२० मार्च १९६३
आज पनि कमला बिहान सबेरै उसको कोठाभित्र पसी । ऊ भित्र पस्नेत्तिकै सरासर उसको सिरानैनिर सानो टेबिलमाथिको फूलदानतिर बढी ।
'दाजी, यो फूल सुकिसकेन ? किन नफेरेको ? म फेरिदिऊँ ? उसले भनी र आफ्ना साना साना सुकुमार र गोरा हात त्यो फूलदानको सुकेको बासी फूलतिर लम्काई । ऊ सधैँभरि बिहान सबेरै कोठामा पसेर त्यो फूलदानलाई त्यसैगरी हेर्छ-त्यसको मुखको फूलमा हेर्छ अनि त्यसतिर हात लम्काउँदै भन्छे- 'फूल फेर्ने होइन ?'
'हे हे कमला ।' ऊ एकदमै ओछ्यानबाट उठ्छ । उठेर डरलाग्दा आँखा पल्टाएर कमलातिर हेर्छ । उसका आँखा त्यसरी ठूला ठूला भएर पल्टिँदा उसको कलिलो बाटुलो अनुहार डरले फुस्रो भएको देखिन्छ । उसका आँखा ती सरल र निर्दोष आँखामा आफूले कुनै माफ गर्न नसकिने खालको अपराध गरेकी छु कि भन्ने प्रश्नसहित आतङ्क काँपेको देखिन्छ । ऊ एकदम डराई डराई फूलदानतिरबाट पछिपछि हट्दै ढोकासम्म पुग्छे । ढोकानिर पुगेर एकदम फरक्क फर्कन्छे, र फेरि पछिल्तिर हेर्दै नहेरी माथि उक्लन्छे । ऊ पछाडि आफ्नो पिठ्यूँमा गडेका दाजुका डरलाग्दा आँखामा हेर्न सक्तिन, त्यो बिचरी बालिका कमला ।
त्यसपछि ऊ त्यसै पनि हाँस्छ । उसलाई त्यसै पनि हाँस्न मन लाग्छ । शायद कमलाको डराएको कलिलो अनुहार कसरी पहेँलो र फुस्रो देखिन्छ, कसरी उसका आँखा काँतर भएका उसका आफ्ना आँखामा जडिए झैं हुन्छन् भन्ने सम्झनाले उसलाई हाँसो उठाइदिन्छ 'केटाकेटी! त्यसै डराउँछे । ... किन डराउँछे ? ... के मेरा आँखा त्यति डरलाग्दा हुन्छन् र ?' ... साँच्चै कस्ता हुन्छन् त्यतिबेला उसका आँखा ? ... उसलाई त्यससँग सोध्न मन लाग्छ । ऊ दराजको तखताबाट ऐना झिकेर हेर्छ । आँखाको चिप्रा पुच्छ । अचेल बिहान उठ्दा उसका आँखामा चिप्रा लागेको हुन्छ- आँखाका कोशमा सेता चिप्रा ।
'साँचै कमलाको केटाकेटीपनामा उसको मनमा किन त्यस्तो अनौठो भाव उठ्छ- डरजस्तो कस्तो कस्तो । सायद रीस पनि उठ्छ ?... ऊ किन त्यस्तो डराउने आँखाले त्यो केटीमा हेर्छ । ऊ आफैसँग सोध्दछ । उसका आँखा टेबिलमाथिको काँचको फूलदानतिर त्यसै पनि उठ्छन् । त्यो टेबिलको काँचको फूलदान त्यो फूलदान जो गुलाफको फूलको उभार आकृति कुँदिएको छ । त्यो फूलदान त्यति सुन्दर पनि छैन अनि त्यसमा महिनौँदेखिको बासी सुनगाभाको फूलको मुठो छ । यो खङ्ग्रङ्ग सुकिसकेको छ । यसको रङ र बास्ना उडिसकेको छ । साँच्चै यो फूल झर्ने बेला भइसकेको छ कमलाले त्यत्ति सम्झाएकी त हो । तर ऊ त्यो केटीलाई त्यसै किन तर्साइदिन्छ ? ... ऊ केही बुझ्न सक्दैन । ऊ त्यसै दिन त्यो फूलदान र त्यसमाको बासी सुकेको फूलमा हेरिरहन्छ ।
यो फूलदान- साँच्चै यो फूलदानको एकापट्टि गुलाफको फूलको उभार-आकृति छ, अर्कोपट्टि रङ्गीन पुतलीको आकार बनेको छ । यसको बान्की गोही माछाको जस्तो भद्दा परेको छ तर पनि ऊ यस फूलदानलाई एकटक हेरिरहन्छ । यो उसकी प्रेमिकाले उसलाई उपहार ल्याइदिएको हो । यसमा उसैले नै धेरै अघि सजाएर छोडेकी सुनगाभाको फूलको मुठा छ, जो अहिले सुकिसकेको छ ।
बिहान सबेरै ऊ त्यस फूलदानमा हेरिरहेको हुन्छ । मिर्मिरे उज्यालोको पातलो प्रकाशरेखा झ्यालको अन्तरबाट छिरेर उसको कोठाको धमिलोलाई पुछ्न भरमग्दुर प्रयत्न गरिरहेको हुन्छ । त्यही प्रकाशको पातलो रेखाले उसको गोडामुनि भित्तामा झुन्डिएको तस्वीरको बूढो मान्छेको सेतो दाह्रीको आधा भागलाई चिरिरहेको हुन्छ । ऊ उठेर ओछ्यानमा बस्छ र उसका आँखा सिरानपट्टिको फूलदानको सुकिसकेको बासी सुनगाभाको फूलमा अनायास डोरिन्छन् ।
'यो फूल बासी भइसक्यो, ज्यादै बासी । यसलाई फेर्नुपर्ने ।' ऊ मनमनै भुतभुताउँछ तर उसका हातखुट्टा त्यसै त्यसै अल्छीले जकडिएझैं उसलाई लाग्छ । ऊ खाली र केही नभएका आँखाले केहीबेर त्यो फूलदानमा हेरिरहन्छ, त्यसको बासी फूलमा हेरिरहन्छ अनि एक्कासि उठेर पूर्वपट्टिको झ्याललाई पूरै खोलिदिन्छ । झ्याल खोलेर ऊ झ्यालको डडाल्नी समातेर उभिरहन्छ अनि बाहिर बगैंचाबाट ताजा फूलको सुवास बोकेर आएको बिहानको ठण्डा हावाको मुस्लोलाई बेसरी सासले तानेर नाकको बाटोबाट फोक्सामा भर्छ ।
बाहिर पूर्वपट्टि डाँडा र आकाशको जोर्नीमा एक रेखा सिन्दुरले पोतिएको क्यानभास झैं आकाशको क्यानभास देखिन्छ । सडकको छेउको मसलाको बोटको टुप्पोको हरियो पातमा सिन्दुर छरिएझैं उषाको लाली छरिएको हुन्छ । सडकपट्टि फूटपाथमा एउटी केटी हिँडिरहेकी छ । उसको हिँपटाइट कुर्ता कसिएकी फिला सर्पिणीको गतिमा डोलाइरहेको हुन्छ । त्यस केटीको पछिपछि एउटा गोरो, ठिटो, नाकको डिलमा चश्मा, हातमा किताब लिएको केटो हिँडिरहेको हुन्छ । त्यस सम्पूर्ण प्रकृतिको मिठो बास्ना बोकेको शीतल हावाको मुस्लो उसको नाकबाट पसेर उसको सर्वाङ्ग शीतल पारिदिन्छ । यस हावामा मिसिएको गन्धमा ऊ आफ्नी प्रेमिकाको शरीरको लेवेण्डरको मीठो स्वाद पाउँछ अनि उसको शरीर मगज र आँखामा लतपतिएको निद्राको आलस्य हराएर उसको सर्वाङ्ग ताजा भएझैं उसलाई लाग्छ । ऊ केहीबेर त्यसै झ्यालमा उभिएर ती टाढा हुँदै गएका केटा र केटीको मिर्मिर आकृतिलाई हेरिरहन्छ । अहिले ती आकृतिको पछिपछि एउटा अर्को आकृति पनि छ- लुखुर लुखुर हिँडिरहेको कुकुरको आकृति ।
ऊ झ्यालबाट फर्केर ओछ्यानमा आएर बस्छ । उसका आँखा फेरि टेबिलमाथिको फूलदानमा पर्छन् फूलदानमा सुकिसकेको बासी सुनगाभाको फूलको मुठा छ- 'यसलाई फेर्नुपर्ने । यसलाई फेर्नुपर्ने ।' अस्पष्ट स्वरमा भुतभुताउँछ । अनायासै उसको शरीरको फुर्ति र ताजगी कता कता हराएझैं उसलाई लाग्छ । उसको भित्र चियाको कित्लीमा पानी भुल्केझैं के के भुल्कन्छ अनि एउटा गुम्सिएको बाफले मन बाफिएर उकुसमुकुस झैं असजिलो अनुभव हुन्छ ।
० ० ०
२२ सेप्टेम्बर १९६३
उसको अगाडि त्यही रङ्गीचङ्गी फूलदान छ । यो फूलदान 'गिफ्ट अफ मजाइ' की नायिका डेलाले आफ्नो सुनौला कपाल बेचेर जीमको चाँदीको घडीको लागि किनेर ल्याइदिएको चेन जत्तिकै अमूल्य उपहार छ । यस फूलदानमा कहिलेदेखिको सुकेको बासी सुनगाभाको फूल रहिरहेको छ । यो फूल उसकी प्रेमिकाले जीवनमा पहिलो र अन्तिम पटक सजाएको । ऊ त्यसैमा एकटक हेरिरहन्छ । कमला ढोकामा देखा पर्छ । 'दाजी' ऊ बोलाउँछे । त्यो स्वरले उसको मगजको कुन चाहिँ तन्तु खल्बलाइदिन्छ । ऊ अनौठो आँखाले बहिनीको मुखमा हेर्छ । त्यो आँखामा-के किसिमको भाव छ कुन्नि कमलाको अनुहार डराएझैं दच्केको देखिन्छ । ऊ कोठाभित्र पस्न सक्तिन - फूलदानतिर बढ्न सक्तिन । त्यसै ढोकाबाहिरैबाट लुसुक्क फर्कन्छे । ऊ अनायास मुस्कुराउँछ, उसका ओंठ काँप्छन्- 'फूल फेर्नुपर्ने ।'
ऊ एकटक त्यस फूलदानमा हेरिरहन्छ । उसलाई यो फूलदान अत्यन्त राम्रो लागिरहेको छ । देख्तादेख्तै झ्यालको ऐनाबाट सूर्यको एउटा पातलो किरण रेखा छिरेर आउँछ । त्यो पातलो किरण रेखाले त्यस फूलदानमा ठक्कर खाँदा प्रकाश फूलदानको पानीभित्र तरङ्गिन्छ अनि फूलदान अनौठो रङ्गमा चम्किन्छ- रातो, नीलो, पहेंलो, हरियो, वैजनी अनि के के विविध रङ्गी इन्द्रेणीको आभास त्यस पानीमा पौडिन्छ अनि त्यही विविध रङ्गको प्राणतत्त्वमा फूलदानको बासीफूल आफ्नो बितेको रङ्गरूपलाई फिर्ता पाउने चेष्टामा प्रबल जीवनसङ्घर्ष गरिरहेकै लाग्छ ।
'त्यो फूल फेर्नुपर्ने अवश्य नै फेर्नुपर्ने ।' ऊ मनमनै दृढ अठोट गर्छ तर उसका सम्पूर्ण अङ्ग शिथिल भएझैं उसलाई लाग्छ । केवल दुई आँखामात्र पूर्ण गतिशील भएर त्यस फूलमा टाँस्सिएका छन् । यो फूलदान र यसमाको बासी फूल नै अहिले उसको विचारको घेराभित्र व्याप्त भइरहेका छन् । त्यसमाका खङ्ग्रङ्ग सकुको पत्रदल झर्न लागेका सुनभागाको एक मुठा फूल । ऊ त्यसैले बिहान सबेरै बडो जतनसँग फूलको मुठालाई सरक्क झिकेर त्यस फूलदानमा नयाँ ताजा पानी फेर्छ- फूलमा ताजा पानी छर्कन्छ तर फूल आजभन्दा भोलि सुकेर गएको देखिन्छ, अनि ऊ त्यसमा एकटक हेर्छ । त्यस फूलदानसँग उसको प्रेमिकाको कोमलता टाँस्सिएझैं उसलाई लाग्छ । त्यसैले बिहान सबेर उठ्नासाथ उसको पहिलो दृष्टि यही फूलदानमा पर्छ । त्यसभित्रको छचल्किएको रङ्गीचङ्गी पानीभित्र आफ्नी प्रेमिकाको अनुहार छचल्किएको भान हुन्छ । फूल्दान हल्लिएर त्यसभित्रको पानी तलमाथि छचल्किएको छ । त्यसैले त्यसभित्र आभास हुने अनुहार पानी तलमाथि छचल्किएको छ- तल-माथि, माथि-तल, लामो-चेप्टो । ऊ फूलदानलाई दायाँ-बायाँ हल्लाइदिन्छ । अब पानी दायाँ-बायाँ छचल्किन्छ । त्यसैले त्यसभित्रको अनुहार पनि दायाँ-बायाँ, दायाँ-बायाँ छचल्किएर तेर्सो डल्लो बन्छ । ऊ एकनास त्यस छायाँमा हेरिरहन्छ । त्यो अनुहार अहिले हाँसेर ल्याएझैं उसलाई लाग्छ किनभने पानीभित्र सेता टम्म मिलेका दाँतका पङ्क्ति छर्लङ्ग देखापर्छन् अनि त्यस अनुहारले गिज्याएर ल्याएझैं उसलाई लाग्छ किनभने पानीभित्र एउटा पातलो र सुन्तला केने ओठ टेढिएको ऊ देख्छ- सुलुत्त परेर टुप्पो गोल परेको नाक खुम्चिएको ऊ हेर्छ अनि असला माछाको बान्की परेका दुई फटिकका जस्ता गुच्चा आँखा चिम्सिएको ऊ अनुभव गर्छ अनि ऊ पनि आफ्नो नाक खुम्च्याउँछ, ओंठ बङ्ग्याउँछ र खिस्स दाँत देखाइदिन्छ । त्यसपछि लुगा लगाएर फुत्त निस्कन्छ- कता कता !
० ० ०
१४ डिसेम्बर १९६३
'दाजी' अब पनि त्यो बासीफूल नफेर्ने ?' कमला भित्र पसेर डराई डराई दाजुनिर आउँछे ।
'अँ फेर्नुपर्छ ।' आज अनायास उसको मुखबाट निस्कन्छ । आज उसकी बहिनीलाई हेर्ने आँखामा हिजोअस्तिको जस्तो भाव नभएर अर्कै किसिमको भाव छ । त्यसैले कमलाको अनुहार आतङ्कले फुस्रो भएको देखिँदैन । उसका आँखा डराएर काँपेका देखिँदैनन् । बह आश्चर्य र अरू कौतूहलको भाव त्यसको नीलो पानीमा टल्पलाएको देखिन्छ । ऊ विस्तारै दाजुको नजिकै आएर बस्छे । उससँग टाँस्सिएर बस्छे र आफ्नो निर्दोष आँखामा श्रद्धामिश्रित ममताको आशा लिए उसको मुखतिर हेर्छ ।
उसको मनमा पनि आज बहिनीप्रति कटुता पैदा हुँदैन । अनायास आफ्ना हातले उसको मुन्द्रे र कालो रेशमजस्तै कपालमा सुम्सुम्याउन थाल्छ । यो हातमा अहिले स्नेहको कम्पन छ । ऊ बहिनीको अनुहार हेर्छ- गोरी, पुक्क पुक्का गाला, केही नेप्टो हो कि मैं नाक, बडे-बडे दूधमा खसेका रिठ्ठाजस्ता आँखा, टाम्मटिम्म परेको जीउडाल । यो बहिनी उसलाई एउटी स्नेहकी मूर्तिझैं प्रतीत हुन्छे । ऊ बढी ममताले उसको कपाल मुसार्न थाल्छ । यस निर्दोष बालिकाको मनमा पनि यो बासी र सुकेको फूलप्रति किन यति वितृष्णा ?... उसको मनमा एउटा आश्चर्यमिश्रित जिज्ञासाले जन्म लिन्छ । ऊ त्यही जिज्ञासु आँखाले त्यस बालिकाको निष्कलङ्क अनुहारमा हेर्छ । अहिले पूर्वपट्टिको कलिलो सूर्यको नरम र पातलो किरणको आभा त्यस केटीको अनुहारमा परेकोले उसले भरखरै फागूको मुख छोपेर आएकी झैं भान हुन्छ । उसको अनुहार स्वयम् अर्ध-विकसित कोपिलाजस्तै देखिन्छ । ऊ केहीबेर बडो ममताको आँखाले त्यस अनुहारमा हेरिरहन्छ । यो अबोध केटी बारम्बार किन त्यो फूलदानको फूललाई बदल्ने आग्रह गर्छ ?... यो उसको अबोधपना मात्र हो, अथवा उसको अन्तर-चेतना हो ।
ऊ विस्तारै बहिनीको अनुहारबाट आफ्ना आँखा झिकेर फूलदानतिर घुमाउँछ । फूलदानमा त्यही वर्षौँ बासी सुनगाभाको फूल छ । मानिस हिँड्दा फूलदान हल्लिएर त्यस भित्रको पानी पनि छचल्किएको छ । पानीको तरङ्गमा यहाँ एउटा अनुहारको कल्पना पनि छचल्किएको छ लाम्चो चेप्टो, चेप्टो- लाम्छो । यो उसकी प्रेमिकाको अनुहार, ताजा अनुहार, रक्सी भरिएका मादकतापूर्ण आँखा जडिएको अनुहार, अरुण फुटेझैं रक्तिम गाला जडिएको अनुहार, सुन्तलाको केस्राझैं रसदार ओंठ जडिएको अनुहार । ऊ एकटक त्यस मीठो अनुहारलाई पिइरहन्छ अनि त्यसैको कलिलो हातले पहिलो र अन्तिमपटक सजाइदिएको सुनगाभाको फूलमा हेरिरहन्छ ।
अकस्मात् कमलाको छुवाइले फूलदान जोडसँग हल्लिन्छ । त्यसभित्रको रङ्गीन पानी जोडसँग छचल्किन्छ । त्यस पानीको तरङ्गमा पौडिने रङ्गीन अनुहार पनि जोडसँग हल्लिँदा हल्लिँदै त्यो धमिलिँदै जान्छ । पानी छचल्किन क्रमशः मन्द हुन्छ । अनुहार छचल्किन पनि क्रमशः सुस्त हुन्छ । अनुहार फेरि स्थिर हुन्छ, तर त्यो अनुहार साटिएझैं उसलाई लाग्छ अनुहारको गालाको लाली खुम्चिदै पहेँलिएझैं लाग्छ । सानो सुकेका खोक्रा आँखाले निर्जीवझैं हेरिहेको जस्तो लाग्छ । रस निचोरिएको खोस्टिएको ओंठले केही बडबड गरेझैं लाग्छ । अकस्मात् ऊ झस्किन्छ ।
'कमला ! भाउजू कहाँ छ ?' - ऊ आत्तिएझैं सोध्छ ।
'भाउजू ! भान्सामा ।' कमला अनौठोसँग उसको मुख हेर्न थाल्छे । ऊ एकदम सुस्त भएको झैं देखिन्छ ।
जाऊ त, पठाइदेऊ- 'ऊ त्यसै मरेको स्वरमा बहिनीलाई भन्छ । कमला उठेर जान्छे ऊ एकटक ढोकातिर हेरिरहन्छ । त्यतिकैमा उसकी श्रीमती ढोकामा उभिन्छे । पहेँली, फुस्री, आँखा वरिपरि कालो घेरा, कलेटीका पाप्रा सुकेका ओंठ, सोरिएका गाला ।
'मलाई बोलाउनुभएको ?'- कता कता गुफाबाट निस्केजस्तो स्वरले उसको कानको पर्दा छिचोल्ने प्रयत्न गर्छ । ऊ केही बोल्दैन, एकटक त्यही मूर्तिमा हेरिरहन्छ । ऊ केहीबेर मुख त्यसै सुस्त भएझैं हुन्छ । श्रीमती पनि केही बोल्दिन । ऊ केहीबेर खोक्रा आँखाले त्यस लोग्नेमा हेरिरहन्छे अनि विस्तारै उल्टो गोडाले माथितिर जान्छे । ऊ पनि ज्यादै थकाइ लागेझैं डब्रङ्ग ओछ्यानमा लड्छ ।
० ० ०
१२ मे १९६४
सूर्यको बाल-किरणको साथै नियमित रूपले उसका आँखा खुल्छन् । दृष्टि गएर पहिले जुन वस्तुमा ठक्कर खान्छ, त्यो त्यही टेबिलमाथिको फूलदान हुन्छ । त्यसभित्रको पानीमा झ्यालको ऐनाबाट छानिएको सूर्यको पहिलो किरण खेलिरहेको छ त्यस पानीमा सप्तरङ्गी इन्द्रधनुको भान भइराखेको छ, अनि त्यस फूलदानको मुखको सुनगाभाको खङ्ग्रङ्ग सुकेको बासीफूलको फुस्रो रङ्ग पनि सूर्यकिरणको स्पर्शले मुस्काएझैं लाग्छ तर यो सबै धोकामात्र हो । उसलाई राम्रो थाहा छ त्यो फूल खङ्ग्रङ्ग सुकेर झर्ने अवस्थामा छ । यो फूलको ठाउँमा अर्को ताजा फूल रहनै पर्छ ।
'त्यो फेर्नुपर्छ ऊ आफैमा भुतभुताउँदै अनि बन्दकोठाको इँटाका अन्तर अन्तरबाट १२ क्यालिबरको रिभल्भरको गोलीका पर्रा छुटेझैं त्यही वाक्य छुटेर उसको मुटुमा गड्न थालेझैं उसलाई भान हुन्छ र अकस्मात् उत्तेजनाले छटपटिन्छ । मनमा नराम्रो किसिमको बेचैनीको अनुभव भएर आउँछ । सान्त्वनाको लागि ऊ विस्तारै फूलदानतिर हात लैजान्छ र बडो ममतासँग बडो प्रेमसँग आफ्नो हातलाई भुवा बनाउने प्रयत्न गर्दै ऊ बाहिरै त्यस सुकेको फूलको पत्रलाई मुसार्न खोज्छ तर उसको हातको हल्का स्पर्शले नै त्यो खङ्ग्रङ्ग भएको फूलको पत्र एकदम छरिएर धूलोमा बदलिन्छ । यसले गर्दा उसको मुटुमा झन् ठूलो धक्का पर्छ । रन्थनिएर आफ्नो हातमा हेर्छ अनि जुरुक्क उठेर झ्यालमा गएर उभिन्छ । बाहिर तल बगैंचामा आँखाले भेटेसम्म रङ्गीबिरङ्गी फूलहरू सूर्यको सुनौलो किरणसँग हाँसिरहेका छन् । ती फूलका पात र पत्रदलहरूमा मोतीका दानाजस्ता शीतका थोपा टल्केका छन् । तिनमा पनि सूर्यको किरण-तन्तु पसेर सप्तरङ्गी इन्द्रेणीको आभा सृष्टि गरेको छ । शीतका थोपा तातोले पग्लिएर एक एक गर्दै तल जमीनको दूबोमा झर्दै बिलाउँछन् ।
त्यहाँ अनेक जातका, अनेक रङ्गका ताजा फूलहरू हाँसिरहेका देखिन्छन् । सुनकेसरा, गुलाफ, सुनगाभा, हसिना, लिली, सुगन्धराज के के, के के । उसका गोडा विस्तारै झ्यालतिरबाट ढोकातिर सोझिन्छन् ।
ऊ तल जान्छ । तलबाट बगैंचामा पस्छ । बिहानको चीसो हावा उसका रौँका प्वाल-प्वालबाट पस्छ । उसको सर्वाङ्ग आइसक्रिम खाएझैं चिसो हुन्छ । ऊ विस्तारै फूलका क्यारीहरू सुम्सुम्याउँदै अगाडि बढ्छ । उसको स्पर्शले गुलाफको झाडी हल्लन्छ । त्यसका पातपत्रमा अड्किएका शीतका थोपाहरू बरर झरेर उसको सर्वाङ्ग सेचन गरिदिन्छन् । एकै क्षणका लागि ऊ बढो तृप्तिको अनुभव गर्छ । बकैनाका रूखहरूमा जुरेलीका जोडी गाउन थाल्छन् । ऊ केही बेर मुग्ध भएर सुन्छ ।
त्यसपछि ऊ विस्तारै सुनगाभाको क्यारीतिर बढ्छ र एक मुठी ताजा फूल टिपेर मुठीमा लिएर कोठामा फर्कन्छ । अब उसको हातमा एक मुठा सुनगाभाको ताजा फूल छ । अगाडि उसकी प्रेमिकाले दिएको गमला छ, त्यसमा उसकी प्रेमिकाले आफ्नै हातले सजाएर छोडेको सुनगाभाको फूल अहिले बासी भएर सुकेर धुजा-धुजा भएर भुइँमा पोखिएको छ । ऊ एकटक त्यसमा र त्यस फूललाई यतिका वर्ष आफूमा समेटेर त्यसको अस्तित्व जोगाइराख्ने फूलदानलाई हेर्छ । त्यसभित्र इन्द्रेणीको आभास लिएको सप्तरङ्गी पानी स्थिर छ । अनि.... बिचरो, उसको मनमा नराम्रो गाँठो पारेर केही बेर उसलाई भित्र नराम्रो घाउ टन्किएझैं लाग्छ । यसले ऊ ज्यादै भावुक हुन्छ तर केही क्षणपछि नै त्यस फूलदानमा ताजा सुनगाभाको एक मुठा फूल आफ्नो नयाँ जिन्दगी लिएर हाँसिरहेको हुन्छ, अनि ऊ अनुहारमा कुनै पनि भावना नभएको, त्यो आफ्नो प्रेमिकाले दिएको फूलदानमा हेरिरहेको देखिन्छ । - एकटक ।
१२ जुन १९६४
०००
रमेश विकलका कथासङ्ग्रह ‘एउटा बूढो भ्वाइलेन: आशावरीको धुनमा’

