साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

छहरा साहित्य समाजद्वारा २१३औँ भानुजयन्ती विशेष साहित्यिक कार्यक्रम सम्पन्न

छहरा साहित्य समाजद्वारा २१३औँ भानुजयन्ती विशेष साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा छहरा साहित्य समाज, धापासीले आइतबार विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

टोखा–६ स्थित ह्वाइट माउन्टेन स्कूलमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व, काव्यसाधना तथा नेपाली भाषा–साहित्यमा उहाँको योगदानबारे चर्चा, विश्लेषण र कविता वाचन गरिएको थियो ।

समाजका अध्यक्ष साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा समाजकी उपाध्यक्ष तोया गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै ‘मेरो परिवेश’ शीर्षक कविता वाचन गर्नुभयो । समाजका सचिव भोला प्रेमीले सञ्चालन गर्नुभएको कार्यक्रममा रघुनाथ आचार्य, वासुदेव बोगटी, जगन्नाथ देवकोटा, भोला प्रेमी, रमा न्यौपाने, गरिमा पोख्रेल, सीता रिजाल तथा सारा तिमिल्सिनाले आदिकवि भानुभक्तको स्मरण गर्दै आ–आफ्ना कविता वाचन गर्नुभयो ।

यस अवसरमा तिलक शर्मा पौडेलले समकालीन सामाजिक विकृति र विसङ्गतिबारे आफ्नो धारणा व्यक्त गर्नुभयो । प्रा. हरिकृष्ण पौडेलले आफ्नो जन्मस्थान पनि भानुभक्तको जन्मथलो तनहुँको रम्घा रहेको स्मरण गर्दै भानुभक्तकृत रामायण नेपाली समाजमा अत्यन्त श्रद्धापूर्वक अध्ययन गरिने कृति भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नी वृद्ध आमाले समेत रामायणका श्लोक कण्ठस्थ सुनाउने गरेको प्रसङ्ग सुनाउनुभयो ।

प्रा. गङ्गाधर कट्टेलले भानुभक्तको काव्यसाधना र नेपाली समाजमा उहाँको योगदानबारे प्रकाश पार्नुभयो । प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलले आदिकवि भानुभक्तको साहित्यिक योगदानमाथि चर्चा गर्दै आफ्ना कविता पनि वाचन गर्नुभयो । उहाँले छहरा साहित्य समाजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

समाजका कोषाध्यक्ष आनन्द पौड्यालले भानुभक्तकृत रामायणका केही श्लोक वाचन गर्दै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सावित्री कट्टेल, मिता तिमिल्सिना र प्रेसित गेलाल श्रोताका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष योगेन्द्र तिमिल्सिनाले पृथ्वीनारायण शाहले नेपाललाई राजनीतिक रूपमा एकीकरण गरेझैँ आदिकवि भानुभक्त आचार्यले रामायणमार्फत विश्वभर रहेका नेपालीलाई भाषिक र सांस्कृतिक रूपमा एकसूत्रमा बाँध्ने महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.