साहित्यपोस्ट डट कम

छिमेकी हराएको शहर र रित्तिएको मन

छिमेकी हराएको शहर र रित्तिएको मन

एउटा समय थियो, छिमेकीको घरमा पाकेको तरकारीको बास्नाले हाम्रो भान्सामा भोक जगाउँथ्यो । कसैको घरमा पाहुना आउँदा सिङ्गो टोलमा एउटा अघोषित उत्सव छाउँथ्यो । बिडम्बना, आज हामी कंक्रिटका ती अग्ला र अभेद्य पर्खालभित्र कैद छौँ । जहाँ, सँगैको फ्ल्याटमा कसैको मृत्यु भयो भने पनि हामीलाई त्यसको गन्ध पाउन समाचार पोर्टल वा फेसबुकको ‘रिप’ लेखिएको स्टाटस कुर्नुपर्छ । आजको मेरो यो ‘कठघरा’ मा कोही अपराधी उभिएको छैन । यहाँ हाम्रो त्यो आधुनिक सभ्यता उभिएको छ, जसले हामीलाई ‘स्मार्ट’ त बनायो, सँगै एउटा भयानक र मौन ‘एक्लोपन’ उपहार दियो । हामी यस्तो अनौठो युगमा आइपुगेका छौँ जहाँ हाम्रो हत्केलामा पुरै संसार अटाएको छ, तर हाम्रो मनभित्र बस्ने कोही छैन ।

हामी सूचनाको सुनामीमा बाँचिरहेका छौँ । बिहान आँखा खुल्नेबित्तिकै हामी आफ्नो अनुहार ऐनामा हेर्दैनौँ । झट्ट, मोबाइलको नीलो स्क्रिन नियाल्छौँ । कसले के खायो, को कहाँ घुम्न गयो, वा कसले कति स्वादिलो स्टाटस लेख्यो- यी सबै कुराको पलपलको हिसाब हामीसँग छ । यसैबीच, सँगैको ओछ्यानमा सुतेको जीवनसाथीको मनभित्र कुन आँधी चलिरहेको छ, त्यो सोध्ने फुर्सद हामीसँग छैन । प्रविधिले भूगोलको दूरी त मेटाइदियो, तर यसले मान्छेहरूबीच एउटा यस्तो अदृश्य काँचको पर्खाल खडा गरिदियो, जसलाई नाँघ्न अब निकै गाह्रो हुँदै गएको छ ।

हामी ‘कनेक्टेड’ त छौँ, तर ‘कम्युनिकेट’ गरिरहेका छैनौँ । आजभोलि हामी हजारौँ माइल टाढा रहेका मान्छेसँग भिडियो कलमा फिस्स त हाँसिदिन्छौँ, छेवैमा टाँसिएको कुर्सीको मान्छेसँग बोल्न भने हामीलाई शब्दहरूको अभाव हुन्छ । यो कस्तो खालको विकास हो, जहाँ मान्छेको जीवित आवाजभन्दा मोबाइलको निर्जीव ‘नोटीफिकेसन’ बढी प्रिय लाग्न थाल्यो ?

हामी सबै एउटा यस्तो अन्धो दौडमा छौँ, जसको कुनै अन्तिम विन्दु छैन । अझ धेरै पैसा, अझ ठूलो पद, अझ चम्किलो तथा प्रदर्शनकारी जीवनशैली । यो दौडमा लाग्दालाग्दै हामीले आफ्नो ‘समय’लाई ‘लगानी’को नजरबाट हेर्न थाल्यौँ । जुन सम्बन्धले तात्कालिक फाइदा दिँदैन, त्यसलाई हामीले ‘समयको बर्बादी’ भन्न थाल्यौँ । हामीले बिर्सियौँ कि जीवनका सबैभन्दा सुन्दर पलहरू ती हुन्, जसको कुनै आर्थिक मूल्य हुँदैन । आमाको हातको तातो चिया, बुबासँगको पुरानो सम्झना, वा साथीसँगको अर्थहीन लाग्ने तर आत्मीय ठट्टा- यी पलहरू कुनै ‘एप’मा डाउनलोड गर्न सकिँदैन । बजारले हामीलाई निरन्तर सिकाइरहेको छ कि खुशी भनेको नयाँ ग्याजेट वा महँगो गाडी हो । खैर, सत्य यो हो कि खुशी त ती साना र साधारण पलहरूमा लुकेको हुन्छ, जुन हामीले जिन्दगीको यो भागदौडमा कतै हतारमा खसालेर आयौँ ।

सबैभन्दा दुःखलाग्दो दृश्य त तब देखिन्छ जब एउटा सानो बच्चाले रुँदा आमाको न्यानो अँगालो पाउँदैन, बरु हातमा ‘युट्युब’ झुण्डिएको चिसो मोबाइल पाउँछ । हामीले हाम्रा नानीहरूलाई सुविधा त दियौँ, तर उनीहरूले पाउनुपर्ने जैविक ‘सान्निध्य’ खोस्यौँ । उनीहरूले स्क्रिनमा त हजारौँ चम्किला रङ देख्छन्, तर माटोको सुगन्ध, झरीको चिसो अनुभव र हजुरआमाको काखमा पल्टेर कथा सुन्न पाउने ‘भाग्य’बाट उनीहरू लखेटिँदै छन् । आजका नानीहरू मान्छेले होइन, ‘एल्गोरिदम’ले सिकाएको संसारमा बाँचिरहेका छन् । उनीहरूले छिमेकीका छोराछोरीसँग धुलोमा खेल्न जान्दैनन्, उनीहरू अनलाइन गेममा अपरिचितसँग भर्चुअल युद्ध लड्छन् । हामीले उनीहरूका लागि निर्माण गरिदिएको संसारमा भावना भन्दा ‘भर्चुअल रियालिटी’ बलियो छ । के भोलिको पुस्ताले प्रेम, सहानुभूति र करुणाको वास्तविक अर्थ बुझ्ला ? यो प्रश्न आज हामी सबैले गम्भीर रूपमा सोच्नुपर्ने भएको छ ।

अहिले हाम्रा चाडपर्वहरू पनि ‘कस्मेटिक’ भएका छन् । चाँड आउँदा घरको रौनक भन्दा बढी चिन्ता ‘राम्रो फोटो’ खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने हुन्छ । आशीर्वाद लिँदा हृदयको श्रद्धाभन्दा बढी ध्यान क्यामेराको ‘एङ्गल’ मिलाउनमा हुन्छ । हामीले उत्सवलाई हृदयले मनाउन छाडेर अरूलाई ‘देखाउन’ का लागि मनाउन थाल्यौँ । जब उत्सवहरू प्रदर्शनमा बदलिन्छन्, तब त्यहाँबाट मानवीय न्यानोपन र आत्मीयता हराउँछ । छिमेकीलाई बोलाएर सेलरोटी खुवाउने परम्परा अब फेसबुकमा ‘ह्याप्पी दशैँ’ लेख्ने डिजिटल औपचारिकतामा खुम्चिएको छ । हामी सामाजिक प्राणीबाट बिस्तारै ‘डिजिटल प्राणी’ मा रूपान्तरण भइरहेका छौँ, जहाँ हाम्रो अस्तित्व हाम्रा फलोअर्स र लाइकको सङ्ख्याले तय गर्न थालेको छ ।

शहरका यी अग्ला अपार्टमेन्टहरू बाहिरबाट जति भव्य र उज्याला देखिन्छन्, भित्र त्यति नै गहिरो एक्लोपन लुकेको छ । आधुनिक चिकित्सा विज्ञानले धेरै असाध्य रोगको उपचार त पत्ता लगायो, तर यो ‘सामूहिक एक्लोपन’ को ओखती आज कसैसँग छैन । आजको युगमा डिप्रेसन र एन्जाइटीको एउटा ठूलो कारण भनेकै मान्छेले आफ्नो मनको गुम्सिएको कुरा सुनाउने एउटा ‘जीवित र धैर्यवान कान’ नपाउनु हो । हामीसँग बोल्ने मान्छे त धेरै छन्, तर सुन्ने मान्छे छैनन् । कसैलाई समस्या सुनाउनु पर्यो भने हामी ‘गुगल’ गर्छौँ वा कृत्रिम बौद्धिकतासँग कुरा गर्छौँ । तर, एउटा मान्छेले अर्को मान्छेको हात समातेर दिने सान्त्वना र भरोसालाई प्रविधिले कहिल्यै प्रतिस्थापन गर्न सक्दैन ।

अन्त्यमा, सुविधाले जीवन सजिलो त बनाउँछ तर जीवन सार्थक बनाउन सुमधुर सम्बन्धहरू नै चाहिन्छ । हामीले प्रविधिलाई नोकर बनाउनुपर्नेमा कतै हामी आफैँ यसको अघोषित दास त बनिरहेका छैनौँ ?

आजैबाट एउटा सानो प्रयास गरौँ । जब साँझ घर पुग्नुहुन्छ, त्यो स्मार्टफोनलाई एउटा कुनामा सुताइदिनुहोस् । आफ्ना आमाबुबा, जीवनसाथी वा छोराछोरीको हात समाउनुहोस् । आँखामा हेरेर उनीहरूको दिन कस्तो रह्यो भनेर सोध्नुहोस् । छिमेकीसँग भेट्दा एउटा साँचो मुस्कान साटौँ । न्यानो आत्मीयता खोजौँ । चिया पसलमा हुँदा फोनमा घोत्लिनुको साटो सँगैको मान्छेसँग उही पुरानो शैलीको संवाद शुरु गरौँ ।

जब जीवनको उत्तरार्धमा हामी आफ्नो यात्राको समीक्षा गर्नेछौँ, तब हाम्रा कति ‘फलोअर्स’ थिए वा कति ‘लाइक’ आए भन्ने कुराले कुनै अर्थ राख्ने छैन । अर्थ त यसले राख्नेछ कि हामीले कतिवटा मनलाई वास्तविक स्पर्श गर्न सक्यौँ । कतिवटा ओठमा साँचो मुस्कान ल्याउन सक्यौँ ।

अहिल्यैबाट, आफ्नो स्मार्टफोनको लक खोल्नुअघि, एक पटक आफ्नो मनको ढोका खोलेर हेर्नुहोस्- कतै बाहिर कोही तपाईँको एउटा आत्मीय शब्दको प्रतीक्षामा त छैन ? यो शहरलाई कंक्रिटको बजार बन्नबाट रोकौँ । फाइबरको जंगल मात्र हुन नदिऊँ । यसलाई मान्छे बस्ने बस्ती बनाऔं । मान्छेले मान्छेलाई चिन्ने सभ्यता फिर्ता ल्याऔँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.