चम्चाले गम्छा भिरेको दृश्य अनौठो छ । चम्चापनि निर्जीव वस्तु । गम्छापनि निर्जीव वस्तु । तर, यी सजीव साकार स्वरुपमा सलबल सलबल गरेको दृश्यले मनमा एक खलबल चलिरहेछ । त्यही खलबल पोख्न तुलबुल बनिरहेछु । हुन पनि हो, चम्चाका गम्छाको चकाचौँध चल्तीफिर्ती चलिरहेको याम छ । यिनका आङमा यतिखेर चुनावी आकाशबाट खसेको घुर्मैलो घाम छ । चम्चाका मुखभरि चौरासी व्यञ्जनको सुस्वादु माम छ । चम्चाविना भड्डु–भाँडो र खड्कुलासम्म पुग्ने बाटो जाम छ । अरु कामविहीन छन् तर चम्चा महोदयहरूलाई मनचिन्त्य कामैकाम छ ।
चम्चा एक निष्प्राण वस्तु । यो फलाम, सिलिबर, स्टील, स्पात, निक्कल, कोबाल्ट, तामा, पित्तल के के जाति धातुबाट बन्दो हो । हुन त अहिले काठ, प्लाष्टिक, बाँसका चम्चा पनि चल्तीमा आइरहेछन् । सुन्छु– सभ्रान्त कुलीन परिवारमा त सुनचाँदीका चम्चाले भुजा ज्यूनार गर्ने चलनै हुन्छ ।
यसो हेर्दा चम्चाको काम विशिष्ट भन्दा पनि सामान्य सहयोगी भूमिकाको छ । यसले थाल बटुकामा पस्केको खाद्यपदार्थ मुखसम्म पुर्याउन एक साधनको काम गर्छ । त्यसैले यो खाना मुखसम्म पुर्याउने एक औजार हो, एक उपकरण हो, एक गोठालो हो । जसको आकार अण्डाकार छ । थोरै खोपिल्टे अनुहारमा थेप्चिएर यसले आफ्नो छुट्टै स्वरूप देखाएको छ । यो न त डाडु या कर्कली जस्तो छ, न यो पुन्यु या दाबिलो जस्तो छ ।
तर, म अहिले धातु या प्लाष्टिकको चम्चाको बखान गर्न गैरहेको छुइनँ । चम्चा आकारका, चम्चा स्वरुपका, चम्चा जस्तै गुणधर्म बोकेका चम्चे मनुवाको वालको खाल उतार्न लागिरहेको छु । किनभने गाउँशहर जताततै चम्चाको ताहुरमाहुर बढेको दृश्यले चकितचकित छु । यिनका बेढङ्गे विरुप नाङ्गो नाच देख्ता थकितथकित छु । नाथे नितान्त निर्जिव छेस्के स्वरुपको चम्चे मनुवाले दुई खुट्टा टेकेर मान्छेको खड्कुलो रित्याउन महारथ हासिल गरिसक्यो ।
मान्छे चम्चामा अनुदित भएको दृश्य कत्ति विद्रुप छ ! कत्ति विसङ्गत छ ! हेर्दाहेर्दै एउटा चम्चाको मात्र हो र ! समाजका सकल चम्चाका शरीरबाट एकएक थान टाउका पलाए । एकएक जोर खुट्टाहरू पलाए । पेट र हात पलाए । चम्चाद्वारा निर्मित चम्चे मनुवाका विषयमा कुरा गर्दा चम्चेका सजाति अनेक स्वरुपका मनुवाको लर्को देख्दैछु । ती निर्जीव निष्प्राण एक वस्तुबाट मानवीकरण भएका नाम हुन् । दृष्टान्तका रुपमा झोलाबाट झोले मनुवा बन्यो । डोलाबाट डोले मनुवा बन्यो । छाताबाट छाते बन्यो । हुक्काबाट हुक्के बन्यो । बैठकबाट बैठके बन्यो । हले कोदालेदेखि ढाक्रेसम्म चमर हम्कने चमरेदेखि झण्डे डण्डेसम्मका नामका कोटी एकएकओटा वस्तुका गुणधर्मबाट निसृत नाम हुन् जुन कुनै नकार तत्त्वसित गाँसिएका छन् । कुनै सकार तत्वसित गाँसिएका छन् ।
उहिल्यै राणाजीको पालामा तिनका हुक्का बोक्ने र हुक्का भर्ने हुक्केहरूको जति चल्तीफिर्ती हुन्थ्यो, अहिलेका छोटे महाराजका चम्चाहरूको त्यतिनै चल्तीफिर्ती चलेको देखिन्छ । उहिलेका छाते डोले चमरेहरूको जति बजारभाउ र चकचकी थियो, त्यही चकचकी अहिले झोले, झण्डे र चम्चेहरूले मच्चाइरहेका छन् । जब झोले, झण्डे र चम्चेको चकचकी मच्चिन्छ तब आफ्नो बारी खनी खोस्री खाने हले, कोदाले र ढाक्रेको भाग्यमा ढक्कन लाग्दै आएको दृश्य यहाँ सजीव छ । उनीहरूको पीर व्यथा वेदना कसले सुनिदिने !
चम्चाको एउटा सनातनी स्वभाव छ अरे– कुनै पनि खाद्यपदार्थ राखेको भाँडोमा मुन्टो गाड्नु र कालान्तरमा त्यस भाँडोलाई रित्तो बनाइदिनु । यसले थालमा मुन्टो गाड्यो कि थालको भात रित्याइदिन्छ । बटुको, डबका, रिकापी र कचौरीमा पस्न भ्यायो भने ठोस तरल जे होस् छिनमा खँलास् पारिदिन्छ । ठिक यसै सदृश्यमा मानव आकृतिका चम्चेहरूले आफ्ना मालिकका भाँडो देखि भकारीसम्म रित्याउन न्वारानदेखि बल झिकिरहेका हुन्छन् ।
चम्चाको च ध्वनिसित औधी गहिरो नाता छ । त्यसैले त चम्चाले मालिक रिझाउन समयक्रममा चाकरी चाप्लुसीको अनुपम कला सिक्यो । चुक्ली चेपारेपनको अनौठो बान्की झिक्यो । ख्वामित खुशी राख्न चाटुकारिताको अद्भुत कौशल कमायो । आफ्ना महामहिमलाई वशमा राख्न चित्तमा चेपारे कला जड्यो । उसको दिलदिमाग रनभुल्ल पार्न छालामा छेपारे कला धड्यो । चोचोमोचो गाँस्ने कुरामा आफ्नो अद्भूत अब्बल प्रस्तुतिका लागि ऊ सिपालु बन्यो ।
हिजो एउटा चम्चाले हेर्दाहेर्दै आफ्नो नेताको खल्ती रित्यायो । अर्को चम्चाले भान्साको भात बुत्यायो । चम्चाको कामै भाँडामा पाकेको जेसुकै चिज होस् रित्याउने । चम्चाले दराजमा रहेको लुगाको खातपनि रित्याउँछ । उसको जातपनि रित्याउँछ । हुँदाहुँदा दिमागको बुद्धि रित्याउँछ । उसको चेतना र शुद्धी रित्याउँछ । भाँडो रित्याउने कला चम्चेले चम्चाबाट अवदान स्वरुप आयात गरेको हुँदो हो । तर, हर भाँडोले बुझ्नुपर्छ, आफ्नो पेट उधिन्न आउने चम्चादेखि सावधान सतर्क रहनैपर्छ । आफ्नो मुखमा कसैलाई छिर्न नदिन बिर्को कस्नैपर्छ ।
अहिले चम्चाहरू गम्छा भिरेर बस्ती छिरेको कुरा ताज्जुब लाग्दो छ । गम्छा बहुउपयोगी कपडाको एक धरो हो, जुन मान्छेले घाँटीमा बेर्न पनि सक्छ, स्नानपछि यसलाई प्रयोग गरी कट्टु फेर्न पनि सक्छ । टाउकामा फेटा कस्न सक्छ । यसलाई ओछ्याइ चिसो भुइँमा बस्न सक्छ । मुख पुछ्न देखि कछाड कस्नसम्म गम्छाको प्रयोग सनातन कालदेखि गरिँदै आइएको छ । यसको थप प्रयोजन आजभोलि लोकसामु आफू चिनाउने झण्डी पनि बन्दछ यो । पाटी पहिचानको निशानी पनि बन्दछ यो ।
अहिले जसरी चम्चाले अर्थ विस्तार पाएर मानव स्वरुप धारण गरेको छ, त्यसरी नै गम्छाले पनि अर्थ विस्तारको बाटो पक्रेको छ । अब गम्छा कपडाको केवल मुख पुछ्ने टालोमात्र रहेन । यो आजको मान्छेको परिचयको साधन बन्यो । पहिचानको निशान बन्यो ।
अब शब्दमा बोलेर होइन, गम्छाको रङ र बान्कीमा मान्छे चिन्ने जमाना आयो । गम्छा हेरेर मान्छे जोगी हो कि भोगी हो ? पर्गेल्ने समय आयो । ऊ नेगी हो कि सहयोगी हो ? छुट्याउने जमाना आयो । मान्छे शाहीतन्त्री हो कि गणतन्त्री हो ? यसैबाट चिन्ने समय आयो । ऊ गान्धीपन्थी हो कि गोड्सेको जन्ती हो ? अन्दाजा लाउने समय आयो ।
तपाईंलाई अचेल चम्चाले गम्छा भिरेको कुरा अनौठो लाग्ला । यदि त्यस्तो दृश्य देख्नु भएको छैन भने मेरो कुरामा अवश्य पत्यार हुने छैन तर म देखिरहेको छु अहिले हर चम्चाका गलामा थरिथरिका गम्छा बेरिएका छन् । कुनै चम्चेका गर्दनमा रातोपाटीका रातो गम्छा छन् । कुनै चम्चेका गर्दनमा सेतोपाटीका गम्छा छन् । यसरी गम्छा भिरेपछि जुन पाटीको गम्छा भिर्छ त्यही पाटीको दानापानी खाएर नेताको जयगानमा हिँड्छ ।
चम्चे भाँडो रित्याउन औधी सिपालु छ । केही दिन सेतेको गम्छा धारण गरी उसको अलखगान गाउँछ र उसलाई केही दिनमा बुटीटाट पारेर रातेको दैलामा बसाइँ सर्छ । अर्को दिन चम्चाले रातेको कचौरा रित्याउँछ र निलो, पँहेलो या हरियो पाटीको आँगनमा अवतरण लिन्छ । ख्वामितको मन जित्न काँधमा सोही रङका गम्छा भिर्न भने कदापी छुटाउँदैन । अचम्मको कुरा छ चम्चाका झोलामा सातै रङका गम्छा छन् । जुन पाटीका दैला टेक्छ त्यै पाटीका गम्छा भिर्नु उसको सनातनी स्वभाव हो ।
चम्चाले गम्छा भिर्नु मालिकको आँखामा फुलो पार्ने एक कला हो । खँड्कुलाको खान्की धुलो पार्ने एक कला हो । चम्चाको बाहिरी स्वरुप जेजस्तो देखाएपनि मूल काम र मूल उद्देश्य भनेको जोसुकैको जहाँसुकैको भाँडोमा घुस्नु र भोजन चुस्नु हो र आखिरमा भाँडो रित्तो पार्नु हो ।
समयको चाल बुझ्न औधी माहिर हुन्छ चम्चे । स्थितिको आङ्कलन गर्न रत्तिभर चुक्दैन चम्चे । समयको धड्कन छामेर उसले चाल फेर्छ । चम्चेले हावाको तालमा नाम फेर्छ । आफ्नो आराध्य नायक फेर्छ । गायक फेर्छ । नत्र किन आज चतुरेपार्टीमा चुरीफुरी गरिरहेको चम्चा भोलि बतुरे पार्टीमा बुरुकबुरुक उफ्रिरहेको हुन्छ । यो महिना पतिङ्गर पार्टीमा पात बनेर उडिरहेको चम्चा अर्को महिना झटिङ्गर पार्टीको भुत्लो बनेर टाँस्सिरहेको हुन्छ ।
तपाईंलाई खसोखास भनूँ– आजका चम्चा दाहिनेबाट देब्रे कोल्टे फर्किन बेर लाउन सक्छन् तर काँधको गम्छा फेर्न कुनै आइतबार पर्खिदैनन् । मौसम विज्ञानको भाषा बुझ्न सिपालु हुन्छन् । आफ्नो हित र स्वार्थ अनुकूल यिनले छिनमा झण्डा फेर्न सक्छन् । छिनमा डण्डा फेर्न सक्छन् । पार्टी फेर्न सक्छन् । नारा फेर्न सक्छन् । गीत फेर्न सक्छन् । मित फेर्न सक्छन् । नाता फेर्न सक्छन् । छाता फेर्न सक्छन् । मित्र फेर्न सक्छन् ताकपरे पित्र फेर्न सक्छन् । त्यसैले आजभोलि काँधमा बहुरङ्गी गम्छा भिरी आउने चम्चादेखि सावधान रहनु नै बेस होला ।

