साहित्यपोस्ट डट कम

चुनावभित्रको मनोविज्ञान

चुनावभित्रको मनोविज्ञान

मुलुक चुनावमय भएको छ फेरि ! अनियमित भन्ने कि नियमित आकस्मिकता ? आफ्नो पूरा अवधि बिताउन नपाएर गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाले पनि अकालमा नै हठात् मृत्युवरण गर्न पुगेकाले २०७२ सालमा गणतान्त्रिक संविधान जारी भएपछिको तेस्रो संघीय निर्वाचन हाम्रो घरदैलोमा नै आइसकेको छ । कारक जेनजी या जुनसुकैलाई मानिए तापनि २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा नै हुनजानु मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था नै हो ।

यस लेखको उद्देश्य राजनैतिक चर्चा—परिचर्चा नभर्ई चुनावका तीन प्रमुख पक्ष: ‘राजनैतिक दलका नेता, उम्मेदवार एवं मतदाता’को मनोवैज्ञानिक परिस्थितिको विश्लेषण गर्दै आमजनताको मनोसामाजिक अवस्थाको यथार्थपरक चित्रण गर्नु हो ।

‘राजनैतिक दलका नेता’ को मनस्थितिको आंकलन गर्दा यस समय जुनसुकै दल, चाहे ती पुराना एवं स्थापित दल हुन् या नयाँ खुलेका पार्टी, ठूला हुन् या साना, सत्तापक्ष हुन् या प्रतिपक्ष, संसदमा रहिसकेका हुन् या आजसम्म सांसद जन्माउन नसकेका नै किन नहुन् , सबैको उद्देश्य ‘जित्नु’ नै रहेको हुन्छ । ‘जितको व्यग्र चाहना’ ले तिनमा एकअर्काप्रति शंका–उपशंका जन्माउने त छँदैछ, त्यस्तै ‘हार’को डर पनि दह्रो गरी रहेको हुन्छ । आफ्नो हार प्रतिपक्षीको जित त हुँदै हो, आफ्नै पार्टीभित्रैका पनि समवयी नेताहरूसँगको प्रतियोगी भावनाले गर्दा अर्कोले पार्टीको शक्ति लिनसक्ला भन्ने त्रासले पनि तिनको मनमा ठाउँ बनाउने गर्दछ । अतः ‘राजनैतिक दलका नेता’लाई आफ्नो पार्टीको जितमात्र नभई पार्टीका अन्य नेताभन्दा आफ्नो उत्कृष्टता कायम राख्ने चुनौती समेत विद्यमान रहन्छ । अतः यस्ता चुनौती एवं जितको उत्कट उत्कण्ठाले गर्दा नेतृत्ववर्ग सधैं नै तनावमा नै रहेका हुन्छन् , त्यस्तो तनाव चुनावको समयमा अझै बढी नै रहने गर्दछ । अतः ज्यादा दौडधूप, ज्यादा परिश्रम, अधिक भाषणबाजी, चर्का नारा चुनावको समयमा नेताजीहरूको स्वास्थ्य क्षयीकरणका प्रमुख कारण हुन सक्दछन् । आहार–बिहारमा सजगताको अभाव, व्यायाम आदिमा आउने सुस्तता, अनि धुम्रपान–मद्यपानमा हुनसक्ने वृद्धि आदिका कारण तिनको शारीरिकभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव पर्ने गर्दछ । ज्यादा उत्तेजना, बोली व्यवहारमा हुने परिवर्तन, हिंसा–प्रतिहिंसाको भावना जाग्नु, विपक्षीको चरित्रहत्यातर्फ लाग्नु, यी सबै मनोवैज्ञानिक समस्याका द्योतक नै पनि हुन सक्दछन् ।

‘उम्मेदवार’ को तनाव त झन् बढी नै महसुस गर्दछन् स्थानीयस्तरका राजनैतिक कार्यकर्ता एवं जनताले समेत । प्रायशः स्थानीय जनताको चिनजानकै रहने ती उम्मेदवारहरूले गर्ने भाषण, देखाउने व्यवहार, बाँड्ने आश्वासन आदि त भइ नै हाले, पहिलेकै विजयी नेता भए तिनले पुर्याउन नसकेका वाचा, मिडियामा आएका तिनका नकारात्मक समाचार (भ्रष्टाचार, पदलोलुपता, नातावाद–कृपावाद आदि), अनि तिनको जीवनस्तरमा देखिने गरी भएको परिवर्तन सबै जनता (मतदाता)ले अनुभव गरी नै रहेका हुन्छन् । अतः ‘उम्मेदवार’को मनस्थितिमा त्यस्ता कारणले असर पारिरहेको हुन्छ । हीनतावोध, पश्चात्ताप आदिले जरा गाडिरहेको हुन्छ । तर तिनले ती मनोविकार प्रकट गर्न चाहँदैनन् या सक्दैनन् । त्यसले ल्याउने उद्वेलन, उत्तेजना आदिका कारण मनोवैज्ञानिक रुपमा कमजोर भइसकेका हुन्छन् । तर त्यस्तो कमजोरीलाई ढाक्न, छोप्न या घटाउनका लागि मद्यपानको सहारा लिने उम्मेदवार अत्याधिक मात्रामा नै हुन्छन् । जनतासँग घुलमिल भएको देखाउन भोजभतेरको आयोजना गर्न या नगदै बाँड्नसमेत पछि पर्दैनन् ती । आजकल मिडियामा देखिने तिनले जनताको खेत जोतिदिएको या तिनको सरसफाइको काम गरिदिएको, तरकारी केलाइदिएको, आदि सब तिनको मनोवैज्ञानिक अवस्थाका द्योतक हुन् । माथि उल्लेख भएझैं तिनको खानपिनमा आउने परिवर्तन, निद्रामा हुने गडबडी, ज्यादा धपेडी आदिका कारण तिनको स्वास्थ्य (शारीरिक मात्र नभई मानसिकसमेत)मा हुने गिरावटको नजरअन्दाज गर्न सकिन्नँ ।

‘मतदाता’हरू त चुनावका मेरुदण्ड नै भए । तिनको मनस्थितिमा पनि उल्लेखनीय परिवर्तन ल्याउँछ चुनावले । जागरुक मतदाता राम्रा उम्मेदवारले जितुन् भन्ने चाहनामा हुन्छन् तर आफ्नै नातागोता या चिनजानका व्यक्ति आफूले नचाहेको दलका उम्मेदवार बनेर आइदिन्छन् । कसलाई जिताउने भन्ने दुविधामा रहन्छन् ती । थाहा नपाएका एवं राजनैतिक प्रणाली नबुझेका मतदाता भने ‘फेरि चुनाव ?’, ‘कत्ति भोट मात्र दिने ?’, ‘यिनलाई जिताएर के हुन्छ र ?’, ‘यसपालि त म नो भोट’, ‘कसलाई भोट दिने ?’, ‘तिनलाई जिताएर हामीले के पाउँछौं र ?’, ‘सबै चोर नै त हुन् नि !’, भन्ने जस्ता अनेक मनोवेगका कारण तनावमा रहन्छन् । अझ भोजभतेरद्वारा खुशी पारिएका या नगदैबाट किनिएका या धम्की–दबाबका कारण कमजोर पारिएका मतदाताको मनस्थिति त झन् कमजोर हुने नै भयो ।

यी तीन बाहेक अन्य पक्ष पनि छन् चुनावसँग प्रत्यक्षतः नै जोडिएका, जस्तै: सुरक्षाकर्मी, प्रशासनिक कर्मचारी आदि । तिनका बारेमा सविस्तार पछि लेखौंला ।

यहाँ मैले नकारात्मक पक्षको मात्र चर्चा गर्नुका कारण एउटा मनोचिकित्सक या मनोविश्लेषकको नजरबाट हेर्दा या मसँग परामर्शमा आउने नेता, कार्यकर्ता, उम्मेदवार या आमजनता (मतदाता)मा पाइने गरेका मनोसामाजिक समस्याको विश्लेषणात्मक प्रस्तुति नै हो । आफ्नै सौर्य, ऊर्जा, स्वाभिमान या निष्कलंक सेवाका कारण जानिएका–चिनिएका–मानिएका, अनि अवश्य विजयी हुने या हारलाई पनि सहर्ष स्वीकार्न सक्ने सच्चा राजनेता पनि हामीकहाँ नभएका होइनन् । तिनको मनोविश्लेषण गर्नुपर्ने म देख्दिनँ ।

जितको तीव्र चाहना बोकेका या जितका लागि साम, दाम, दण्ड, भेद, उचित या अनुचित जुनसुकै कदम उठाउन पछि नपर्नेले कथंकदाचित हारेमा तिनमा आउने व्यग्रता, रिस आवेग आदिले तिनलाई मनोरोगी नै बनाउने अवस्था आइ नपर्ला पनि भन्न सकिन्नँ ।

हुन त, सबै जितका लागि नै चुनावमा उठेका हुन्छन् । तर आत्मसंयमता, आहार–विहारमा संतुलन, सकारात्मक ऊर्जा कायम राख्न सकेमा तिनले जित या हारलाई समान रुपले स्वीकार्न सक्ने, पुराना गल्तीलाई सुधार गर्न सक्ने अनि असल राजनैतिक संस्कार कायमै राखी आफ्नो स्वास्थ्य स्थितिलाई पनि सबल पारिराख्न सक्ने हुन्छन् । यसका लागि सबै राजनैतिक दलमा नियमित परामर्श, छलफल, मनोविमर्श चलाउन जरुरी देखिन्छ । त्यस्तै, आम मतदातामा चेतनाको कमीका कारण या मतदान–शिक्षाको अभावका कारण देखा पर्नसक्ने तनावको उचित व्यवस्थापन गर्न पनि सम्बन्धित पक्षले ध्यान दिन पनि जरुरी देखिन्छ ।

सबैलाई चेतना भया ।

साझा गर्नुहोस्:
प्रा.डा. अजय रिसाल

लेखकको बारेमा

प्रा.डा. अजय रिसाल

काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेल अस्पताल, मनोचिकित्सा विभागमा प्रध्यापनरत् मनोचिकित्यक प्रा.डा. अजय रिसल साहित्यपोस्टका स्तम्भकार हुन् । उनको गैरआख्यान विधामा मनोपचार सम्बन्धी कृति 'गीतामा मनका कुरा' प्रकाशित छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.