भद्रपुर । झापाली काव्यजगतका चर्चित स्रष्टा प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम चन्द्रगढीमा सम्पन्न भएको छ ।
वर्तमान साहित्य प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका–१०, चन्द्रगढीस्थित वडा कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि बुढाथोकीले आफ्नो कवितासङ्ग्रह ‘भुइँकुहिरो’मा सङ्गृहीत छ वटा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सहप्राध्यापक चूडामणि वाशिष्ठले कवि बुढाथोकीको कृतित्व र कवित्वबारे समीक्षा प्रस्तुत गर्दै उहाँका कवितामा राष्ट्रप्रेम, मानवीय संवेदना, सामाजिक विकृति–विसङ्गतिप्रतिको व्यङ्ग्य तथा सामाजिक सदाचारको अपेक्षा सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो ।
प्रतिष्ठानका सचिव महेन्द्र कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य गोपाल शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कवि विरही अधिकारी, आरती पोखरेल, उषा गुरुङ, दयानन्द गोस्वामी, प्राज्ञ हरिप्रसाद पौडेल तथा मारवाडी भाषाका कवि सत्यनारायण तायलले रचना वाचन गर्नुभएको थियो । बालप्रतिभा प्रविन निरौलाले लोक तथा आधुनिक भाकाका गीत प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा प्रा. डा. गङ्गाप्रसाद अधिकारी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष श्रीमनारायण पौडेल, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे तथा भद्रपुर नगर कला, साहित्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्राज्ञ हरिप्रसाद पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा साहित्यकार धनकुटे कान्छाले कवि बुढाथोकीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँ २०३० को दशकदेखि नेपाली कविता क्षेत्रमा सक्रिय रहेको तथा साहित्यसँगै सामाजिक जागरण र सेवाका क्षेत्रमा पनि योगदान पुर्याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा झापाका विभिन्न स्थानका साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

