विहारको चौरमा मिनुकी आमा र फुपूको सम्झनामा रोपिएको स्याउको बोट अझै छ । मुख्य भिक्षुले बुद्धको परिवार नेपालका शाक्यहरूको सम्झनामा यस्तो वृक्ष रोप्न पाउनु ठूलो सौभाग्य भएको बताउनुभएको थियो । हामी त्यहाँ जाने क्रम अझै कायम छ
=====
दैनिक व्यस्त जीवनमा कहिलेकाहीँ मन बहलाउनका लागि बेलायतमा पनि विभिन्न धर्म समुदायका पवित्र स्थानहरू छन् । तीमध्ये वेस्ट ससेक्सको हरियालीले ढाकिएको शान्त ग्रामीण वातावरणमा अवस्थित ‘चित्तविवेक’ विहार पनि एक हो । यो सादगी, मौनता र प्रकृतिसँगको सह-अस्तित्वलाई जीवन्त बनाउने आध्यात्मिक समुदायहरूको एक महत्त्वपूर्ण स्थान हो ।
सन् १९७९ मा थाई अरण्य परम्पराका विख्यात गुरु अजान चाह र उनका प्रमुख पश्चिमी शिष्य अजान सुमेधोद्वारा स्थापित यस विहारले पश्चिमी भूमिमा थेरवाद बौद्ध धर्मको गहिरो जरा गाडेको छ । स्थापनाकालदेखि नै अजान सुमेधोले पहिलो मुख्य भिक्षु (अभोट) को रूपमा नेतृत्व सम्हाल्दै आएका थिए । ‘अजान’ शब्दको अर्थ शिक्षक वा गुरु हो । यो पाली शब्द ‘आचार्य’ बाट आएको हो र थाई अरण्य परम्परामा कम्तीमा १० वर्षको भिक्षु/भिक्षुणी दीक्षा पूरा गरेका वरिष्ठ भिक्षुलाई मात्र दिइने उपाधि हो । अजान चाह जस्ता गुरुहरूलाई सम्मानपूर्वक ‘लुआङ पोर’ पनि भनिन्छ।
सन् १९५४ मा उहाँले ‘वाट नोंग पाह पोङ’ स्थापना गरी कडा विनय, सादगी र प्रत्यक्ष ध्यान अनुभवमा आधारित जीवनशैलीलाई प्रोत्साहन गर्नुभयो । उहाँका शिक्षाले थाइल्यान्ड मात्र होइन, युरोप र अमेरिकासम्म प्रभाव पार्यो । उहाँकै प्रेरणाबाट बेलायतमा चित्तविवेक र अमरावती बौद्ध विहार जस्ता ठाउँहरू स्थापना भए । सन् १९१८ मा थाइल्यान्डको उबोन राचाथानी प्रान्तमा जन्मिएका अजान चाहले सानै उमेरमा भिक्षु जीवन अंगाले र कठोर वनवास साधना अपनाउनुभयो । उहाँ आधुनिक बौद्ध जगतका प्रभावशाली ध्यानाचार्यको रूपमा स्थापित हुनुभयो र सन् १९९२ मा देहावसान हुनुभयो ।
चाहको शिक्षण सरल, व्यावहारिक र जीवनसँग प्रत्यक्ष जोडिएको थियो । उहाँले भिक्षु तथा साधकहरूलाई अनावश्यक लालच, मोह र सांसारिक वस्तुबाट मुक्ति पाउन प्रेरित गर्नुभयो । ध्यानलाई जीवनको केन्द्रबिन्दु बनाउने, एकान्तमा बस्दै मन शान्त राख्ने र दैनिक अभ्यासबाट प्रत्यक्ष अनुभव प्राप्त गर्ने कुरा उहाँका मुख्य शिक्षाहरू थिए । उहाँले अनुशासन, ब्रह्मचर्य, दान र सामूहिक प्रयासमा जोड दिनुभयो तथा भिक्षुहरूले पालना गर्नुपर्ने २२७ नियमलाई अति आवश्यक मान्नुभयो । उहाँको सबैभन्दा प्रसिद्ध वाक्य हो: “यदि तपाईं अलिकति छोड्न सक्नुहुन्छ भने, तपाईंलाई अलिकति शान्ति हुनेछ । यदि तपाईं धेरै छोड्न सक्नुहुन्छ भने, तपाईंलाई धेरै शान्ति हुनेछ । यदि तपाईं पूर्ण रूपमा छोड्न सक्नुहुन्छ भने, तपाईं पूर्ण शान्ति र स्वतन्त्रता अनुभव गर्नुहुनेछ ।” यस सरल र कहिलेकाहीँ हास्यपूर्ण शैलीले पश्चिमी साधकहरूलाई थेरवाद अभ्यास सजिलै बुझ्न योग्य बनायो ।
सन् १९३४ मा अमेरिकाको सिएटलमा रोबर्ट ज्याकमनको रूपमा जन्मिनुभएका अजान सुमेधोले अध्ययन र पीस कोर्प्समा सेवा गरेपछि थाइल्यान्डमा भिक्षु दीक्षा लिनुभयो । उहाँले अजान चाहसँग करीब दश वर्ष गहिरो ध्यान अभ्यास गर्नुभयो । सन् १९६७ मा दीक्षा पाएपछि उहाँले थाई फरेस्ट परम्पराको ध्यान अभ्यास पश्चिमी देशहरूमा फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो । सन् १९७५ मा अजान चाहले उहाँलाई वाट पाह नानाचाटको मुख्य भिक्षु नियुक्त गर्नुभयो । त्यसको एक वर्षपछि बेलायत सरेर चित्तविवेक र अमरावती बौद्ध विहारको नेतृत्व गर्नुभयो । सन् २०१० मा मुख्य भिक्षु पदबाट निवृत्त भएपछि उहाँ थाइल्यान्डमा शान्त जीवन बिताउन थाल्नुभयो र सन् २०१९ मा थाइल्यान्डका राजाले उहाँलाई ‘चाओ खुन’ उपाधि प्रदान गर्नुभयो ।
यस परम्पराको आधुनिक पुनरुत्थान सन् १९०० को दशकमा अजान मन भुरिदत्तो (१८७०–१९४९) द्वारा शुरू भएको मानिन्छ । उनी र उनका गुरु अजान साओ कांटासिलोले थाइल्यान्डको इसान क्षेत्रमा घुमन्ते जीवन (तुदोङ) बिताउँदै बुद्धका मूल शिक्षाहरूलाई पुनर्जीवित गर्ने प्रयास गर्नुभयो । अजान मनले कडा विनय, गहिरो समाधि र निर्वाणको प्रत्यक्ष अनुभवमा जोड दिएर यसलाई ‘आर्यहरूको परम्परा’ भनेर स्थापित गर्नुभयो । यस परम्पराका मुख्य विशेषताहरूमा पुराना चीवर, दानपात्र, दिउँसो मात्र भोजन, पैसा नछुनु, ब्रह्मचर्य र सामूहिक प्रयास पर्छन् । किताबी अध्ययनभन्दा विपस्सना र समथा ध्यानलाई बढी महत्त्व दिइन्छ, जसले साधकलाई दैनिक जीवनको तनाव, चिन्ता र आसक्तिबाट मुक्त पार्छ ।
आज थाई अरण्य परम्पराका विहारहरू बेलायत, अमेरिका र अस्ट्रेलिया लगायतका देशहरूमा फैलिएका छन् । यहाँ दैनिक तालिका अनुसार बिहान ५ बजे मन्त्र जप र ध्यान, घरायसी काम र १०:३० बजे मुख्य भोजन हुन्छ भने दिउँसो व्यक्तिगत अभ्यास र साँझको पूजासँगै दिन समाप्त हुन्छ ।
सन् १९५६ तिर बेलायतमा केही बौद्ध श्रद्धालुहरूबीच थेरवाद भिक्षुहरूका लागि उचित बस्ने र अभ्यास गर्ने ठाउँको चिन्ता उठ्यो । जर्ज शार्पको नेतृत्वमा इङ्लिस सङ्घ ट्रस्ट स्थापना भयो जसको मुख्य उद्देश्य बेलायतमै शान्त र अनुशासित आध्यात्मिक वातावरण तयार गर्नु थियो । सन् १९७८ मा अजान सुमेधोले ह्याम्पस्टेड हिथमा भिक्षाटन गर्दै गर्दा एक व्यक्तिले उहाँलाई देखे र पछि वेस्ट ससेक्सको ठूलो वन क्षेत्र दान गरे । सन् १९७९ मा चितहर्स्ट हाउस खरिद गरियो र सन् १९८१ मा विहारले कानूनी मान्यता पायो । विहारको नाम ‘चित्तविवेक’ राखियो जसको अर्थ पालीमा ‘अनासक्त मन’ हुन्छ । त्यही वर्ष हार्नह्याम बौद्ध विहार (अरुणा रतनागिरि) स्थापना भयो । सन् १९८४ मा अमरावती बौद्ध विहार स्थापना भई १९८५ मा उद्घाटन गरियो जुन अहिले बेलायतको मुख्य केन्द्र हो । चौथो विहार फरेस्ट हर्मिटेज (शान्तिधम्म) हो जसको स्थापना अजान खेमधम्मोले गर्नुभएको थियो ।
चित्तविवेक ध्यान शिविर सञ्चालन गर्ने मात्र होइन, यो त दिनचर्यामै ध्यान, अनुशासन र त्यागलाई जीवन्त अभ्यास गर्ने साधना भूमि हो । यहाँ भिक्षु तथा दशशीलधारी भिक्षुणीहरूले शील, समाधि र प्रज्ञामा आधारित जीवनशैली अपनाएका छन् । बिहानको कुहिरो, चराचुरुङ्गीको स्वर र वनको शीतल हावा साधनाका मौन साक्षी बन्छन् । प्राकृतिक एकान्तले मनलाई शान्त बनाउँदै आत्मअन्वेषणको ढोका खोलिदिन्छ । विहार परिसरभित्र रहेको धम्म सभागृह सन् २००४ मा निर्माण गरिएको मुख्य केन्द्र हो जहाँ १५० जना अट्छन् र जुनसुकै बेला मौन ध्यान गर्न सकिन्छ । सप्ताहान्त र विशेष चन्द्र तिथिमा धर्म प्रवचन तथा ध्यान निर्देशन कार्यक्रम हुन्छन् । मुख्य भवन चितहर्स्ट हाउस इतिहास र पुनर्जागरणको प्रतीकजस्तै उभिएको छ भने वरिपरिको बगैंचा र हरियालीले शान्ति दिन्छ ।
चित्तविवेकको अर्को विशेषता महिलाहरूका लागि संरचित संघीय प्रशिक्षण हो । रोचना विहार र आलोका कोटेजमा भिक्षुणी तथा महिला साधिकाहरू बसोबास गर्छन् । यो प्रशिक्षण अष्टशीलबाट शुरू भई सन् १९८३ मा दशशीलसँग परिपक्व भयो जसको पर्यवेक्षण अजान सुचित्तोले गर्नुभएको थियो । हाल सीमित स्रोतका कारण रोचना र आलोका सर्वसाधारणका लागि बन्द छन् तर मुख्य परिसर दैनिक खुला छ । विहारसँगै १४४ एकडको ह्यामर वुड वनक्षेत्र छ जसमा पोखरी र खोल्सी छन् । यो वन दानस्वरूप प्राप्त भएपछि संघ यहाँ बस्न आएको हो । अरण्य परम्पराको एकान्त, सादगी र प्रकृतिसँगको निकटता यही वनले मूर्त रूप दिएको छ । स्थानीय रूख रोप्ने र वन संरक्षण कार्यक्रमले यसलाई आध्यात्मिक तथा पर्यावरणीय सन्तुलनको उत्कृष्ट उदाहरण बनाएको छ ।
चित्तविवेक बौद्ध विहारमा विभिन्न देशबाट आएका युवा-युवतीहरू नियमित बसोबास गर्छन् । उनीहरू साधकको साधारण लुगा लगाएर ध्यान अभ्यास गर्छन् र दैनिक काममा योगदान दिन्छन् । सामान्यतया प्रत्येक आइतबार आउने चलन छ र सहभागीहरू आफैं खाना तथा सामग्री ल्याउँछन् । यहाँ थाइल्यान्ड, फिलिपिन्स र श्रीलंकाका बौद्ध धर्मावलम्बीको राम्रो उपस्थिति छ । विहार पूर्ण रूपमा दानमा चल्छ र राम्रो पुस्तक संग्रह पनि छ जसलाई दानस्वरूप लिन सकिन्छ ।
हाम्रो परिवारको पनि चित्तविवेक बौद्ध विहारसँग गहिरो सम्बन्ध छ। विहारबाट करीब ४० मिनेटको दूरीमा हाम्रो पहिलो रेस्टुरेन्ट थियो । उमेश शाहमार्फत थाई व्यापारी महिलासँग सम्पर्क भएपछि उनी त्यहाँ काम गर्न थाले र हामी पनि नियमित जान थाल्यौं । मिनु (जीवनसंगिनी) का आफन्त आउँदा पहिले त्यही लैजान्थ्यौं । मिनुकी आमालाई यो ठाउँ अत्यन्त मन पर्थ्यो । ओशो तपोवनबाट स्वामी आनन्द अरुणको बेलायत भ्रमणपछि हामी पटक-पटक पुग्ने गर्थ्यौं । पहिलो पटक नायिका झरना बज्राचार्यसँग भेट भयो । हाम्री जेठी छोरीले पनि केही दिन बसेर ध्यान अभ्यास गरेकी छिन् । विहारको चौरमा मिनुकी आमा र फुपूको सम्झनामा रोपिएको स्याउको बोट अझै छ । मुख्य भिक्षुले बुद्धको परिवार नेपालका शाक्यहरूको सम्झनामा यस्तो वृक्ष रोप्न पाउनु ठूलो सौभाग्य भएको बताउनुभएको थियो । हामी त्यहाँ जाने क्रम अझै कायम छ र एक पटक अमरावती विहार पनि भ्रमण गरिसकेका छौं ।
चित्तविवेकले थाई अरण्य परम्पराको जग बसाल्दै बेलायतमा अन्य विहारहरूको स्थापना गर्न पनि सहयोग गरेको छ । मुख्य शाखाहरूमा अमरावती बौद्ध विहार (हर्टफोर्डशायर, लन्डन नजिक — अहिले मुख्य केन्द्र), अरुणा रतनागिरि (हार्नह्याम) बौद्ध विहार (नर्थम्बरल्याण्ड), हार्ट्रिज बौद्ध विहार (पूर्वी डेभन) र फरेस्ट हर्मिटेज (शान्तिधम्म, वार्विकशायर) छन् । यी सबै इङ्लिस सङ्घ ट्रस्ट अन्तर्गत सञ्चालित छन् र एउटै परम्परामा जोडिएका छन् ।

