साहित्यपोस्ट डट कम

क्लासिक कथा : छिमेकी

क्लासिक कथा : छिमेकी

असारको महिना थियो । दिउँसोको टन्टलापुर घामका मारे किसानहरू मेलो छोडेर चौतारामा बसेका थिए । कुलोमाथि चौतारो, कुलामुनि आसामरु साहूको हिउँदै पसल, त्यसमुनि ज्यामिरे बेंसीको फाँट । निकै रमाइलो ठाउँ थियो ।

किसानहरू कोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए । धर्मानन्द पाध्ये चौतारामा बसेर गफ चुट्दै थे । गुमाने घर्ती हत्केलामा मुन्टो अड्याएर ढुङ्गामा पल्टेको थियो । धनजिते भोटे पसलका डीलमा बसेर घुम बुन्न लागेको थियो । यी सरल किसानहरूलाई धनका निमित्त तँछाड र मछाड भन्दै घचेटाघचेट गरेर अरूलाई उछिनी दगुर्न खोज्ने यो सभ्यता भनूँ या अज्ञानता भनूँ, यस भयङ्कर रोगले तिलभर पनि छोएको थिएन । केवल बखतबखतमा पानी परिदिए, खेतीकमाइबाट सरकारको तिरो, साहूको ब्याज, वर्षदिनलाई अन्न, वस्त्र, नून, तेल पुऱ्याउन सके पुगेको थियो ।

धर्मानन्द पाध्ये अलि ठटेउला किसिमका मानिस थिए; वीरसिक्का पढ्थे; गाउँको बुजुक हुँ भन्ने घमन्ड गर्थे; मानिसलाई लडाएर तमाशा हेर्ने स्वभाव थियो । एकछिनपछि गुमानेका गोरु धनजितेका बीउमा पसे । आज-भोलि रोप्नुपर्ने बीउ, धनजिते आगो भो । घुम भैंमा मिल्काएर गोरुलाई लगारी-लगारीकन चुट्न लाग्यो ।

किसानहरू सबै कुरा सहन सक्छन्, परन्तु बस्तुलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन् । बीउबाट धपाइन्जेल त गुमाने केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रीसको सीमा रहेन । असार महिनाको दिनभर जोत्नुपर्ने गोरु, उसमाथि पसेका मात्र थिए, उति नोक्सान गरेका केही थिएनन् । जुरुक्क उठेर भन्यो- “बीउ नोक्सान गरेको छ भने अर्मल ले, असारका गोरु किन कुट्छस्, ए धनजिते !”

आजभोलि रोप्ने बीउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सही नसक्नुभो । पाखुरा सुर्कंदै भन्यो- “तेरा डाम्ना छाडा गरेर असारको बीउ चराउँछस्, अझ अर्मलको धाक लगाउँछस्, गुमाने चोर !”

धर्मानन्दलाई लडाउने मौका पायो । सुर्तीको लुँडो निमोठ्दै भने- “कस्तो मिचाहा भोटे रहेछ; बिहानभरि जोतेका भोका गोरुलाई आफैं कुट्छ, अझ उही चोर र सोर उड्कन्छ ।” गुमानेका कनसिरी अघि नै तातिसकेका थिए, धर्मानन्दका कुराले झन् भुतुक्क भो । निर्धाको हात छिटो चल्छ भन्छन्, “किन मुख छोड्छस्, ए धनजिते डाँकू !” भनेर हात मिसिहाल्यो ।

धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक, किन हट्थ्यो ? दुवै जना लठारिंदै चौतारीमुनि पुगे । तमाशा हेर्नेको ठट लाग्यो । धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो । गुमाने ढाक्रेहरूले चम्का लगाएको ढुङ्गो दुई हातले उचालेर आइलागेको थियो, धर्मानन्दले छेके ।

गुमाने दौराको फेर निचोर्दै पसलका डीलमा बसेर धनजितेसित अघोरसँग बाझ्न लाग्यो- “बाबुले धुलिखेलेको भारी चोर्यो र तीन दिनसम्म छिंडीमा जाकेथ्यो, ठूलो हुन्छस् !”

“काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाकर चोर्दा मानवीरे द्वारेले गोर्खेलौरी कसेर चउरमा लडाएको कसको बाबुलाई नि ? गम्कन्छस् !”

बाबुआमा, दिदीबैनी कसैको इज्जतहुर्मत बाँकी रहेन; साँझ परेपछि पनि बाझ्दै उकालो लागे ।

चौतारामा झगडा भएदेखि धनजिते र गुमानेको बोलचाल बन्द भो । बाटामा धनजितेलाई देख्यो भने गुमाने तर्केर हिंड्थ्यो ।

—-

भदौका आधाआधीतिर गाउँमा आँठे पर्‍यो । पैले एक-दुई दिन रुगा लागेजस्तो हुन्थ्यो, त्यसपछि चौपट्टसँग भुङ्ग्रे जरो आउँथ्यो, चार-पाँच दिनपछि सन्निपातको लच्छिन देखिन्थ्यो । आठ दिनका दिन खत्तम ।

गुमानेका विचारमा यो सबै देउदेउताको दोष थियो । भन्थ्यो- “देउदेउताको मानभाउ नगरेपछि यस्तै हुन्छ । परार रगतमासीले गाँवै सोतर भो । गाउँका थानीको आजापूजा गरूँ भन्दा ‘सिमेभूमे पूजेर पनि रोग हराउँछ ?’ भनेर धर्मानन्दले मेरो कुरा हाँसोमा उडाए । आखिर घाटकी देवी र गाउँका भूमेको पूजा गरेका पर्सिपल्ट रोग साम्य भो ।”

गुमानेले जान्ने बसायो । गाउँका सारा मानिस जम्मा भए, तर करेसो जोरिएको धनजिते आएन । जान्नेले पनि देवीको दोष देखायो । सबै जम्मा भएर धूमधामसँग पूजा गरे ।

पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी । बिचरी झन्नै खुस्की थी, बाँची । त्यसपछि धनजितेलाई समात्यो । तीन दिनपछि स्वास्नीचाहिं लडी । एकातिर इन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिई, अर्कातिर जराका तोडले धनजिते बरबराउन लागेको थियो । पानीसम्म खान दिने मानिस कोही थिएन । सारा गाउँ सोतर छ, कसले हेरचाह गरोस् ? गाई, बाख्रा कीलाका कीलै टट्टिएर मर्न लागे । फोएर पाखातिर लाइदिने मानिस कोही भएन ।

पहिले त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता राखेन । परन्तु जब स्वास्नीसमेत थला परी अनि गुमानेको चित्त रहन सकेन; विचार गर्यो- “यस्तै दैव लाग्छ र पो छरछिमेकी खोज्नुपरेको, नत्र ओडारमा गएर बसे पनि त भो नि; जहाँ पनि बस्नै न हो । दिनदशा, आपत्विपत् कसलाई पर्दैन ? बलको तुजुक थियो, मलाई सधैं यत्तिकै पुग्छ भनेर घमन्ड गर्थ्यो, परमेश्वरले घमन्ड तोडे । बैगुनीलाई गुनले मार्नु भन्छन्, एउटै नगरमा बढेर यो उमेर भो, दौंतर हो, यस्तो आपत्मा पनि देखेको नदेख्यै गरे पाप लाग्दैन ?”

गुमाने धनजितेकहाँ पुग्यो, गाई, बाख्रा फोएर पाखातिर लाइदियो । धनजिते मूढो लडे उत्तानो परेर लडिरहेको थियो । दिसापिसाबको होश थिएन । ओढ्ने ओछ्याउने फेरिदियो; गुमानेले एकछिन छोडेन ।

—-

मिर्मिरे उज्यालो भएको थियो । गुमानेलाई खोज्दै आसामरु साहू आइपुग्यो । एकाबिहानै आसामरुलाई देखेर गुमानेले भन्यो- “कति कामलाई उकालो लाग्यौ, साहू ?”

“पसलमा बर्खे मालटाल छैन, डुबै डिनलाई शहर जाइडिन्ठिस् कि ?”

“छिमेकमा यो बिजोक भैरहेछ, क्यै काम नपाएर जान्छु भारी खेप्न !”

“रोज रुपियाँ डिन्छ लाता ।”

“के रुपियाँको लोभ देखाउँछौ साहू, गरीब छु, निमेकमजुरीले छाक टार्नुपर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यति सारो नीच भएको छैन । छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन् । यस्ता बेलामा चटक्क छोडेर भारी खेप्न हिंडे मर्दैन ? तिमी त ठमठमती छौ र रुपियाँको धाक देखाउँला; धनजितेका झैं चार दिन अन्न न पानी भएर लड्नुपरे थाहा पाउने थियौ ।”

“इस्, छिमेकी ! अस्टि चौटारामा झन्नैले मारेठ्यो, ठा पाउलास् ।”

“यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो ? एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीं गोडा लाग्छ । नाइँ झगडा भो भन्दैमा धर्म छाड्नुहुन्छ ? आफूले साँचो मनले उपकार गरेपछि उसका आत्माले पनि गर्न कर लाउँछ । अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ ? माटाको भर ढुङ्गो ढुङ्गाको भर माटो, संसार भरैभरमा अडेको छ । यो भरको ताँदो छिन्नेबित्तिकै सबै भताभुङ्ग हुन्छ ।”

आसामरुको र गुमानेको खलबल सुनेर धनजितेले आँखा उघार्यो । धनजितेले हेरेको देखेर गुमानेले भन्यो- “कस्तो छ माहिला दाइ ?”

“मो मार्छ कि कान्जा, ताँ कोइले आइस् !”

“पाँच दिन भो दाइ, तिमीहरू दुवै लोग्नेस्वास्नी लडिहाल्यौ । गाईबाख्रा भोकभोकै कराउन थाले; बिजोक हेर्न सकिनँ, दौडेर आएँ । तिम्रो जस्तो ढुङ्गाको मन म कहाँ पाऊँ !”

“पोलेको घाउमा नून ना छार् कान्जा, मो आधाम हो, क्षामा गर्” धनजिते हिँडडुल गर्न लाग्यो । गुमानेलाई एकछिन छोड्दैन । वन, मेलापात जहाँ गए पनि दुवै जना सँगै जान्छन् । आजकल कसैले गुमानेको बद्खोई गरेको सुन्यो भने धनजिते झगडा गर्न अघि सर्छ ।

(गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’बाट)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.