बिहान जस्तै म ब्युँझेर आएँ
हटाउँदै बादल ज्योति ल्याएँ
उमङ्गका पङ्ख उचालिँदै छन्
बनी सुकर्मी,पग चालिँदै छन् ।
फिका भए फूल म रङ्ग भर्छु
छरेर मुस्कान फुलाइ दिन्छु
हराभरा सृष्टि, मनोहरा छन्
बनी सुकर्मी, पग चालिँदै छन्
म हेर्छु ऐना प्रतिविम्ब मेरो
सखी उनै हुन्,सुखदुःख मेरो
तितामिठा जीवनका कथा छन्
बनी सुकर्मी पग, चालिँदै छन्
किनारमा छालसँगै म
खेल्छु समीर सँगै बनमै म डुल्छु
अनेक इच्छा अनि चाहना छन्
बनी सुकर्मी, पग चालिँदैछन्
हिलो र माटो उछिनेर उठ्छु
सरोज झैँ माथि चुलेर फुल्छु
चट्टान फोर्ने कविका व्यथा छन्
बनी सुकर्मी, पग चालिँदै छन्
छ कामना देश सुशान्त छाओस्
अतीत जस्ता दिन फेरि आओस् स्व
तन्त्रताका रण मच्चिंदै छन्
बनी सुकर्मी पग, चालिँदै छन् ।
कुसुम गौतम म्यान्मा (बर्मा)

