कवि चन्द्र मादेन ‘आन्छन्’ को ‘हङकङ सहर’ले जाँगर र उत्साह अवश्य भर्छ । शहरको झिलिमिलीभन्दा आफ्नै निर्जन गाउँलाई श्रेष्ठ छ भन्ने अभिव्यक्तिमा कवि मनोवैज्ञानिक र वस्तुगत सत्यता दिन्छन् ।
हङकङको चमत्कारिक आकर्षणमा दुनियाँ र आफ्ना लाटिए पनि कवि मादेन नलाटिनु आश्चर्य लाग्छ । किन्तु सचेत मनका लागि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ ले भन्ने भाव छुन्छ । मादेनलाई पनि यस्तै मनोदशाले राष्ट्रबोध र जातीय स्वाभिमानको उद्गार भर्न उद्वेलित पार्छ ।
बच्चाहरूलाई एकातिर वैभवको घेरामा अल्झाइदिने र आफू चाहिँ रङ्गीन रातका नगरवधूहरुको संगतमा पुगेर नौला सुन्दर सपना गुमाएर विचलित हुनेहरूको चर्चा देखेर कवि स्तब्ध हुन्छन् । लाग्छ कवि आफ्नो सामाजिक, पारिवारिक नीति र मर्यादाले अविचल छन् । गणिका सेवनलाई उनी असल ठान्दैनन् । किन्तु इतिहासमा राजाहरु स्वयं गणिका परिचालन गर्थे, देवलोक वा इन्द्रासन स्वर्वेश्या (अप्सरालाई स्वर्गकी वेश्या भनिन्छ) द्वारा सुरक्षित गराइन् । अनि हङकङको अप्सराक्रीडा निन्दाजनक हुन्थ्यो किन !
क्षमा माग्दै यो कुरा उल्लेख गर्छु – किरातबालाहरु अनेक पटक विवाह गर्न सक्छन् तिनको मन पनि तन पनि चोखै हुन्छ । त्यहाँ कुनै प्रश्न र शंसय रहँदैन । यो सन्दर्भ अव्याप्तिमा जाँदैन । त्यहाँ सधैं सम्मान र समान भाव रहन्छ । आश्चर्य, अप्रिय र आलोचनाको विषय बन्दैन र त्यो अपाच्य पनि हुँदैन । किन्तु कवितामा उल्लेख भएको सन्दर्भलाई तुलना गर्न मिल्दैन ।
कवि मादेन अत्यन्त सचेत र युगबोध भएकै कारणले होला आलोचनात्मक दृष्टिकोण राख्तछन् । यो अन्यतम पक्ष हो । व्यवहार, ज्ञान र अमङ्गलबाट जोगिन साहित्यले प्रेरित गर्छ भन्ने मान्यता पनि छ र अपेक्षा पनि रहन्छ । यदि एउटा यौवनस्थ कवि नीति र सिद्धान्तका कुरा गर्छ र समाजलाई पतनबाट जोगाउन खोज्छ भने यसमा प्रश्न बन्दैन !
महानगरको एक चित्र हो हङकङ । यस्ता अनेक चित्र आउन सक्छन् पर्खौं । समाज, परिवार र संस्कृतिका दृष्टिले कविता उदेक लाग्दो छ – बाजे वा तुम्बा पुस्ताका लागि । यो स्थिति आज सबैतिर र शहरहरुमा देखिएला । सुरा, सुन्दरी, जुवा र अपव्ययको गाथा पुरानै हो ।
आलोचना गर्नु अब अमानव मानिन सक्छ । घर–परिवारभित्रै पनि कति कुरा नसुने जस्तो गर्नु पर्छ, कति दृश्य नदेखे जस्तो गर्नु पर्छ । यो चल्दै रहने प्रक्रिया हो । ठाउँ समय, वर्ग, व्यक्ति र आवश्यकता अनुसार हुने र गराउने खेल हुन् । सन्दर्भ स्तुत्य छ ।
यस कविताको कथ्यमा जुन तुलनात्मक दृथ्यहरू आएका छन् ती महत्वका छन् । प्रेरक पनि छन् । नौलो विधि प्रतीत हुन्छ, त्यसैले सिला खोजे मात्र यो विधि भेटिन्छ भन्नु पर्छ ।
यो कविता ठूलो क्यानभासमा मूर्त गरिएको सानो पैंटिङ हो (चित्र) । आँखा तिर्मिराउँछन्, मन चल्मलाउँछ । तरङ्गमा लेखिएको कविता होइन यो । रुचिका साथ जाँगर भरेर लेखिएको यो कविता संचेतनाको द्योतक पनि हो ।
यस प्रसंगमा भन्नै पर्ने कुरा छ, म आफैँ जोडिएको छु । दुई भिन्न मुलुकको साहित्यमाथि तुलनात्मक अध्ययन गर्दा म प्रोफेसर यदुनाथ खनालसँग परामर्श लिन जान्थें । एक प्रसङ्गमा उहाँले भनुभयो– ‘आफ्नो पक्षको उचाइ प्रमाणित गर्न अर्को पक्षलाई होच्याइरहनु पर्दैन । त्यो वाञ्छनीय वा शोभाकर हुँदैन ।’
कवि चन्द्र मादेनले हङकङको रात्रिवेलाको खेल र मनोरञ्जनको सन्दर्भलाई आलोचना गरेका छन् । यो पक्ष स्वस्थकर मानिंदैन कि ! त्यो अर्काको व्यापार–संस्कृति र मनोविनोद हो । आफूले भाग नलिए हुन्छ ।
अर्कोः क्रिसमसको सन्दर्भमा गरिएको सजावट र कृत्रिम वृक्ष (वनस्पति) को उपस्थितिलाई कविले आलोचनात्मक नजरले हेरेका छन् । यो पक्ष वा यो पद्धति तुलनीय छ, तर साहित्यको पक्षबाट सुपाच्य वा स्वस्थ मानिंदैन । अर्काको धर्म र संस्कृतिमाथि आलोचना गर्नु वा आक्रामक देखिनु कवि कर्म होइन । ज्ञानीहरु अज्ञानीको आलोचनालाई फिर्ता गर्दैनन् प्रतिकार जनाउँदैनन्, बरु पन्सिन्छन् । म उदाहरण दिन्छु–
एउटाले अर्कोलाई भन्यो – ‘तेरी आमा गाई, तेरो बाबु गोरु, तँ गुहू खा, मुत चाट ।’ तर गाली खानेले मुख फर्काएन । किन फर्काएन ? डरले हो ? अज्ञानले हो ? एक, सुन्ने मान्छे त्यसैमा आनन्द मान्छ, किनकि एउटाको ज्ञानको उचाई बुझेर । अर्को मौन रहन्छ । बरु उसले उबाट धेरै कुरा सिकिरहेको हुन्छ । त्यसैले आफूलाई श्रेष्ठ देखाउन अर्कालाई होच्याउनुको औचित्य सिध्द हुँदैन । मैले प्रोफेसर यदुनाथ खनालको चिन्तनको यस झिल्कालाई वितरण गर्नु समीचीन ठानें सन्दर्भ हेरेर ।
कविताले छुन्छ । दृष्टिकोण राम्रो छ । शैलीमा प्रवाह छ । अनुच्छेद निर्माणमा औचित्य छ । सादृश्य विधान पनि मार्मिक छ । फेरि पनि सन्तुलन आवश्यक छ । भाषा मीठो । मत्वाली वर्गको अभिव्यक्तिको विधि र साङ्गीतिक स्पर्श मनोहर छ । यो कवितामा सांस्कृतिक सुवास छ ।
कलम चल्दै रहोस् । कविता पढ्न पाउँदै रहुँ । नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघको २०७२ को प्रकाशनमा परेका थप झिल्काहरूको श्रृङ्खला अझै केही बाँकी छ ।
हङकङ सहर !
– चन्द्र मादेन ‘आन्छन्’
आफ्नो प्यारो मातृभूमि सुन्दर देश
नेपाल आमा छोडेर यो कृत्रिम सहर परदेश
पाहुनाको रूपमा आएरै होला
मझेरिमा घरदेशकै विम्ब
अमिट छाप हुँदो रहेछ
शान्ति सुरक्षा र प्रजातन्त्रको
खोक्रो प्रचार गरेर विश्वलाई किञ्चित
गुमराहमा हाल्ने यो हङकङ
हिजोभन्दा आज, आजभन्दा भोलि
पुँजीवादी मालिक
चौगुना धनको डङ्गुरमा रमाइ रहेका
आफ्नै बालबचेरालाई बेवास्ता गरेर
मध्य रङ्गीन रातमा
यौन पिपासुको पर्खाइमा
चलायमान हुने अर्धनग्न गणिकाहरू
चिट्ठा र घोडा दौडमा
जितका अभिलाषी सपना गुमाएका
शिथिल, बेचैन र निराहरको यो सहर
आफ्नै परिवार र सन्तानदेखि अपहेलित
आसक्त र शरीर लिएर कुसमयसम्म
फोहोरको थोत्रा पुन्तेरा पोकाहरू ओसारि रहने
निरीह वृद्ध रोगी आमाहरू
नित्यदिन एक डोको ज्यादा निन्द्रादेवी बोक्ने मजदुरहरू
भोकको ढाकरलाई अंगोराले छोप्न प्रयत्न गर्ने मजदुरहरू
नितान्त स्वार्थको खातिर अरूलाई बेवास्ता गर्दै
उत्सर्गको होडमा चुलि रहेको यो सहर,
यो कङ्क्रिटको सहरमा
अरनिकोले चित्र कोरेझै सुन्दर
अनकन्टार आकासिएका गगनचुम्बी महलहरू
कान्लै कान्लाका खेतका
गरा झैँ यातायातका रहर लाग्दा बाटाहरू
इन्द्रलोक झै अजङ्गका मनमोहक पुलहरू
मलाई मिथ्या र वमन लाग्छ
म ठोकुवा गरेर भन्छु
मेरो गाउँको गोरेटो, गल्ली, सियाँल,
कुलेसो र चिप्लेटी ढुङ्गा भन्दा
प्यारो कदापि छैन
यो सहरमा लाली पाउडर धसिएका
कृत्रिम बडेमान विरुवा र रुखहरू
क्षणिक समयका लागि इसाई पर्वमा
धूपीका किशोर रुखहरूलाई फजुल खर्च गरी
सिँगारिएका बहुरङ्गी झिल्के बत्तीहरू
उपलब्धविहीन महत्त्वहीन लाग्ने
आकाशमा करोडौँको बारुद उडाउने
कथित फाइर वर्कको मिथ्या लाग्ने
कृत्रिम खेलहरू, मेरो गाउँ निर्जन भए पनि
म ठोकुवा गरेर दाबीका साथ भन्छु
मेरो गाउँको सल्ला, चिराइतो,
उत्तिस, कटुस र लब्सिको बोटभन्दा मनमोहक कदापि छैन
यो कृत्रिम सहरको अभ्यस्त
अत्यासलाग्दा बग्रेल्तीहरू देख्दा
घृणाको तलाउबाट बयेलीहरू सुसाउँछन्
आँसुको बिटोले अनुहार नुहाउँछ
मानसपटलमा अनास्थाका क्याक्टसहरूले
डेरा जमाउँछन् !!!

