साहित्यपोस्ट डट कम

चार महादेशका साहित्यकारहरूसँग अन्तरसंवाद

चार महादेशका साहित्यकारहरूसँग अन्तरसंवाद

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ विश्वसम्मेलन अमेरिकाको कोलोराडोमा सम्पन्न भएको छ । यही मे २२ देखि २५ सम्म चार दिनसम्म सञ्चालन भएको उक्त ऐतिहासिक सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा तथा अमेरिकाका विभिन्न सहरहरूबाट उल्लेख्य संख्यामा साहित्यकारहरूको सहभागिता रहेको थियो ।

अनेसासको इतिहासमै पहिलोपटक नौ जना पूर्व केन्द्रीय अध्यक्षहरू एकै ठाउँमा जम्मा भएर सम्पन्न भएको यो नै प्रथम कार्यक्रम हो । सम्मेलनमा पूर्व केन्द्रीय अध्यक्षहरू होमनाथ सुवेदी, भीम रेग्मी, पुरू सुवेदी, प्राध्यापक मोहन सिटौला, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, राधेश्याम लेकाली, गोवर्धन पूजा र सर्वज्ञ वाग्लेको उपस्थिति रहेको थियो ।

अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता तथा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा सम्पन्न सम्मेलनको प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्साल हुनुहुन्थ्यो । कार्यक्रममा भारतको प्रतिष्ठित बालसाहित्य एकेडेमी पुरस्कारबाट विभूषित साहित्यकार मिना सुब्बा तथा मदन पुरस्कार विजेता डा. नीलम कार्की ‘निहारिका’ को उपस्थिति रहेको थियो ।

सम्मेलनको मुख्य सत्रका रूपमा ‘विश्वसाहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व’ विषयमा केन्द्रित रहेर विशेष प्यानल छलफल तथा परिचर्चा आयोजना गरिएको थियो । केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको उक्त बहस सत्रमा चार महादेशका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नुभएकाे थियाे ।

विमर्शमा अष्ट्रेलिया महादेशबाट योगी आचार्य राजन, युरोपबाट साहित्यकार माया गुरुङ, एसियाबाट प्रा.डा. पुष्पा शर्मा तथा उत्तर अमेरिकाबाट शिव दाहाल र रेखा जोशी प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्याे ।

बहसका क्रममा विश्वभर छरिएर रहनुभएकाे नेपाली मूलका दोस्रो र तेस्रो पुस्तालाई कसरी नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदासँग जोड्न सकिन्छ भन्ने विषयमा गम्भीर मन्थन भएको थियो । वक्ताहरूले नयाँ पुस्ताले आफ्नो भाषा र संस्कृतिको नेतृत्व नलिनु चिन्ताको विषय भएको बताउँदै, यसो नभए नेपाली पहिचान समुद्रमा हराएको जहाज वा लट्टाईबाट धागो चुँडिएको चङ्गाजस्तै बन्ने खतरा औँल्याउनुभयाे ।

छलफलका क्रममा बालबालिका मात्र नभएर अभिभावकहरूमा समेत नयाँ प्रविधिको अत्यधिक प्रयोगले लागुपदार्थ जस्तै लत र असर पारेको धारणा राखियो । यसबाट बच्न बालबालिकालाई अधिकतम समय खेलकुद तथा रचनात्मक कार्यमा संलग्न गराउनुपर्ने विचार व्यक्त भयो ।

सो अवसरमा योगी आचार्य राजनले फिजीमा रहेका नेपाली मूलका मानिसहरूमा भाषा र संस्कृति पूर्ण रूपमा हराइसकेको अवस्था भेटिएकाले हाल त्यहाँ नेपाली पाठशाला खोलेर स्वयंसेवीहरूमार्फत भाषा सिकाउन थालिएको जानकारी दिनुभयाे । त्यस्तै, प्रा.डा. पुष्पा शर्माले संयुक्त परिवारमा हुर्कने बालबालिकाले भाषा र संस्कृति सहज तरिकाले सिक्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयाे भने माया गुरुङले विभिन्न अतिरिक्त रचनात्मक कार्यक्रमहरूमा जोड्दै लैजान सके बालबालिकाले भाषा सजिलै सिक्ने धारणा राख्नुभयाे ।

प्यानलिस्ट शिव दाहालले भाषा सिक्न दबाब दिने नभई यसको महत्त्व दर्शाएर सिकाउनुपर्नेमा जोड दिँदै भन्नुभयाे, “हामीले नेपाली भाषा सिकाएनौँ भने भाषा लोप हुने होइन, हामी आफैँ लोप हुनेछौँ ।” यसै गरी रेखा जोशीले बालमनोविज्ञानमा कोभिड-१९ पछि देखिएको मानसिक तनाव र यसमा अभिभावकहरूले ध्यान दिनुपर्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयाे ।

नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यले संसारभरका बालबालिकाहरूबीच कविता वाचन तथा वक्तृत्वकला प्रतियोगिता गराइएको थियाे । यसै सिलसिलामा सबै महादेशका १७० जना बालबालिकाहरूको कविता संकलन गरी तयार पारिएको ‘धराका सितारा’ कविता सङ्ग्रह प्रकाशन गरिएको घोषणा गरेकाे थियाे ।

यसका साथै, अष्ट्रेलिया र उत्तर अमेरिकाका ४० जना बालबालिकाहरूले ‘युगकवि सिद्धिचरण’ विषयक वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको जानकारी गराउनुभयाे ।

नेपाली साहित्यको प्रवर्द्धन र डायस्पोराको आवाजलाई मूलधारको सञ्चारमा जोड्ने उद्देश्यका साथ कार्यक्रममा नेपालका प्रतिष्ठित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा लामो समयदेखि नेपाली सञ्चारजगत्मा क्रियाशील दिग्गज पत्रकार तथा सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ ‘रोदन’, बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधिर शर्मा, सन्त बस्नेत, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य, यशोदा तिम्सिना र दीर्घराज उपाध्याय लगायतको उपस्थिति थियो ।

चार दिनसम्म चलेको सम्मेलनले डायस्पोरामा नेपाली भाषा, संस्कृति र विशेष गरी बालसाहित्यको संरक्षणका लागि नयाँ आयाम थपेको सहभागीहरूले निष्कर्ष निकालेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.