काठमाडौँ । छन्द कविता प्रेमीहरूका लागि पलेँटीले यसपल्ट कवि भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ। झण्डै सात वर्षअघि पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरिसक्नुभएकाे भूषिता यसपटक नयाँ अवधारणा र प्रस्तुतीसहित पुनः पलेँटीमा देखिन लाग्नुभएकाे हाे ।
छन्द कविता लयात्मक माधुर्यमा गुञ्जिने सुललित साहित्यिक विधा भए पनि पछिल्लो समय स्वच्छन्द शैलीको प्रभावसँगै यो विधा सीमित अनुरागीहरूको रुचिमा सीमित हुँदै गएको छ। वास्तवमा छन्द कविता वाचन परम्परामा जीवन्त हुने विधा हो, जहाँ भाकाले यसको संरक्षण र पुस्तान्तरण दुवै काम गर्न सक्छ।
नेपाली मौलिक गायन परम्पराको अभिलेखमा सक्रिय मञ्च पलेँटीले यसै सन्दर्भमा छन्द कवितालाई उत्सवका रूपमा प्रस्तुत गर्न लागेको जनाएको छ। यसपटकको छन्द–पलेँटीमा भूषिताले आफ्नो वाचनलाई नवरसमा आधारित बनाउने जानकारी दिनुभएकाे छ । उहाँले अग्रजदेखि पछिल्लो पुस्तासम्मका कविका विभिन्न रसका कविताहरू चयन गर्दै अभ्यास गरिरहनुभएकाे छ । कार्यक्रममा अन्य कविका रचनासँगै भूषिताका आफ्नै छन्द कविताहरू पनि प्रस्तुत हुनेछन्।
छन्द–पलेँटीमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराई लगायतका कविका रचनाहरू समावेश गरिनेछ।
अमेरिकाबाट क्रिएटिभ राइटिङ अध्ययन सम्पन्न गरी फर्किनुभएकाे भूषिता हाल धरानमा बसोबास गर्दै आउनुभएकाे छ । अङ्ग्रेजी र संस्कृत भाषाप्रति समान रुचि राख्ने उहाँ पलेँटीका लागि काठमाडौँ आइपुग्नुभएकाे छ भने नेपालयका सङ्गीतकर्मीहरूसँग सहकार्य भइरहेको छ।
पलेँटीलाई आफ्नो काव्य यात्राको प्रेरणास्थलका रूपमा लिँदै भूषिता भन्नुहुन्छ, “पलेँटी मेरो लागि आराध्य व्यासासन थियो। त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज। तर यस सानिध्यले मलाई काव्य साधनामा अझ बल दिएको छ।”
संगीतकार आभासले पनि दोस्रोपटक छन्द–पलेँटीसँग सहकार्य गर्न पाउँदा साङ्गीतिक टिम उत्साहित रहेको प्रतिक्रिया दिनुभएकाे छ ।
कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि पलेँटीको वेबसाइटमार्फत पे–पर–भ्यु अवधारणामा लाइभ हेर्ने व्यवस्था गरिएको छ।
छन्द–पलेँटी यही जनवरी ३० र ३१ तारिख साँझ, कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा सम्पन्न हुनेछ। कार्यक्रमको टिकट तथा लाइभ बुकिङ https://paleti.com.np मार्फत गर्न सकिनेछ।

