साहित्यपोस्ट डट कम

चार स्रष्टालाई झपट पुरस्कार प्रदान गरिने

चार स्रष्टालाई झपट पुरस्कार प्रदान गरिने

काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिले नेपाली भाषा–साहित्य क्षेत्रमा योगदान पुर्‍याएका चार स्रष्टालाई विभिन्न विधामा ‘झपट पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याएबापत सनत रेग्मीलाई एक लाख रुपैयाँ राशिसहित ‘झपट पुरस्कार’ प्रदान गरिने भएको छ।

यसैगरी नेपाली भाषालाई गीतमार्फत जनप्रिय बनाउन योगदान दिएको भन्दै गीतकार राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ।

त्यसैगरी नेपाली भाषा–साहित्यमा विद्यावारिधि गर्नुभएकाे डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने जनाइएको छ।

इन्दिरा प्रसाईको संयोजकत्वमा गठित छनोट समितिले पुरस्कृत स्रष्टाहरूको नाम सिफारिस गरेको थियो। उक्त समितिमा प्रा.डा. हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहनुभएकाे छ ।

झपट पुरस्कार व्यवस्था समितिका सदस्यसचिव रेखा राणाले पुरस्कार सम्बन्धी जानकारी सार्वजनिक गर्नुभएको हो।

ट्याग: अरुण राणा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.