नेपालगञ्ज क्षेत्रलाई कार्यथलो बनाइरहेकी कथाकार चरित्रा शाहको सिर्जना हो कथासङ्ग्रह ‘तातेताते’ । ‘तातोताते’ भित्र आफ्नै निजत्वका बलले म पनि तातेताते गर्ने जमर्को गर्दैछु । म कथाकार चरित्रा शाहलाई भौतिक वा अभौतिक कुनै रूपले पनि चिन्दिनँ । सर्जकसँग कुनै वैयक्तिक गुणदोषको सामिप्य नभएपछि कृतिको अन्तर्यभित्र मात्र सीमित हुनुपर्ने सीमासँग बद्ध छु ।
कथासङ्ग्रह ‘तातेताते’ को गाताको आवरण पृष्टमा तातेताते भन्दै हिँडाउन सिकाउने आमा तथा आमाको इशारामा हिँड्न खोज्ने बच्चाको अर्धमूर्त चित्र छ । यसले तातेतातेको गाम्भीर्य र अर्थ प्रष्ट पारेको छ । गाताको पश्च भागमा भूमिकाका केही वाक्यांशलाई राखिएको छ । भुँडीपुराण प्रकाशनले २०८० फागुनमा प्रकाशन गरेको यो कृतिको मूल्य रु २९० रहेको छ । पूज्य पिता स्व.सचेत कुमार शाहमा समर्पण गरिएको छ । यसमा प्रा.डा. कृष्णप्रसाद घिमिरेको भूमिका रहेको छ । भूमिकामा कथा कस्तो हुनुपर्छ भन्ने रूपविधानगत चित्र कोरिएको छ । आख्यान, समाख्यान, कथावस्तु, पात्र, दृष्टिविन्दु, उद्देश्य, परिवेश, भाषा शैलीका बारेमा यथेष्ठ प्रकाश पारिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीको शुभकामना छ । भुँडीपुराण प्रकाशनका तर्फबाट केशव प्रसाद पराजुलीको प्रकाशकीय रहेको छ । यसपछि कथाकारको आफ्ना कुरा छ, जसमा कथाकारको रचनागर्भ तथा व्यक्तिगत कुराका बारेमा मोटामोटी ज्ञात गराएको छ । कृतिभित्र सोह्र ओटा कथा समेटिएका छन् ।
यो आलेखको उद्देश्य कथाभित्र रहेको द्वन्द्व व्यवस्थापन शिल्पलाई केलाउनु रहेको छ । के हो द्वन्द्व व्यवस्थापन भनेको ? कथाकारले कुनै घटना वा कुनै इन्सपिरेसन, वा कुनै विषयका बारेमा सोच्छ, सोही बेला कथ्य घट्नुका पछा
डिको द्वन्द्वलाई पर्गेल्छ । दुई विचार, दुई चरित्र, दुई युग वा अन्य केही दुई वा दुईभन्दा बढी कुराका बिचको द्वन्द्वलाई उठान गर्ने, उत्सर्गमा पुर्याउने तथा समाधान गर्ने समग्र कृत्य नै द्वन्द्व व्यवस्थापन गर्ने हो । लेखकले आफूलाई मन परेको पक्षमा राय राख्दै द्वन्द्व समाधान गर्ने हो । कथा लेखनको मूल कुरा नै कथ्यमा रहेका द्वन्द्वलाई समाधान गर्ने हो । द्वन्द्व व्यवस्थापन गर्दा सकेसम्म न्याय र इमान पुर्याउनुपर्ने लेखकीय दायित्व भने रहन्छ ।
कृतिभित्र रहेको पहिलो कथा नै ‘द्वन्द्व’ शीर्षकमा रहेको छ । निबन्धात्मक, संस्मरणात्मक तथा मनोवादात्मक शैलीमा म र इभान प्रमुख पात्रको व्यवस्थापन गरेर कथा तुनिएको छ । यो कथाको भाव विछोड प्रेम दर्साउनु रहेको देखिन्छ । कथामा प्रयुक्त द्वन्द्वका आधारमा हेर्ने हो भने एकातिर परम्परा, समाज, संस्कृतिको बन्धन छ, अर्कोतिर विदेशीसँगको प्रेम छ । यो कथामा द्वन्द्वको समुचित समाधान नभएको हो कि जस्तो लाग्छ ।
दोस्रो कथा ‘भोगाइ’ हो । पात्रहरू शशिराम, तन्द्रा, आमा र छोराछोरीका आधारमा घटनाप्रधान तथा मनोवादात्मक शैली अपनाएर करुणा भाव जगाउँदै कथा निर्माण गरिएको छ । एकातिर कालापारमा रोजगारीमा जानुपर्ने, अर्कोतिर श्रीमतीको मृत्युपछि आफ्नो घर फर्किँदाका समस्याका बिचमा द्वन्द्व निर्माण गरिएको छ । श्रीमतीको अभाव खट्केको परिस्थिति निर्माण गर्नु कथाको प्रधान थिम रहेको छ । यो कथामा पनि द्वन्द्वको समुचित समाधान नभएको हो कि जस्तो लाग्छ ।
तेस्रो कथा ‘अनिदो’ मा म, श्रीमान्, सासू, बा, जेठानी जस्ता पात्रको व्यवस्था गरिएको छ । शैली मनोवादात्मक छ । भावमा वीरता तथा थिममा सङ्घर्ष देखाउन खोजिएको छ । द्वन्द्वका हिसाबले हेर्ने हो भने एकातिर समाज तथा प्रचलन छ, अर्कोतिर छोरीबुहारीले पढ्नका लागि गर्नुपरेको सङ्घर्ष छ । समाज तथा परिवारको मुख हेरेर कथा सकिएको छ ।
चौथो कथा ‘उर्मिला’को पनि शैली मनोवादात्मक छ । उर्मिला अथवा उरी, श्रीमान् धनबहादुर जस्ता पात्रहरू छन् । भावका हिसाबले विरह, थिमका हिसाबले श्रीमतीले श्रीमानसँग खेप्नुपर्ने विपर्यास चित्र कोरिएको छ । द्वन्द्वका हिसाबमा एकातिर कुरा बुझेकी महिलाको चित्र छ, अर्कोतिर समाज, परिवार, तथा लोग्नेको कटु व्यवहारको चित्र छ । महिला पात्रले सहेरै कथा सकिएको छ ।
पाँचौँ कथा ‘कृपाराम’मा म, कृपाराम, आमा, श्यामलाल जस्ता पात्र छन् । शैली संस्मरणात्मक तथा निबन्धात्मक छ । विरही भाव छ । कथाको थिम जिन्दगीको के सार ? न पैसा, न आफन्त भन्ने कुरा देखाउनु रहेको छ । द्वन्द्वको कुरा गर्दा एकातिर चरम गरिबी छ, श्रीमतीको सर्पले टोकेर मृत्यु भएको छ । गरिबीको बिडम्बनासँग द्वन्द्व छ । द्वन्द्वको समापन कृपाराम पात्रलाई बहुलाहा बनाएर भएको छ ।
छैटौँ कथा ‘चोट’मा कान्छी, महकाढे पण्डितनी, काका आदि पात्र रहेका छन् । शैली घटनाप्रधान बयानात्मक छ । विद्रोही भाव छ । सामाजिक अन्धविश्वासलाई विद्रोह गरेर परास्त गर्नुपर्छ भन्ने थिम रहेको छ । बाबु स्वर्गवास भएका छोरीलाई अपवित्र मानेर धार्मिक तथा सांस्कृतिक कार्यमा संलग्न नगराउने सामाजिक अन्धविश्वास र त्यसलाई हटाउने विद्रोही स्वर निकालेर द्वन्द्व निर्माण गरिएको छ । विद्रोहमा कथा समापन गरिएको छ ।
सातौँ कथा ‘जिज्ञासा’मा आमा, छोरी, पण्डितजी प्रमुख पात्र रहेका छन् । शैली मनोविश्लेषणवादी छ । भाव बालमनोविश्लेषणीय जिज्ञासा छ । बालमनोविज्ञानका सवाल, अनुत्तरित प्रश्न तथा बालमनोविज्ञानको ख्याल गरिनुपर्छ भन्ने थिम रहेको छ । एकातिर परम्परागत अन्धविश्वास र अर्कोतिर बालजिज्ञासावाला मनोविज्ञानका बिचमा द्वन्द्व निर्माण गरिएको छ । विद्या र ज्ञानको स्रोत भनेको जिज्ञासा हो भन्ने कुरा गरेर द्वन्द्व समापन गरिएको छ ।
कृतिशीर्षक समेत रहेको आठौँ कथा ‘तातेताते’मा म, श्रीमती, साहू प्रमुख पात्र रहेका छन् । शैली मनोवादात्मक छ । बाध्यता तथा विरह जस्ता भाव प्रक्षेपण गरिएको छ । जिन्दगी नै बाचुञ्जेल तातेताते गरिरहने हो भन्ने दार्शनिक थिम छ । एकातिर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ, त्यसले उब्जाएको कहर छ, अर्कोतिर वर्षौं नभेटिएका स्वास्नी छोराछोरीको माया र तिर्सना छ । आमाबाबुप्रतिको दायित्व छ । यसैका बिचमा द्वन्द्व बनाइएको छ । ती सबै समस्या भए पनि मानिसले फेरि तातेताते गरेरै कामतिर फर्कनु छ भन्ने तथ्यलाई अघि सारेर द्वन्द्व समाधान गरिएको छ ।
नवौँ कथा दोधारमा पात्रहरू म, श्याम, बहिनीभाइ, सासू, आदि रहेका छन् । शैली मनोवेगात्मक तथा मनोवादात्मक छ । भाव विरह, दुःख, पीडा आदि छन् । महिलामाथि सौता हाल्ने प्रचलनमाथि प्रश्न उठाउनु कथाको प्रधान थिम रहेको छ । एकतिर परिवेशले बुढीकन्ने बनाएको छ, गरिएको बिहेका लागि पनि अनेकन प्रताडन छ । सौता पाएकी छ । अर्कोतिर डिभोर्स नगरी पीडित महिला पात्र एक्लै बसेको अवस्था छ । डिभोर्स पनि नगर्ने र श्रीमानसँगै पनि नबस्ने विचार सिर्जना गरेर दोधारमै द्वन्द्व व्यवस्थापन गरिएको देखिन्छ ।
दसौँ कथा ‘आरुदाना’मा म, आरुदाना जस्ता पात्र छन् । शैली मनोवादात्मक, भाव वैराग्य तथा थिम बाँच्नु भनेको जीवन र मरणको सङ्घर्ष हो भन्ने रहेको छ । द्वन्द्वका हकमा भने एकातिर जीवन छ, अर्कोतिर मृत्यु छ । एकातिर परिवारको दायित्व छ, अर्कोतिर समस्या छ । द्वन्द्व भने बिलौनामा समाधान भएको छ । स्वैरकाल्पनिक पात्र छन् । आरुदानाको अवस्था जीवन र मरणको प्रतीक भएको छ । बोटमै अडिएका आरुदाना जीवनका प्रतीक र आँधीबेहरीबाट झरेका आरुदाना मरणको प्रतीक भएर देखा परेका छन् ।
एघारौँ कथा ‘बाँसुरी’ रहेको छ । म, मेरो श्रीमान्, भाइ जस्ता प्रधान पात्र छन् । शैली घटनाप्रधान विवरणात्मक तथा बयानात्मक रहेको छ । भाव सम्वेदनात्मक तथा सम्वेगात्मक रहेको छ । श्रीमान् र श्रीमतीको सम्बन्धमा सानो कुराले पनि अर्थ राख्छ । बाँसुरी बजाउनु, सुन्नु जीवनको खुसी हो भन्ने जस्ता थिम निर्माण गरिएको छ । पितृप्रधान सोच र मातृप्रधान सोचका बिचमा द्वन्द्व निर्माण गरिएको छ । द्वन्द्व समाधान समन्वयतात्मक तरिकाले गरिएको छ ।
बाह्रौँ कथा ‘सबक’मा पात्र म, नानी र सानी छन् । शैली घटनात्मक तथा बयानात्मक छ । भाव बाल मनोवैज्ञानिक छ । थिम बाल मनोविज्ञानमा आधारित छ । बर्थडेमा नबोलाउनेलाई पनि आफ्नो बर्थडेमा बोलाउने तथा सकारात्मक सबक सिकाउने थिम रहेको छ । एकातिर रिस, आक्रोश र प्रतिशोध छ भने अर्कोतिर समन्वयात्मकता, सकारात्मकताका साथ द्वन्द्व निर्माण गरिएको छ । द्वन्द्व समाधान सकारात्मकतामा आधारित छ ।
तेह्रौँ कथा ‘समय’ हो । यसमा पात्र म, शिलु, छोराछोरी, जेठाजु आदि छन् । शैली संवेगात्मक, मनोवादात्मक, संस्मरणात्मक छ । विरह, विछोडको भाव अभिव्यक्त गरिएको छ । पितृसत्तात्मक पीडा अभिव्यक्त गर्नु कथाको थिम रहेको छ । एकातिर पितृसत्तात्मक लोग्ने छ, जो सधैँ स्वास्नीमाथि चारित्रिक शंका गर्छ, समाजले पनि शंका गर्न उकास्छ, अर्कोतिर स्वास्नीका पीडा छन् । परिवेशीय द्वन्द्व पनि छ । यसरी द्वन्द्व निर्माण गरिएको छ । द्वन्द्व समाधान गर्नका लागि महिला पात्र शिलुले लोग्नेलाई विरह, अवस्था तथा परिस्थितिको ज्ञात गराउने पत्र लेखेर बेपत्ता भएकी छन् । पलायनवादी समाधान छ कथाको ।
चौधौँ कथा हो ‘सम्झौता’ । यो कथामा म तथा अन्ना पात्र छन् । शैली मनोवादात्मक, संवेगात्मक, सादृश्य छ । रुखको बिम्बबाट जीवनका पाटा केलाउने सादृश्य शैली हो । कथाले मनोवैज्ञानिक गुम्फन खाले भाव बोकेको छ । कथाको थिम जीवनको अर्थको परिभाषा खोज्नु रहेको देखिन्छ । म पात्र सामाजिक परिवेशले र आफ्नै पनि रहरले बच्चा जन्माउन चाहन्छ तर श्रीमती अन्ना स्वतन्त्रताका लागि सन्तान नजन्माउने विचारमा छिन् । कथाको द्वन्द्व नै यही मनोवैज्ञानिक अवस्था हो । दुवैका बिचको समस्यालाई जस्ताको तस्तै राखेर गुम्फनमा सम्झौता गरी कथा सकेर द्वन्द्व समाधान गरिएको छ ।
‘सौभाग्य’ पन्ध्रौँ कथा हो । यो कथामा सौभाग्य, म अर्थात् रमा, रिसिभ नाम गरिएका पात्र छन् । कथा भन्ने शैली मनोवादात्मक तथा मनोवेगात्मक छ । कथाले विरह, पश्चाताप, दृढताबोध गराएको छ । एकातिर अल्लारे बेलामा गरेको कर्म छ, जसले मूल पात्र रमालाई पश्चाताप, विरह, विडम्बना पस्केको छ, अर्कोतिर छोडी जाने पापी रिसिभका प्रतिको वितृष्णा र आफू एक्लै उभिने सङ्कल्पका साथ द्वन्द्व निर्माण गरिएको छ । मूल पात्र रमालाई उनको छोरो डाक्टर बनेर आएको र छोराकै लागि आमाले गरेको त्याग, समर्पण आदि देखाएर द्वन्द्व समाधान गरिएको छ ।
सोह्रौँ अर्थात् अन्तिम कथा हो ‘मिलाप’ । कथामा पात्रका रूपमा आमा, सानोबाबु, ठूलोबाबु रहेका छन् । कथा भन्ने शैली घटना बयान गर्ने खालको छ । भाव मनोविश्लेषणात्मक छ । थिम बालखलाई उसको चित्त दुख्ने कुरा गर्न हुन्न भन्ने बालमनोवैज्ञानिक तथ्य व्यक्त गर्नु रहेको छ । कथामा दाजुले भाइलाई गुण्डा हुन्छस् भनिएकोमा भाइले विरोध गरेको छ र रोएर विद्रोह गरेको छ । द्वन्द्व समाधानका लागि दाजुभाइका बिचमा मेलमिलाप गराएर समन्वयात्मक तरिका अपनाइएको छ ।
कथाकारको कथा भन्ने शैली सरल र बोधीय छ । प्रायः प्रथम पुरुष दृष्टिविन्दुमा कथा बुनिएको छ । मनोविश्लेषणात्मक, मनोवेगात्मक, मनोवादात्मक, बयानात्मक, संस्मरणात्मक शैली रहेको अनुभूत हुन्छ । भाषाका हिसाबले पनि कृतिभित्र अनेकन विशेषता रहेका छन् । नेपाली मूल भाषा तथा भाषिकाका शब्दको प्रयोगमा शिल्प देखिन्छ । वनकर, कालापार, अलछिनाहा, बेलौती, सोट्याम्ला, घसेटो, धौ, जुठेल्ना, लटो जस्ता अनेकन आञ्चलिक तथा मूल नेपालीका ठेट शब्दहरूको प्रयोगले कथासङ्ग्रहलाई चखिलो बनाएको छ । भाषाकै हिसाबमा भन्ने हो भने गोरु बूढो भयो भने भीर खोज्छ, मानिस बूढो भयो भने निउँ खोज्छ, काम साँची आफूलाई, खाना साँची अरूलाई जस्ता अनेकन उखानको प्रयोग भएको छ । कतिपय कथामा स्थानीय भाषा (अवधी) मा संवाद रहेको छ । यसले कथालाई स्वादिलो र यथार्थ बनाएको छ । कथामा आञ्चलिक परिवेश, स्वाद तथा परिकार पाइन्छ । कथाकारको लेखनीमा सादृश्यात्मक शक्ति देखिन्छ । कलमे औंला जस्ता प्रतीकको प्रयोग गरिएको छ । कथ्य परिवेशअनुसार पात्रका नाम चयन भएका छन् । पात्र व्यवस्थापनका हिसाबले सुन्दर छन् कथा । कथाभित्र दार्शनिक सन्देश पनि प्रवाह गरिएका छन् । जहाँ प्रश्न रोकिन्छ, त्यहाँ प्रगति रोकिन्छ, वादेवादे जायते तत्त्वबोध, कि त बिहे नै नगर्नू, गरेपछि त बच्चा जन्माउनु पनि जीवनको महत्त्वपूर्ण परीक्षामा पास हुनु हो भन्ने दार्शनिक कुरा प्रवाह गरिएको छ ।
देशदुनियाँ जस्तै कथासङ्ग्रह ‘तातेताते’ ले पनि स्वाभाविक रूपमा जेनिथ निर्माण गर्न सक्दैन । अपुरो, अधुरो तथा अलिनु हुनु जीवनको यथार्थ हो । स्वाभाविक छ कि यही यथार्थ कथाभित्र पनि देखिन्छ । अवधी भाषाका लामा लामा संवाद छन् । यो एउटा सुधार गर्न सकिने पक्ष हो । शीर्षक पात्रको नामका आधारमा राख्ने पुरानो चलन हो । सकभर कथावस्तु समेट्ने हिसाबमा कृतिको शीर्षक राखिएको भए हुने भन्ने लाग्छ । किनकि एउटा कथा टिपेर शीर्षक राख्दा त्यसले कृतिभित्र समेटिएका सबै कथाको प्रतिनिधित्व गर्न सक्दैन । खास गरेर महिला पात्रहरू रुन्चे छन् । पीडित छन् । तड्पिएका छन् । परम्परागत आदर्शका अनुयायी छन् । कमजोर छन् । किनकि कथा यथास्थितिमा आदर्शको जलप लगाएर लेखिएका छन् । मनोवादमा कथा सकिन्छ । विद्रोह तथा विरोधको न्यूनता देखिन्छ ।
द्वन्द्व विनिर्माण तथा समाधानका हिसाबमा हेर्दा सुधार गरिनुपर्ने धेरै ठाउँ छन् । कथाकारले उठाएका द्वन्द्व परम्परागत छन् । समस्या यथास्थितिवादी छन् । अर्थात् द्वन्द्व प्रभावीय लाग्दैनन् । आधुनिक अग्रगामी धार तथा समस्यालाई अभिव्यक्त गर्दैनन् । अति पारिवारिक, घरायसी र समन्वयवादी छन् कथा । किनभने समाज रूपान्तरण भैरहन्छ । रूपान्तरण सँगसँगै समाजका प्रधान समस्या पनि परिवर्तन हुन्छन् । वर्तमान धर्म, विज्ञान, भौतिकता, पराभौतिकता, परम्परागत संस्कृति, लोकमान्यता तथा परिवारको ढोँगले उब्जाएका अनेकन विकराल समस्या छन् समाजमा । तिनका विरुद्ध सचेतना मात्रले काम चल्दैन । ती विकृतिमाथि साहित्य सर्जकले प्रहार गर्नु पनि वाञ्छनीय छ । परम्परामा सुधार गरेर वा यथास्थितिवाला खुराक पस्किएर समाजले सही बाटो लिने होइन, यसका लागि अग्रगम्यता जरुरी छ । द्वन्द्वका हिसाबले हेर्दा यो कृतिले विराट रूप धारण गर्न अझै प्रयत्नको जरुरी छ जस्तो लाग्छ ।
अब पुछारमा छु । सारमा भन्नु पर्दा अधिकांश कथाहरू मनोवादात्मक शैलीमा लेखिएका छन् । मनोवादात्मक शैलीमा कथाकारको पहुँच भने लोभलाग्दो छ । अनुकरणीय छ । भाषामा सलिलता, शुद्धाशुद्धिमा सचेतता, शब्द परिचालनमा मिठास तथा कथ्य विनिर्माणमा आञ्चलिकता छन् । यसले कृतिलाई कौतूहलमय, गम्य, रसात्मक बनाएको छ ।
द्वन्द्वको निर्माण यानि उठान, विकास र समापनलाई कथाको आदि, मध्य र अन्त्य पनि भन्न सकिन्छ । सर्जक स्वतन्त्र हुन्छ । उसलाई द्रष्टाको विचार ग्रहण गर्ने वा नगर्ने शतप्रतिशत अधिकार हुन्छ । तथापि द्रष्टाको चाहना भने कथाकार चरित्रा शाहले आगामी दिनमा द्वन्द्वमा झन् धेरै खेल्नु हुनेछ भन्ने आस गर्नु बेमुनासिब होइन । यो कृति आफैँमा गतिलो छ र यसले पाठकका मनमा अड्डा जमाउने छ भन्ने ठानिएको छ । कथाकार चरित्रा शाह तथा कृति ‘तातेताते’ प्रति उत्तरोत्तर प्रगति तथा शुभकामना व्यक्त गर्छु ।

