साहित्यपोस्ट डट कम

चार पुस्ताका कथामाथि विमर्श

चार पुस्ताका कथामाथि विमर्श

रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा चार पुस्ताका कथाकारहरूको कथामाथि विमर्श कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कथाकार रमेश विकलसहित उनका पुस्तान्तरण हुँदै आएका कथाकारहरूको सिर्जनामाथि चर्चा गरिएको थियो।

प्रतिष्ठानका पदाधिकारीहरू तथा केही स्थानीय कथाकारहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कथा यात्रा समूहका सदस्यहरूले विभिन्न विषयमा समीक्षात्मक प्रस्तुति दिनुभएकाे थियाे।

कार्यक्रममा पवित्रा अधिकारीले रमेश विकलको कथाकारितामाथि “नयाँ सडकको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन” शीर्षकमा प्रस्तुति राखिन् भने विश्व कुइकेलले “भ्वाइलेन र भाउजू” शीर्षकमा विकलका कथाको विश्लेषण प्रस्तुत गर्नुभएकाे थियाे ।

यसैगरी रमेश विकलका छोरा तथा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष कथाकार विजय चालिसेको कथाकारितामाथि प्रमोद प्याकुरेलले प्रस्तुति दिनुभएकाे थियाे । अर्का छोरा कथाकार महेन्द्र चालिसेमाथि दीपक लोहनीले “अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे” शीर्षकमा समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे ।

त्यसैगरी नाति पुस्ताका कथाकार आलोक चालिसेमाथि हरिश कल्पितले तथा विकलकी पनातिनी कथाकार आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले प्रस्तुति दिनुभएकाे थियाे।

कथा साहित्यमा पुस्तान्तरणसँगै कथ्य र सोच्ने शैलीमा आएको परिवर्तनबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो । कथासाहित्यलाई नयाँ ढङ्गले बुझ्ने प्रयासका रूपमा आयोजित यस विमर्श कार्यक्रमले रमेश विकलको साहित्यिक विरासतसँगै समकालीन कथालेखनका प्रवृत्तिहरूलाई पनि उजागर गरेको सहभागीहरूले बताउनुभएकाे थियाे।

कार्यक्रममा सात जना कथाकारहरूले तयार पारेको समीक्षात्मक पुस्तिका हस्तान्तरण गरिएको थियो । साथै कथा यात्रा समूह र रमेश विकल साहित्य प्रतिष्ठानबीच ‘आख्यान मञ्जिरा’ कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको प्रतिष्ठानका सचिव आलोक चालिसेले जानकारी दिनुभयाे ।

ट्याग: रमेश विकल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.