गएको राती फूलमतीले औधी राम्रो सपना देखेकी थिई- उसको बुढेसकालको एकमात्र सहारा श्यामु लडाइँबाट घर फर्केछ, घरभित्रै नपसी फेरि लगत्तै फर्केछ- यस्तो सपना देखेपछि उसको छातीभित्र सुकिसकेको आशाको मूल फेरि पलाएको थियो । घर आएर घरभित्र नपसी लगत्तै फेरि परदेशमै फर्क्यो भने त्यो पदरेशी घर नफर्की छोड्दैन, यो हाम्रा बूढापाकाको भनाइ कहिल्यै विस्तुर खाँदैन । त्यसै विश्वासको आधारमा आज फूलमती मनभित्र अटाईनअटाई भएकी छ ।
“आज पक्का पक्का कि त श्यामु, त्यति नभए पनि उसको खबरसम्म त जरुरै आउँछ ।” यो आशाको पिलपिले बत्तीलाई घरीघरी उकास्छे अनि कामै नभए पनि फऱ्याक र फुरुक, तल र माथि गरिरहन्छे । आज त्यो बूढिआमा, छः सात वर्षपछि फेरि यौवनको जोश उमेको देखिन्छ । वैलाएको बूढो गुलाबमा बिहानको शीतले क्षणिक जीवन दिए झै रातीको सपनाले उसको बूढो नसामा पनि गति भरेको छ ।
आज पूरा छः वर्ष भयो, फूलमतीको एक्लो छोरो श्यामु रातदिनको पीर-साहुको पीर, पेटको पीर, संसारको पीर-खप्न नसकेर देश पसेको । त्यहाँदेखि उसको अत्तोपत्ता नै थिएन न चिठी, न पत्र । बुढियाका कैयौँ आँसु छातीमै सुकेर गए, कैयौं चीत्कार हृदयमै बिलाएर गए, तर त्यो कसैले देखेन, जानेन । बुढियाले आफ्नो त्यो आँखाको नानीको खबर पाउन कति देउता भाकी, कैयौं गणेशजीलाई लड्डु ख्वाउने कबोल गरी, तर उसको लड्डु कुनै गणेशले पनि रुचाएनन्, उसको पूजाविना कुनै देवी देउता पनि भोकाएनन् । उसको सानो आशा, कोपिलाबाट कैल्यै पनि फूलमा हाँस्न सकेन ।
किन्तु आज रातीको सपनाले उसको उजाड आशाउद्यानमा फेरि नयाँ वसन्त हँसाएको थियो, जीवनको राग गुञ्जाएको । त्यसैले ऊ आज आफ्नो उमेरलाई पनि बिर्सेर बीसवर्षे जोशमा फऱ्याक र फुरुक गर्दै छ । पल्लाघर बाटुली, राताघर ठाइँली, सबैकहाँ गएर उसले आफ्नो सपनाको कुरा प्रफुल्ल मनले बताइसकेकी थिई । एउटा कुराचाहिँ उसले बिर्सिन पौडेल्नीबज्यैलाई चाहिँ सपना कहिन किनकि उसलाई केटाकेटीमा आमाहरूले भन्थे कि पौडेल थर भएका मान्छेलाई सपना खाइदिन्छन्, त्यसैले । अनि अर्को काम उसले पल्लाघरे पुतलीकहाँबाट एकमाना चामल पैंचो गरेर मीठोसँग पकाएर राखेकी थिई । आज ऊ कैयौं वर्षपछि छोरालाई आफ्नै हातले तृप्तिसँग ख्वाउँछे-यत्रावर्षसम्म उसले के खायो, कसो खायो, अथवा भोकभोकै सुक्यो, के पत्तो ?
सबै काम सकेर फूलमती ढोकोको फक्ल्याँटो समातेर उभिई र आफ्ना तेलहीद र चिरतृषित आँखा घरमुनि गोरेटोमा लगेर बिछ्याई । आज उसको श्यामु त्यै गोरेटोबाट आउँछ, अनि बुढियाको छातीबाट एउटा दीर्घ सुस्केरा निस्केर शून्यमा मिल्यो र हावाको तरङ्गमा त्यो तरङ्गित भयो- “हे परमेसोरी मेरो सपनाको फल पर्तछे होस्, के सत्येनारान, हे सूर्जेबिना, म हजुर्को पूजा गरौंला ।” मानो समस्त वायुमण्डल नै यो पुकार र भाकलको करुण रागमा रँगियो । जतिजति दिन वैलाउँदै गयो, उति उत्ति फूलमतीको उत्सुकता मौलाउँदै गयो । उसका कान बाहिर खत्रक्क गरेको आवाजमा पनि भरखरको बाछोको गन्ध अथवा स्वरको आहट पाएर सजग भएकी लैनी गाईका झै ठाडा हुन्थे ।
सन्ध्या क्रमशः डाँडापछाडि लुक्दै गइन् । पूर्वदिशाबाट अन्धकारको पाउडर संसारको समस्त अस्तित्व मेटाउन, समस्त प्रकृतिमा वर्षन थाल्यो । अगाडिको गोरेटो, दोबाटोको पीपल चौतारी, श्यामलीको घर, सबका सब कालो थानोमा बेरिए झै देखिए । त्यै चौतारीमा बसेर गर्ने चराचुरुङ्गीको चिरबिर क्रमशः शान्त हुँदै गयो । आकाश चुरेको सुरुङ औ त्यसमा चम्कने तारा असंख्य जुनकीरी झै लागे । फूलमतीको आशा-दीप पनि अब चहकिलो हुँदै गयो । बाहिरको सानो सानो खत्र्याक, खुत्रुकमा पनि उसको मुटुको हनाइ साधारणभन्दा बढ्न थाल्यो, ऊ आफ्ना निस्तेज आँखा तिखारेर त्यो अन्ध-समुद्रमा आफ्नो छोरो खोज्न थाली । किन्तु, अब उसका निस्तेज आँखा तिखारेर त्यो अन्ध-समुद्रमा आफ्नो छोरो खोज्न थाली । किन्तु अब उसका निस्तेज आँखाले त्यो अन्धकारको कुनाकाप्चा सबै छामछाम-छुमछुम गर्दा पनि श्यामुको अस्तित्व पाउँदैनथ्यो, अनि हृदयमा घोर निराशाको विष झै फैलिन्थ्यो उसका प्रत्येक अवयवका नसानसा शिथिल हुन्थे । उसको हृदयमा एउटा मूक प्रश्न जन्मन्थ्यो- “श्यामु आउला ?” रात जतिजति आफ्नो कालो हृदयको पोल खोल्दै जान्थ्यो, उतिउति त्यो प्रश्नको गति र त्यसको बीचको अवधि साँगुरिदै जान्थ्यो- “श्यामु आउला ?” “श्यामु आउला” श्याम, के आउला ? किन्तु यसको जवाफ कसले दिने ? बुढियाको शिरमाथि चस्कने ताराहरू पनि उसलाई रोइरहे हैं लाग्दथे । बुढियाको आशादीप विस्तारै मधुरिदै जान्थ्यो । “लडाइँमा गएको छोरो”
फूलमतीको मुटु बेतोडसँग हल्लिन्थ्यो लडाइँको मौलोमा बली दिन घाँटीमा पासो लाएर घिच्याइएको बोको-मान्छे श्यामु । बुढियाका आँखा शून्य भएर त्यै अन्धकार आकाशको पटमा टाँसिए । ऊ त्यै असंख्य ताराको मौन पिलपिलमा आफ्नो प्रिय छोराको कथा सुन्ने कोशिश गर्न थाली, असंख्य तरकागणका बीचमा आफ्नो लाललाई खोज्न थाली ।
क्रमशः त्यो अन्धकारको विशाल प्लेटफर्म उसको आँखामा प्रलय क्षेत्रको रूपमा र त्यसमा पिलपिलाउने तारागण असंख्य नेपाली छोराउको श्यामु र अरू नेपाली नौजवान । उनीहरूको मूक-आवाजमा प्रार्थना, सजल र स्थिर आँखामा मौन व्यथा छ, आफ्नी प्यारी मातृभूमि, आफ्नो स्नेहमयी जननी, भाइ, बहिनी, बाबु, दाज्यू, काका अनि बिहाको तेस्रो रातमा आँसुमा पौहुँदी छोडेर आएकी कोरली बाछीजस्ती दुलही इत्यादिसँगको मिलनको तीव्र लालसा प्रबल इच्छा लिएका नेपाली नौजवान पिचत्तर कम्पनीमा साम्राज्यको बलिवेदीमा बली दिन किनेर लगिएका, औ आफ्नो इच्छाको विरुद्ध कुइरेको बन्दुकको कुन्दाले ठेलिएका, अन्त्यमा मातृभूमिको दर्शक गह्रौँ वासना छातीभत्र लिए सदाको निमित्त रण-चण्डीको बल्दो उदरमा लीन हुने नौजवान !
एउटा तारा तीव्र प्रकाशको एउटा माला बनाउँदै अनन्तमा विलन भयो । फूलमतीको आँखा अगाडिको दृश्य बदलियो । अन्तरिक्षको कुना कुना विशाल रण-ज्वालामा हुरहुरी जल्न थाल्यो । घाम, पानी, निद्रा, भोक, प्यास र थकाइको मारले शिथिल, त्यसमाथि हातहतियारको बोझले कुप्रिएका, आफ्नो इच्छाविरुद्ध कुइरेको कमाण्डमा अगाडि बढ्न कर लगाइएका नेपाली नौजवानहरू, अनि उसको श्यामु । फूलमतीको छातीभित्र ममताको बाढी उर्लेर आयो । उसलाई लाग्यो, उसको श्यामुका आतुर आँखा उतिरै एकटक गडेका छन्- यो आँखा, जसमा त्यो भयानक मृत्युको बजारबाट भागेर आमाको शीतल र शान्त काखमा लुसुक्क लुक्ने गहिरो उत्सुकता, नमर्ने इच्छा छचल्किरहेको छ । …. अनि….. ?
अकस्मात् दृश्य बदलिन्छ । वायुमण्डलमा खलबली मचिन्छ- हवाई जहाजको घरघर, तोपको गर्जाइ, मान्छेको करुण चीत्कार र मृत्यु दानवहरूको विकट अट्टहास, सबै मिलेर अन्तरिक्षको सतहमा भुइँचालो…. ती नौजवानहरूको चिल्लीबिल्ली… कुनै रूख र ककराहरूको आडमा, कुनै त धर्तीआमाको छातीमा त्यसै लेटेका अनि त्यहाँ फेरि एउटा बज्र परे झै आवाज… धूवाको, धूलोको कुइरीमण्डल अन्धकार ! हृदय चिर्ने चीत्कार, प्रलयकालको कोलाहल, एक क्षण अगिका हाड, छाला, आँसुका चल्ने, फिर्ने पुतलीहरू श्मसानमा मूढाका रूपमा, अनि झर्ना, खोला, पहाड, वन, फूल, लताले सिँगारिएको प्रकृति, सब भस्म, सब खरानी- श्मसानको जीउँदो रूप । प्रलयको सच्चा तसबीर ।
फूलमतीले अरू हेर्ने साहस गरिन, आँखा चिम्लेर ढोकोको आड लागेर उभिई त्यो आमा, जसले आफ्नो भविष्यको सबै सुनौलो सपना त्यै छोरामाथि सजाएकी छ, भूत र वर्तमानको सबै किसिमको सुख-लालसा त्यै छोरामाथि बलिदान गरेकी छ, त्यै छोरो आज लडाइँको धकधकाउँदो ज्वाभित्र जिन्दगी र मृत्युको खेल खेल्दै छ, बमको विस्फोटमुनि आफ्नो प्राण तेर्स्याएर साम्राज्य शाहीहरूको राक्षसी भोकलाई चारो जुटाउँदै छ । उसको आफ्नो कुनै पनि इच्छा र चाहना मृत प्रायः भैसकको छ । त्यो छोराको आमा फूलमतीको छाती त्यो भयङ्कर कल्पनाले कुन हालतमा पुग्यो, त्यो वर्णनको बाहिर हुन्छ ।
क्रमशः अन्धकारको रङ्ग टाढाबाट गाढा हुँदै गयो । संसार एउटा मसीको ठूलो थोप्लो झै देखियो घरमुनि चौतारी एक थोप्लो, पारिपट्टि डाँडो एक थोप्लो ! यो अन्धकारको अट्टहाससँग जुझ्ने कोही जूनकिरी र टाढाटाढा, कुनैकुनै घरका आँखीझ्यालका प्वालबाट छिरेका प्रकाशका मसिना रेखाबाहेक अरू केही देखिँदैन । तिनीहरू भने ज्यानको बाजी लगाएर लडिरहेका थिए । फगत तिनैद्वारा मात्र अन्धकारभित्र लुकेको संसारको अस्तित्वको ज्ञान हुन्थ्यो, नत्र ? …. अन्धकार, वश ।….
अब फूलमतीको आशा पनि तिनै बत्तीका क्षीण प्रकाशहरूसँग क्रमशः मलिनिदै गयो । हृदयबाट सपनाप्रतिको संसार हल्लियो, खलबलियो । उसको छातीबाट एउटा मूक-चीत्कार निस्केर शून्यमा बिलायो- “श्यामू आएन ।”
किन्तु त्यसै बेला बाहिर निगालोको झालमा खुत्रुक्क शब्द भएर फूलमतीको मुटु एकपटक फेरि हल्लाइदियो । हत्तपत्त हुलेको ढोकाको फक्लेटो फेरि उघारेर उसले बाहिर अन्धकारमा आँखा गाडी । आँधी उघारेको ढोकाको अन्तरबाट निस्केको डिबियाको मरन्ज्याँसे उज्यालोले उसको आँखालाई थोरै मात्रामा सहायता दिइरहेको थियो । अन्धकारको मुटु भेटौँला झै फूलमतीले आफ्नो आँखा तिखारी, गोरेटो भेटेसम्म लगी तर उसको श्यामु थिएन । झ्यालबाट एउटा कालो ढाडे निस्केर त्यो प्रकाश रेखालाई नाघेर भाग्यो । फूलमतीको हृदयमा यसले भयानक चोट पार्यो । उर्लेको मुटुको वेग स्याप्प बस्यो । ऊ भित्र गई, विचार गरी, घर्तीको जहानले भरखरै धन्दा सिध्याई-भरखरै खलबल गर्दै थिई, खोक्दै थिई । ….. अझै बेला टरिसकको छैन ।” अनि उसले एउटा टुकीमा तेल थपी । “अझै बेला बितिसकेको त छैन ।”
साथै आशाको निम्न लागेको बत्तीमा पनि तेल थप्ने प्रयास गरी । श्यामूकै बाबु पनि ९६ सालाँ लडाइँबाट आधारात छट्केपछि आइपुगेका हुन् ।” दिनहुँ बाटो हेर्दाहेर्दा आँखा पट्टाइसकेथ्यो र ऊ सुत्न गैसकेकी थिई ।
एकक्षण दुई क्षण क्षणहरू एक एक युगजस्तै बित्दै गए । फूलमती त्यही ढोकाको फक्लेटो समातेर उभिएकी उभियै रही । रात्रीको कालीन गाढा गाढा हुँदै गयो । आकाशको शून्यपना झन् झन् गम्भीर हुँदै गयो, निस्तब्ध स्याइँ स्याइँले भयानक रूप लियो । त्यसैबेला लाटोकोसेरो चिच्याएर त्यो भयानकतामा झन् भयानकता थप्यो । फूलमतीको मुख एकपटक आतङ्कले जोडसँग हल्लियो । “अब
आएन ।” उसको छातीको आशा मर्यो, तर गोडा त्यही जमेजस्तै भए, आँखा तयो गोरेटोमा हट्न चाहेनन् ।
विस्तार विस्तार त्यो रातको घोर कालीमामा पूर्वपट्टि डाँडाबाट चुचुरोबाट सेतो रङ्ग पोखिए झै प्रकाश फैलिँदै गयो । त्यो जति फैलिँदै गयो, रात्रीको गर्विलो अनुहार उत्ति नै फुसिँदै गयो । फूलमतीले देख्दादेख्दै
डाँडोको चुचुरोबाट पञ्चमीको पैलो रातमा आधारातसम्म प्रतीक्षा गर्दागर्दा उदास भएकी दुलहीको ओंठमा प्रियको पदचाप सुनेर खेलेको मुस्कानजस्तै, मुस्कान फुट्यो । समस्त पृथ्वी दूधको तलाउमा नुहाएर शुभ्र भयो । फूलमतीको मन पनि एकपटक फेरि अकास्सियो । उसको आँखाअगाडि गोरेटोको पीपल-चौतारो पनि उघ्यो, अनि त्यसमा बसेरा-गर्ने चराचुरुंगीहरूले चन्द्रमाको स्वागतमा गाएका चिरबिर गानले उसको मनमा मिठास जन्मायो, हृदयको तार गुँजियो ।
त्यहाँबाट उडेर सीधा पूर्वपट्टि गयो सीधा चन्द्रलोकपट्टि, अनि चौतारोमुनि कसैले खोक्यो । फूलमतीको मुटुको हनाइ तीव्र भयो, आँखाको तेज अरू तिखारियो । उसले हेरी चौतारोमुनि गोरेटोमा यौटा धमिलो मान्छेको आकृति जन्म्यो । फूलमतीको छाती जोडसँग उफ्र्यो । त्यो आकृति क्रमशः घरतिरै बढ्यो । फूलमतीको निम्ति प्रत्येक पल भारी भयो, प्रकृतिको समस्त गति सुस्त भयो । मुटुभित्र ममताको बाढी उर्लेर त्यो आउने मान्छे-श्यामु, उसको छोरोलाई डुबाउन आतुर भयो । पचास वर्षे बूढो शरीरको नसानसामा बिजुलीको तीव्र गति पैदा भयो । त्यो मानिस आँगनमा आइपुग्यो । फूलमतीको हृदयमा कैयौं वर्षदेखि साँचेर राखेको उद्गार बाँध फुटालेर हुत्तिएको पीपल-चौतारोका चराहरू एकपटक जोरसँग खल्बलाए । एक जोडी कुक्कु खहरेजस्तै हुत्तियो- ‘श्यामु !’ हुत्तिएर त्यो मान्छेनजिकै पुगी ।
घोर बज्रपात ! बुढियाको यो उत्तेजनामा मानो खहरे पस्यो । उसको यत्तिका सङ्घर्षबाट बचेको आशाको संसारमा एकैपटक बज्र फुटयो- “म साइँलो पो, कान्छीमाँ, श्यामु होइन ।” एकपटक त फूलमतीको हृदयमा निराशाको धक्काले घोर विद्वेषको राँको पनि बाल्यो- त्यो श्यामुको आफ्नो अगाडि उभिएको मानिसको मुखमा एकपटक त मुक्याइदिऊँ, चिथोरिदिऊँ झै पनि लाग्यो, तर उसले त्यो आवेगलाई रोकी र ऊ केही नबोली ढोकातिर फर्की ।
“कान्छियाँ, श्यामुको चिट्ठी छ !”
चिट्ठी ! बुढियाको कानमा साइँलोले फेरि अमृत चुहायो । उसको घोर अवसादको कालिमाले पूर्णतया ढाकेको हृदय-कोठरीमा फेरि आशाको पिलपिल जाग्यो । बारबारको निराशाको धक्काले खाली भएको छाती फेरि ममताको रसले भरियो । भला श्यामु नआए पनि चिठ्ठी त आयो । साइँलोमाथि उसको मफतमा रिस गरी । ‘यति राती हुँदो चिठ्ठी लिएर आएछ बौरा ! अब भरखर मुड्ङ्क्याउने इच्छा भएको साइँलो उसको आँखामा मायालाग्दो, विचार हुँदै गयो । साइँलोले चिठ्ठी हातमा झिकेर लियो ।
“के लेख्यारेछ साइँला ?” फूलमतीको हृदयमा खामभित्र लेखेको आफ्नो श्यामुको खबर पढ्न आतुर भयो “खोइ खोइ!” साइँलाको हातबाट त्यो खोसेर आफ्नो हातमा लिई, अनि जुनको शुभ्र-प्रकाशमा त्यसमा हेर्दै रही । त्यसैभित्र शायद छोरोको अनेकौ रूप र स्थितिको काल्पनिक चित्र ऊ हेर्न थाली कान्छीयाँ ! – साइँलोको स्वरले ऊ वास्तविक स्थितिमा आई । ह ऊ सग्बगाई भित्र हिँडन साइँला । -ऊ प्रतीक्षा नगरी भित्र पसी, साइँलो पनि पछि लाग्यो । मूल ओछ्यानमा साँलोलाई बसालेर बत्तीमा तेल थपी अनि चिट्ठी उसको हातमा दिदै भनी- “खोलेर बाँच बाँच बा, लौ लौ ।” उसको स्वर साँच्चै नै हर्षातिरेकले बजिरहेको थियो ।
साइँलो चिठ्ठी खोलेर बाँच्दै गयो । जतिजति बाँच्दै गयो फूलमतीको मन-मगजमा भुइँचालोको छाल उठ्न थाल्यो । अन्त्यमा कनीकुथी आवाजमा साइँलोको मुखबाट निस्क्यो-श्या-श्यामबहादुर बैरी-रीहरूको माझ, माझ मलाई कान्नानीमा पसेर हजारौं बै-बैरीलाई मारेर आफू पनि त्य-त्या, सलाई देलख-सै बैला बैरी ..त… तर्फको …ओ… ओ खसेको बमको आगो ….गा…मामा…”
फूलमतीले सुनी, सबै सुनी । सुन्नुको साथै उसको कल्पनाका आँखाहरू सुदूर मलाया घाँटीमा असंख्य नेपाली नौजवानको लाशको माझमा श्मसान बनेको प्रकृतिको काखमा, बमको ज्वालामा मूढोतुल्य बनेको श्यामुको लाशमा अडे । चार-पाँच वर्षदेखि हृदयमा आशा जमाएर पर्खिरहेकी बुढी आमाले त्यो सुनेर न कन्दरा थर्काउने गरी कङ्कला शब्दले डाँको नै छोडी, न त मझेरी हिल्याउने गरेर भलभलती आँसु नै काढी । साइँलोले त्यो टुकीको मधुरो उज्यालोमा देख्यो, बुढियाको अनुहार बज्र लागेर लडेको मानिसको जस्तै नीलो, फुस्रो, आतङ्कित-मूक वाणीविहीन, तर प्याक्क खुलेको, अनि स्थिर, निर्जीव, मानो कुनै पाषाणमूर्तिमा जडेको फटिकको गुच्चा ! साइँलो आत्तियो । “कान्छीयाँ । कान्छीयाँ ।” उसले घच्घच्यायो तर कान्छीआमाको चेत अस्तित्व त्यहाँ थिएन ।
आफ्नो त्यो एकमात्र छोराको साथमा दुनियाँको सम्पूर्ण आशा र आकाङ्क्षा लडाइँको आगोमा डढाएकी बुढी आमाको शरीर त्यहाँ थियो तर चेतना अदृश्य दुनियाँमा । उसका स्थिर आँखामा एउटा मौनफिराद थियो-मौन-वेदना र मूकवाणी । साइँलोले देख्यो, आज सुदूर मलया घाँटीमा साम्राज्य-अग्निमा स्वाहा होमेको बमको छिर्का सुदूर नेपालको एउटा कुनामा, पहाडको शान्त काखमा, दिन गनेर बसिरहेकी नेपाली आमाको बूढो छातीमा आएर गडेको थियो ।
(रमेश विकलको कथासंग्रह ‘बिरानो देशमा’ बाट)

