एक
डाँफे–मुनाल
नेपालीको शान हो
सेता हिमाल ।
दुई
खेलेर तास
घरमा छैन बास
धनको नास ।
तीन
मन नजिते
फूल लिँदा सम्झनु
ढुङ्गा हान्नेछन् ।
चार
पानी पँधेरो
सकेसम्म नपार्नु
मन अँधेरो ।
पाँच
काँडा अरेली
स्वस्थ भइन्छ अरे
खाँदा करेली ।
छ
हात हल्लाए
आफन्तको बिदाइ
आँसु बरर ।
सात
उमङ्ग मन
प्रफुल्लित कुसुम
वसन्त ऋतु ।
आठ
हली आलीमा
दही–चिउरा खाँदै
हाम्रो पालीमा ।
नौ
बोली र गोली
निस्केपछि गैगयो
फर्कन्न फेरि ।
दश
डोको र नाम्लो
छुटेनन् नि कहिल्यै
अभागी थाप्लो ।

