तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन, तर भेट भयो । कहिले आयौ ? ए, हिजो मात्रै ? मौसम कस्तो थियो ? राम्रो ! त्यसो भए हवाईजहाजमा कुनै गडबडी, बम्पिङ त भएन ? विराटनगरबाट आउँदाखेरि पहाडैपहाड, डाँडैडाँडा पर्छ, बादलैबादल आषाढको महिना, वर्षा अति भयानक हुन्छ । तिमीलाई डर लागेन ? डर, केलाई त, हैन ? मृत्यु जो सधैं भइरहन्छ, जो अनिवार्य छ, अवश्यम्भावी छ । त्योसँग फेरि केको डर ? फिलोसफी ? यो केको फिलोसफी, यो केको दर्शनशास्त्र ? बाँच्ने, जीवन बिताउने तरिका-पद्धतिलाई पो दर्शन भनिन्छ । मर्नलाई केको दर्शन ? नमरूँ भने पनि मरिन्छ क्यारे । फेरि त्यसलाई केको दर्शन चाहियो ? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ, चाहे त्यो जीवहिंसा होस्, चाहे भावको, चाहे आदर्शको, चाहे आफ्नो आत्महत्या । कसो ?
यतिका वर्षपछि भेटेकोमा म यो के अन्टसन्ट बकिरहेको हुँला ? तिमीलाई मन पर्छ ? मैले बक्दैफलाक्दै गइरहेको तिमीलाई मन पर्छ ? ताजुब ! त्यसो भए म जे बकूँ, तिम्रो आलोचना या निन्दा गरूँ के त्यो पनि मन पर्छ । अहँ, म पत्याउन्नँ । त्यस्तो सहनलाई बडेमानको छाती चाहिन्छ । सम्भव छ, त्यस्तो छाती तिम्रो होस् ! छ ? त्यसो भए बेस हो । म निन्दा गरूँ त ?
निन्दा गरूँ ! भो, निन्दा र प्रशंसा दुवै गर्दिनँ । दुवै गर्नलाई हक चाहिन्छ, निकटता र हार्दिक सम्बन्धबाट उत्पन्न भएको हक । त्यो मसँग कहाँ छ र ? हामी त दुवै अहिले यति अपरिचित छौँ, छोएर पनि चिन्दैनौं नि । कति सँगै बस्यौं, कति गफ चुट्यौँ, केके गरेनौँ । ठीक हो, त्यो सत्य हो । तर अहिले म त्यस बखतको जीवनको प्रेत मात्र हुँ, तिमी त्यस बखतको जीवनको प्रेतनी मात्र हौ । त्यसैले एकले दोस्रोलाई कसरी चिन्ने ? के भन्यौ, म तिमीलाई चिन्न चाहन्नँ । तिम्रो अरूसँग बिहे भइसकेर छोराछोरी पाइसकेको हुनाले फेरि अरूसँग पोइल गएकी म चिन्न चाहन्नँ । यो के दोष देखाएको तिमीले मलाई ? यी कारणहरू हुँदै होइनन् । यसमा सत्यता छैन । अहिले म यहाँ जे कुरा भन्न लागेको छु त्यो कुरा सुनेपछि तिमी झन् छक्क पर्छौ । तिमीलाई चिन्न मैले कति कोशिश गरेको रहेछु, भेट्टाउन कतिको प्रयत्न गरेको रहेछु । तर कस्तो निराशा ! तिमी पनि पहिलेको रूपकी प्रेतनी मात्रै । यसैले त म तिमीलाई चिन्दिनँ ।
तिमीले मेरो कुरा बुझिनौ। साँच्ची भनूँ भने, म पनि स्पष्टसँग आफ्ना मनका भावहरूलाई यस्तै हो भनेर बुझ्दिनँ । कहिले त्यस भावसँग मिल्ने अर्थको शब्द पाउन्न, कहिले भावहरू यति खजमजिएका हुन्छन्, शब्दले त्यसको वास्तविकतालाई भेटाउनै सक्तैन । म आफै रन्थनिरहन्छु । कहिले त्यो भाव यही मात्र हो भनेर म ठम्याउनै सक्तिनँ । म अल्झिन्छु र मनपरी गर्न थाल्दछु, जसले गर्दा सबको नोक्सान हुन्छ, बरबादी हुन्छ !
के भन्यौ, यी सबै मेरा बनावटी कुरा मात्र हुन् । खालि मैले तिम्रो मन राख्नलाई यो कुरा गरेको, मैले तिमीलाई तिम्रो बिहे भएदेखि बिर्सिसकेको छु, म तिमीसँग रिसाएको छु, म तिमीलाई घृणा गर्छु भनेको । त्यसो भए तिमीले खुब बुझ्यौ मेरा कुरा । तिमीले नबुझ्नुमा पनि केको आश्चर्य र, जबकि कहिलेकाहीँ म आफै अन्योलमा पर्छ भने ।
के रे, बिर्सनु पनि श्रेयस्कर छ ? हो त नि, बिर्सनु पनि लाभप्रद छ । त्यसले नयाँको निमित्त स्थान रिक्त गरिदिन्छ र नयाँले प्रवेश गर्ने मौका भेट्टाउँछ । एउटा कुरा तिमीसँग सोधूँ, जब म आफै अलमल र अस्पष्टतामा छु भने, त्यो भाव, त्यो रूप मेरो मनमा अनौठो प्रकारले कोरिएको छ, जो कहिलेकाहीँ मात्र छर्लङ्गिएर उम्रिन्छ, स्पष्ट हुन्छ, मानौं त्यो समुद्रको गहिराइमा बग्दै आइरहेको हिउँको पहाड हो, अकस्मात् कुनै मौसममा टाउको उठाएर उज्यालोमा चम्किन लाग्दछ र म त्यसलाई देख्दछु । सम्झ कि हुस्सुले सम्पूर्ण रूपले ढाकिएको कुनै मूर्ति हो, किरणहरू पर्नेबित्तिकै त्यो मूर्ति प्रज्वलित हुन थाल्दछ र म अवाक् भएर हेर्न थाल्दछु । त्यो घडीमा मेरो छटपटी र नैराश्य, बरबादी र ध्वंस चरम सीमामा पुग्दछ र म एक किसिमले बहुलाउँछु । म चाल पाउँछु, त्यो रूप मैभित्र अझ जिउँदै छ, जिउँदै जसलाई पहिले कतिपल्ट हत्या गर्न कोशिश गरिसकें र स्मृतिपटलबाट हुत्त्याएर सेलाइदिने चेष्टय गरिसकें । तर त्यो त्यहीँ छ र मलाई मौकाबेमौकामा लखेट्न थाल्दछ ।
हैनहैन, त्यो रूपकी कुनै आइमाई नै छैन, कुनै नारी नै छैन । छ भने पनि त्यो रूप तिनको मरिसकेको छ, खोजे पनि यस धर्तीमा म पाउन सक्तिनँ । त्यो त मेरो छातीमा अङ्कित भएको रूप मात्र हो, जसको संसारमा अब अस्तित्व छैन, त्यस्तो स्वत्वहीन रूपले मलाई लखेटिरहन्छ, निरर्थक रूपले मेरो जीवनव्यवसायमा आघात पुऱ्याइरहन्छ ।
अहो ! तिमी चित्र चाहन्छ्यौ त्यो को भनेर ? को ? म पनि राम्ररी ठम्याउन सक्तिनँ अहिले । सम्भव छ, त्यो तिम्रै पन्ध्र वर्षको उमेरको रूप र अङ्ग सम्भव छ । मैले त्यस बखत तिमीलाई जुन रूपमा मन पराउन चाहेको थिएँ त्यस कल्पनाले गर्दा पृथक् गराएको रूप र आकार हो, यो मेरो आफ्नै मनोभावको सिर्जन मात्र हो । लौ भन, को भनेर म कसरी भनूँ ?
हो, यो भावुकतापूर्ण मूर्खता र अज्ञानले भरिएको कुरा मात्र हो । जसको सत्ता नै छैन, जसको अस्तित्व, रूपाकार नै छैन त्यसले पनि कसैलाई लखेट्छ ? कसैलाई ठग्न सक्छ ? कसैको वास्तविक जीवनमा अलमल र गोलमाल मच्चाउन सक्छ ? कस्तो हास्यास्पद कुरा ! कस्तो पागलपन ! कस्तो लहड ! तर त्यस्तो स्वत्वहीन स्वरूप र भावले कसैलाई जीवनभर अशान्त र विचलित तुल्याइरहन्छ भने त्यस्तो कुरालाई कसरी अवास्तविक भन्ने, भ्रम भन्ने र सत्ताहीन भन्ने ?
ठीक भन्यौ, यो मेरै आफ्नै गल्ती हो, अझ भन न एक प्रकारको अस्वस्थताको चिह्न हो या यसलाई रोगै भनौं । ठीक हो, रोग त हो नि ।
तर यस रोगको सत्ता छ । के भन्यौ, तिमीलाई मैले अलमल्याउन यो झूठ बोलिरहेछु ? त्यो आइमाई कोही छ, त्योसँग म बिहे गरेर जिन्दगी गुजार्न चाहन्छु याने म प्रेम गर्छु । ओहो, खुब भन्यौ ! यति सजिलोसित त्यो आइमाईलाई भेट्टाएर प्रेम गरेर बिहे गर्न पाएको भए त मेरो यो दुर्दशा किन हुन्थ्यो । भो, ठट्टा नगर । त्यो आइमाई छैन याने मरिसकी । त्यसको तिमी प्रेत हौ याने तिम्रो पन्ध्र वर्षको रूप ! तिमीलाई पत्यार लागेन याने मैले ठट्टा गऱ्या, ठट्टा !
हो, अहिले त ठट्टै जस्तो छ किनकि थाहा छ अहिले म एकदम स्वस्थ र चङ्गा छु नि याने सचेत । त्यो रूप मेरो अगाडि सजीव रूपले खडा हुन सकेको छैन, मलाई लखेट्न पनि सकेको छैन । म एकदम सन्तुलित अवस्थामा छु । तिमीलाई पत्यार लाग्दैलाग्दैन, हो, कसैलाई पनि लाग्दैन । तिम्रो सामुन्ने उभिएर पन्ध्र वर्षको उमेरको स्वरूपले मलाई लखेट्छ भन्दा अरूलाई त के मलाई नै उदेक लाग्छ, तर साँचो कुरा नभनी म झूठ किन बोलूँ ? साँच्ची भनूँ भने अहिले तिमी मसँग आउँछु भनेर अँगाल्न आए पनि म तिमीलाई घृणा गर्न बेर लाउन्नँ । शायद तिमीलाई म हुत्त्याइदिन्छु, त्यो तिमी हैनौ भनेर ।
तिम्रो कुरामा म सोर आना सही थाप्छु, यो स्वाभाविक होइन, एकदम अस्वाभाविक अझ भनूँ भने विकृति हो, तर के भो र मलाई लखेटेको त सत्य हो कि ? भ्रमै भए पनि त सत्य हो कि ।
भोभो, म तिमीलाई आफ्नो जिन्दगीको सम्बन्धमा एकदुई कुराहरू बताउँछु, झर्को लाग्ने छैन ? भइहाल्यो, मलाई थाहा छ तिमी स्वस्थ युवती हौ, तिमीले जे गर्छ्यौ सोचीसम्झी गर्छ्यौ, यस्तो लखेटाइको पछाडि छैनौ, तर कोही छ भने याने म जस्तो छ भने त्यस्ताको फतफतलाई सुन्न केही अप्ठ्यारो छ ? हैन, म भन्दिनँ । किन म सद्दे मानिस हुँ, मलाई आफ्नो असद्देपनाको राम्रो चेतना छ । त्यसैले त त्यस्तो लखेटाइबाट बच्न भरमग्दुर चेष्टा गर्दछु । भनूँ भने, मैले केके गरिनँ !
तिमीलाई थाहा छ, म लेखपढ गर्दछु र समाजमा म बेकामीमा गनिएको छैन । तर मेरो आन्तरिक जीवनको यथार्थताबाट कति जना परिचित छन् र । शायदै कोही होलान् । यही त मलाई आश्चर्य लाग्दछ । उनीहरू मलाई गण्यमान्य सम्झन्छन् । एकाध मेरा दुर्बलताहरू छन् भने पनि आँखा चिम्लिदिन्छन् र देखिने गरी कुनै विकृत आचरण छन् भने सनक भनेर क्षम्य सम्झन्छन् । यसभन्दा बढी उनीहरूलाई यसमा चासो लिने प्रयोजन पनि छैन, तर मलाई त मेरो चासो छ कि ?
उदाहरणस्वरूप सुन, एक दिन, तिम्रो बिहे भएको दुईतीन वर्ष भइसकेको थियो होला, तिम्रो बिहेताक म कलकत्तामा थिएँ क्यारे । हो, कलकत्तैमा थिएँ । (मैले त्यसपछि तिमीलाई बिर्सि नै सकेको थिएँ) म टेबिलमा बसेर केही रचना गर्न लागेको थिएँ र मेरो मस्तिष्क त्यसमा एकदम केन्द्रीभूत भइरहेको थियो । अकस्मात् मेरो सामुन्ने तिम्रो पन्ध्र वर्षको रूप खडा भयो, हेदहेर्दै सजीव भएर उभियो । म छक्क परिरहें । मेरा अङ्गप्रत्यङ्ग खुम्चिँदै, कस्सिंदै गइरहेका थिए र मलाई लाग्यो मेरो सचेतनता लुप्त हुँदै गइरहेछ । त्यसपछि होसमा आउँदाखेरि मेरो जीउ निथ्रुक्क पसिनाले भिजेको थियो र मेरो हातमा कापीका पत्राहरूका धुजाहरू मात्र थिए । मैले सब कापीहरू च्यातिसकेको रहेछु । त्यसै दिन मैले चाल पाएँ तिम्रो पन्ध्र वर्षको रूपले मलाई लखेट्न थालिरहेछ । त्यसपछि केही दिनपश्चात् फेरि त्यस्तै भयो, रूप स्पष्ट हुँदै आयो, मेरो दृष्टि त्यसैमा केन्द्रित हुन थाल्यो, ओठ र आँखाहरू काम्न थाले, मुठी कस्सिँदै गयो, बस म हराउँदै गएँ । अनि थाहा छ मैले के गरे ? भोलिपल्ट तिम्रा भएभरका तस्वीरहरू खोजीखोजी च्यातेर धुज्याएर फालिदिएँ । तिमीले उपहारस्वरूप दिएका सप्रेम भेटहरू रुमाल, फोटो, चिठी सब मिल्काइदिएँ । म सन्तुलित हुन चाहन्थें न कि भ्रामक मोहावस्थामा विचलित । यसरी ममा केही दिनसम्म आत्मविश्वास जागृत भयो, त्यस रूपले लखेट्न सकेन । मेरा दैनिक कार्यक्रमहरू मज्जैले चले । तर केही लेख्न र कल्पना गर्न बस्दा तिम्रो त्यही पन्ध्रवर्षे रूप फेरि बिस्तारै उम्रेर आउन खोज्थ्यो । त्यसैले लेख्नसम्म छाडिदिएँ र अरूतिरै बहलिन खोजें ।
के भन्यौ, किन अहिलेसम्म मैले बिहे नगऱ्या ? म त्यही त भन्दै छु । मैले बिहे किन गर्न सकिनँ ? बिहे गरेको भए शायद यसले लखेट्न छाड्थ्यो कि ! तर हैन, बिहे गरेको भए झन् यसले मलाई प्रपीडित गर्थ्यो । हुन सक्छ यो मेरो गलत धारणा होस्, तर मलाई त्यस्तो लाग्छ ।
तिमीलाई त थाहा नै छ, मैले एकचोटि बिहे गर्न पनि कोशिश गरेको थिएँ । हो, बिहे भइ पनि सक्थ्यो, तर नहुनुको रहस्य मसम्मै सीमित छ । यो मैले कसैलाई पनि भनिनँ । अरूलाई भनिदिएँ मलाई आइमाई मन परेन, तर वास्तवमा कुरा त्यसो थिएन । बिहे गर्ने मैले वचन दिइसकेको थिएँ । मलाई लागेको थियो, बिहे गरेपछि मलाई लखेट्ने भ्रामक रूप दूर हुन्छ, तर त्यसको विपरीत के भो थाहा छ ? झन् बिहे गर्छु भनेदेखि त्यो रूप तीव्रतर रूपले मेरो अगाडि देखा परिरहन थाल्यो । म रातभर निदाउन सकिनँ, छटपटाइरहन थालें । त्यो रूपको सादृश्य मेरो दुलही हुनेमा पटक्कै थिएन । मैले त्यही रूपको सादृश्य खोजें भने या मैले त्यही रूपको निम्ति बहुलाएर बिहे गरेकी नयाँ दुलहीप्रति यो घृणाको सम्बन्ध राख्न थालें भने मेरो र उसको जीवनको कुन गति हुन्छ ? त्यस बखत तिम्रो पन्ध्रवर्षे रूप झन्झन् स्पष्टतर हुँदै आइरहेको थियो । हातखुट्टा हल्लाएर, रिसले हमला गरेर ठोकेपछि मात्रै त्यो भ्रम, त्यो स्वरूप दूर हुन्थ्यो । म स्वस्थ हुन्थें । त्यसपछि मैले बिहे गर्ने कल्पना नै छाडिदिएँ। दुलहीपट्टिकाहरू मसँग रिसाए होलान्, मैले त्यसरी तिनलाई हत्या गरिदिएँ ।
हुन सक्छ, तिमीले भनेझैं मैले ठीक गरिनँ । बिहे गरेपछि त्यसमा डुबेपछि तिनको हावभाव र प्रेमपूर्ण दृष्टिले र तिनीसँगको भोगले, त्यो भ्रामक रूपलाई मिल्काउन सक्थें, तर मिल्काउन नसकेको भए तिनको अवस्था के हुने थियो, तिमी आफै सोच त । मलाई आफैमा विश्वास छैन, त्यो रूपलाई म सहजै मिल्काउन सक्छु । राजनीतिको अखडामा उत्रेर तीनचार वर्ष जेलमा गुजार्दाखेरि समेत, मैले त्यो रूपको लखेटाइबाट आफूलाई जोगाउन सकिनँ । जेलमा त्यो रूपले लखेट्नेबित्तिकै म दौडन्थें, त्यसलाई पक्रन झम्टन्थें, पिट्थें, आक्रमण गर्थें, एकाध चोटि मैले आफ्नै साथीलाई समेत कुटेको रहेछु र कहिलेकाहीँ भित्तामा मुड्कीले हानेको छु । यस्तो केही चोटि मात्र त्यहाँ मलाई भएको थियो । त्यहाँ मलाई साथीहरू भन्थे, ‘कहिलेकाहीँ म त्यसै बहुलाउँछु र जेलमा एकाध चोटि को बहुलाउँदैन ?’ त्यसैले यस कुराको कसैले शङ्का गरेनन् ।
जेलपछि मैले सोचेको थिएँ, यस रोगबाट म मुक्त भएँ । राजनीति र अरू व्यवसायहरूमा लागेपछि साँच्ची नै त्यस रूपले मलाई लखेट्न छाड्यो । एउटी पढेलेखेकी युवतीले मसँग बिहे गर्ने आग्रह देखाउनेबित्तिकै त्यस रातमा पुनः त्यो रोग मेरो फर्क्यो । त्यो रूपले फेरि मलाई लखेट्यो, म आफैंसँग उदासीन भएँ। ममा उत्साह आएन । म त्यही रूप चाहँदो रहेछु न कि कुनै अर्को रूप, जो पाउन असम्भव थियो । त्यो मृत रूपलाई म कहाँ पाऊँ ? तिमी आफै भन । तिमी उसैको वर्तमान यो रूप भए तापनि तिमी पनि मलाई त्यो पहिलेको रूप दिन सक्तिनौ । सक्छ्यौ त ?
पागलपन ? यही त मेरो पागलपन हो । मूर्खता ! तर्कहीन, सङ्गतिहीन पागलपन । मलाई त्यही रूपले लखेटेको छ, त्यसैलाई मैले पाउनुपर्छ, अरूबाट सन्तोष पाउन्नँ । कस्तो हठी पागलपन !
म एक्लै बसेको छु एक्लै, तर भातसात पकाउनलाई मानिस चाहिन्छ । तिमीले पनि पहिले देखेकी छौ, मकहाँ कामधन्दा गर्ने आइमाई बसेकी थिई । तिमीले देखेको पहिलेको त्यो आइमाई अहिले छैन, धेरै जना फेरिइसके। जबजब मलाई त्यस रूपले लखेट्न थाल्दछ, ती आइमाईहरूप्रति म घृणा गर्न थाल्दछु र मनपरी बोलेर टिक्नै नसक्ने गरी वातावरण असह्य तुल्याएर तिनीहरूलाई धपाइहाल्दछु । अरू आइमाईको स्वरूपसँग मलाई त्यस अवस्थामा किनकिन घिन लाग्न थाल्दछ, म आफैं भन्न सक्तिनँ । त्यस भ्रामक रूपको निमित्त मैले कति जिउँदाहरूलाई बलि चढाइसकें, कतिको मानसिक हत्या गरिसकें, कतिको प्रेमलाई टक्य्राइसकें, यो किन ? त्यस रूपको लखेटाइमा ! त्यस रूपमा कस्तो दुराग्रह ! कस्तो असन्तोष ! मेरो पागलपन ! ती मेरा काम गर्ने आइमाईहरू अनभिज्ञ छैनन्, मलाई पनि तिनीहरू निस्सन्देह मनमनै बहुला भन्लान्, विचित्र सनक भएको सन्काहा !
के भन्यौ ? मैले यस्तो थाहा पाईकन आफूलाई किन नियन्त्रण गर्न सकिनँ ? यही त मेरो पनि आफैसँग प्रश्न छ । म अरू बखत दुरुस्त छु, म आफ्नो व्यापार राम्ररी नै गर्छु, बाहिरका कुनै व्यक्तिहरूलाई पनि मलाई रोगग्रस्त सम्झने मौकासम्म दिन्नँ । तर एक्लै घरमा बस्दा, पढ्न र लेख्न थाल्दा, जब मेरो कल्पना कुनै आइमाईको चरित्र वा स्वरूपमा केन्द्रित हुन थाल्दछ मस्तिष्कमा अलि बल पर्नेबित्तिकै सम्झ त्यो अचेतन मनको रूप बिस्तारै जमीन चिरेर उठ्न थाल्दछ, भएभरको आफ्नो सौन्दर्यको दीप्ति लिएर कमनीयता र मोहकताले मलाई अभिभूत गरिदिन्छ र त्यस बखत मेरो काबु ममाथि रहन्न । म छटपटाउँछु र त्यसलाई धपाउन हातगोडा चलाउँछु, झम्टन्छु, उफ्रन्छु र पछि दौडन्छु । पसिनाले लतपतिएर थकित भएपछि म होसमा आएझैं हुन्छु । मेरो कामधन्दा गर्नेहरू मलाई भूतले छोप्यो भन्ने सम्झन्छन् । म भने लज्जित भएर तिनीहरूप्रति रुष्ट हुन्छु । विशेष गरी आइमाईहरूप्रति मेरो क्रूरता चरम सीमामा पुग्दछ ।
ठीक कुरा हो, म यो रोगलाई निको तुल्याउन चाहन्नँ । निको हुन मैले के कोशिश गर्दै र ? फगत आफ्नै हातले त्यो रूपलाई पिट्न दौडनुबाहेक, अँठ्याएर मार्ने कोशिशबाहेक । हो, मैले केही पनि गरिनँ । अब त यस्तो भइसक्यो, मलाई त्यो रूपले लखेटिरहनैपर्छ, मैले झम्टन त्यसको पछाडि दौडनै पर्छ । यसैमा मलाई सन्तोष भएजस्तो पनि हुन्छ र चैन पनि ।
तिमीलाई उदेक लाग्यो ! तिम्रो पन्ध्रवर्षे रूपले मलाई लखेटेको म तिम्रो अनुहारको भावभङ्गिमाले बुझ्दछु नि । तिमीलाई विश्वास पनि लागोस् कसरी ! तिमी उही भएर पनि मेरा लागि त्यस रूपकी प्रेतनी मात्रै ।
भर्खर मैले एउटा घटना सम्झें, जसलाई मैले अहिले बताउनैपर्छ । बताऊँ ? तर सुनिसकेपछि मप्रति गलत धारणा नराख नि । सुनिरहिछौ ? त्यसो भए एकछिन अरू सुनिदिनू ।
लामो कुरा छैन, तर मैले बताउनैपर्छ । म एक दिन एउटा राम्रै रेस्टुराँमा चिया पिउन पसेको थिएँ । धेरैजसो म त्यहीँ जान्थें । कुनानिर बस्थें, जहाँबाट भित्र कोठामा चिया पिएर बसेकाहरू राम्ररी देखिन्थे र सँगैको ढोकाबाट निस्कन्थें ।
म एक्लै थिएँ, चियाको कप र रिकापी सामुन्ने थियो । चिया पिउँदै थिएँ, एकचोटि चिया पिएर रिकापीमाथि राख्तै ढोकातिर हेरेको थिएँ, अकस्मात् मैले तिम्रो पन्ध्रवर्षे रूपलाई ढोकानिरै उभिएको देखें, म चकित भएँ । यस्तो प्रकारले घरबाहिर मलाई कहिल्यै पनि त्यो रूपले आक्रमण गरेको थिएन । मैले झटपट फेरि चिया पिएँ, फेरि उतैतिर हेरेँ । त्यो स्वरूपले उही प्रकारले उभिएर मतिर हेरिरहेको थियो । मलाई विश्वास भयो कि फेरि त्यो रोगले मलाई आक्रमण गर्यो, म यहाँ चलमलाउन थाल्दछु, आक्रमण गर्न उफ्रन खोज्छु पनि । फेरि मैले आफूलाई काबूमा राख्दै हेरें, त्यो शरीर त्यहीँ खडा थियो, अनुहार मात्रै भित्र कोठातिर फर्किएको थियो । ममा नियन्त्रण हरायो, सधैं जस्तो मेरा हातहरू चल्न थाले, उफ्रेर झम्टन उठें र आक्रमण गर्न अगाडि बढेँ । म पसिनाले लतपतिसकेको रहेछु । नजिकै पुगेर घाँटी दबाउन कमर कस्तै थिएँ अकस्मात् म के देख्छु कि तिम्रो अघिल्लो लोग्ने मतिर हेरेर हाँसिरहेको छ । म झल्याँस्स भएँ । यो तिम्रो पन्ध्रवर्षे छोरी रहिछ, उस्तै तिम्रो पन्ध्रवर्षे रूपकी, उही हेराइ, चलाइ, मलाई लखेट्ने रूप ! म त्यहाँबाट बोल्दै नबोली फरक्क फर्केर भागें, मैले बाटोमा ककसलाई धक्काबक्का दिएँ, थाहा पाइनँ । म भाग्दै बाहिर निस्किएँ । मैले घाँटी समाएर अँठ्याइदिएको भए या सधैं जस्तो कुटेपिटेको भए या उन्मादमा आएर उनलाई चुम्बन गरिदिएको भए त्यो रेस्टुराँमा के हुने थियो ! म अहिलेसम्म आफै छक्क पर्छु। मैले त्यस्तो केही गरिनँ । अहो, म कसरी बचें ! त्यो रेस्टुराँमा कस्तो होहल्ला मच्चिन्थ्यो र शहरैभरि त्यो घटनाको कस्तो विचित्र चर्चा हुने थियो । अनि तिमीले मलाई के सम्झने थियौ कुन्नि ?
हो, तिम्रो अनुहारमा तिम्री छोरीको अनुहार ठ्याक्क मिल्दैन, तर तिम्रो पन्ध्र वर्षको रूपसँग मिल्छ कि ? हो मिल्छ । मलाई मिलेजस्तो लाग्छ, तर त्यस दिन साँच्चीकै मिल्थ्यो नत्र मेरो अङ्गप्रत्यङ्गमा आक्रमण गर्ने बेहोसी किन जाग्थ्यो ! म साँच्चीकै तिम्रो छोरीको नजिकै पुगिसकेको थिएँ, खालि हात मात्र उठ्न बाँकी थियो ।
पागल ? हुँ, म साँच्ची नै पागल हुँ, तर यो बहुलट्ठी अब कति पराकाष्ठासम्म पुगिसकेको छ कि यसले मेरा रक्ताणुहरूलाई समेत आक्रमण गरिसकेको छ । यसबाट साँच्ची नै मलाई के लाभ छ र ! अब त कहिल्यै नपाइने त्यही रूप र भावको खातिर आफूलाई बलि चढाइदिनु नै श्रेयस्कर छ । तिमीले भनेझैं यो साँच्ची नै पागलपन हो ।
(‘प्रज्ञा नेपाली आधुनिक कथा भाग–एक’बाट)

