साहित्यपोस्ट डट कम

चेतनाको रूपान्तरणबाट चरित्र निर्माणसम्म

चेतनाको रूपान्तरणबाट चरित्र निर्माणसम्म

मानव जीवनको वास्तविक उन्नति बाह्य उपलब्धिभन्दा पनि आन्तरिक चेतनाको रूपान्तरणमा निहित हुन्छ । चेतना सोच्ने क्षमता मात्र होइन, सही–गलत छुट्याउने विवेक, संवेदना र आत्मअनुशासनको मूल स्रोत हो । जब मानिस आफ्नो चेतनालाई आत्मचिन्तन, आत्मसंयम र नैतिक बोधद्वारा परिष्कृत गर्न थाल्छ तब जीवनको दिशा स्वतः परिवर्तन हुन थाल्छ । यही रूपान्तरणको प्रक्रिया चरित्र निर्माणको आधार हो ।

चेतनाको विकाससँगै मानिसले आफ्ना इच्छा, क्रोध, लोभ र अहंकारलाई नियन्त्रण गर्न सिक्छ । यसले व्यवहारमा सन्तुलन ल्याउँछ र निर्णयहरू मूल्य–आधारित बन्न थाल्छन् । आत्मचेतनायुक्त व्यक्ति केवल स्वार्थ केन्द्रित हुँदैन; ऊ समाज, कर्तव्य र मानवीय संवेदनाप्रति उत्तरदायी हुन्छ । यस्ता गुण निरन्तर अभ्यासमा आएपछि व्यक्तिको चरित्र दृढ, विश्वसनीय र नैतिक बन्छ ।

चरित्र कुनै एक दिनमा बन्ने संरचना होइन; यो चेतनाको निरन्तर रूपान्तरणको परिणाम हो । ध्यान, आत्मपरीक्षण, सत्कर्म र मूल्यनिष्ठ जीवनशैलीले चेतनालाई परिष्कृत गर्दै लैजान्छ । अन्ततः यही परिष्कृत चेतनाले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि नैतिक दिशामा अग्रसर गराउँछ । त्यसैले चेतनाको रूपान्तरण नै सशक्त चरित्र निर्माणको पहिलो र अन्तिम आधार हो ।

मानव जीवन चेतना, विवेक र आत्मअनुभूतिको निरन्तर यात्रा हो । जीवनमा साँचो रूपान्तरण तब शुरु हुन्छ जब मानिसले बाहिरी सुख–सुविधाभन्दा आन्तरिक आत्मचेतनालाई पहिचान गर्न थाल्छ । आत्मचेतना आफ्नै विचार, व्यवहार, भावनात्मक उतार–चढाव र कर्मका परिणामलाई बुझ्ने क्षमता हो । यही आत्मचेतना जीवनको नैतिक आधार हो, जसले व्यक्तिलाई असल–बेइमान, उचित–अनुचित, सत्कर्म–दुष्कर्मको विभाजन गर्न सक्षम बनाउँछ ।

आत्मचेतना आत्मज्ञानतर्फको पहिलो ढोका हो । जब व्यक्तिले “म को हुँ ?”, “मेरो उद्देश्य के हो ?”, “मेरा कार्यले समाजमा के प्रभाव पारिरहेका छन् ?” भन्ने प्रश्नहरूलाई आत्मसात् गर्छ, त्यही क्षण आत्मचेतनाको यात्रा शुरु हुन्छ । आत्मचेतना बिना नैतिकता अन्धो हुन्छ किनभने नैतिक मूल्यहरू आन्तरिक आत्मबोधबाट जन्मिने वृत्ति हुन् ।

नैतिक अनुशासन आत्मसंयम, जिम्मेवारी र सत्कर्ममा आधारित जीवन पद्धति हो । आत्मचेतनायुक्त व्यक्तिले आफ्नो प्रत्येक निर्णयलाई विवेकले तौल्छ । उदाहरणका लागि, कुनै अवसरमा छिटो लाभ लिन असत्य बोल्ने लोभ आउँछ भने आत्मचेतनाले भन्छ, “यो असत्य तात्कालिक फाइदा भए पनि दीर्घकालीन दृष्टिले विनाशकारी छ ।” यसरी आत्मचेतनाले मानिसलाई सही बाटो रोज्न प्रेरित गर्छ ।

आत्मचेतना कुनै सामान्य मानसिक अवस्था मात्र होइन; यो मानिसलाई उसको वास्तविक अस्तित्वसँग जोड्ने चेतनाको उच्चतम तह हो । जीवनलाई परिवर्तन गर्ने शक्ति बाहिरी प्रभाव वा परिस्थिति भन्दा बढी आन्तरिक आत्मबोधमा हुन्छ । जब मानिसले आफ्नो चेतनालाई प्रज्वलित गर्छ, उसको जीवन व्यक्तिगत मात्र नभइ सामाजिक र नैतिक स्तरमा पनि गहिरो रूपान्तरण अनुभव गर्छ । आत्मचेतना भन्नाले मानिसले आफ्ना विचार, व्यवहार, भावना र त्यसका परिणामलाई सजग भएर बुझ्ने क्षमतालाई जनाउँछ । यही सजगताले जीवनलाई दिशा दिन्छ र रूपान्तरणको मार्ग खोल्छ ।

व्यक्तिगत स्तरमा, आत्मचेतना आत्मअनुशासन र आत्मसंयमको मूल आधार हो । आत्मचेतनायुक्त मानिस आफ्नो व्यवहारलाई विवेकको तराजुमा तोल्छ । जब लोभ, क्रोध वा अहंकारले नियन्त्रण लिन खोज्छ, आत्मचेतनाले उसको मनलाई सचेत गराउँछ, “यो बाटो गलत छ ।” यसरी आत्मचेतनाले अनुशासनमा बस्ने बानी विकसित गर्छ । अनुशासनले धैर्य, नियमितता र आत्मबललाई मजबुत बनाउँछ । साथै, आत्मचेतनाले दयालुपन उत्पन्न गर्छ, जसले मानिसलाई अरूको पीडा बुझ्न र सहयोग गर्न प्रेरित गर्छ । यसरी व्यक्तिगत जीवनमा आत्मचेतना नै आत्मविकास र शुद्धताको मूल स्रोत हुन्छ ।

सामाजिक स्तरमा, आत्मचेतनाले सहानुभूति र परोपकारको भावना विस्तार गर्छ । जसको आत्मचेतना जागृत हुन्छ, उसले अरूलाई बाहिरी व्यक्तिका रूपमा होइन, आत्मीय प्राणीका रूपमा हेर्छ । जब अरू पीडामा हुन्छन्, आत्मचेतनायुक्त मानिसले त्यस पीडालाई आफ्नै पीडाजस्तो महसुस गर्छ । यो संवेदनशीलताले परोपकारी कार्य गर्न प्रेरित गर्छ—जस्तै असहायलाई सहयोग गर्नु, समाजका कमजोर वर्गलाई उत्थान गर्न योगदान दिनु, वा न्याय र समानताको पक्षमा आवाज उठाउनु । यसरी आत्मचेतना सामाजिक सम्बन्धलाई मजबुत पार्छ र समाजमा मेलमिलाप तथा सौहार्द फैलाउँछ ।

नैतिक स्तरमा, आत्मचेतना जीवनलाई अझ गहिरो रूपान्तरणतर्फ डोर्याउँछ । यसले दुष्कर्मप्रति घृणा र सत्कर्मप्रति आकर्षण उत्पन्न गर्छ । आत्मचेतनाविहीन मानिस क्षणिक लोभ वा स्वार्थका कारण अनुचित बाटोमा लाग्न सक्छ तर आत्मचेतनाले विवेकलाई जागृत पार्छ, जसले गलत कर्मबाट टाढा राख्छ र सही बाटो रोज्न प्रेरित गर्छ । परिणामस्वरूप, सत्यनिष्ठा, इमानदारी, अहिंसा र करुणा जीवनको आधारभूत गुण बन्छन् । यस्ता गुणले व्यक्तिगत चरित्रलाई मात्र शुद्ध बनाउँदैनन्, समाजलाई पनि नैतिक उचाइमा पुर्याउँछन् । आत्मचेतनाले मानिसलाई तीन तहमा रूपान्तरण गर्छ—आत्मअनुशासन र दयामा आधारित व्यक्तिगत शुद्धता, सहानुभूति र परोपकारमा आधारित सामाजिक योगदान, र सत्कर्मप्रति आकर्षणमा आधारित नैतिक आदर्श । अन्ततः आत्मचेतनाले जीवनलाई साधारण अस्तित्वबाट सार्थक र आध्यात्मिक यात्रातर्फ रूपान्तरण गराउँछ ।

हिन्दु दर्शनमा आत्मचेतनालाई आत्मज्ञान (आत्मबोध) भनिन्छ । उपनिषदहरूमा “आत्मानं विद्धि” अर्थात् “आफ्नो आत्मालाई चिन्नु” भन्ने शिक्षा यही हो । भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई बारम्बार आत्मचेतनासँग जोडिएको कर्मयोग, ज्ञानयोग र भक्तियोगको शिक्षा दिएका छन् । नैतिक रूपान्तरण त तब मात्र सम्भव हुन्छ जब आत्मा आफ्नो वास्तविक स्वरूप बुझ्छ र लोभ, मोह, क्रोधजस्ता विकारलाई नियन्त्रणमा राख्छ ।

आजको युग उपभोक्तावाद, स्पर्धा र लोभको घेरामा छ । मानिसहरू बाहिरी उपलब्धि र भौतिक चकाचौँधमा त आकर्षित छन् तर आन्तरिक शान्ति हराएको छ । यही कारण आत्मचेतनाको अभ्यास अझ आवश्यक छ । ध्यान, योग, आत्मसंवाद, रचनात्मक लेखन वा मौन साधनाद्वारा मानिसले आफूभित्र फर्केर आत्मचेतनालाई जागृत गर्न सक्छ । जब यो अभ्यास जीवनमा प्रगाढ हुन्छ तब मानिसको सम्पूर्ण जीवन नैतिक मूल्यमा रूपान्तरण हुन्छ ।

मानव जीवनको सार्थकता भौतिक सफलता वा सामाजिक प्रतिष्ठामा सीमित छैन । यसको मर्म आत्मचेतना र आध्यात्मिक मूल्यमा निहित छ । आचरण, जसले व्यक्तिको स्वभाव, निर्णय, व्यवहार र अन्ततः समाजमा उसको प्रभाव निर्धारण गर्छ, त्यो बाह्य अनुशासन वा कानुनी दण्डद्वारा मात्र स्थायी रूपले सुधार गर्न सकिँदैन । आचरणको वास्तविक, दीर्घकालीन रूपान्तरणको मूल श्रोत आत्मचेतना र अध्यात्म हो—त्यो गहिरो आन्तरिक अनुभूति, जसले जीवनको गहिराइ बुझ्न सिकाउँछ, अरूको पीडा महसुस गर्न सक्ने संवेदना विकसित गर्छ र प्रत्येक कर्मलाई सत्य, करुणा र विवेकको कसीमा तौल्न प्रेरित गर्छ ।

जब मानिस आत्मचेतनाको स्तरमा पुग्दछ तब उसले बाह्य विश्वसँगको सम्बन्ध मात्र होइन, आफूभित्रको शून्यता, लोभ, अहंकार र मोहको जरा पनि देख्न थाल्दछ । यही आत्मावलोकनले उसलाई परिवर्तनको दिशामा धकेल्छ । बाहिरी नियमहरूले व्यवहार नियन्त्रण गर्न सक्छन् तर अध्यात्मले आत्माको उत्प्रेरणा बदल्दछ । जब उत्प्रेरणा नै परिवर्तन हुन्छ तब कर्म स्वतः धर्ममय हुन्छ ।

गीता अध्याय ६ मा कृष्णले अर्जुनलाई भन्छन्—”उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।” अर्थात् “आफ्नो आत्माबाट आफैँलाई उन्नत गर, अधोगति नगर ।” यहाँ आत्म उन्नति भन्ने कुरा नै चेतनाको विस्तार हो—जो बाह्य इच्छाहरूबाट नभएर, आन्तरिक विवेकबाट सञ्चालित हुन्छ । यही विवेकमा आधारित चेतनाले नै नैतिक आचरणको मौलिक जग निर्माण गर्छ ।

अध्यात्म कुनै एक धर्म विशेषको आडम्बर होइन; यो त जीवनको मूलभूत सत्यसँगको संवाद हो । जब मानिस स्वयंलाई आत्माको रूपमा बुझ्न थाल्दछ—जसको प्रकृति नै शान्ति, करुणा, दया, क्षमा र संयम हो—तब आचरणको परिवर्तन देखावटी हुँदैन, त्यो जीवन पद्धतिको आधार बन्छ ।

मानव जीवनको अस्तित्वलाई सन्तुलित, शान्त र गरिमामय बनाउनका लागि नैतिक अनुशासन अपरिहार्य तत्व हो । नैतिकता बाहिरी नियम वा सामाजिक दण्डको डरबाट मात्र उत्पन्न हुँदैन, यसको वास्तविक स्रोत आन्तरिक आत्मचेतना हो । आत्मचेतना भन्नाले व्यक्ति आफ्नै अस्तित्व, कर्तव्य, कमजोरी र सम्भावनाप्रति सचेत हुने अवस्था बुझिन्छ । जब मानिस आफैँभित्र डुबेर आफ्नो अन्तरात्माको आवाज सुन्छ, त्यतिबेला उसले सही–गलत छुट्याउने, सदाचरणलाई आत्मसात् गर्ने र अनुशासनलाई जीवनमा उतार्ने क्षमता प्राप्त गर्छ ।

नैतिक अनुशासन आत्मचेतनाबाट जन्मिन्छ भन्ने विचारलाई बुझ्नका लागि हामीले पहिले बाहिरी र आन्तरिक नियन्त्रणबीचको भिन्नता देख्नुपर्छ । बाहिरी नियन्त्रण राज्यका कानून, समाजका परम्परा वा धर्मका नियमद्वारा निर्धारण हुन्छ तर यी सबै मानिसलाई डर, सम्मान वा प्रतिष्ठाका कारणले सदाचार गर्न प्रेरित गर्छन् । जब मानिसले आफ्नो आत्मालाई बुझेको हुन्छ, उसलाई कुनै बाहिरी डर आवश्यक हुँदैन । किनकि उसको अन्तरात्माले नै मार्गदर्शन गर्छ—यो कर्म उचित हो वा अनुचित । यस्तो चेतनाले मानिसलाई स्वतः अनुशासित र नैतिक बनाउँछ ।

आत्मचेतना व्यक्तिगत कल्याणका लागि मात्र नभइ सामाजिक हितका लागि पनि महत्त्वपूर्ण छ । आत्मचेतनायुक्त व्यक्ति अरूको अधिकारलाई सम्मान गर्छ, अरूको पीडा बुझ्छ र समाजमा सहिष्णुता, दया र सहयोगको वातावरण निर्माण गर्छ । आत्मचेतना नभएको व्यक्ति प्रायः स्वार्थ, लालच र अहंकारमा बाँधिन्छ, जसले गर्दा नैतिक अनुशासन कमजोर हुन्छ तर आत्मज्ञान प्राप्त व्यक्तिले आफ्ना इच्छालाई नियन्त्रण गर्न, प्रलोभनलाई अस्वीकार गर्न र कर्तव्यलाई प्राथमिकता दिन सक्छ ।

नैतिक अनुशासनको अर्को विशेषता दीर्घकालीन स्थायित्व हो । बाहिरी नियमले अस्थायी रूपमा मानिसलाई नियन्त्रण गर्न सक्छन् । जब अवसर मिल्छ, मानिसले उल्लङ्घन गर्न सक्छ तर आत्मचेतनाबाट जन्मिएको अनुशासन स्थायी हुन्छ किनकि यो व्यक्तिको आन्तरिक विश्वास र मूल्यमा आधारित हुन्छ । उदाहरणका लागि, यदि कसैले चोरी नगर्ने कारण कानूनको डर हो भने, प्रहरीको उपस्थिति नभएमा ऊ चोरी गर्न सक्छ । तर आत्मचेतनायुक्त मानिसलाई चोरी गर्ने कुरा नै आत्मविरोधी र गलत लाग्छ, त्यसैले ऊ स्वेच्छाले नै त्यो कार्य गर्दैन ।

नैतिक अनुशासन नियम वा कानुनी संरचनाले टिकाइराख्ने विषय होइन । यो मानव आत्माको गहिराइमा जन्मिने स्वस्फूर्त अनुशासन हो । बाहिरी कानुन डर जगाउँछ तर आत्मचेतना विवेक जगाउँछ । डर क्षणिक हुन्छ । विवेक स्थायी हुन्छ । त्यसैले स्थायी नैतिकता बाहिरी व्यवस्थाबाट होइन, आत्मभित्रको उज्यालोबाट जन्मन्छ ।

आजको समाज संकटमा छ । मूल्य खस्किँदै छन् । व्यवहार स्वार्थले सञ्चालित छ । मानिसको सम्बन्ध लालच र अहंकारमा बाँधिएको छ । यस रोगको औषधि न बाहिरी सजाय हो, न सतही शिक्षा । यसको मूल उपचार आत्मचेतनामा आधारित आध्यात्मिक जागरण हो । चेतनाको दीप प्रज्वलित भए मात्र अन्धकार हट्छ । नियमले बाटो देखाउँछ तर मात्र चेतनाले दिशाको बोध दिन्छ ।

आत्मचेतना आफ्नो अन्तरात्मासँगको संवाद हो । यो आत्म–अवलोकन हो । आफ्नो कमजोरी स्वीकार गर्ने साहस हो । जब व्यक्ति ईर्ष्या, लोभ वा क्रोधलाई आफ्नो भित्री शत्रु ठान्छ र ध्यान, योग वा सत्सङ्गद्वारा त्यसलाई रूपान्तरण गर्छ तब वास्तविक अनुशासन जन्मिन्छ । यस्तो अनुशासन बाहिर देखाउनको लागि होइन । यो आत्मिक पवित्रताको स्वाभाविक प्रस्फुटन हो ।

सत्य, करुणा, क्षमा, सहिष्णुता—यी गुण किताबले थोपर्दैन । यी आत्मिक चेतनाको माटोमा मात्र अंकुरित हुन्छन् । आत्मचेतनाबिना मानिस नियम पालन त गर्छ तर अवसर मिल्दा विचलित हुन्छ । चेतना जागेको व्यक्तिले गलत कार्य गर्न सक्दैन । किनकि उसको विवेकले उसलाई भित्रैबाट बाँध्छ । यो नै आत्म–अनुशासन हो ।

आध्यात्मिक दृष्टिकोणले जीवन व्यवस्थापन गर्दा, आचरण व्यवहारिक शिष्टाचार रहँदैन । यो तपस्या बन्छ । प्रत्येक श्वासमा ब्रह्मसँग संवाद हुन्छ । जीवन सेवा र समर्पणको यात्रा हुन्छ । यस्तो जीवनले व्यक्तिगत मुक्ति दिँदैन; यसले समाजमा शान्ति, मेलमिलाप र स्थिरता जन्माउँछ ।

आज मूल्यहीनताले भरिएको सभ्यता भासिएको जहाजजस्तो छ । यसलाई किनारमा पुर्याउने शक्तिशाली पतवार अध्यात्मिक चेतना हो । बाहिरी ऐश्वर्य चमक मात्र हो । आन्तरिक जागरण स्थायित्व हो । चेतनाबिना सभ्यता अस्थिर हुन्छ । चेतना सहित सभ्यता अमर हुन्छ । उदाहरण स्पष्ट छ । कानुनी डरले मानिसलाई चोरीबाट रोक्न सक्छ तर प्रहरी नभएको ठाउँमा, स्वार्थले फेरि उचाल्छ । आत्मचेतनाले भने रोक्छ किनकि चेतनाले उसलाई सम्झाउँछ—चोरी मेरो आत्माको अपमान हो । यस्तो आत्म–अनुभूति कुनै बाहिरी सजायभन्दा शक्तिशाली हुन्छ । यसैले, शिक्षा होस् वा शासन, समाज होस् वा धर्म—सबैको लक्ष्य आत्मचेतना जागरण हुनुपर्छ । कानुनी संरचना सहायक हो तर मूल औषधि होइन । चेतनाको क्रान्तिबिना कुनै सुधार दीर्घकालीन हुँदैन ।

आत्मचेतना नै नैतिक अनुशासनको मेरुदण्ड हो । यसले व्यक्ति स्वार्थबाट मुक्त हुन्छ । सेवा र प्रेममा खिचिन्छ । समाजमा सौहार्द र सहअस्तित्व बढ्छ । राष्ट्र स्थायित्व र समृद्धितर्फ उन्मुख हुन्छ । चेतनाले मात्र आचरणलाई शुद्ध गर्छ । शुद्ध आचरणले मात्र जीवनलाई सार्थक बनाउँछ । यही नै मानवीय अस्तित्वको सर्वोच्च सत्य हो ।

जीवन कुनै यान्त्रिक संयन्त्र होइन; यो चेतनाको तरंगमा बगिरहेको अनन्त प्रवाह हो । जब मानिस भौतिक लोभ, इन्द्रियाशक्ति र स्वार्थमा जकडिन्छ तब उसका व्यवहार विकृत, संस्कार विस्मृत र आचरण प्रदूषित हुन्छन् । यिनै अन्धकारबाट मुक्ति दिलाउने मार्ग अध्यात्म हो—जहाँ बाहिरी आकर्षणभन्दा आन्तरिक मौन र आत्मिक शान्ति गहिरो हुन्छ । अध्यात्म धर्मको कठोर अनुशासन मात्र होइन, आत्माको वास्तविक स्वरूप पहिचान गर्ने आन्तरिक दृष्टि हो ।

आध्यात्मिक अभ्यासले मानिसको व्यवहार, संस्कार र सोचाइलाई सुधार गर्छ । योग र ध्यानद्वारा मन शुद्ध र एकाग्र बन्छ, जसले ईर्ष्या, घृणा, क्रोध वा प्रतिशोधलाई हृदयमा जरा गाड्न दिँदैन । वास्तवमा, सबै प्रकारका व्यावहारिक समस्याको समाधान मनोभावनामा हुने परिवर्तनसँग सम्बन्धित छ र यही परिवर्तन अध्यात्मिक चेतनाद्वारा सम्भव हुन्छ । धर्मले सजायको भय देखाएर अनुशासन दिन्छ भने, अध्यात्मले असल कर्मप्रति आकर्षण जगाउँछ । सत्य, करुणा, सहिष्णुता, परोपकार र कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्यलाई जीवनमा आत्मसात् गर्नु नै साँचो अध्यात्म हो ।

अध्यात्म कुनै तगारो वा सीमामा सीमित हुँदैन । यो धर्मभन्दा फरक छ—जहाँ नियम, परम्परा र तर्कले बाँध्छ; अध्यात्म भने स्वतन्त्र अन्तर्बोध हो । जब मानिस अध्यात्मको बाटोमा हिँड्छ, उसले आन्तरिक आत्मसंवादद्वारा आफ्ना कमजोरी बुझ्छ र सुधारतर्फ उन्मुख हुन्छ । यसले अरूको दोष देख्ने होइन, बरु आफ्नो अज्ञान हटाएर प्रेम, क्षमा र सहिष्णुताद्वारा सम्बन्धहरू मजबुत बनाउने प्रेरणा दिन्छ ।

व्यक्तिगत रूपान्तरणसँगै अध्यात्मले सामाजिक जीवन पनि उज्यालो बनाउँछ । शुद्ध चेतना भएको व्यक्ति अरूको पीडामा करुणा देख्छ, अरूको अधिकारलाई सम्मान गर्छ र न्यायको पक्षमा खडा हुन्छ । यसरी आध्यात्मिक चेतनाले सामाजिक आचरणमा शालीनता, संस्कारमा शुद्धता र सम्बन्धमा सौहार्द ल्याउँछ । यसैले भन्न सकिन्छ—धार्मिकता बाहिरी अनुशासन हो तर अध्यात्म अन्तर्यात्रा हो । प्रत्येक धार्मिक व्यक्ति आध्यात्मिक नहुन सक्छ तर आध्यात्मिक व्यक्ति धर्मको वास्तविक मर्मसँग स्वतः अनुरूप हुन्छ । आजको सन्दर्भमा, अध्यात्म मार्ग वैकल्पिक अभ्यास होइन, सामाजिक आवश्यकता हो । जब नागरिकका विचार, वाणी र कर्म आध्यात्मिक मूल्यले निर्देशित हुन्छन् तब समाजमा शान्ति, नैतिकता र समृद्धिको प्राकृतिक प्रवाह हुन्छ । यही उज्यालो पथ जीवनको परम अर्थ र सत्यमा पुग्ने वास्तविक यात्रा हो ।

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.