साहित्यपोस्ट डट कम

चरैवेति उपन्यासमा विचरण गर्दा

चरैवेति उपन्यासमा विचरण गर्दा

पाटन संयुक्त क्याम्पसमा प्रध्यापनरत मोरङ जन्मथलो भएका जीवन जीवन्त, नेपाली साहित्यमा नयाँ भए पनि नौलो नाम भने होइन । नेपाली विषयमा विद्यावारिधि तथा अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका जीवन्तको लेखन कार्य उपन्यासमा मात्र सीमित छैन । २०५७ सालको दुबो पत्रिकामा सहिद शीर्षकको कथाबाट साहित्य यात्रा आरम्भ गरेका जीवन्तको सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण (समालोचना,२०७५), अधिआख्यान : सिद्धान्त र विश्लेषण( समालोचना : २०६९), उत्तर आधुनिक साहित्य : सिद्धान्त र विश्लेषण(सहलेखन, समालोचना, २०६९) तथा विभिन्न पत्रपत्रिका र जर्नलहरूको सम्पादन गर्नुका साथै अन्य कृतिहरू पनि बजारमा उपलब्ध भैसकेका छन् ।

“चरैवेति उपन्यास” निरन्तर खोजअनुसन्धान तथा सिर्जनात्मक अभ्यासको प्रतिफल हो । “चरैवेति” एउटा अतृप्त पात्रको सत्य तथ्य खोजको थालनी हो । यसले समाजभित्रको धर्म, राजनीति, संस्कृति तथा तिनभित्रका विकृतिको खोजी गरी अन्त्य गर्ने प्रयास गरेको पाइन्छ ।

यस उपन्यासमा जगतको मिथ्यापनको स्वीकारोक्ति रहेको छ । लेखक भन्छन् यो ज्ञान होइन, बरु ज्ञान र सत्यका लागि चरैवेतिको आग्रह मात्रै हो, गतिशील हुनपर्छ भन्ने आग्रह मात्रै हो ।

यस औपन्यासिक कृतिमा लेखकले बाइबल जगतको परिभ्रमण गरेका छन् । अझै भनौँ भने यो कृति नेपालका अधिकांश इसाई समाजको वास्तविकता पनि हो । उनी लेख्छन् यो बाइबलको धर्मशास्त्रीय, आध्यात्मिक जपाइ होइन, यो त भौतिकवादी पठन मात्रै हो । कसैप्रति आग्रह वा पूर्वाग्रह पनि होइन ।

आफ्ना हजुरबुबाको सम्बन्ध इसाई धर्मसँग थियो । प्रतिकूल राजनीतिक परिस्थितिका कारण उहाँले बाइबल पढ्नुभयो, सङ्घर्ष गर्नुभयो, जेल पर्नुभयो, मुद्दामामिला भयो तर त्यसलाई आजीवन छोड्नु भएन । त्यसैको उपज हो चरैवेति उपन्यास ।

विषय वस्तु :

चरैवेति उपन्यासमा बाइबलजस्तो वृहत् विषय र धर्मग्रन्थका विरोधाभासलाई सहज ढङ्गबाट औपन्यासिकीकरण गरिएको छ । यो सामान्य मानिसको नियतिको कथा पनि हो । यसमा लेखकले आफ्ना हजुरबुबाले कसरी र किन धर्म परिवर्तन गरे भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेका छन् । आफ्ना आफन्तजन तथा छोराछोरीलाई गुमाउनु पर्दाको पीडा, दुःख तथा विवशता यसमा पाइन्छ । यसमा आकस्मिकता, नियतिको नियत–१ र २, देउता = ढुङ्गा, तराई जहर, दसैँ र सयपत्रीको पात, काकाहरूको तिरस्कार, परमेश्वरको शक्ति, कान्छा काकाको विद्वेष र विश्राम जस्ता उपशीर्षकहरू रहेका छन् भने त्यसपछि डायरीको शृङ्खलाका रूपमा उपन्यास देखा परेको छ ।

गाउँमा विद्रोह गर्न नसकेर, सपरिवार तराई आएको कथा यसमा छ । मधेस आउँदै गर्दा बाटोमा देखिएका, सुनिएका कुराको वर्णन गर्दै उपन्यास अगाडि बढेको छ । कहिले उकाली, कहिले ओराली अनि कहिले जङ्गलको बाटो पार गर्दै नौलो ठाउँ हेर्दै खोला र नदीसँग सिँगौरी खेल्दै र रतुवा खोलामा खेल्दाका बाल अनुभूति सँगाल्दै बाघ र जनावारको त्रास देखाउँदै हिँडेर तराई आएको प्रसङ्ग उल्लेख भएको छ । पहिलो पटक गाडी देखेको र चढेको बाल अनुभूति पनि यसमा देखिन्छ ।

घरको पूजाकोठामा जान हुँदैन र त्यहाँका देवता रिसाएमा रगत छादिन्छ भन्ने बालमनस्थिति रहेको र खेल्ने क्रममा घरजानसम्म बिर्सने कुरा बताइएको छ । आमाले अह्राउनुभएको काम नगर्दा दिदीले पाउनु भएको सजाय, दिदी बिरामी भएर उठ्न नसकेको तथा झारफुक गरेर दिदीको उपचार गरिएको कुरा उल्लेख छ । झारफुक गरेर पनि उपचार हुन नसकी दिदीको अर्को दिन बिहान मृत्यु भएको छ । बाल्यकालमा सानी दिदीको मृत्युले निम्त्याएको पीडालाई लेखकले प्रस्तुत गरेका छन् ।

सानी दिदीको मृत्युले भावविह्वल भएका म पात्र । झाँक्रीलाई झारफुक गराएर रोग निको पार्ने प्रयास गरेका छन् । रोग निको पार्न भाकल पनि गरिन्छ तर भाकल र झारफुकले ठुली दिदीको रोग निको पार्न सकेन र दिदीले प्राण त्याग्दछिन् ।

“ढुङ्गो”मा दुईजना दिदीको मृत्युपश्चात् देवताप्रतिको विश्वास हराएको छ । दुई छोरीको मृत्युले परिवार मर्माहत बनेको छ । आफ्नो घरमा काल पल्किएको आभास भएको छ । कुलदेवता रिसाएर यस्तो भएको आभास पनि गरिएको छ । कुललाई पुजा नगर्ने विषयमा दाजुभाइबीचको विवादलाई देखाइएको छ । दाजु कुलको पुजा नगर्ने अडानमा हुन्छन् । विवादमा जेठो दाजुले घरमा भएका कुलदेवतालाई घरबाट निकालेर फालिदिन्छन् । आफूलाई देवताप्रति विश्वास नभएको र त्यो केवल ढुङ्गो नै हो भन्ने मनसायमा पुग्छन् । ढुङ्गोको देवतालाई कान्छो भाइले राख्ने निर्णय हुन्छ ।

“तराई जहर”मा तराईको जनजीवन गाह्रो भएको छ । तराई सुनेजस्तो सहज नभएको कुरा उजागर गरिएको छ । पहाडबाट तराई झरेपछि जङ्गल फाँडेर बस्ने ठाउँ बनाइएको प्रसङ्ग आएको छ । मन नभए पनि पहाड छोड्ने पीडा मनभरि रहेको छ । तराईको खोरिया फाँडेर आफ्नो सृष्टि गर्दै थिए लेखकका बाबु ।

तराई झरेपछिको पहिलो दशैँ सबैलाई भनेजस्तो भएन । देवता मिल्काउने निर्णयमा आमा खुसी थिइनन् । तराईमा पनि देवताको कोठा तयार पारेर राखिएको छ । मान्छेको मस्तिष्कबाट ती चिज मेटाउन सकिँदैन भन्ने कुरा यसबाट थाहा हुन्छ । बुबा दशैँका लागि गाउँ जानुभएको तर घर परिवारले तिरस्कार गरेको, घरभित्र छिर्नका लागि स्वीकृति नदिएको अवस्था सिर्जना भएको छ । दशैँको टीका जमरा लिन जानुभएको बा खाली हात फर्कनुभएको छ ।

बाल्यकालीन दशैँ र टीकाका यादहरूले लेखक उमङ्गित भएका छन् तर टीकाको दिन जमरा, टीका लगाउने उत्साह केवल उत्साह नै हुन गएको छ । टीका त लागए तर जमराको ठाउँमा सयपत्रीको पात लगाएर दशैँ मनाएका छन् ।

भनिन्छ गाई भए गोरस भाइ भए भरोस तर दशैँमा जमरा र टीका पाइने ठूलो आशले घर गएका दाजुलाई भाइहरूले हेला र तिरस्कार गरेका छन् । विभिन्न आरोप लगाएर कान्छा काकाले बुबालाई पूजाप्रसाद तथा जमरा दिएका छैनन् ।

कथाको उत्तरार्धमा हजुरबुबाको मृत्यु र परिवारको पुनर्मिलन हुन्छ तथा पुनः सनातन धर्ममा म पात्रको बुबाको फर्किन्छन् । यसै सन्दर्भसँगै उपन्यासको समापन भएको छ ।

यस उपन्यासमा आकस्मिकता, नियतिको नियत १,२, देवता=ढुङ्गा, तराईको जहर, दशैँ र सयपत्रीको पात, काकाको तिरष्कार, परमेश्वरको शक्ति, विश्राम, डायरी १ देखि २७ सम्मका उपशीर्षक रहेका छन् । पुस्तकको अन्तिम कभर पेजमा लेखिएको छ जगत् मिथ्या हो, भ्रम हो, माया हो भन्ने ज्ञान रूपी अमृत पनि पाइन्छ ।

यस “चरैवेति” उपन्यसमा बाइबल जगतको पनि उल्लेख गरिएको छ । बाइबल भौतिकवादी पठनमात्र हो भन्ने कुरालाई यसमा देखाइएको छ । भौतिकता र आध्यात्मिकतामा आउन सक्ने मतमतान्तरलाई त्यसै रूपमा बुझिदिन पनि आग्रह गरेका छन् लेखकले । बाइबल ग्रन्थको भौतिकवादी समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभासलाई विषय बनाएर उपन्यासकारले ठुलै चुनौती उठाएको पनि देखिन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.