दार्जिलिङको नागरी, अरेञ्ज भिल्लामा पिता मनबहादुर छेत्री र माता मनमाया छेत्रीका पुत्ररत्नका रूपमा राजकुमार छेत्रीको जन्म २४ मई १९७३ मा भएको थियो । छेत्रीका सिर्जनाको समावलोकन (समालोचना, सन् २००९), अवलोकन अवबोधन (समालोचना, सन् २०११), शिवकुमार राईका रचना सञ्चयन (सम्पादन, सन् २०१२), कृति आलोकन (समालोचना, सन् २०१३), दृष्टिपथ (समालोचना, सन् २०१८), अक्षरहरूमा संवाद (अन्तर्वार्ता, सन् २०१८), पूर्ण राई (मनोग्राफ, सन् २०२१), शब्दहरूको देशमा (कविता र मुक्तक, सन् २०२३), अक्षरका आयाम (भूमिका, सन् २०२३) लगायतका कृति प्रकाशित छन् ।
दार्जिलिङ सरकारी महाविद्यालय, स्नातकोत्तर नेपाली विभागका सहप्राध्यापकसमेत रहेका डा. राजकुमार छेत्रीले सन्दर्भ, आर्किड, कञ्चनजङ्घा, साहित्य सन्देश, बाडुली, आजभोलि, पाइन्स एण्ड क्यामेलियाज, दियालो, चरित्र, सञ्चयन, अक्षरहरूको अभिनन्दनलगायका कृति सम्पादनसमेत गरेका छन् ।
अक्षरका आयाम
स्रष्टा राजकुमार छेत्रीको ‘अक्षरका आयाम’ मनमाया प्रकाशन नागरी, दार्जिलिङले प्रकाशन गरेको छ । छेत्रीको ‘अक्षरका आयाम’ कृति भूमिकासङ्ग्रह हो । यसमा १६ वटा भूमिकाहरू रहेका छन् । कवि एवम् चित्रकार मैतराज राणाको अन्योल वर्तमान कवितासङ्ग्रहमाथि मैतराज राणाको अन्योल वर्तमानसित र गीतकार कमल रेग्मीको गीतसङ्ग्रह काँडाफूलमा लेखिएको भूमिका कृतिभित्र समेटिएको छ ।
कथाकार उदय थुलुङको कथासङ्ग्रह ‘एकान्तवासका कथाहरू’को कथ्य र नेपथ्य, सञ्चारकर्मी सबिता थापा सङ्कल्पको परिचयात्मक कृति ‘भीडभित्रका अनुहारहरू’मा लेखिएको भूमिका ‘सङ्कल्पका भीडभित्रका अनुहारहरू’, हाइकु कवि बी.पी. मल्लको ‘खण्ड प्रलय’मा रहेको भूमिका ‘कवि मल्लको खण्ड प्रलयः एउटा काव्यिक अन्तःद्रोह’ शीर्षकमा यस कृतिभित्र सङ्कलन गरिएको छ ।
यस कृतिभित्र समालोचक सपन प्रधानको ‘मेरो कैरनभित्र रहेको’ भूमिका ‘सपनको कृति मेरो कैरन’ अनि काव्यकार भवजीत तामाङको खण्डकाव्य वृक्ष संवादमा रहेका छेत्रीको भूमिका ‘पर्यावरण सचेतताको परिदृश्यमा कवि भवजीत तामाङ’ शीर्षकमा रहेको भूमिका यस कृतिभित्र सङ्कलन गरिएको छ ।
समकालीन भारतीय नेपाली साहित्यका सक्रिय स्रष्टा सुनील राईको ‘गुरु दक्षिणामाथि सुनीलको सिर्जनात्मक शिविर’, आख्यानकार कमल चामलिङको ‘जीवनको नयाँ मोडमा रहेको सामाजिक आख्यानात्मकता जीवनको नयाँ मोड’ र कवि प्रवीण तामाङको कविता लेखनमाथि रहेको ‘कविता लेखनमा युवा कवि प्रवीणको हस्ताक्षर’ रहेको छ ।
कथाकार शारदा छेत्रीका कथाहरूमा ‘अनुभूतिको स्वर र समय चेतना’, उपन्यासकार कुशल छेत्रीको ‘लेखनमाथि सन्दर्भ : युवा उपन्यासकार कुशल छेत्रीको सूत्रात्मक औपन्यासिक लेखन’, पुष्पकुमार प्रधानको गौरवमय इतिहास मङ्गरजोङको माथि ‘गौरवमय मङ्गरजोङ गरिमामय यात्रा’, कथाकार नवीन पतझड सिलामको कथामनमाथि कथ्यकथनका सन्दर्भमा नवीनका प्रवीण कथाहरू, आख्यानकार प्रेम गुरुङको आख्यानमाथि नेपाली सामाज सांस्कृतिक सरोकारका जीवन्त कथाहरू र बी.के. थापाको हट्टाबाहिर उपन्यासमाथि हट्टाबाहिरको औपन्यासिक सन्दर्भलगायतका रचनाहरू यस कृतिभित्र रहेका छन् ।
कृतिका बारेमा जय क्याक्टस्, शरद् प्रधान, डा.इन्दु प्रभा देवी, डा. रागिनी थापा, डा. राजकुमारी दाहाल, डा. टेकनारायण उपाध्याय, डा. महेश प्रधान, डा. दिलकुमार प्रधान, डा. योगेश खाती, प्रा. मेघनाथ छेत्री, डा. सपन प्रधान, डा. महेश दाहाल, डा. टेकबहादुर छेत्री, भवानी अधिकारीलगायतले कृतिको अग्रभागमा डा. राजकुमार छेत्रीको कर्मको मूल्याङ्कनसमेत गरेका छन् ।
दृष्टिपथ
भारतीय नेपाली समालोचनाको क्षेत्रमा सक्रिय रहने छेत्रीको ‘दृष्टिपथ’ समालोचनात्मक कृति हो । यसमा दशवटा समालोचना रहेका छन् । छेत्रीको यस कृतिभित्र कवि जयन्तकृष्ण शर्माको काव्यिक भावभूमि, कवि होमबहादुर छेत्रीको कवितामा समयचेतनाको पीडा, सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकता, निर्गमनको औपन्यासिक वस्तु शिल्प र रूप विन्यासपरक अध्ययन, लीलबहादुर छेत्रीका कथागत प्रवृत्ति, भारतीय नेपाली कथामा अभिघात चेतना, नेपालीमा मुक्तक लेखन परम्परा, भारतीय नेपाली कथामा नवलेखन, नन्द हाङखिमको नाट्य चेतना, नेपाली साहित्यिक अन्तर्वार्ताको सैद्धान्तिक तथा प्रवृत्तिपरक अध्ययन गरी दशवटा समालोचना रहेका छन् ।
यस कृतिमा डा.कृष्णराज घतानीको भूमिका रहेको छ भने प्रा.सुजाता रानी राई, डा.कविता लामा, अर्जुन प्रधान, देवराज शर्मा, दलसिंह अकेला, प्रा.निमा निची शेर्पा, डा. जीवन नामदुंग, प्रा. नवीन पौड्याल, खेम सापकोटा, प्रा.सपन प्रधानलगायतले विभिन्न समय र पत्रपत्रिकामा गरिएका मूल्याङ्कनका अंशहरू पनि राखिएको छ । यस कृतिका समालोचनाले फराकिलो दृष्टि र गहिरो चिन्तक रूपमा डा. राजकुमार छेत्रीलाई उभ्याएको छ ।
शब्दहरूको देशमा
कवि राजकुमार छेत्रीको ‘शब्दहरूको देश’ केही कविता र केही मुक्तकहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्र २६ वटा कविता, १२ वटा मुक्तक र २० वटा बिम्ब कविताहरू रहेका छन् । छेत्रीले रक्सीको शक्तिलाई गद्यात्मक मुक्तकमा यसरी उतारेका छन् ।
रक्सीको शक्ति थपेपछि
शक्तिले फेरि रक्सी थप्छ
शक्तिले अणु फोरेपछि
रक्सीको शक्तिले परमाणु फोर्छ
रक्सीले धरतीको सेरो लगाएपछि
रक्सीको शक्तिले आकाशको फेरो लगाउँछ ।
(रक्सीको शक्ति, पृ. ७२)
नसुत्न सकेको न त उठ्न नै सकेको गोर्खाल्यान्ड आन्दोलनलाई डा. छेत्रीले बिम्ब कवितामा यसरी उतारेका छन् ।
गोर्खाल्यान्ड
चाहना सबैको
जनताको हरियो सपना
पहेँलो हुँदै बेरङ्गी हुनथाल्यो ।
(१४ नं., पृ. ८०)
यस कृतिमाथि प्रा.निमा निची शेर्पाको दृष्टिकोण यस्तो रहेका छ– “शब्दहरूको देशमा स्थानीय चेतनाले झर्रो छ । समयसित अभिन्न यिनका अभिव्यक्तिहरूमा वैश्विक चेतनाको न्यूनता खटकिएको छ । भावले राजका कविताहरू अत्यन्त सबल छन्, तर शिल्पले भने त्यो सबलता पक्रन सकेको लाग्दैन । कविताहरू अनुभूतिमय छन् तर अनुभूतिमा तीव्रता र प्रवाहगत एकरूपता भने उच्छेदित छन् । लघु आयामका कविताहरू भने अनुभूतिगत तिक्खरताले हरिया छन् ।”
सिर्जनाको समालोचना
उनको अर्को पुस्तक हो– ‘सिर्जनाको समालोचना’ हो । यसभित्र उत्तर बङ्गाल विश्वविद्यालय, नेपाली विभाग एवम् नेपाली अकादमीको संयुक्त तत्त्वाधानमा आयोजित समकालीन नेपाली गद्याख्यान विषयक तीन दिवसीय राष्ट्रिय सङ्गोष्ठी २५ फरवरी सन् २००० मा प्रस्तुत गरिएको कार्यपत्र ‘समकालीन भारतीय नेपाली कथाका सांस्कृतिक प्रवृत्तिहरू’ रहेको छ । विश्वविद्यालय अनुदान आयोग, नयाँ दिल्लीको सौजन्यमा नेपाली विभाग, कालेबुङ महाविद्यालयद्वारा ७ र ८ अप्रेल सन् २००८ मा आयोजित दुई दिवसीय राष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्र ‘समकालीन भारतीय नेपाली कथामा सांस्कृतिक चेतना’ रहेको छ ।
विश्वविद्यालय अनुदान आयोग, नयाँ दिल्लीद्वारा प्रदत्त पाँच वर्षीय शोधछात्रवृत्ति अनुदान अधिनस्थ रही पिएचडी पञ्जीकरणका निम्ति उत्तर बङ्गाल विश्वविद्यालय, नेपाली विभागको सेमिनार कक्षमाप्रस्तुत गरिएको सङ्गोष्ठीपत्र ‘शिवकुमार राईका केही कथाहरूको विश्लेषणात्मक अध्ययन’ रहेको छ ।
उत्तर बङ्गाल विश्वविद्यालय अधिनस्थ नेपाली विभाग र नेपाली अकादमीको संयुक्त तत्त्वाधानमा १३ र १४ जुलाई सन् २००३ मा आयोजित दुई दिवसीय भानु जयन्ती समारोहको अवसरमा स्रष्टासँगको साक्षात्कार कार्यक्रममा प्रस्तुत वार्ता ‘हायमनदास राई ‘किरात’ को कथाकारिता’ रहेको छ ।
भानु जयन्ती समारोह समिति, सिलगढीको आयोजनामा कृष्णमाया मेमोरियल उच्च विद्यालय भवनमा ७ अगस्त सन् २००५ मा आयोजित साहित्य सङ्गोष्ठीमा प्रस्तुत गरिएको वार्ता ‘रामलाल अधिकारीका कथाहरूको कथ्य र शिल्प’ रहेको छ ।
त्यसै गरी कथाकार रूपनारायण सिंहका कथामा सामाजिकता, सानु लामाको कथाकारिताः कथाकारिता : विश्लेषण तथा मूल्याङ्कन, शरद् छेत्रीको कथाकारिता ‘चक्रव्यूह’ कथासङ्ग्रहका सन्दर्भमा, शिवकुमार राईका कथामा लोकतात्विक पक्ष, बालकृष्ण समको कथायात्रा एवम् कथागत प्रवृत्तिको रेखाङ्कन, अर्जुन निरौलाका कथाहरूको वस्तु विवेचना तथा प्रवृत्ति, इन्द्र सुन्दासको कथाकारिता, राधिका रायाका कथागत प्रवृत्ति, इन्द्रबहादुर राईका कथायात्रा एवम् कथाकारिता सन्दर्भ : ‘विपना कतिपय’ का कथाहरू, गुरुप्रसाद मैनालीका कथाहरूको वस्तु विवेचना र देवकोटाका कथामा बालमनोविज्ञानलगायतका सिर्जनाहरू रहेका छन् ।
छेत्रीले सिद्धहस्त स्रष्टाहरूका विविध कथागत वैशिष्टलाई कहीँ प्रवृत्तिबाट, कहीँ सांस्कृतिक चेतनाधाराबाट, कहीँ कथ्य र शिल्पबाट, कहीँ लोकतात्विकताबाट र कहीँ वस्तु योजनाबाट अवलोकन गर्दै विश्लेषण र विवेचना गरको छन् । कृतिको मूल्याङ्कन गर्ने सन्दर्भमा डा. जस योञ्जन ‘प्यासी’ ले भनेका छन्– “समालोचक राजकुमार छेत्रीको समालोचना पद्घति प्रभावपरकभन्दा पर वस्तुनिष्ठतातिर ढल्कँदै पर्याप्त अध्ययन आधारमा अकादमिक ढाँचाको विश्लेषणात्मक स्वरूप लिँदो छ ।”
कृतिभित्र डा. जस योञ्जन ‘प्यासी’, डा. जीवन नामदुंग, डा. गोकुल सिन्हा र दिवाकर प्रधानका सिर्जनामाथिको विश्लेषण र मूल्याङ्कन रहेका छन् ।
अक्षरहरूमा संवाद
‘अक्षरहरूमा संवाद’ – स्रष्टासँग गरिएको अन्तर्वार्ताको सङ्ग्रह हो । यसभित्र ११ जना स्रष्टासँग गरिएको वार्तालाई सङ्कलन गरिएको छ । दार्जिलिङ जिल्लाको खरसाङमा २४ नोभेम्बर १९४० मा जन्मिएका स्रष्टा हुन् असीत राई । उनीसँगको वार्ता ‘नेपाली भाषा, साहित्य र संस्कृतिको आयु छोटिँदै गइरहेछ’ शीर्षकमा रहेको छ । दार्जिलिङ जिल्लाको खरसाङमा ११ डिसेम्बर १९३५ मा जन्मिएका स्रष्ट हुन् आई. के. सिंह । उनीसँगको वार्ता ‘साहित्य र साहित्यिक समाज मरेर जाँदैन । कुनै न कुनै रूपरङमा यो बाँचिरहेकै हुन्छ’ शीर्षकमा रहेको छ ।
दार्जिलिङ जिल्लाको घुम पहाडमा २१ अगस्त १९३० मा कृष्णसिंह मोक्तानको जन्म भएको थियो । स्रष्टा मोक्तानसँगको वार्ता ‘साहित्य हृदयको उद्गार हो, मस्तिष्कको उत्पादन होइन । साहित्य सिर्जना गरिन्छ, लेखिँदैन’ शीर्षकमा रहेको छ ।
दार्जिलिङ जिल्लाको ब्लुमफिल्डमा ४ जुलाई १९४५ मा गुप्त प्रधानको जन्म भएको थियो । उनीसँगको वार्ता ‘साहित्य भनेको विचारको कलात्मक प्रस्तुति हो जसले जनसाधारणको हृदयलाई आनन्दमय विश्राम दिन्छ’ शीर्षकमा रहेको छ ।
सुनदह नजिक मार्गरेट्स होप चियाकमानमा ११ नोभेम्बर १९४४ मा नन्द हाङखिमको जन्म भएको थियो । बहुमुखी प्रतिभाका धनी हाङखिमसँगको वार्ता ‘लेखनकार्य समाजका निम्ति मात्र होइन सम्पूर्ण मानव जातिका लागि एक उत्तरदायित्वपूर्ण कार्य हो’ शीर्षकमा रहेको छ ।
दार्जिलिङ स्थित सिंहमारी भोटे गाउँमा २७ जनवरी १९५२ मा कवि नोर्जाङ स्याङदेनको जन्म भएको थियो । उनै सष्टासँगको वार्ता ‘एक अर्कालाई फुर्काउन लाउने त्यस्ता कुनै दल, समूह अनि संस्थामा म छैन’ शीर्षकमा रहेको छ ।
मिरिकको भानुटोलमा २१ अक्टोबर १९५४ मा प्रदीप गुरुङको जन्म भएको थियो । कथाकार प्रदीपसँगको वार्ता ‘साहित्यप्रति पाठकको घट्दो रुचि अत्यन्त गम्भीर विषय हो । हाम्रा साहित्यकार नै पाठक, पाठक नै साहित्यकार’ शीर्षकमा रहेको छ ।
दार्जिलिङ जिल्लाको बिजनबारीमा ३ डिसेम्बर १९५० मा जन्मिएका कवि हुन् मनप्रसाद सुब्बा । उनीसँगको वार्ता ‘भारतीय नेपाली समालोचनामा काव्यगत सौन्दर्यन्वेषणको काम बाँझो रहेको देखिन्छ’ शीर्षकमा रहेको छ ।
खरसाङको महकुमाअन्तर्गत पर्ने राजबाडी तीनधारेमा ८ डिसेम्बर १९४३ मा लक्ष्मण श्रीमलको जन्म भएको थियो । नाटककार श्रीमलसँगको वार्ता ‘नाटक विधा आजको भोलि नै परिपक्वता हासिल गर्न सकिने विधा होइन’ शीर्षकमा रहेको छ ।
खरसाङको महकुमाअन्तर्गत पर्ने तीनधारेमा १३ जुलाई १९५५ मा विन्द्या सुब्बाको जन्म भएको थियो । आख्यानकार विन्द्या सुब्बासँगको वार्ता ‘सिर्जनात्मक र आलोचकीय क्षेत्रमा भारतीय नेपाली साहित्यले एउटा व्यापक क्षितिज र आकाश उघारेको छ’ शीर्षकमा रहेको छ ।
दार्जिलिङको राजबाडीमा २० जून १९४७ मा शरद्कुमारसिंह छेत्रीको जन्म भएको थियो । साहित्यमा शरद् छेत्रीका नामबाट परिचित उनै स्रष्टासँग गरिएको वार्ता ‘साहित्य पनि अर्थनीति, राजनीति, विज्ञानप्रविधि तथा समाजशास्त्रको प्रभावदेखि मुक्त रहन सम्भव छैन’ शीर्षकमा रहेको छ ।
दार्जिलिङमा ४ जुलाई १९३५ मा सोमबहादुर बुढाथोकीको जन्म भएको थियो । साहित्यमा समीरण छेत्री प्रियदर्शीको नामले सुपरिचित आख्यानकार प्रियदशीसँगको वार्ता ‘मेरा कथाहरूमा धेरै ठाउँ मृत्यु चिन्तन पाइन्छ’ शीर्षकमा रहेको छ ।

