१
ठान्या होला यो बाटा लागे राम्रो झन् अर्को आउँछ
थाहा नहोला अर्कोसँग झन् झर्कोफर्को आउँछ।
समयमै विचार पुर्याएनौ भने हेर जीवनमा
अर्को सँगसँगै समस्याहरूको झन् लर्को आउँछ।
२
झुपडबस्तीहरूमा विकासको लहर आएको छ
बेरोजगारले रोजगारसँगै मासुभात पाएको छ ।
यस्तो समृद्धिको माहोल हरेक वर्ष आइदिए हुने
नेताले खेतमै गएर हलीसँग मित लाएको छ ।
३
कहिले पापी पेटका लागि जिउन भातसँग लडेँ
कहिले चुहिएको छानोमा अनिदा रातसँग लडेँ।
लड्नु, उठ्नु र तिखार्नु नै जिन्दगी रहेछ साथी
कहिले आफन्त भन्नेहरूले दिएको घातसँग लडेँ।

