साहित्यपोस्ट डट कम

चुलो अझै तातै छ, मेला चिसिँदै गएको छ

चुलो अझै तातै छ, मेला चिसिँदै गएको छ

वैशाख १, नयाँ वर्षको पहिलो बिहान । पूर्वी तराईका गाउँमा यो केवल पात्रो फेरिने दिन होइन । पानी, माटो, र सम्बन्धले एकअर्कालाई स्पर्श गर्ने दिन हो । यहाँ यसलाई “सिरुवा” भनिन्छ, र यही दिन मनाइने “जुडशीतल” एउटा विशेष संस्कार हो । यहाँ वर्षको शुरुवात शीतलताको कामनाबाट गरिन्छ । शीतलता, केवल शरीरको होइन, मनको, सम्बन्धको, र जीवनको ।

यस दिन बिहान सबेरै घरका ज्येष्ठ सदस्य उठ्छन् । आँगन सफा गरिन्छ, हरेक घरका देवताहरू, खेत–खरियान र रुखबिरुवा समेत अनि पानीले “जुडाइन्छ” । वैशाखमा शुरु हुने तातो गर्मीसँग जुध्न प्रकृतिलाई शीतल बनाउने प्रयास हो यो । त्यसपछि घरका जेष्ठ सदस्यले अन्य सदस्यहरूलाई टाउकोमा पानी हालिन्छ, आशीर्वाद दिइन्छ । आफ्ना घरमा मात्र होइन, टोलभरिका कनिष्टहरूलाई अग्रज तथा जेष्ठ व्यक्तिले जुडाउने गरिन्छ । यहाँ पानी केवल चिसो हुँदैन, त्यसमा एउटा विश्वास मिसिएको हुन्छ । र “यो वर्ष शान्त रहोस्, स्वस्थ रहोस्” भन्ने आर्शीवाद मिसिएको हुन्छ ।

मलाई नयाँ वर्ष खास लाग्छ । त्यसैले हरेक नयाँ वर्षको अघिल्लो रात भए पनि गाउँ पुग्ने गरेको छु । यस पटक पनि सपरिवार गाउँ पुगेको थिएँ । बिहान आँखा खुल्नुभन्दा अगाडि नै बुबा उठिसक्नु भएको थियो । उहाँले नुहाइधुवाइ सकेर घरको पूजा गर्नुभयो । रुखबिरुवालाई जुडाउँदै जानुभयो । त्यो दृश्य हेर्दा लाग्थ्यो, उहाँ केवल पानी हालिरहनु भएको छैन । उहाँ समयलाई पनि शान्त पार्न खोजिरहनु भएको छ । अनि हाम्रो टाउकोमा पनि पानीले जुडाउनु भयो । एकछिन चिसोले झस्कायो, तर त्यसपछि भित्र कतै एक किसिमको न्यानो शान्ति फैलियो । बुबाको हातको त्यो स्पर्शमा शब्द थिएन, तर अर्थ गहिरो थियो । आमाले पनि त्यही कर्म दोहोर्याउनुभयो । सानोमा त्यो हजुरबुबा तथा गाउँका अन्य अग्रजहरुको पानीबाट जोगिन लुम्ने गरेको अतीतलाई सम्झे । त्यो बालापन छोरामा खोजेँ, ऊ रमाइरहेको थियो ।

यस दिनको अर्को विशेषता भान्सासँग जोडिएको हुन्छ । कतै कतै यो दोस्रो दिन मनाइन्छ । तर हाम्रो गाँउमा पहिलो दिन अर्थात् वैशासख १ मै सिरुवा मनाइन्छ । त्यसैले बिहानैदेखि भान्सामा व्यस्तता शुरु भयो । आमा, श्रीमती र छोरी—तीन पुस्ता एउटै चुलो वरिपरि व्यस्त थिए । श्रीमती कराईमा तेल तताइरहेकी, आमा मसला पिसिरहनुभएको, अनि छोरी तरकारी काटिरहेकी थिइन् । सिरुवामा २०–२२ थरीका तरकारी बनाउने चलन छ । तरुवा, भरुवा, भुटेको, तरकारी, अचारहरू स्वादका अनेक रूप र त्यसमा मिथिला संस्कृति । यो विविधता केवल खानाका लागि होइन, वर्षभरिका स्वादहरू एकै दिनमा समेट्ने एउटा सांकेतिक प्रयास जस्तो लाग्छ । हाम्रो घरको तीन पुस्तालाई २२ थरी पुर्याउने एक किसिमको मौन चुनौती जस्तो देखेँ । त्यो दृश्यले मनभित्र सानो सन्तोष जगायो । ‘संस्कार अझै मरेको रहेनछ, यसले अझै सास फेरिरहेको छ’, विश्वास भयो ।

सिरुवाको एउटा अर्को सुन्दर र समाजिक पाटो थियो । आफ्नो घरमा मात्र होइन, अरूको घरमा पनि गएर खाने । अझै सम्झन्छु, छिमेकीले “आज हाम्रो घरको स्वाद पनि चाख्नुहोस्” भन्ने सरल निमन्त्रणा गरेको । त्यसमा औपचारिकता हुँदैनथ्यो, तर आत्मीयता अत्यन्त गहिरो हुन्थ्यो । आज भने त्यो चलन हराइसकेको रहेछ । आफ्नो घरमा थालहरू भरिए, तर अरुका र अरुका लागि आफ्ना ढोकाहरू खुलेनन् । परिकार प्रशस्त थिए, तर साझेदारी खुम्चिएको थियो ।

सिरुवा मेला, धेरैले सुनेको हुनुपर्छ । गाँउ–गाउँमा लाग्ने घुम्ती मेला । आज एउछा गाँउमा भोलि अर्को गाँउमा, विशेषत गाँउमा रहेका थान (देउता स्थान) हरूमा मेला वैशाखभरि नै लाग्ने गर्छ । हाम्रो गाँउमा १ गते, ११ गते र १२ गते फरक फरक स्थानमा लाग्ने गर्थ्यो । मेलामा किनमेल मात्र होइन, भेटघाट, हाँसो, र उत्सव हुन्थ्यो । रङ्गीबिरङ्गी मिठाई, जिल्लेबीको गन्ध, आइसक्रिमको चिसोपन, नयाँ लुगामा सजिएका अनुहारहरू र सबैभन्दा विशेष त १ गतेको मेलामा ‘कुस्ती’ हुने गरेको थियो । माटोको घेराभित्र पसिना बगाउँदै लड्ने ती युवकहरू शायद प्रख्यात खेलाडी हुदैन्थे तर गाउँको गर्व थिए । त्यसैले मैले छोराछोरीलाई भनेँ, “आज मेला जानुपर्छ, कुस्ती हेर्न रमाइलो हुन्छ ।” उनीहरूले सुने, तर त्यो अनुभव उनीहरूको कल्पनामा मात्र थियो । केहीबेरमै थाहा भयो, त्यो मेला अब लाग्दैन ।

कहाँ जाने त ?

उत्तर आयो, ‘सपिङ्ग कम्प्लेक्स’।

एकछिन म चुप भएँ । मेला र सपिङ्ग कम्प्लेक्सबीचको दूरी केवल स्थानको होइन, अनुभूतिको हो । मेलामा मानिसहरू भेटिन्थे, सपिङ्ग कम्प्लेक्समा मानिसहरू देखिन्छन् । कुस्तीमा शरीर बोल्थ्यो, पसिनामा धुलो टासिन्थ्यो, हौसला चिच्याउँथ्यो । आज मोबाइलको पब्जीमा औंला चल्छ, टिभीमा रेस्लिङको आवाज आउँछ । तर त्यो पसिना, त्यो स्पर्श, त्यो अपनत्व हुँदैन । त्यो क्षणमा मलाई गहिरो गरी महसूस भयो, “हामीले केवल एउटा मेला हराएका होइनौं, हामीले भेटिने, जोडिने, र सँगै रमाउने तरिका हराउँदै गएका छौं ।”

साँझ पर्दै गर्दा चुलो अझै तातै थियो । त्यसमा पकाइएका परिकारहरूमा घरको माया मिसिएको थियो, संस्कारको स्वाद थियो । तर मेला ? त्यो बिस्तारै चिसिँदै गएको थियो, जसको ताप अब केवल सम्झनामा मात्र बाँकी रह्यो । समय परिवर्तन हुन्छ, यो स्वाभाविक हो । तर सबै परिवर्तनले समृद्धि ल्याउँछ भन्ने पनि सत्य होइन । केही परिवर्तनहरूले सुविधा त दिन्छन्, तर हाम्रो भित्री संसारलाई अलि रित्तो बनाइदिँदो रहेछ ।

आजको दिनले एउटा सानो प्रश्न छोडेर गएको छ । के हामी चुलोको यो ताप जोगाउँदै, मेलाको त्यो आत्मा पनि बचाउन सक्छौं ?, कि अब हामी नयाँ वर्ष त मनाउनेछौं तर त्यो उत्सवको पुरानो स्पर्श बिस्तारै बिर्सिंदै जानेछौं ?

साझा गर्नुहोस्:
डा. बालकृष्ण साह

लेखकको बारेमा

डा. बालकृष्ण साह

वरिष्ठ चिकित्सक डा. बालकृष्ण साह स्त्री-रोग विशेषज्ञ हुन् । विगत १० वर्षदेखि स्वास्थ्यको क्षेत्रमा कलम चलाउँदै आएका साहका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.