दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैँ कति खसीको निहुँले राँगो खानु ? अनि शुभ दिनमा माछा साइत हुन्छ भनेर उसले ६०/- रु. किलोको दरले माछै बोकेर आयो ।
‘अन्नपूर्णा ! ए, अन्नपूर्णा ! लु हेर् त, के ल्याएँ आज !’
अन्नपूर्णा देखा परी ।
भव्य भवनको भग्नावशेष झैँ देखा परी ।
रूप थियो होला कहिले, अहिलेचाहिँ त्यसैको सम्झना छ । जेजति छ, यौवन पूर्णतः विगत नभइसकेकाले आकर्षक नै छ । खण्डहरको कुनै एउटा कोठामा बिजुली चम्केझैँ लोग्नेको स्वागतार्थ मिलिक्क हाँसी । उसको डल्लो र पहेँलो अनुहार प्रदीप्त भयो । लोग्नेले देखेन ।
उसले देखी, लोग्नेको दाहिने हातको पोलिथिन झोलामा चारवटा कालाकाला माछा छन्, अर्को हातको झोलामा के छ कुन्नि ?
‘किन ल्याउनुभा’को यतिका माछा ?’ उसले आँखा चिमचिम पार्दै सोधी ।
‘आज भोज गर्ने,’ भन्दै उसले अन्नपूर्णाको हातमा माछाको झोला दियो । ‘आज दीपावली गर्ने,’ भन्दै अर्को झोलाबाट मैनबत्तीको बन्डल झिकेर टेबुलमाथि राख्यो अनि त्यही झोलाबाट दुई बोतल घरपारुवा रक्सी झिकेर दराजमा राख्दै ‘आज उत्सव मनाउने’ भन्यो । अनि लगत्तै पछि फर्किएर स्वास्नीका चिमचिम गर्दै गरेका आँखातिर लक्ष्य गर्दै भन्यो, ‘हैन, सुतेकी थिइस् कि क्या हो ?’
‘केको सम्साँझै सुत्नु । तपाईंको सुरुवाल सिउँदै थिएँ ।’
‘सुरुवाल !’ उसले एक्कासि हिजोको कुरा सम्झियो ।
हिजो बिहान ऊ तरकारी किन्न जाँदा आफ्नी स्वास्नीभन्दा आकर्षक साहुनी हाँसेकी थिई । ऊ झन् जोडतोडले हाँसेको थियो । साहुनीको हाँसोको गुलियो चाट्दै घर फर्केर आइपुग्दा अन्नपूर्णा पनि हाँसेकी थिई । अकारण स्वास्नी हाँसेपछि ऊ झस्कियो ।
‘के भो ? किन हाँसेको यस्तरी ?’ उसले विस्मित हुँदै सोध्यो ।
अन्नपूर्णा आँखा चिमचिम गर्दै झन् जोडजोडले हाँस्न थालेकी थिई, ‘के मान्छे तपाईं त, लुगा लगाउँदा विचार त पुऱ्याउनुपर्छ। एक त उल्टो सुरुवाल लगाउनुभा’ छ, त्यसमाथि एउटा खुट्टामा घुँडादेखि काछसम्म साँप्रा देखिने गरी उध्रेको छ ।’
त्यस बेला उसलाई साहुनीको हाँसो चकलेट चपाएको जस्तो होइन खुर्सानी चपाएको जस्तो भएको थियो । हुन पनि ऊ नयाँ संविधानको प्रतीक्षा गर्दागर्दा अनेकौँ शङ्काउपशङ्काको ऊहापोहमा परेर त्यस्तो हास्यास्पद स्थितिमा पुगेको थियो ।
तर संविधान सकुशल आयो ।
ऊ पनि अहिले वर्तमानमा आएर स्वास्नीलाई भन्छ, ‘छोड, के आँखा दुखाइरहेकी, नयाँ सुरुवाल हालौँला ।’ अनि उसको दृष्टि स्वास्नीका लुगाहरूतर्फ गयो । विगतरूप- यौवन-सम्पन्न स्वास्नी माकुराको जालैजालोले आवृत खण्डहर झैँ अगाडि उभिएकी छ । भग्नावशेषको एउटै सग्लो कोठा जस्तो अनुहार पनि धूलाले धुलाम्मे छ । कतै साजसज्जा छैन। रङरोगन छैन । शृङ्गारसजावट छैन । कहाँसम्म भने झिलीमिली बुट्टे पर्दा पनि छैन । गोर्खालीले वीरतापूर्वक विनाश गरेको तराईको जङ्गल झैं प्रकृतिवत् उजाड छ । यी कुरा सोचेर केही भन्न आँटेको थियो अन्नपूर्णाले उछिनी ।
‘सुरवाल उसै आउँछ कि क्या हो ? अन्तरिम सरकारले सबैलाई सुरवाल हाल्दिँदैन होला त ? अनि यतिका चीजबीज कसरी ल्याउनुभो ?’
‘हे हे हे, नरिसाऊ । अलिकति उधारो, अलिकति सापट गरेँ । नयाँ संविधान आएपछि भोज ख्वाउँछु भनेर साथीहरूलाई भनेको थिएँ । पुऱ्याउने तिमी नै हौ । त्यसै हुनाले त म तिमीलाई अन्नपूर्णा भन्छु नि ।’
साँच्ची नै उसको नाम अन्नपूर्णा होइन । राशिअनुसार उसको नाम डोलकुमारी हो । बोलाउने नाम डल्लो अनुहारले गर्दा डल्ली भइहाल्यो । घर चलाउने कुशलताले गर्दा लोग्नेका लागि ऊ अन्नपूर्णा भई । सरसापट, ऐँचोपैँचो र उधारोपुधारोको कूटनीति गर्न हिँड्दा कति कुदृष्टि र कुवचन भोग्नुपर्छ, कति अवाञ्छित सहानुभूति सहनुपर्छ भन्ने कुरा लोग्नेलाई के थाहा ! जे होस्, आजको दिन उसले लोग्नेलाई कुँड्याउन चाहिन । अतः आँखा चिमचिम पारेर हाँस्दै भनी, ‘कति जना आउने हुन् ?’
‘एहे, तिमी रिसाएकी छैनौ ? आज खुसीको दिन हो नि । चार जना आउँछन्, मात्रै चार जना । एक किलो माछा तार्नु अनि एक किलो झोल पार्नु, भातसित खान ।’
‘अनि एक किलो ?’
‘जम्मा दुई किलो नै त छ ।’
‘किलोका किलो लगाएर बोलेकाले सोधेकी ।’
‘आज भोज हो नि, सधैँ के पाउका कुरा गर्नु त ? अनि यो भोज तिम्रो हो, अन्नपूर्णाको भोज !’
डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णाले सोची, कस्तो अबोध लोग्ने हो यो । मासु हैन कि ल्याउनासाथ जस्ताको तस्तै ओइरिदियो । यो त माछा हो, बनाउँदाओर्दा दुई किलो घटेर डेढ किलो मात्र रहन्छ । तर लोग्नेको मन खिन्न पार्न उसले केही भनिन ।
लोग्ने उल्लसित हुँदै भन्दै छ, ‘अनि हेर अन्नु, आज यो तिम्रो चालचाहिँ भएन ।’ उसकी स्वास्नीको ठाउँठाउँमा च्यात्तिएको र टालेको साडीचोलो देखेर ओरालो लागेको मनले अड्कीअड्की भन्यो, ‘तीजमा हालेको सारीचोलो झिक न । जाऊ, पहिले हातमुख धोइवरी लुगा फेरिहाल । अहिले पाँच बज्यो, छ बजेसम्म साथीहरू आइपुग्छन् । इज्जत त जोगाउनैपर्यो ।’
यति बेलै सातवर्षे छोरी र पाँचवर्षे छोरो आएर ‘बुबाले माछा ल्याउनुभो ! बुबाले माछा ल्याउनुभो !’ भन्दै झोलाबाट माछा झिक्न थाले ।
लोग्नेका कुरा सुनेर अन्नपूर्णाले एक पटक पुलुक्क ऊतिर हेरी अनि छोराछोरीको हातबाट माछा खोसेर भान्सातिर लागी ।
ऊ सुसेल्दै लुगा फेर्न थाल्यो ।
० ० ० ०
छ बज्दानबज्दै साथीहरू आइपुगे ।
भित्र माछा तारेको गन्ध बाहिरसम्म आइरहेछ । छोरी र छोराले मैनबत्ती बालेर झ्यालमा ठड्याइसके ।
भविष्य यिनीहरूकै उज्ज्वल हुने त हो ।
सन्तोष भट्टराईले हात मिलाउँदै भन्यो, ‘क्या हो मनुवा यो मुसुमुसे गन्ध ?’
ज्ञानुवाकरले हात मिलायो, ‘म त माछाको झोल मात्र खाने ।’
किशोर नेपालले हात मिलायो, ‘उसो भए जनआन्दोलनको चोक्टाजति मेरै भागमा परोस् ।’
चारै जना उत्फुल्ल भएर हाँसे । उसले अति व्यथित स्वरमा हाँसो नियन्त्रित गर्दै भन्यो, ‘आज कुमुद देवकोटा भइदिएको भए कति रमाइलो हुने थियो । तर त्यो पनि मान्छे त मनमोजी हो । मन लाग्यो हिँडिदियो । हुन त आउँदा पनि कसैसित सोधेर आएको थिएन ।’
सबै बैठक भनाउँदो बैठकमा बसे अर्थात् सुकुलमाथि दरी, दरीमाथि तन्ना र तन्नामाथि चकटीमा सबै बसे ।
साथीहरू आइपुगेको थाहा पाएर अन्नपूर्णा पनि बैठकमा आई र आँखा चिमचिम पारेर हाँस्दै सबैलाई नमस्कार गरी ।
सबैले ‘अहो, भाउजू त मोटाउनुभएछ’ भने । उसले पनि डोलकुमारी नामक डल्लीलाई मोटाएको देख्यो । ‘राम्री’ भन्न नसकेर मोटाएको भन्ने मित्रहरूको आशयलाई हृदयङ्गम गरी उसले स्वास्नीलाई राम्री पनि देख्यो । हुन पनि स्वास्नीलाई मित्रहरूको दृष्टिबाट हेर्दा नै राम्री देखिन्छे । यसर्थ मित्रहरूको यो गुन प्रत्येक लोग्नेले मान्नुपर्छ ।
थालभरि तारेको माछा आइपुग्यो । उसले दराजबाट बोतल र गिलास झिक्यो । तारेको माछासित रक्सी चल्न थाल्यो । एकछिन यो कुरामा गलबद्दी भयो, ‘जन- आन्दोलनताका सहिदहरूले रगत बगाएर ल्याएको बहुदलीय व्यवस्था र संविधानलाई हामीले रक्सी बगाएर स्वागत गर्नुहुन्छ कि हुँदैन ?’ यस गलबद्दी अनन्तर दुईदुई पेग रित्तिसक्या हुनाले यो समस्या नेपालीत्वपूर्ण ढङ्गले समाधान भयो ।
अब राजनीति चल्न थाल्यो ।
‘प्रजातन्त्र भनेको…’
‘हैन, के अब हामी अझै पनि प्रजा नै छौं र ? कि लोकतन्त्र भन कि जनतन्त्र भन ।’
‘नयाँ जनवाद भनेको…’
‘नयाँ जनवाद हैन क्या, नौलो जनवाद ।’
‘मार्क्सवाद मरिसक्यो ।’
“दर्शन मर्दैन । मानवचिन्तनको शृङ्खला…’
‘ए बाबा, मरेको हात्ती पनि सवा लाखको हुन्छ ।’
‘सामन्ती संस्कार बोकेका पनि प्रजातन्त्रवादी !’
‘सामन्तीसमेत प्रजातन्त्रवादी ।’
‘माछा पाऊँ भाउजू, सारै मिठो !’
‘ग्रामसीले भनेका थिए कि…’
‘बर्नस्टिनले भनेका थिए…’
‘ज्याँ फ्रास्वाँ रेबलकको नो जिसस नो मार्क्स…’
‘करपात्रीको रामराज्य र मार्क्सवादले…’
‘युरोकम्युनिज्म कता गयो…
‘पानइस्लामिक अर्गेनाइजेसन…’
‘आहा माछा क्या मीठो, थप अरू भाउजू…’
‘ल, सन्तोष भट्टराई अब भटभटाउन थाल्यो…’
‘ज्ञानुवाकर त पूरै जनीवाकर देखिन…’
‘आफू नि आफू…’
‘लौ विमल निभा त माछाको झोलमै निभ्न थाले…’
‘यो किशोर झुत्रे सम्पादक कसरी…’
‘आऽ छोडौं यी कुरा…’
‘सहिदहरूको रगत…’
‘रक्सी थप न यार, छैन भने…’
‘भाउजू माछा…’
छोरा र छोरी दुवै ढोकाको दुई छेउमा उभिएर भविष्य झैँ बैठकभित्र हेर्दै छन्, हातमा लिएको माछा पनि खान बिर्सिएर । उसले यिनीहरूलाई टाउको मात्र दिनू भनेको हुनाले उनीहरूको हातमा एकएकवटा माछाको टाउको छ ।
राजनीति अझै चल्दै छ । तेस्रो बोतल अन्नपूर्णाको सौजन्यबाट आइपुग्यो ।
‘चुनाउ मिलेरै लड्नुपर्छ।’
‘भोट माग्दा खुसुक्क आफूलाई मात्र…’
‘तिमी कसलाई दिन्छौ ?’ ज्ञानु ।
‘तिमी कसलाई दिन्छौ ?’ सन्तोष।
‘तिमी कसलाई दिन्छौ ?’ विमल ।
‘तिमी कसलाई दिन्छौ ?’ किशोर । ‘तिमी कसलाई दिन्छौ ?’ ऊ ।
‘तपाईं कसलाई भोट दिनुहुन्छ भाउजू ?’ उसलाई छोडेर मित्रसमुच्चय । ‘जता बाबुहरूले भन्नुहुन्छ ?’
‘हाम्रै कुरा नमिलेर त भाउजूलाई सोधेको । अब यो संविधानले नारीलाई पूरापूरा हक दिएको छ । प्रत्येक पार्टीले पाँच प्रतिशत महिला सदस्य राख्नैपर्छ ।’
‘बाबुहरूलाई अब खाना ल्याऊँ क्यारे ?’
अन्नपूर्णा फरक्क फर्केर गई । अन्नपूणाले के भन्ली भने उसको उत्सुकता सेलाएर गयो । घर धान्ने अन्नपूर्णाले बडो विचित्र प्रकारले यो समस्या समाधान गरी । सबै स्वास्नीहरू यस्तै हुन्छन् क्यारे, मतभेदमा आफ्नो मन्तव्य दिन कुशलतापूर्वक तर्किने । आफ्नो कुनै चेतना, चिन्तन र मन्तव्य नहुनु त मनुष्य नहुनुसरह हो । के स्वास्नी हुनु अमानवीय हो ?
तर स्वास्नीमान्छेहरूमा लोग्नेमान्छेहरू झैँ नै विविधता हुन्छ । अनि किन स्वास्नीमान्छेहरूलाई स्वास्नी बनाएर अमानवीय र निष्ठुरी बनाइँदै छ ? सोध रामालाई ! मैनबत्तीहरू निभिसकेछन् । बिजुलीको झालर झुन्ड्याएको भए पो बलिराख्थ्यो । सके घिउको दियो रातभरि बाल्न सके पनि हुन्थ्यो । सके ।
खाना आयो । अन्नपूर्णाले अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गसाथ थपीथपी सबैलाई माछाभात ख्वाई ।
खाँदाखाँदै एक्कासि सन्तोष चिच्च्यायो, ‘गुराँस ! गुराँस !! गुराँस !!!’
‘के भो, के भो ?’
‘ए, माछाको काँडा गलामा अड्कियो ? गुराँस भनेर जाँदैन, छोड यो रूढिवादी तरिका, निस्तो भातको डल्लो निल।’
भोजनोपरान्त देश र समाजको उज्ज्वल र सुखद भविष्यको कामना गर्दै सबै बिदा हुन थाले ।
सन्तोष भट्टराईले काँडा निलेको खुसीमा हात मिलायो । ज्ञानुवाकर पौडेलले अन्नपूर्णातिर हेर्दै ‘खण्डहर नयाँनयाँ’ गुनगुनाउँदै हात मिलायो । विमल निभाले निभ्दै बल्दै हात मिलायो । किशोर नेपाल उर्फ भुत्रेले टाइको नट कस्दै हात मिलायो । अन्ततः सबैले
अन्नपूर्णा भाउजूलाई आफ्नो मत आफूसँग सुरक्षित राख्न सल्लाह दिए । ऊ फिस्स हाँसी । सबै गएपछि उसले बाँकी रहेको रक्सी आफ्नो गिलासमा हाल्यो ।
‘अझै खाने !’
‘अलिकति । केटाकेटीहरू सुते ?’
‘सुते !’
‘अब तिमी खाऊ ।’
जुठा भाँडा बटुलेर अन्नपूर्णा भान्सातिर हिँडी । ऊ रक्सी खान थाल्यो । खाँदै सोच्न थाल्यो, घरेलु बजट सन्तुलन अब कसरी मिलाउने ? गुजमुजिएको गोली धागो झैँ यता तान्यो उता अल्झिने उता तान्यो यता अल्झिने । मातमा उसको सोचाइ लरखराउँदै छ । जता तान्छ त्यतै अल्झिन्छ । झर्केर उसले सोच्न बन्द गर्यो । अन्नपूर्णा घरमा छँदाछँदै किन मगज दुखाउनु, यै आत्मआश्वासनका साथ ऊ पिसाब फेर्न उठ्यो ।
सुत्ने कोठानेर पुग्दा देख्यो, छोराछोरी सुतिसकेका रहेछन् । तर भान्सानेर पुग्दा उसले अन्नपूर्णालाई देखेर पिसाप फेर्न बिर्सियो ।
डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णा जुठा भाँडाहरूमध्य पिर्कामा बसेर अघिल्तिरको रिकापीबाट एक मुठी फुक्का चिउरा निबुआको पुरानो अचारसित बुक्याउँदै रहिछ । फुको चिउरा र अमिलो अचारले कुँडिएका दाँत पखाल्न रिकापीछेउ एक अम्खोरा पानी छ । परेला ढल्काएर चिउरा चपाइराखेकी हुनाले अन्नपूर्णाले उसलाई देखिन । उसले भान्साभित्रको यो दृश्य हेर्न नसकेर बाहिरतिर हेर्न थाल्यो । सम्पूर्ण सहरबजार नयाँ संविधान आएको उत्सवमा झिलिमिली थियो । उसले मन थाम्न नसकेर भित्र हेर्यो, टोलाएर हेर्दै रह्यो ।
अन्नपूर्णाले मुखको स्वाद फेर्न जसै माछा पकाएको कराहीको बिटमा जमेको फींज चाटी उसको मगजमा काँड झैं एउटा प्रश्न आएर रोपियो- के स्वास्नीहरूको मत सुरक्षित छ ?
‘क्रान्ति जिन्दावाद ।’

