पोखराका चर्चित कविहरू ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको संयुक्त प्रयासस्वरूप ‘दामली अक्षर’ नामक मुक्तक सङ्ग्रह हालै प्रकाशित भएको छ । पोखराका जुनसुकै साहित्यिक कार्यक्रमहरूमा पनि उत्साहपूर्वक सहभागी हुने यो दामली समूहले प्रकाशनमा ल्याएको ‘दामली अक्षर’ पोखराका प्रतिनिधिमुलक मुक्तकहरूका रूपमा आएको छ । पोखरा आफैँमा सुन्दरतम् स्थान विशेषका रूपमा विश्वभरी नै ख्याति आर्जन गरेको शहर हो । यस्तो भावमय भूमिमा कवि, कलाकार, साहित्यकार, कथाकार र मुक्तककार नजन्मे अन्यत्र कहाँ जन्मनु ! जसरी प्राकृतिक रूपमा जति सुन्दर छ पोखरा सृजनाका हिसाबले पनि आफूलाई अब्बल प्रमाणित गर्ने प्रयत्नमा अगाडि बढिरहेको छ । यहाँ चर्चा गर्न लागिएको मुक्तक सङ्ग्रह ‘दामली अक्षर’ पनि यसै सिलसिलाको एक महत्त्वपूर्ण पाइला हो भन्ने लाग्दछ ।
चारजना अग्रज स्रष्ठाहरूका छुट्टाछुट्टै शीर्षकमा समेटिएका सृजनामा ईश्वरमणि अधिकारीको ‘ऐँठनमा ईश्वर’ जीवनसागर भण्डारीको ‘गमलामा फूल’ दीपक समीपको ‘पानीमा आगो’ र लक्ष्मण थापाको ‘स्वप्न संसार’ शीर्षकमा ३०/३० वटा मुक्तकहरू रहेका छन् ।
पोखरालाई मुक्तकको उर्वर भूमिका रूपमा लिइन्छ । नेपाली साहित्यकै सन्दर्भमा पहिलो पटक पोखरेली युवा सांस्कृतिक परिवारले ‘टिकटमा मुक्तक’ सुनाउने कार्यक्रम सफलतापूर्वक शुरुआत गरेको थियो र यो परम्परा कायम नै छ ।
मुक्तक स्वतन्त्र विधा हो । थोरै शब्द खर्चेर गहन भावभूमि सृजना गर्दै अन्तिम पङ्क्तिमा गहन अर्थबोधसहित झड्का दिने गरी सृजना गरिएको चतुष्पदीय पङ्क्तिहरूलाई नै मुक्तक मानियो । पहिलो र दोस्रो पङ्क्तिमा तुकबन्दी मिल्नुपर्ने, तेस्रो पङ्क्ति स्वतन्त्र रहने र अन्तिम पङ्क्ति माथिका दुई पङ्क्तिसँग सम्बन्धित रहनुपर्ने यो विधाको मान्यता रहेको छ ।
सबथोक सहन सकिएला सहन गाह्रो त अपमान हो
रिसले आफैँलाई सिध्याउँछ बाबै त्यो त मन्द विषपान हो
यसो भन्छिन् मेरी आमाले सम्झाइरहन्छन् बुढा बाबाले
कसले के गर्यो छोडिदे छोरा, सबभन्दा ठूलो क्षमादान हो !
यहाँ मुक्तककारले थोरै शब्दमा धेरै भन्ने भन्दा पनि धेरै उदाहरणबाट एउटा सत्यलाई उद्घोष गरेका छन् – सबभन्दा ठूलो दान भनेकै क्षमादान हो ।
यही माटोमा केही गर्नु पो गर्नु हो
खुशीको आभा छर्नु पो छर्नु हो
बाँचुञ्जेल बाँच्नु जगत हँसाएर
दुनिया रुने गरी मर्नु पो मर्नु हो !
प्रयुक्त मुक्तकमा सर्जकले जीवनको सार्थकता बारेमा बोलेका छन् । दुईदिनको जिन्दगीमा सधैँ राम्रो गरेर जानुपर्छ भन्ने सन्देश मुक्तकमा दिइएको छ ।
तुहिरहन्छन् जीवनका आशा
जङ्गिरहन्छन् कलिका दुर्वासा
सत्ता र शक्तिको खेल छ यहाँ
पल्टिरहन्छन् शकुनीका पासा ।
यहाँ सर्जकले सरल ढंगले राजनीतिमा हुने विकृतितर्फ सङ्केत गरेका छन् । पोखरामा हुने कार्यक्रमहरूमा वाहवाही बटुल्न सफल भण्डारीका कविता र मुक्तकहरू श्रोता र पाठकहरूद्वारा रुचाइन्छ ।
कतै सन्नाटा छ कतै शोक छ
लाग्छ राजनीतिमै सबथोक छ
भान्सामात्र त हो फेरिएको
मान्छेमा अझै नअघाउने भोक छ !
राजनीतिमा फैलिएको घीनलाग्दो भोकलाई यहाँ थोरै शब्द खर्च गरेर तीखो व्याङ्ग्य प्रस्तुत भएको छ । राजनीतिकर्मीहरूमा रहेको हन्तकाले प्रवृत्ति नै आजको विकृतिको मूलश्रोत हो भन्ने तथ्यलाई मुक्तककारले सुन्दर ढंगले व्यक्त गरेका छन् ।
यो जिन्दगी न बर्बाद छ न आवाद छ
ईश्वरले कहिल्यै भनेन चन्द्रमा बेदाग छ
अनौठो रहेछ तिम्रो सङ्गतको प्रभाव पनि
आजकल फूल छाडेर काँडामा अनुराग छ !
जिन्दगी मध्यम गतिमा हिँडिरहेको अवस्थामा मुक्तककारले चन्द्रमुखीको मुहारमा दाग छ भन्ने सत्यलाई स्वीकार्दै अचेल काँडामा अनुराग भएको कुरा व्यक्त गरेका छन् ।
यसरी ईश्वरमणि आफूलाई निरन्तर परिष्कारको बाटोबाट अगाडि बढाइरहेका छन् ।
प्रस्तुत पुस्तकमा दोस्रो क्रममा रहेका सर्जक जीवनसागर भण्डारीले यसका अतिरिक्त ‘असुरक्षित गुलाब’ नामक मुक्तक सङ्ग्रह प्रकाशित गरेका छन् । जीवनसागर गहिरो काव्यिक चेतना भएका सर्जक हुन् ।
मुक्तक स्रष्टाले भन्न खोजेको कुरा थोरै शब्दमा धेरै भाव आउने गरी अन्तिम पङ्क्तिमार्फत विशेष झड्का सृजना गर्नुपर्ने हुन्छ, जसबाट पाठक र सर्जक दुवै पक्षको धीत मरोस् । नेपाली मुक्तक परम्परामा त अन्तिम पङ्क्तिमा मार हान्ने भन्ने चलन पनि चलाइएको छ, तर साहित्यमा त्यस्तो हिंसात्मक शब्दको प्रयोग उपयुक्त हुन्छ जस्तो लाग्दैन ।
प्रस्तुत मुक्तक सङ्ग्रहका सन्दर्भमा चर्चा गरौँ – मुलतः कवि ईश्वरमणि अधिकारीले आफ्ना कविताहरूमा दर्शनको प्रयोग गर्न रुचाउँछन् । उनका कविता, मुक्तक र यस्तै सृजनाहरूमा जीवन र जगतमा दर्शनको महत्त्वलाई दर्शाएका हुन्छन् । उनका ‘समयको तस्वीर ‘ (कविता सङ्ग्रह), ‘हृदयको आलाप’ (गजल सङ्ग्रह), सम्बोधिका (मुक्तक सङ्ग्रह) र ‘सानो साथी’ (कविता सङ्ग्रह) यस अघि नै प्रकाशित भैसकेका कृतिहरू हुन् । उनले आफ्ना सृजनामा सुन्दर ढङ्गले जीवनका उहापोह प्रस्तुत गर्दछन् । ईश्वरमणिको आफ्नो अध्ययनको विषय त गणित हो । यसै विषयमा विद्यावारिधि गरेका भए पनि उनले आफूलाई एक अब्बल साहित्यकारका रूपमा उभ्याउन सफल भएका छन् ।
मिथ्या सत्यमा टेकेर उत्सव मनाए मान्छेले
हुनुको भ्रम फिँजाएर भएको जनाए मान्छेले
न बोल्छ न बुझ्छ न हिँड्छ न हिँडाउँछ
एकदम झुकेर ढुङ्गालाई ईश्वर बनाए मान्छेले ।
यहाँ मुक्तककारले बारम्बार दोहोर्याएर बोले भने असत्य पनि सत्य हुन जान्छ भन्ने जनविश्वास रहेको छ । त्यही विश्वासमा ढुङ्गालाई ईश्वरको प्रतीक मानेर आफ्नो आस्था प्रकट गर्ने क्रममा ढुङ्गाले पनि ईश्वरको स्थान ग्रहण गर्न पुग्छ भन्ने कुरालाई मुक्तकमा मीठो ढङ्गले व्यक्त गरेका छन् ।
यस्तै अर्का कवि तथा मुक्तककार दीपक समीप पोखरामा हुने साहित्यिक कार्यक्रमहरूमा चालिसकै दशकदेखि सुनिँदै आएका प्रसिद्ध कवि हुन् । दीपकको कलमको साइनो सिधै हृदयसँग गएर जोडिन्छ । मानवीय प्रेम, जीवन र जगतका असङ्गत पक्ष र प्रकृतिको चित्रणमा विशेष खुबी देखाउने समीपले आफूलाई अब्बल साबित गरेका छन् । उनका सृजनाले हृदयको भित्री पाटोलाई च्वास्स छुन्छन् । यस अघि उनका ‘भूगोलभित्र नकोरिएको देश’( गजल सङ्ग्रह), ‘अक्षर अक्षरमा देश’( मुक्तक सङ्ग्रह) र ‘नदीको राजमार्ग ‘(लघुकथा सङ्ग्रह) कृतिहरू प्रकाशित भैसकेका छन् । यस ‘दामली अक्षर’ कृति सङ्ग्रहमा समेटिएका मुक्तकहरूलाई उनले ‘पानीमा आगो’ नाम दिएका छन् ।
दिल उधार्दा पनि मज्जा आउँछ टाल्दा पनि मज्जा आउँछ
यो बैंस घरी पोखाउँदा घरी समाल्दा पनि मज्जा आउँछ
तिमी दियो हौ म तिम्रै वरिपरी घुमिरहने त्यही पुतली हुँ जसलाई जानी जानी दियोमा ज्यान फाल्दा पनि मज्जा आउँछ ।
यहाँ मुक्तककारले उत्सर्जित प्रेमको उदाहरणका लागि पुतलीलाई दियोमा होम्ने मात्र होइन, आफैँ दियोमा होमिन पनि तयार भएर आफ्नो प्रेमप्रतिको समर्पण देखाएका छन् । यही पङ्क्तिबाट थाहा हुन्छ कि उनी हृदयका राजा हुन् ।
तिम्रो तिर्खाको मूल बन्न पाए पनि ठीकै हुन्थ्यो
तिम्रो अन्जान भूल बन्न पाए पनि ठीकै हुन्थ्यो
मलाई बारम्बार मायाले गोडमेल गर्छ्यौ भने
तिम्रो कौसीको फूल बन्न पाए पनि ठीकै हुन्थ्यो ।
राम्रो गोडमेलको प्रबन्ध हुने ग्यारेन्टी भएमा उनी कसैको कौसीको फूल हुन पनि तयार हुन्छन् । यो प्रेमको अनौठो त्याग होइन त !
तोडफोड र आगजनी देख्दा लाग्छ सरिफ त म मात्र रैछु
विगतका आन्दोलन देख्दा लाग्छ वर्वरिक त म मात्र रैछु
हे भगवान त्यत्रा रुपियाँ, डलर र जिन्सी कताबाट आयो ?
नेताका अकुत सम्पत्ति देख्दा लाग्छ गरीब त म मात्र रैछु ।
नेताहरूको नियतमाथि गरिएको यस्तो टिप्पणीबाट दीपक माया र प्रेमका सन्दर्भ मात्र होइन राजनैतिक र सामाजिक चेतनाका दृष्टिबाट पनि उनको सृजना उत्तिकै सचेत छन् भन्ने प्रष्ट हुन्छ ।
वर्णानुक्रमका अर्का दामली स्रष्टा चर्चित साहित्यकार हुन् लक्ष्मण थापा । यिनको सृजनामा दर्शनतर्फको झुकाव छ । समाजको भित्री तहमा रहेका विकृति र कुरीतिहरूलाई सुन्दर ढङ्गले औँल्याएर सुधारको आग्रह यिनका सृजनामा पाइन्छ । यिनका सृजनामा बौद्धिक पक्षको आग्रह रहन्छ । ‘स्वप्न संसार’ शीर्षक दिइएको यस सङ्ग्रहमा समेटिएका मुक्तकका अतिरिक्त ‘मनको मूर्च्छना ‘(गजल सङ्ग्रह), ‘पला-पला’ (गजल सङ्ग्रह), ‘अक्षरहरूको मुर्च्छना’( कविता सङ्ग्रह), ‘पर्खाल बाहिर ‘( मुक्तक सङ्ग्रह) र ‘मान्छे हराएको मान्छे’(लघुकथा सङ्ग्रह)जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । साहित्यकार लक्ष्मण थापाका सृजना अत्यन्त चोटिला, मर्मस्पर्शी र बोधगम्य हुन्छन् । पोखराका प्रायः सबै साहित्यिक कार्यक्रममा उत्साहपूर्वक सहभागी हुने, बहुविधामा कलम चलाउने स्रष्टा यहाँको साहित्यिक समाजमा सबैद्वारा रुचाइएका व्यक्तित्व पनि हुन् ।
पाप होस् या पुण्यको घैँटो एक एक गरी भरिन्छ
त्यही बोकेर ओराली झरिन्छ या उकालो चढिन्छ
अघि विपर्यस्त मार्ग या घोर अँध्यारो किन नहोस्
जीवन न पछाडि फर्कन्छ न कतै टक्क अडिन्छ !
यहाँ मुक्तककारले हिन्दु धर्मको वेदान्तलाई आधार बनाएर मानिसले दुःख सुख या आनन्दको बाटो आफैँ बनाउँदै जान्छ । कर्म अनुसारको फलको अधिकारी ऊ आफैँ बनाउँदै जान्छ । कर्म अनुसारको फलको अधिकारी ऊ स्वयं हो । जीवन यात्रामा विपरित मार्ग चुनोस्, जीवनको गतिशीलतालाई कसैले रोक्न सक्दैन भन्ने भाव माथिको मुक्तकबाट आएको छ ।
यसका अतिरिक्त आफ्ना सृजनाहरूमा समाजमा रहेका विकृति र विसङ्गतिलाई कलमरूपी तीक्ष्णवाण प्रहार गर्न साह्रै सिपालु छन् ।
जाँड भित्र पसेपछि विद्वताले गति लिएको छ
एक पाइला बढूँ कि भनि चरणामृत पिएको छ
‘न्यु इयर पार्टी’मा टिल्ल वेदव्यास उवाच
हाम्रो राष्ट्रियता टाईको चुप्पोमा झुण्डिएको छ !
जाँडको घुट्कीसँगै विद्वताको रफ्तार बढ्नु र अगाडि बढ्नका लागि चरणामृत सेवन गर्नु आजको फेसन भएको छ । वेदव्यास उवाच भन्ने पण्डित मानसिकता पनि परिआउँदा ‘न्यु इयर पार्टी’मा टिल्ल पर्नु समाजको दह्रै विकृति हो र अझ घतलाग्दो कुरा त हामीभित्र मौलाएको विदेशीहरूको नक्कले समाजको अक्कल नै बिग्रेको कुरा बडो चोटिलो ढङ्गले प्रस्तुत मुक्तकमा व्यक्त गरिएको छ ।
यस्तै अर्को व्याङ्ग्यको उदाहरण लिऊँ-
हुन त म अहिले यसै पनि बेकार छु
तैपनि म जिन्दगीप्रति आभार छु
आऊ ! ठग ! ए ! ठगी खान पल्केकाहरू
म अझै पनि ठगिनका लागि तयार छु !
यहाँ सर्जकले ठगी खान पल्केकाहरूलाई निमुखाहरूका तर्फबाट अझै सकेको ठगी गर भनेर आह्वान गरेका छन् । यो वर्तमानप्रति गरिएको मीठो व्यङ्ग्य हो ।
यी र यस्तै मीठा मुक्तकहरूको सङ्ग्रह ‘दामली अक्षर’ पठनीय पुस्तकको रूपमा दरिएको छ । कुशल कलाकार एवं कवि रमेश श्रेष्ठद्वारा सृजना गरिएको सुन्दर अमूर्तकला मुखपृष्ठ रहेको चार दामलीहरूको प्रयासमा प्रकाशनमा आएको पुस्तक मित्रताको एउटा राम्रो उदाहरण पनि हो ।

