‘कविताको शक्ति के हो ? प्रकृतिलाई कविताको शक्ति मान्न उपयुक्त होला ?’ इलामको एउटा कार्यक्रममा डाक्टर हेम भण्डारीले मलाई सोध्नुभएको थियो । मैले भनेकी थिएँ, ‘कविताको शक्ति चेतना हो । बोध नभएको मान्छेले प्रकृतिलाई शक्तिको रूपमा स्वीकार्नै सक्दैन । बोध छ भने प्रकृति शक्ति हुन्छ यसमा कुनै दुविधा छैन ।'
भवानी खतिवडाको 'प्रणाम सगरमाथा' पढेपछि म झन् ढुक्क भएँ, मैले दिएको उत्तर त सोह्रै आना सही रहेछ । साहित्यको शक्ति त चेतना पो रहेछ । जबसम्म हाम्रो चिन्तन गहिरो हुँदैन, प्रकृतिलाई हेर्ने दृष्टि उच्च हुँदैन तब कहाँ भेटिन्छ चिन्मयको आलोक ! बोधबिना प्रकृतिमा हामीले केही प्राप्त गर्न सक्दैनौं ।
त्यसैले भन्छु, चेतना नै साहित्यको शक्ति हो । चेतना जागृत भएपछि अरू थोक सहायक भएर आउँछन् सिर्जनामा । अझ भनौँ चेतना हिमाल हो साहित्य सभ्यताको पनि ।
सन्त कबीरदास भन्छन्सः
भिखा भूका कोही नही
सब कि गठरी लाल,
गठरी खोल्न भुल गए
इस विधि भए कङ्गाल !!
अहो ! हामी साँच्चै हीराका रासकै संसारमा बसेर भिखारी भएका रहेछौँ । हामीलाई हीराको गठरी खोल्ने ज्ञान छैन । सन्त कबीरले भने झैँ हामी सबैमा ज्ञान र चेतनाको अपार खजाना छ तर जबसम्म हामी यो चेतनाको ढोका खोल्न सक्दैनौँ तबसम्म हामी अविवेकी, अज्ञानी भएरै नै यो धराबाट बिदा हुन्छौँ । आवश्यक छ चेतनाको गठरी खोल्न, जुन प्रणाम सगरमाथामा नियात्राकारले खोलेकी रहिछन् । सचेतनाको आलोक लिएर उचाइतिर गरिएको एउटा चिन्मयको विशेष यात्रा रहेछ- प्रणाम सगरमाथा । म ढुक्क छु, यसो भनिरहँदा म गलत हुने छैन ।
एक संवेदनशील यात्रीले नै देख्छ प्रकृतिमा विविधता र पृथकता । महाकवि पागल भए झैँ पागल हुनुपर्छ हिमाललाई बुझ्न । जे देखिन्छ त्यो मात्र छैन हिमालमा । नदेखिएको कुरा असत्य कदापि होइन । देखिएको कुरा मात्र सत्य छैन । चुलीको यात्रा विवेकको यात्रा हो । विचार उचाइ हो । सरुभक्त भन्छन्, ‘हिमालमा जोखिमहरू छन्, जीवनमा हिमालहरू छन् ।' कस्तो दार्शनिक अभिव्यक्ति । चिन्तनबिना हिमाल लेख्न सकिँदैन । चुलीको यात्रा भूगोलको मात्र यात्रा होइन । उच्च संवेदनाको यात्रा हो । सगरमाथाको आधार शिविरमा पुगेर सगरमाथालाई मानसिक रूपमा आरोहण गर्नु उपल्लो तहको यात्रा हो । जो कोहीले गर्न सक्दैन यो चिन्मयको यात्रा । हिमालको भेट एक सचेत कविका लागि ईश्वरसँगको साक्षात्कार हो । संवाद गर्नु हो चुलीका देउतासँग । भावनाका अनेकौं हिमतालमा डुब्नु हो । करुणाका अनेक हिउँ पुष्प चढाउनु हो हिमाली जीवनप्रति ।
भवानीले यी सबै कर्म गरेकी छन् । भवानी हिमालको चीत्कार सुन्छिन् । हिमालको सौन्दर्यमा मोहित हुन्छिन् । सगरमाथालाई मात्र होइन भरियाको जीवनलाई पनि प्रणाम गर्छिन् । आफ्नो कर्म र जिम्मेवारीप्रति सचेत र संवेदनशील हुन्छिन् । मान्छेको मात्र हैन प्रकृतिको पुकारलाई हृदयको गहिराइबाट सुन्छिन् । पाटनको सौन्दर्यमा मात्र हैन जोक्पेको पीडामा करुणाविगलित हुन्छिन् र पुकार्छिन् सृष्टिकर्तालाई अश्रुमिश्रित नयन लिएर, ‘झलक्क हेर्दा एरिक भ्यालीद्वारा निर्देशित क्याराभान सिनेमा हेरेजस्तै रमाइलो महसूस गराउने जोक्पेका जीवनमा अन्तर्निहित दुःख अत्यन्त मार्मिक छ । डँडाल्नामा लादिएको भारीको बोझले थिचिएर धर्मराउँदै हिँड्न विवश प्राणीका निर्दोष आँखा हेरिरहँदा हृदयमा करुणा उर्लिन्छ । यिनका जीवनको नियति सम्झिँदा आङै जिरिङ्ग हुन्छ, जो खान्छन्, सास धान्नको लागि मात्र खान्छन् । जो बाँच्छन्, भारी बोक्नकै लागि मात्र बाँच्छन् । सुनेकी छु, भारी बोक्न नसकेका दिन यिनको हालत अर्थोकै हुन्छ रे ! यिनले भारी बोक्नकै निम्ति जीवन पाएका हुन् भन्ने सम्झिँदा मात्र पनि कताकता दुखिरहन्छु र प्रार्थना गर्न मन लाग्छ- प्राणीको पुनर्जन्म नै हुन्छ भने जोक्पेहरू पनि सुखी, खुशी मानिस भएर जन्मियून् । (पृष्ठ ३९ )’
मलाई टीठ पनि लाग्छ मान्छेहरूको अशान्त मनको आँधी सम्झिएर जो सर्वशक्तिमान छन् । ज्ञान, शक्ति र धनको गठरीले मालामाल छन् तर पनि दरिद्रताको श्रीपेच लगाएर निरास छन् मानव जीवनप्रति नै । दुःखी छन् तृष्णाको मरुभूमि हृदयमा उचालेर । भवानीको चिन्मय संसारमा मान्छे जस्तो सुखी र खुशी कोही छैन अनि पो कामना गर्छिन् जोक्पेको पुनर्जन्मको ।
तर सारा जीवजन्तुलाई भारी बोकाएर उन्मत्त भएर हिँडे पनि मान्छेले आफ्नो पवित्र आत्मालाई दुषित पार्दैछ । मस्तिष्कमा अज्ञानको पहाड उचालेर हिँड्दा पाइला पाइलामा सगरमाथा पुज्नसक्ने हातहरू पनि आत्मश्लाघाको मरुभूमिमा भौतारिएर रुक्खो भएको दृष्टान्त दिन्छिन् तिनै भवानी । कोही कर्मचारी काठमाडौँ बसेर भत्ता पचाउँछन् कोही हिमालमा शिवलाई भेटेर आह्लादित हुन्छन् । जसका लागि कठिनाइमा पनि सुविधा रोपिएको छ तिनै कर्मचारीहरू नआउँदा खाली छ अधिकृतको क्याप । कस्तो विचारले निर्देशित छन् ती राष्ट्रसेवक कर्मचारीहरू । चेतना निदाएपछि हिमालमा हिँडे पनि खुल्दैन दिव्य ज्ञान । अनि सिङ्गो प्रकृति बेअर्थी लाग्छ । निदाएको स्वाङ रच्नेहरुलाई जागृत गराउन कठीन छ । मस्तिष्कमा नित्य पैसाको सगरमाथा बनाएर हिँडेकाहरूले हिउँको सगरमाथालाई कस्तो प्रणाम गर्लान् । नैतिकता, इमान र दायित्वमा खिया लागेपछि हिमालमा पुगेर पनि ऊ केही भेट्दैन सिवाय चिसो हिउँ ।
सन्तहरू भन्छन्, बालकको हृदय लिए हिँड तब जीवन उत्सवमय बन्छ । भवानी बालकको हृदय लिएर हिँड्छिन् । सपनालाई पनि छोड्दिनन् प्रतिपल । ७० वटा देशका नागरिकहरूसँग पनि बोल्न भ्याउँछिन्, ‘नेपाल कस्तो लाग्यो ?' सोधेकै छ परिचित मुस्कान छर्दै ।
पिरामिड होटलका काजीदाइको प्रेमलाई पनि चेतनाको दृष्टिले हेर्दै भन्छिन्, ‘रित्तो ज्यान ल्याइपुर्याउन पनि हप्तौं लाग्ने उचाइमा भाडा तिरेर ल्याएका सामान सित्तैमा खाइयो भने हामीलाई पाप लाग्छ । नरमाइलो पनि लाग्छ । दाजुले गर्नुभएको माया नै अमूल्य छ तर पैसा लिन मान्नु भएन भने हामी खुशी होइन, दुःखी हुनेछौँ ।' (पृष्ठ १०९ ) भवानीका कैँयौँ व्यवहार आजको युगमा अविश्वनीय लाग्न सक्छन् । सरकारी कर्मचारीले व्यवसायीप्रति गरेको व्यवहार सवै सन्तोषजन नहुन पनि सक्छ । होटलवालासँग पैसाको खातिर पदको परिचयपत्र देखाएर पैसाका लागि मोलमोलाई पनि गर्ने समूहको कमी नहोला हिमालमा । तर भवानीको चेतना उज्यालो छ र त बोल्छिन् लालचविहीन वाणी ।
जापानीहरूको हिमालप्रतिको सम्मानमा उचालिएको छातीलाई नमन गर्छिन् । भवानी पिरोलिन्छिन्, हामीले हीरा पाएर पनि त्यसको सम्मान गर्न नसकेको अज्ञानता बोधले । हिमालप्रतिको सम्मान कस्तो हुनुपर्छ भनेर गोरकशेपमा सम्झिन्छिन्, पन्ध्र सोह्र वर्ष अगाडि कृषि विकास कार्यालयमा स्वयंसेवकको रूपमा काम गर्न आएका ताकाशी कावामुरालाई जसले ‘सधैँ गर्वका साथ भन्थे गर्थे, म फुजीशानको देशको नागरिक हुँ । हामीसँग ३७७६ मिटर उचाइको फुजीशान हिमाल छ ।' (पृष्ठ ११६)
हिमालप्रतिको श्रद्धा त उचाइले भन्दा पनि उच्च चेतनाले मात्र गर्नसक्ने रहेछ । कावामुराको जस्तो हिमालप्रतिको संवेदना हरेक नेपालीको हृदयमा भर्भराउने हो भने कस्तो हुन्थ्यो भन्ने भावले मलाई केहीबेर छोप्यो । उचाइको छाता लिएर भावना शून्य भएर हिँडेका हिमाली यात्रीभन्दा कता हो कता मेरो हृदयमा कावामुराप्रति श्रद्धा भरिएर आयो ।
बिडम्बना, अभावको ढोल बजाउने बानी परेपछि माग्नको लागि सगरमाथालाई पनि सौदामा राख्न खोज्छन् अगस्तिहरू । स्थायी जागिरले सुरक्षित भएका कर्मचारी पनि लालचको वनमारा मस्तिष्कमा फैलिएपछि कमाउनको खातिर, सगरमाथाको सेवा गर्ने संकल्प लिएर, हिमालको वरिपरि अतृप्तिको र्याल चुहाँदै, काठमाडौँमा नै बसेर पर्वतारोहण सम्पर्क अधिकृतको भत्ता खाने कर्मचारीको घीनलाग्दो र लजास्पद यथार्थ पढ्दा हृदयभरि घृणाको सागर उर्लियो । हामीलाई त सगरमाथाले उचाइले पनि पुगेको छैन किनकि हाम्रो सोच मगन्ते छ । दरिद्र छ । लालची छ । बिमार बिमार छ, त्यो पनि दीर्घरोगले ।
भवानी हिमनदीको वास्तविक स्वरूप देखेर चकित हुन्छिन् । म पाठकको कल्पना पनि ठ्याक्कै भवानीको जस्तै थियो हिमनदी शान्तसँग बग्ने नीलो पानीको अथाह जलराशी होला भन्ने नै थियो जब भवानीले मलाई त्यो कहालीलाग्दो हिमनदीको स्वरूप देखाइन् म तीन छक्क परेँ । नदेखे पनि मैले हिमनदीको त्यो भीषण रूप कल्पना गरेँ ।
लेक लागेर मर्लान्त भएकाहरूको उपचारमा पनि जिम्मेबार भएर हिँड्छिन् भवानी ! हिमाल आरोहीको कृतिमानलाई सम्मान गर्छिन् । ती आरोहीहरूको घरमा गएर श्रद्धा प्रकट गर्न कन्जुस्याइँ गर्दिनन् । सबैसँग बोल्दै हिँड्ने भवानीको स्वभावलाई जागिरको गर्मीले उमालेको छैन नत्र त हिमालमा पनि पद, प्रतिष्ठा, मान, सम्मान, सत्ता र शक्तिले बैमानहरूलाई विश्वविजयको उन्मादले लघारेको छ ।
भवानीको दिव्य आत्मा जागृत छ । आफ्नैलाई सत्सङ सुनाउँदै हिँड्छिन् र पो नित्य स्निग्ध हुन्छिन् विचारको उडान भर्न । आफैँलाई मार्गनिर्देश गर्दै हिँड्छिन् यो नै हो चिन्मयको यात्रा । नगार्जुनको कठीन यात्रामा गलित हुँदै गएका आफ्नै इन्द्रियलाई सत्सङग सुनाउँछिन् । महाकविले भने झैँ आफ्ना दश इन्द्रियलाई मित्र मान्छिन् । आफ्ना इन्द्रियहरूलाई नै शत्रु ठान्छिन् । अनि पो हिमालमा अनन्त ऊर्जाले भरिन्छिन् ।
मानव बस्तीमा पुगेपछि पोखिन्छिन् त्यहाँको हिमाली सुगन्धले । नाता लगाएर कुरा गर्न पनि निकै सिपालु छिन् । जब जब शरीर गल्छ तब आफैँले भर्छिन् आफूमा ऊर्जा । उनी हिमाललाई भूगोल मात्र देख्दिनन्, हिउँभन्दा चिसो हावा पिउँदै भन्छिन्, ‘टाढाबाट हेर्दा एकदमै नाङ्गो देखिने नागार्चुनको यस पहाडमै आएपछि थाहा पाउँछु म, यो उचाइ त भूइँफूलको बगानै पो रहेछ । भुइँमा छपक्कै टाँसिएर ढकमक्क फुलेका फूल त कति छन् कति । कुनै सुनकै फुलीजस्ता । कुनै चाँदीका गहना जस्ता। कुनै सिमलको भुवाजस्ता । कुनै कलेजी र नीला रङका पत्थर टल्किएजस्ता छन् । हिउँको कठोर ठिही खपेर फुलेका फूलले परिस्थिति आफ्नो अनुकूल नहुनुको गुनासो गरेर नबस्, आफूलाई परिस्थिति अनुकूल बनाउनतिर लाग, सफलता निश्चित छ भनिरहेझैँ लाग्छ (पृष्ठ ९३) ।'
विविधताको सौन्दर्यमा पनि केही नदेख्ने आँखाले कसरी देख्छ एकरूपतामा अनेकताको आलोक । भवानीले आफ्नो आँखामा चिन्मयको दृष्टि रोपेर हिँडेकी छन् । परमानन्दको आँखाले प्रकृतिको सौन्दर्य नियालेकी छन् । हिमनदीको बगरैबगर हिँड्दाको विकटता अक्षरगञ्जमा पनि प्रकम्पित गर्म सफल भएकी छन् । यस्तो लाग्छ, भवानीका शब्द, शब्द मात्र नभएर गतिशील यात्राको चलायमान चित्र हो, जहाँ पाठक सँगसगै हिँड्छन् । आह्लादित हुन्छन् र भवानीसँगै थाक्छन्, डराउँछन्, सुत्छन्, उठ्छन् ।
आधार शिविरमा पुगेपछि आधा फोक्सोमा सास भरिन्छ । लेक लाग्छ भवानीलाई । जीवनमरणको अवस्थामा पुग्छिन् र पुकार्छिन् सगरमाथालाई, ‘अकस्मात् सास रोक्किए झैँ भएर पुनः झस्कें । रातको पौने तीन बजेको रहेछ । लाग्दै छ, म मात्रै होइन, मेरो हातेघडीको सुई पनि सुस्तायो । अब यो पनि चल्दैन । लाग्दै छ, छेवैको कोशीजस्तै घडी पनि जमिसक्यो र, यो भयानक रात पनि कहिल्यै नसिद्धिने गरी ठप्प रोकिएको छ । ओछ्यानमा तेर्सिने त कल्पना पनि गर्न नसकेर उठेरै बसेकी छु र सगरमाथालाई आह्वान गर्दै छु, हे सर्वोच्च चुली ! आँखैअगाडि उभिएको यो विकराल मृत्युलाई परास्त गर्ने आँट देऊ ! यो ढुकढुकीसम्म चल्न पुग्ने गरी एक फोक्सो सास देऊ (पृष्ठ १३४) ।’
अहो ! भवानीको आत्मविश्वासलाई प्रणाम छ । मृत्युबोधमा पनि सचेत छिन् भवानी । भनिन्छ, मृत्युसँग डराएर हैन लडेर विजय प्राप्त गर्न सकिन्छ । ज्याद्री छिन् भवानी हरेस खान्नन् । मृत्युको छायासँग साक्षात्कार गरे पनि पुग्छिन् पुनः कालापत्थर र चार पास । कत्रो श्रद्धा हिमालप्रति । कत्रो विश्वास आफैँप्रति । प्रणाम छ भवानी तिमीलाई । तिम्रो आँटलाई । तिम्रो सकारात्मक सोचलाई । बिन्ती छ, भवानी तिमी हिमाल झैँ अग्लिनु ।
अत्यमा भनै पर्छ - यो किताब मैले प्रकाशित हुनेबित्तिकै पचास पृष्ठ पढेर छोडेकी थिएँ, पूरा गर्न सकेकी थिइन् । जे हुन्छ राम्रोकै लागि नै हुन्छ भन्छ गीता । विश्वास गर्छु यदि आरम्भमै यो कृति पढेकी भए मैले पनि पक्कै भन्ने थिएँ, भवानी आत्मश्लाघाबाट मुक्त छैनन्, मपाईँत्व छ लेखनमा भनेर । भवानीले आफूलाई निकै चिन्मयको अवस्थामा पुर्याएर लेखेकी छन् भनेर मसीमा कोर्थेँ होला ! तर आज म ढुक्कले भन्छु, ‘चिन्मयको यात्रा हो प्रणाम सगरमाथा । भवानीसँग भौतिक रूपमा हिमालको यात्रा नगरे पनि प्रणाम सगरमाथाको शब्दमार्गबाट म सँगसँगगै हिडेँ । आत्माविश्वासले आलोकित भवानीमा आत्मश्लाघा रत्तिभर छैन ।
भौतिक रूपमा भर्खरै ८ दिन भवानीसँग यात्रा गर्ने अवसर मिल्यो । नजिकबाट उनलाई बुझ्ने अवसर मिल्यो । उनको स्वभाव थाहा पाउने मौका मिल्यो । उनको बानी ठ्याक्कै उनले लेखेको जस्तै छ । सबैसँग बोल्नु पर्ने हाँस्नु पर्ने । अरूलाई सहयोग गर्न सधैँ अगाडि बढ्ने । ऊर्जाको त कुरै नगरौँ, युवालाई पनि पछाडि नै छोड्ने अनन्तः ऊर्जा छ ।
नेपाल सरकारका कति होलान् सम्पर्क अधिकृत सगरमाथा बेसक्यामसम्म पुग्ने । तिनै पाटन, तिनै शेर्पा, तिनै हिउँको चुली हिउँकै फूल । उहीँ हिमाली जन जीवन उही कठिनाइ । त्यहाँ पुग्ने प्रत्येकले त्यही भूगोल चुमे त्यही समाज देखे, त्यही प्रकृतिलाई हेरे तर भवानीको हिँडाइ अरूको भन्दा फरक भयो । भवानीले देखेको हिमालमा हिउँ मात्र थिएन । भरियामा एउटा भरिया मात्र थिएन । जोक्पेलाई पनि उनी भिन्न आँखाले हेरिन् । आफ्नो पाइलालाई धाप मारिन् । कृतज्ञता प्रकट गरिन् आफ्नै गोडाप्रति, आफ्नो आँटप्रति, बाटोप्रति सहयोगीप्रति, समयप्रति, सरकारप्रति । यो हो नि त काइदा । जबसम्म हामीले हामीलाई चिन्दैनौं तबसम्म कसरी चिन्नसक्छौँ हिमाल । फगत हिमाल मात्र चढेर पनि हिमाल बन्न सकिएन भने के अर्थ उचाइको यात्राको । जहाँ चिन्मयको यात्रा हुँदैन त्यो हिमालको यात्रा कदापी हुँदैन । चेतना बिनाको यात्रा उक्लेर पनि सफल हुँदैन जस्तो लाग्छ मलाई ।
अब चाहिँ साँच्चै अन्तिमतिर आएँ । ज्ञानु अधिकारी म्यामले अस्ति हेटौंडा जाँदा भन्नुभएको थियो, ‘अनिता म्याम, किताब पढिसकेपछि सोही किताबमा केही दिन विचरण गर्नू है ।' ज्ञानु म्यामको कुरा सुनेर पुस्तक पढिसकेपछि पनि तीन दिन हराएँ प्रणाम सगरमाथामा । मेरो मानसभूमिमा दृश्यका कोलाज उठे, निरन्तर उठिरहे । बयोवृद्ध कविको हातमा प्रणाम सगरमाथा थियो । भन्दै थिए मलाई, ‘अनिता पढ्यौँ प्रणाम सगरमाथा ? कस्तो लाग्यो ?'
मेरो हातमा पनि प्रणाम सगरमाथा नै थियो अनि पुस्तकको मुखपृष्ठको सगरमाथालाई नमन गर्दे तृप्तिको आँखा उठाएर भनें, ‘भर्खरै पढिसकें, अद्भूत रहेछ । चिन्मयको यात्रा रहेछ सगरमाथाको यात्रा त !’ मुसुक्क हाँसे कवि ।
अपरिचित कवि कता कता देखेको जस्तो लाग्यो । नियालेर हेरेँ महाकवि जस्तो पो लाग्दै गयो । हतारिँदै बोलें - तपाइँले कसरी पढ्नुभयो त प्रणाम सगरमाथा ?
मुस्कुराउँदै महाकवि बोले, ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ्न् कवि भन्ने दृष्टान्त स्मरण गर त !’
हर्षित हुँदै सोधेँ, 'तपाईंलाई कस्तो लाग्यो त प्रणाम सगरमाथा ?'
कविले शिर उच्च पारेर गर्वबोधका साथ भनें, 'म मेरो कवितामार्फत सगरमाथालाई प्रणाम गर्छु है ...
तिमी हिउँलाई
हिउँ सिवाय केही देख्न सक्तैनौ,
म हिमालमा हिम्मत र हौसल्लाको
अपार शक्ति पाउँछु,
तिमी हिउँलाई
चिसो र कडा वस्तु मात्र छाम्छौ
म हिउँमा अनेकताको एकता देख्छु
हिउँको रहस्यमयी रासमा
आमाको गर्भभित्रको तातो अनुभव गर्छु !
तिमी हिउँमा जमेको बेला,
म भावनामा पग्लिन्छु,
तिमी मैमत्त भएर
हिउँमा सङ्लिएको बेला
हिमालको चीत्कारमा म धमिलिन्छु,
तिम्रो र मेरो हेराइ नै मिल्दैन
तिमीले देखेको हिउँको संसार
मात्र डरलाग्दो, कठोर र
चिसो पहाड हो,
मेरो लागि हिउँ पहिचान हो
कठोरता पाउँदिनँ त्यहाँ
नौनी जस्तो नरम छ हिमाली मन
चारैतिर चिन्मयको आनन्द छ ।
तिमीले चढेको
हिमाल विजयको मार्ग होला
मैले चुमेको हिमाल
ममताको मलिलो मैदान हो ।
तिमी सगरमाथा जित्न
कठीन यात्रा गर्छौ
म आफैँलाई जितेर
आफैँले आफैँलाई बोकेर
सगरमाथाको आधार शिविरबाट भन्छु-
मैले छोएको हिमालको पाउ नै
तीर्थहरूको पनि तीर्थ हो
जुन पाउमा पुगेर
प्रणाम सगरमाथा भन्नु नै मेरा निमित्त
सगरमाथाको महान् आरोहण हो
हो म सगरमाथाको पाउमा पुगेर
भावनामै आरोहण गर्छु
सगरमाथालाई र जपिरहन्छु
प्रणाम सगरमाथा !!


