अँध्यारोमा हराएँ मलाई होश छैन । धेरै बेरपछि हामी थकित शरीर लिएर उठ्दा रात धेरै छिप्पिइसकेको थियो ।

“हेलेन – बेर भयो ! घर नजाने ?” मैले लाटो स्वरमा भर्ने । ऊ पनि उठी र लुगा कपडा तह लाएर हामी बाहिर निस्क्यौं र ट्याक्सीमा बस्यौं । ट्याक्सीले केही मिनेटमै उसको क्याम्प-अगाडि लगेर उभ्याइदियो । हेलेनलाई मैले ट्याक्सीबाट उतारें तर ऊ भित्र जान ज्यादै आलटाल गरिरहेकी थिई ।

“किन ?… म पुऱ्याउन आऊँ ?”-

“पर्दैन !” – ऊसले अलि जिब्रो चपाएझैँ भनी । “तपाईंसँग दश रुपियाँ छ ?”

उसको यो आकस्मिक रुपियाँको मागले मलाई एकदम मूढ बनाइदियो । किन चाहियो यस केटीलाई रुपियाँ ?… अगिपछि त कहिल्यै उसले मसँग ठाडो मागेकी थिइन ! नमागे पनि त मैले उसलाई बरावर उपहारको रूपमा अनेक कुरा दिइरहेकै छु तर यसलाई नगद पैसाको के आवश्यकता पर्‍यो ?…म क्वार्कार्ति उसको अनुहार हेर्न थालें ।

“खाली हात जाँदा बुवाले ……” उसले अँध्यारो मुख लाएर भनी । अकस्मात् आफ्नो आँखा अगाडि नाटकको एउटा नयाँ पर्दा खुलेझैँ मलाई लाग्यो । के यस्तो ?… आजसम्मको भावनामा यस परिस्थिति र यसको सत्य सङ्केतले नराम्रो धक्का दियो । मनमा निकै बेर द्वन्द्व खेलाएपछि मैले दश रुपियाँ उसको हातमा हालिदिएँ र ऊ भित्र गएर आँखाबाट ओझ्याल नपरुञ्जेल म शून्य स्थितिमा त्यहाँ उभिइरहें ।

यस सानो घटनाले मेरो मनमा एउटा नराम्रो घाउ पारिदियो । म मरेको मन लिएर घर फर्केर श्रीमतीको कोठामा पसैं । कोठामा मलिन मुख लिएकी नर्स श्रीमतीको शुश्रूषामा थिई; तर डाक्टर गइसकेको थियो ।

“कस्तो छ नर्स ?” मैले सोधें- नर्सले मेरो मुखमा खूब सहानुभूतिपूर्ण आशाले केही क्षण हेरी अनि टाउको हल्लाएर भनी “नो होप! डाक्टर भन्छ मबाट अब केही लाग्दैन ।”

श्रीमतीको अवस्था साँच्चै जीवनको अन्तिम सीमामा पुगिसकेको थियो । त्यो देखेर एकै पलको निम्ति मेरो मनको कुनाकुनामा एउटा अज्ञात व्यथा उम्लेर आएझैँ भयो तर तत्कालै हेलेनको तीव्र आकर्षणले त्यसलाई सेलाइदियो, अनि म फेरि त्यही आकर्षणमा लडिएर उसकहाँ पुग्न थालें- पेटभरि उसको मोहक रूपलाई पिउन थार्ले – र उसको नजिकमा ज्यादै तृप्तिको अनुभव गर्न थालें ।

तर हेलेनको व्यवहारमा दिनदिनै फरक आएको म प्रस्ट आभास पाइरहेको थिएँ । अब उसको मतिरको आकर्षणको माध्यम केवल पैसा हुन आएको थियो किनभने ऊ मसँग बिताएको प्रत्येक घडीपछि कुनै न कुनै बहानाले मसँग पैसा माग्न थालेकी थिई । यसले मेरो मानसिक स्थितिमा नराम्रो आघात पार्न थालेको थियो । के हेलेन मसँग प्रेम गर्छ ? के म उसको प्रेमी हूँ? … कि बाबुलाई रक्सी ख्वाउने पैसा जुटाउने साधन हुँ ? हेलेन, मेरी सपना! तिम्रो प्रेमी हूँ… तिम्रो बाबुलाई रक्सीमा डुबाएर बर्बाद गर्न आएको होइन… हेलेन, मेरी सानी परी ! म तिमीसँग बिहा गर्न चाहन्छु तिमीलाई सम्पूर्ण रूपले आफ्नी ! … त्यसैले त हेर मैले एउटा मीठो सपना बोकेर एउटा जघन्य अपराधको सूत्रपात गरेको छु । मैले पैसामा कौमार्य बेच्ने उसको प्रयासलाई प्रोत्साहन दिन चाहिनँ तर यसको असर के भयो ?…ऊ मेरो पहुँचबाट विस्तारो बाहिर हुँदै गएकी देखिई (अथवा बाहिर गराइई ?) । यस परिस्थितिले मलाई झन् विक्षिप्तझैँ गरायो । कत्रो प्रबल आकर्षण !… म चटकीको बीन बाजामा लठ्ठिएको गोमनझैँ उसको त्यस आकर्षणले तानिएर उसकहाँ पुग्दथे तर उसको दर्शन प्रायः दुर्लभ हुँदै गएको थियो । …

“हेलेन मैयाँ त बाहिर सवारी भा’ छ ।” प्रायः जसो मलाई गोठालोले बाहिरैबाट फर्काइदिन थाल्यो, अनि म निराशाको प्रबल धक्काले लर्खराउँदै गल्ली गल्ली भौंतारिन्थे । त्यसै बेला कहिलेकाहीँ उसलाई एउटा दाह्रीवाल बूढासँग ट्याक्सीमा बसेर उडिरहेकी देख्थें । अथवा आफ्नो अद्भुत आकर्षक व्यक्तित्वको जादू फैलाउँदै कुनै सिनेमा हलमा उडिरहेकी चहकिरहेकी देख्थें ।

“हेलेन !” मेरो आत्मा सम्पूर्ण शक्तिले चिच्याएर उसलाई पुकार्न चाहन्थ्यो तर वरिपरि मानिसहरूका आँखाले आफूमाथि बडो श्रद्धाले हेरिरहेका हुन्थे । मेरो छातीको आवाज भित्र दबिन्थ्यो । ऊ खुसी र मुक्त भावले मुक्त हाँसो हाँस्तै लोप हुन्थी अनि म मनमा भयानक निराशाको भारी बोकेर बोझिलो छातीले घर फर्कन्थे । उन्मादित अवस्थामा श्रीमतीको कोठामा पस्थें । श्रीमतीको प्राण अब बाहिर निस्कन प्रतिपल छट्पटाइरहेको थियो ।

त माननीय न्यायाधीश महोदय! एक दिन साँच्चै मेरी श्रीमतीले मलाई सधैंका लागि आफ्नो बन्धन चुँडालेर फुक्का गरिदिई । म बिल्कुल फुक्का भएँ- फुक्का एकदम स्वतन्त्र ! एक दिन एउटा उन्मादपूर्ण सपना मनमा बोकेर एउटा भयङ्कर अपराधको सूत्रपात गरेको थिएँ त्यसको यसरी पटाक्षेप भयो ।… हेलेन ! मेरी हेलेन !… मेरो त्यही सपना उन्मादपूर्ण सपना । अब म बिल्कुल स्वतन्त्र छु-बन्धन मुक्त । अब मलाई कसैको छेक थुन छैन- म आउँछु एक दिन दुलाहा बनेर अनि तँलाई पूर्ण रूपले आफ्नी बनाउँछु सधैंको लागि आफ्नो !

उसलाई तर मेरो उन्मादले त्यो स्वतन्त्र मृगिणीलाई के बाँध्न सक्थ्यो ! कसले बाँध्न सक्छ- त्यो जङ्गली मैना सदाकी फुक्का । उन्मुक्त!… ऊ आज पनि फुक्का छे, उन्मुक्त सदा उन्मुक्त !….”

यति भनेर अभियुक्त चूप लाग्यो तर अन्तिम वाक्य बोल्दा उसको छाती भरिएर आएको सबैले अनुभव गरेका थिए ।

(कथासंग्रह ‘आज फेरि अर्को तन्ना फेरिन्छ’बाट)

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.