गत २९ मार्चमा क्लासिक कला दीर्घामा महिलाको दरिलो आवाज, कलाको रूपमा देखा पर्यो । क्लासिक कला दीर्घाले हरेक जसो वर्षहरूमा युवा महिला कलाकारहरू समेटी यस्ता कलाहरूलाई प्रदर्शन गर्ने गर्दछ । यस्ता कला प्रदर्शनीहरूमा नितान्त नौलो अनि आजको कला प्रवृत्तिलाई प्राथमिकता राख्ने गरिन्छ । यसो हुँदा यस्ता कला प्रदर्शनीमा हिजोआज नवयुवा कलाकारहरू कसरी कलालाई आम मान्छेका मुद्दासँग जोड्ने गर्दा रहेछन् । यसको छनकलाई समेत महसूस गर्न सकिन्छ ।
यस पालीको यो सामूहिक कला प्रदर्शनीको नाम चाहिँ ‘अनवाउन्ड भ्वाइसेस वीमेन इन आर्ट’ राखिएको छ । एकसय सोह्रौँ अन्तर्राष्ट्रिय महिला डे को अवसर पारेर गरिएको यो कला प्रदर्शनीमा दुई जना विदेशी कलाकार सहित जम्मा १४ जना महिला कलाकारले भाग लिइरहेका छन् । विदेशी कलाकारको रूपमा यसपल्ट भने मङ्गोलियाका कलाकारहरूले भाग लिइरहेका छन् ।
यी कलाकारहरूका थुप्रै माध्यमका कामहरू देखा परेका छन् । तथापि झट्ट हेर्दा चाहिँ चित्र अनि प्रिन्ट मेकिङ् कलाको बाहुल्य रहेको देखिन्छ । मूलतः यो कला प्रदर्शनीमा महिलाहरूको शक्तिशाली आवाज देखाउने कुरा त छँदै छ । यसबाहेक हरेक कलाकारका आ–आफ्नै विचारहरू, सोचहरूलाई पनि सृजनशील कलाको रूपमा ल्याउन लक्ष राखिएको रहेछ । यो कला प्रदर्शनी आगामी १२ अप्रिल सम्म रहनेछ ।
कलाकारहरूमा नेपालबाट सरिता डङ्गोल, अनामिका गौतम, अञ्जली तामाङ, चन्द्रा श्रेष्ठ, लच्छेन न्यार्टेन तामाङ, नम्रता सिंह दनवार, प्रमिला बज्राचार्य, रविता किसि, रसना बज्राचार्य, रुकमनि श्रेष्ठ, सुविष्ठा कायस्थ, तीसा श्रेष्ठ, अनि मङ्गोलियाबाट विलिग्त एन्खतैवान र दावान्यााम अन्खजया छन् ।
अलिकता कलाको कुरा
प्रदर्शनीमा देखा परेका सरिता, प्रमिला अनि चन्द्रा सन् नब्बेको शुभारम्भतिर उदाएका कलाकार हुन् । अर्थात् यी कलाकारहरू आधुनिक अनि उत्तर आधुनिक कलाको सीमामा देखा परेका कलाकारहरू हुन् । यसो हुँदा पनि यी कलाकारहरूका कलाहरू मिश्रित रूपमा देखा पर्ने गर्दछ । यति वेलाको कलाको प्रवृत्तिमा भाव–अभिव्यञ्जनाका साथसाथै थोरै मात्रमा कन्सेप्टहरूलाई पनि कलामा जोड्ने अनि सामाजिक मुद्दाहरूलाई पनि चासोका साथ उठाउने प्रचलन बढेको थियो । यसर्थ पनि यी तीन कलाकारका कलाहरूमा यसैको सम्मिश्रण देखिन्छ ।
यस वेला प्रयोगात्मक कलाहरूलाई नितान्त नौलो ढंगबाट प्रस्तुत गर्ने लहड पनि चलेको थियो । यस वेला माध्यमको रूपमा अलि खुल्ला वातावरण पनि थियो । अनि कुनै पनि वस्तु, प्रकृतिका अवयवहरू लगायत आम मान्छे समेत कलाको पात्रको रूपमा जोडिन सक्ने वातावरण थियो । यसकारण पनि यो खुल्लापनले यस बखतका कलाकारलाई निक्कै नै हौस्याएको थियो । यसको बिम्ब यी तीन कलाकारमा स्पष्ट देख्न सकिन्छ । यसकारण पनि एकताका सरिता, चन्द्राले बाहिर खुल्ला ठाउँमा इन्स्टलेसन, पर्फमेन्स प्रवृत्तिका कलाहरू प्रशस्त मात्रमा सिर्जना गरेका थिए ।
अर्को थप कुरा भनेको यी तीन कलाकारहरू आफैबीच पनि अलग अलग प्रकारका कला–अंकन पद्धतिलाई अँगाल्ने गर्दछन् । अहिले यो कला प्रदर्शनीमा देखा परेको कलागत प्रवृत्ति भने अलिकता फरक छ । प्रमिलाले दृश्यचित्रलाई अलिकता धुमिल बनाउने सन्दर्भ त छँदै छ उनको अर्को शैली भनेको स्पष्ट आकारमा बाँधिएकी महिलाको चित्र पनि हो । यसपल्ट चाहिँ उनले यही चित्रलाई प्रस्तुत गरेका छन् । चन्दाको पनि अमूर्त चित्र नै हो । तापनि यसपल्ट अलिकता अलग भनेको चाहिँ अमूर्त कला कै एउटा भाग वा सानो चोक्टा लाई प्रस्तुत गरेका छन् । यो एउटा अनौठो संरचना देखिन्छ । यसर्थ पनि यसले थोरै नौलो स्वादलाई महसूस गराउँछ ।
सरिता आकारहरूलाई खेलाएर विचार अनि अनुभवलाई पस्कने प्रक्रिया देखिन्छन् । चन्द्र नितान्त अमूर्ततामा रङहरूसँग छताछुल्लमा खेल्दै गरेको देखिन्छ । भने प्रमिला चाहिँ एउटा गहिरो भाव बोकेको महिलालाई एउटा अर्थका साथ पस्केका देखिन्छन् । यसरी हेर्दा सरिता र प्रमिला आकारमूलक काममा बढी रमाएको देखिन्छ भने चन्द्रा चाहिँ अमूर्तताको सौन्दर्यमा मोहित भएका देखिन्छन् ।
सरिता डङ्गोल, आयोजक, क्यूरेटर अनि स्वयं कलाकारको रूपमा हुँदा पनि यो कला प्रदर्शनीमा उनको विशेष दखल छ । विशेष गरेर उनी शुभारम्भदेखि नै प्रकृति अनि प्राकृतिक विनासमा चासो राख्छिन् । उनका वनजंगलका कैयौँ सिरिजले प्रशस्त चर्चा पाइसकेको छ । अनि यसैको सेरोफेरोमा उनका चित्र बन्ने गर्दछ । तापनि गतका केही वर्षहरू उनका चित्रहरूमा खोर्सानीका विम्बहरूले प्रवेश गरेको छ । जहाँ नेवारी समुदाय, परम्परागत घर अनि संस्कारको रूपमा देखा परेका खोर्सानी एउटा ढंगले आफ्नो उपस्थिति जनाएको देखिन्छ । बालबालिकाको विकास अनि यसैको सेरोफेरोमा रहेर उनले अनगिन्ती कलाहरू बनाएका छन् । यहाँ देखा परेका कलाहरू पनि यसैको अंश हो । रूख जंगल मात्र होइन आज आफ्नो बचपनको यादलाई प्रतीकात्मक विम्बको रूपमा प्रयोग हुँदा पनि यसले एउटा अलग कथा पनि बोकेको देखिन्छ । अनि संस्कारसँग गाँसिएर देखा पर्दा उनका चित्रहरू एक प्रकारका अलग स्वाद महसुस गर्न सकिन्छ ।
उनका एउटा चित्र छ । जहाँ पुरानो घरको चर्केको उप्केको अवस्था देखिन्छ । अनि पुरानो आँटको मूल ढोकाको सिरानमा देवी देवता देखिन्छन् । अनि माथिबाट रातो खोर्सानी सहित नजाने के के जाति लत्रेर झरेका देखिन्छन् । खोर्सानीलाई सुकाएर राख्न यसरी नै झुन्डाएर राख्ने प्रचलन नेवा समुदायमा पाइन्छ । जहाँ आधुनिकता पनि छ । संस्कृति संस्कार पनि छ । अनि यो समुदायले विविध वस्तुलाई जोग कसरी गर्दछन् भन्ने कुरा पनि अनि दिनचर्याका अवयवहरूलाई पनि कस्सेर बाँधेको देखिन्छ । यो एउटा अनौठो संस्कार र परम्पराले नेवा समुदायको दैनिक अनि नेपाली संस्कृतिलाई सर्लक्क उतारेका देखिन्छ । यस्तै अर्को चित्रमा चाहिँ तहतह बनेर किसिमकिसिम खोर्सानीहरू बस्दा फिगरेटिभ अमूर्तताको भाव पनि उनको कलामा स्पष्ट झल्कन्छ ।
सुविष्ठा आफ्ना खोजमूलक कामलाई आफ्नै अनुभवसँग गाँसेर प्रस्तुत गर्ने गर्दछन् । उनका काममा गोलाकारमा अनेक विम्बहरू देखिन्छन् । जो साँचो यथार्थ हुँद्रै गर्दा पनि अलौकिकतामा देखा पर्दछ । तीसाले एउटा पर्खालको चोक्टा कलाको पृष्ठभूमिको रूपमा लिएका छन् । अनि यसैमा एउटा परम्परागत हिटी अनि वरिपरि अनेकौँ देवदेवीलाई संयोजन गरेर प्रस्तुत गरेको देखिन्छ । यो उनको कलाले परम्परा, सामाजिक अनि सांस्कृतिक रूपान्तरण अनि पुराना सम्झनालाई बोकेका गर्दा यसले एक अलग रौनक थपिएको महसुस हुन्छ । अहिलेका युवा कलाकारलाई मिथकले निक्कै नै आकर्षण गर्ने गरेको देखिन्छ ।
अञ्जलीको कलामा, आफ्नै बजैको पुरानै तानमा, पुरानै तरिकाले कपडा बुन्ने दृश्य देखिन्छ । गाढा पहेँलो पृष्ठभूमिमा विषयवस्तु बाहेक अरू केही देखिँदैन । गाढा पहेँलो खासै अर्थ नभए पनि यो धार्मिक परम्पराको द्योतक चाहिँ हो । अनि रङहरूलाई सन्तुलित राखी सौम्य सुमधुर बनाउने कुरामा यसले निक्कै नै सघाउ पुर्याउँछ । कलागत संयोजनको ढाँचा फरक तरिकाले देखा पर्दा, यस्ता मोटिफहरूलाई प्रतीकात्मक विम्बको रूपमा हेर्नुपर्ने हुन्छ । हेर्दाखेरी मात्र तान बुन्दै गरेको एउटा महिला देखिन्छ । तर यसभित्र उनको आफ्ना अनुभव अनि विचारहरूलाई जतनले सम्हालेर राखेको देखिन्छ ।
उनी सोच्छन्, कसरी हिजोआज माइग्रेसनको प्रभावले घरभित्र बाहिर गाउँ, समाजतिर डरलाग्दो अवस्थालाई सिर्जना गर्दो रहेछ । हिजोआजका केटाकेटी युवा अवस्था पुग्दानपुग्दै विदेश जान तम्तयार देखिन्छन् । अनि घरका बुढा आमाबाबु, परिवारहरू दुखेसोमा बाँचिरहेका हुन्छन् । यसरी सोच्दै गर्दा गाउँ नै उनको लागि एउटा ठूलो क्यानभास बनिदिन्छ । अनि यसैभित्र रहेको उहिले जमानाको दिनचर्या वा जीविकोपार्जनको लागि गरिने पेशाहरू उनी सम्झँदै गर्दछन् । अनि यही उनको सम्झनाहरू तरेली बनेर आउँछन् । अनि यही नै एउटा विम्ब बनी क्यानभासमा सर्लक्कै उत्रिने गर्दछन् ।
आज जे छ अनि जेजस्ता कुराहरू यसमा मिसिँदै जान्छ । अर्थात नयाँ र पुराना कुरा एकै ठाउँमा हुँदै गर्दा, अनेकाने परिवर्तनहरू देखा पर्दै जाने हुँदोरहेछ । नयाँ अनि पुराना परम्परागत, चालचलन, दिनचर्या, सोच्नेको ढंग अनि व्यवहारहरू कसरी एक आपसमा घुलमिल हुँदै गर्दा नयाँपन देखिँदो रहेछ । अनि यसलाई अलिकता माया आफैमा अन्तर्निहित शक्तिलाई परिचालन गरी घर अनि समाज पनि स्वर्ग बनाउन सकिँदो रहेछ । यी र यस्तै विचारहरू उनीमा सल्बलाउन थालेपछि पुराना सम्झना अनि अहिलेको अवस्थालाई मिलाउँदै चित्रको निर्माण हुन्छ ।
लक्षणले फूल नै फूलले बेरिएको एउटा महिलाको अनुहारलाई चित्रण गरेका छन् । यो मात्र एउटा व्यक्तिचित्र होइन यसभित्र पनि अनेकौँ सन्दर्भहरू घुसेका छन् उनी भन्छन् । राधा, जुन हामी एउटा आइकनको रूपमा सम्भवत मायाको पर्यायवाचीको रूपमा हेरीरहेका हुन्छौँ । यसले थुप्रै कुराहरू भनिरहेको हुन्छ । समष्टिमा भन्दा चाहिँ माया भनेको आफै हराउनु होइन आफैले आफैलाई पाउनु पनि हो । महिलाको सन्दर्भ मात्र पनि होइन महिला महिलाबीचको नाताले हाम्रो घर समाजमा ठूलो अर्थ राख्दछ । यो एक आपसको नाताले । राम्रो नाताले घरसंसार स्वर्ग पनि बन्न सक्छ, बनाउन सकिन्छ । महिलाहरू महिलाबीचको नाता आदि इत्यादि महिलाको चिरफार गर्ने सन्दर्भमा एउटै महिलाको पोस्चरबाट उनले धेरै कुराहरू भन्न भ्याएको देखिन्छ ।
रसनाको काम साह्रै गजबले देखा परेको छ । परम्परागत मान्यतामा उनी आजको भाष्यलाई स्थापित गर्न तम्तयार देखिन्छन् । उनी परम्परागत चित्रकलाको अंकन पद्धतिलाई समात्छन् । शैली र प्रस्तुत त्यही नै हुन्छ । तर पात्रहरूको भूमिका चाहिँ सर्वथा अलग भएर देखा पर्दछ । पुराना यस्ता धार्मिक चित्रहरूमा देवी लक्ष्मी देव विष्णुको पाउ मोलिरहेको देखिन्छ । भने यसमा चाहिँ ठीक उल्टो देव विष्णुले लक्ष्मीको पाउ मोलिरहेको देखिन्छ । यो एउटा आजको परिवर्तित अवस्थाको प्रतीकात्मक विम्ब पनि हो । महिलाहरू सधैँ हेपिनुको अर्थमा बोकेको डरलाई उनी शक्तिको रूपमा रूपान्तरण गर्न पुगेका छन् । उनको कलाको सार तत्त्व पनि यही नै हो ।
नम्रता, मैथिली लोककलाका शैली पद्धति मात्र होइन पात्रहरूलाई आधुनिक भाषा बोल्न लगाउँछ । अर्थात आजको दिनचर्या वा मधेसतिरको हाट–बजार अनि महिलाहरू आफूसँग भएको आफ्नै बारीमा फलेका हरियापरिया सागसब्जी आदिलाई हप्तामा एकपटक लाग्ने बजारमा कसरी बेच्न लाग्छन् । यसको दृश्यलाई सुन्दर रूपमा समायोजन गरेको देखिन्छ । एउटा ठूलो कल्पवृक्ष मुनि लस्कर लागेर महिलाहरू टाउको माथि टोकरी बोकी बजार गइरहेको दृश्य देखिन्छ । बाटोमा हल्का जंगल अनि हिरण मृगहरूसँग खेल्दै बजार गइरहेको परिदृश्यलाई पनि उनले समेट्दा, स्वाभाविक दिनचर्या कति आनन्दले बितेको छ भन्ने अनुभूति पनि हुन्छ । अन्खज्याले मात्र एउटा महिलालाई परम्परागत भेषभूषामा चित्रण गरेको देखिन्छ ।
रुकमणिले पहिचान सहितको भेष–भूषामा सजिएकी दुई महिलाको चित्र बनाएको छ । थोरै अनौठो पोस्चरमा देखा परेको यो चित्रमा महिलाको अनुहारमा ढाकिने गरी
बादलको परम्परागत मोटिफलाई राखिएको छ । यसले नेपाली परम्परा अनि आजको अवस्थालाई जोड्ने काम गरेको देखिन्छ । तल अग्रभागमा फूल अनि पातको शोभा बढाइरहेको परिदृश्य पनि देखिन्छ ।
रवीता किसीले यथार्थ फर्ममा स्तूपालाई अंकन गरेका छन् । अनि वरिपरि फूलहरूको बहारले यसलाई सुगन्धमय बनाएको देखिन्छ । कुरा यतिमै सीमित छैन । उनी भन्छन् मेरो संघर्ष र सिकाइ नै मेरा चित्र हुन् । अँध्यारोपन, टेक्स्चर लाइन अनि कलर यी आदि इत्यादिले मेरा संघर्षलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । अनि फक्रेको फूलले ग्रोथलाई अनि चैत्यले आध्यात्मिक चेत अनि महात्मा बुद्धको दिव्य उपदेश अर्थात् टिचिङले जीवन सार्थक बनाउँछ । उनका चित्रमा यी आदि इत्यादि कुराहरू नै प्रत्याभूति भएको देखिन्छ ।
कलाकार, कला समीक्षक

