गत ५ अप्रीलमा तक्पा ग्यालरीमा खोर्लो ( Khorlo) नामक सामूहिक कला प्रदर्शनीको शुभारम्भ भयो । खोर्लो भनेको चाहिँ तीब्बतीयन नाम हो । जसको अर्थ चक्र भन्ने हुन्छ । चक्र आफैँ स्वस्फूर्त घुमिबस्छ । यो यसको प्रकृति नै हो । एउटै अवस्थामा नबसी घुमिबस्दा यस्ले निरन्तराताको बोध हुन्छ । अनि एउटा अवस्थादेखि अर्को अवस्थाबीच गहिरो सम्बन्ध स्थापित गरी अन्तरनिर्भरताको आभास हुन्छ । स्वभावतः यो यसको स्वाभाव पनि हो ।
अझ अर्को अर्थमा प्रकृतिले बनाएको आफ्नो खास पहिचानलाई पनि यसले उद्घाटित गर्दछ । जस्तो कि चक्र घुमे झैँ एकपछि एक हुँदै मौसम परिवर्तन भइरहनुलाई मौसमको प्राकृतिक साइकलकै रूपमा पनि हेर्न सकिन्छ । अर्थात यसो हुनु यसैको पर्यायवाचीको अर्थमा पनि यस्लाई लिएको देखिन्छ । जस्लाई चक्र घुमे जस्तो पारामा घुमिबस्नुको अर्थमा यो कला प्रदर्शनीको थीम हुँदा पनि यहाँ प्रदर्शित कलाहरू यसैमा आधारित भएर बन्न पुगेका छन् । यसर्थ पनि यी कलाहरू जीवनचक्रमा आबद्ध भएका देखिन्छन् । यो कला प्रदर्शनी चाहिँ मेको २ तारिखसम्म रहनेछ ।
तेञ्जीन गुर्मेले (Tenzin Gyurmey) क्युरेटिङ्ग गरेको यो कला प्रदर्शनीमा मूलतः दुईजना महिला र दुईजना पुरुष कलाकारहरू छन् । चारजना कलाकारमा चोनी डोल्मा, (Choenyi Dolma) तासी ड्रुकेसाङ्ग, (Tashi Druketsang) तासी नाइमा, (Tashi nyima) तेन्जीन मिलाक (Tenzin Melak) छन् । यी सबै कलाकार तिब्बतीयन नै हुन् । तर अहिले भारतमा बस्दै आएका छन् । तिब्बतमा जन्मेर हुर्केका यी कलाकार भारत हुँदै नेपालसम्म आइपुग्दा पनि आफ्ना ऐतिहासिक परम्परासँगै भारत र नेपालका सन्दर्भहरूसँग जोडिएका देखिन्छन् । आफ्नो परम्परालाई नछाडी अगाडि बढेका यी कलाकारहरूले पश्चिमी कला–अंकन पद्धतिलाई आत्मसात् गरेपछि विश्व समसामयिक कलाका विशेषताहरू पनि उनीहरूका कलाकृतिमा समाहित भएका देखिन्छन् ।
तइतिहास, आफ्नो परम्परामाथिको आस्था अनि सांस्कृतिक सम्झनाहरूलाई सम्हाल्दै कलामा अभ्यास गर्दै गरेका यी कलाहरू यसकारण पनि अर्थपूर्ण रूपमा यहाँ प्रदर्शनमा छन् । हरेकजसोको कलामा बौद्ध धर्मको प्रतिबिम्ब देखिन्छ । व्यक्तिगत सम्झनाहरू अनि आफ्नो निजी पहिचानहरूलाई स्थापित गर्न पनि प्रयत्नशील रहेको देखिन्छ । अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ परम्परा र आधुनिकतालाई फ्युजनको रूपमा प्रस्तुत गर्नु यी कलाहरूको मुख्य विशेषता देखिन्छ ।
कलाहरू अब्बल छन् । अब्बल देखिनुमा दुई–तीन वटा कुराहरूले असर गरेको देखिन्छ । एउटामा कलासिर्जको माध्यममा कलाकारहरूले विशेष रूपमा जोड दिएको देखिन्छ । प्रयोगात्मक रूपमा भए पनि नयाँ अंकन पद्धतिलाई प्रयोग गर्न खोजेका छन् । अर्को चाहिँ मानव–जीवनलाई यी कलाहरूले नजिकबाट छोएको छ । विशेष गरेर तिब्बती समाजमा गरिने क्रियाकलापलाई आफ्नो चित्रपटमा ओराल्ने गहिरो प्रकारले जमर्को गरेको देखिन्छ ।
माध्यमको सन्दर्भमा अनौठो पाराले कोलाजको प्रयोग भएको छ । कोलाज र एम्ब्रोइडरी आकर्षक माध्यममा खेल्नु नै यी कलाहरूको मूल विषय बन्न गएको देखिन्छ । यसका साथै वाइल पेस्टलको अनि उनका मोटामोटा धागाहरूले बनाएको कलाहरू (गँलैचा जस्तो) विशेष रूपमा प्रयोग हुनुले पनि यसलाई अरू कलाहरूभन्दा नितान्त फरक ढङ्गबाट प्रस्तुत गरिएको देखिन्छ । तिब्बतीयन परम्परागत रीति–रिवाज, परम्परा अनि धर्मलाई समेत समेटिनुले पनि यी कलाहरू खास देखा परेका छन् ।
तासी नइमा
तासी नइमाले ह्यूमन फिगरलाई गहकिलो पात्रको रूपमा रोजेका छन् । कसिला रेखाहरूले बनेका यी मानवीय शरीरहरूले चित्रपटको सबैजसो भागलाई समेटेर भाव–अभिव्यञ्जना अनि विचारलाई यथेष्ट न्याय गरिरहेको देखिन्छ । एक्रेलिकमाथि चहकिला वाइल पेस्टलले चलखेल गरिबस्दा एउटा छुट्टै प्रभाव दिएको देखिन्छ । यसरी ह्यूमन फिगरलाई केन्द्र बनाएर बनाइएका उनका तीनवटा कामहरू प्रदर्शनमा छन् । हिडेन टेल्स नामक सिरीजमा बनेका यी चित्रहरूमा एउटा चित्रमा परम्परागत भेषभूषामा मानेहरू (स्तुपा वा गुम्बाहरूमा राखिने मानेहरू) घुमाउँदै एउटा मान्छे अगाडि घुम्दै गरेको देखिन्छ । मठमन्दिर त्यहाँ केही देखिन्न । तथापि आध्यात्मिक सुगन्ध यथेष्ट मात्रामा महसूस गर्न सकिन्छ । अनि पृष्ठभूमिमा थाङ्का चित्रका कैयौँ प्रतीकात्मक बिम्बहरू मोटिफको रूपमा चलबलाइरहेका देखिन्छन् । त्यहाँ डाँडाकाँडा, बादल अनि पहाडका चुचुरादेखि अथाह सागर पनि देखिन्छ । तथापि प्रतीकात्मक बिम्बको रूपमा देखिँदा भावकले यसलाई अनौठो स्वादको रूपमा ग्रहण गरिरहेको देखिन्छ ।
अर्को चित्रमा घुमाउने कुर्सीमाथि एउटा मान्छे ध्यान गरिरहेका देखिन्छन् । चप्पल तल फुकालेर असजिलो हुने गरी त्यो सानो स्पेसमा पलेटिमारेर बसेको त्यो मानव कस्तो गरी ध्यान गरिरहेको होला । सर्वथा कौतूहलको विषय लाग्छ । आफैँ स्थिर हुन नसक्ने यस्ता कुर्सीमाथि कसरी ध्यान सम्भव हुन्छ । यो आफैमा व्यङ्ग्यात्मक प्रहार पनि हो । यो अलिकता आधुनिक पाराको ध्यान पनि हो ।
ध्यान आफै चाहिँ बौद्ध धर्मको एउटा यो विशेष कर्म हो । मन शान्त हुनु–गर्नु अनि विश्व स्वयं पनि शान्ति बनोस् भन्ने पुनित उद्देश्य पनि हो । यसैमा देखा परेका इन्द्रेणीदेखि हवाईजहाज, फूल, डाँडाकाँडा अनि कलकल बग्दै गरेका खोलाहरू देखिनु पनि अनौठो कलागत संरचना देखिन्छ । अर्को चित्रमा एउटा व्यक्ति लुगा सिउने कलमा काम गरिरहेका देखिन्छन् । यही चित्रमा पनि आकाश, बादल अनि हिमालका टुप्पाहरू बुट्टाको रूपमा देखा परेको छ । यी सबै चित्रहरू हेर्दा सामान्य यथार्थ चित्रहरू नै देखिन्छन् । तथापि चित्रपटका बाँकी खाली भागमा वरिपरि तलमाथि अनेकानेक मिल्दा नमिल्दा वस्तुहरू समावेश हुँदा यसले थुप्रै अर्थ बोकेको देखिन्छ । थाङ्का चित्रले उनलाई कत्ति प्रभाव पारेको रैछ राम्रै गरी अनुभव गर्न सकिन्छ ।
उनले ललित कलामा औपचारिक अध्ययन देल्लीमा गरे । कलाका विधिविधान, प्राविधिक पक्षलाई यथेष्ट ज्ञान र सीप हासिल गरेपछि उनी कलामा होमिन पुगेका हुन् । यसैवेला उनी आफ्नै परम्परा गर्भगृहमा अध्ययनार्थ प्रवेश गरेको देखिन्छ । अर्थात तिब्बतीयन धर्म अनि तिब्बतीयन आर्ट थाङ्का चित्रमा गहिरो गरी लागे । यसलाई गहिरो गरी बुझ्न अनि यसैलाई आजको कलामा फ्युजन गर्न उनको उद्देश्य रह्यो । दुईवटा तत्त्वले उनलाई निर्देशित गर्यो । एउटा चाहिँ उनको आफ्नै संस्कृति, पहिचान अर्को भनेको चाहिँ उनको अनुभव थियो । यसैबाट बनेका कलाहरू बनेको हुँदा पनि परम्परागत हुँदाहुँदै, आधुनिकतामा पाइला टेक्दाटेक्दै नितान्त आजको समसामयिक कलामा रूपान्तरित हुन पुगेको देखिन्छ ।
जस्तो उनी भन्ने गर्दछन् – मेरो अन्तर्मनमा लुकेका कथाहरूलाई खोतल्ने चासो, हुनुको पछाडि चाहिँ बाहिर देखिएका अवयवभन्दा भित्रको कुरा नियाल्नु मेरो रहर रह्यो । आम मान्छेहरूको दिनचर्या, अनि देखा पर्ने उनीहरूको जीवन पद्धतिलाई अवलोकन गर्छु । चिन्तन–मनन गर्छु अनि समष्टिमा भन्दा नदेखिने जीवनमा पस्ने मेरो अभिष्ट हुन्छ । जस्तो कि आम मान्छेको भाववेग, विचार अनि आम मान्छेका अन्तरमनका कथाहरू नै मूलतः मेरा कलाहरूको स्रोत बन्न पुग्छ ।
तेन्जीन मिलाक
तेन्जिनका यहाँ प्रदर्शनमा रहेका सबैजसो कामहरू अलग–अलग प्रकृतिका छन् । उनको ओम नामक चित्रमा तीनवटा घोडाहरू द्रुत गतिमा दौडँदै गरेको दृश्य देखिन्छ । हेर्दा सामान्य लागे पनि यो एउटा कोलाज चित्र हो । जसमा बौद्ध धर्ममा पूजा गर्ने झण्डालाई काटकुट गरी गजबले प्रयोग गरेका छन् । रङसँग यो कपडाका टुक्राहरू यसरी मिसिएका छन् । गहिरो गरी नहेरे यसलाई अलग्याउन नै सकिँदैन । यही उनको यो शिल्प–दक्षताले उनका चित्रहरूलाई उम्दा बनाएको देखिन्छ । अर्को चित्र कर्मिक इनडलगेन्स (Karmic Indulgence) अझ अद्भुत कथा बोकेर देखा परेको छ । जसमा तीनवटा नाक, मुख, कान छोपेका यी बाँदरहरू अलग–अलग पोस्चरमा देखिन्छन् । अनि यसैमा थपिएका सुँगुरदेखि सर्प र गरुड आदि पात्रहरू एकअर्कालाई चपाइरहेका अवस्थामा देखिन्छन् । यी अवयवहरूको यो अनौठो भूमिकाले गर्दा चित्र आफैँ श्वैरकाल्पनिकताको ठूलो भुमरीमा गोता खाइरहेको अनुभूत हुन्छ । पुरानो लोकगाथामा आज थपिएको अर्को कथाले यो चित्रले थोरै अलौकिकता थपेको महसूस हुन्छ ।
कोही मिल गया चित्र उनको अर्को काम हो । जहाँ चित्रपटभरि अक्षरहरूले भरिँदै गर्दा प्रतीकात्मक रूपमा अर्कै संसारबाट आएका एलेन कथा भन्दै गरेका देखिन्छन् । डेभिड भन्ने अर्को चित्रमा सलाइभित्रको भागमा फूलका गुच्छा देखिनु सम्भवतः मृत्युको प्रतीक हो । फूललाई श्रद्धाञ्जलिको प्रतीकको रूपमा प्रयोग भएको देखिन्छ । सिगरेट हातमा समाइरहेको मान्छे स्वयंले मृत्युको आमन्त्रण गरेको आभास हुन्छ । अनि सेल्फ स्टडीमा चाहिँ पृष्ठभूमिमा धार्मिक पुस्तक, म्यागी चाउचाउको सन्दर्भ आदि जोड्दै काँडेतारलाई बिम्बको रूपमा उभ्याएका छन् । यी आदि इत्यादिमा कहीँ न कहीँ बौद्ध धर्म, यसका दर्शन अनि यसमा गरिएको अभ्यासको प्रतिबिम्ब देखिन्छ । अर्थात यसलाई उनले बचपनदेखि देखे, भोगेका कुराहरू समावेश भएको देखिन्छ । यसर्थ पनि यसैको प्रतिबिम्ब एउटा कथा बनेर उनका कलामा देखा परेको छ ।
अर्थात महात्मा बुद्धको आइडिया अनि दर्शनलाई बचपनदेखि नै उनीमा गहिरो छाप बस्यो । यही सन्दर्भमा यी किसिम–किसिमका चित्रहरू बनेका हुन् । यो उनको तिब्बतीयन बौद्ध धर्ममा उनको आफ्नै अलग किसिमको हेराइ पनि हो ।
तासी ड्रुकेनसाङ्ग
तासी फ्लुइड सिरीजका छ वटा काम लिएर देखा परेका छन् । तासी मूर्त हुँदाहुँदै अमूर्त पारामा देखा परेका छन् । एउटा चित्र छ जहाँ महिला कौतूहलताका साथ बसिरहेको देखिन्छ । झट्ट हेर्दा केही देखिन्न । रङ अनि रेखाहरूको चलखेल मात्र देखिन्छ । तथापि अलि गौर गरे मात्र आकारलाई समाउन सकिन्छ, नत्र भने अमूर्तता नै देखिन्छ । अर्को चित्र मात्र एक महिलाको व्यक्तिचित्र छ । तर महिलाको अनुहार देखिँदैन तर चिनिन्छ । यो महिलाकै फोटो हो । अझ अर्को चित्रमा पल्टिरहेको महिलाको चित्र छ । अनेकानेक रेखाहरू कुद्दै गर्दा बुट्टाहरूले छोप्दै गर्दा मूर्त हुन नदिई अमूर्त बनेजसो पारामा देखा परेको छ । यो उनको मूर्त–अमूर्तताको खेलमा भावकले एक प्रकारको रमाइलो महसूस गर्दछन् ।
उनले कलामा स्वअध्ययन गरेका हुन् । विश्वभरमा उनका अनेकौँ यात्राले उनीमा थुप्रै अनुभव जन्माएको देखिन्छ । उनी कहिले भारत अनि नेपालमा बस्दै आएका उनका अनुभवहरू पनि स्वस्फूर्त जन्म पुगेका हुन् । व्यक्तिगत अनि सामूहिकताको मिश्रण अनि यसैबाट निस्केका अनेकौँ अवयवहरूलाई उनले आफ्नो कलामा ठाउँ दिएका छन् । यसर्थ पनि उनको कलाभित्र उनी त छँदैछन्, सँगसँगै समाज अनि देश–राष्ट्र पनि अटाएको देखिन्छ ।
चोनाइ डोल्मा
चोनाइ डोल्माका तीनवटा कामहरू यहाँ प्रदर्शनमा छन् । खाक–मे १, खाक–मे २ (Khak– Meh) अनि एनगा ला ला मोगो ( n\ga La la Mogo ) छन् । एम्ब्रोइडरी माध्यममा काम हुँदा पनि यसले एक अलग प्रकृति बोकेको देखिन्छ । मोटामोटा धागोहरूबाट लोभलाग्दा आकृतिहरू निकाली आफ्ना भावलाई प्रस्तुत गर्न खोजेका छन् । उनको विचारमा सौन्दर्यता नै सबै कुरा हो । अर्थात कुनै पनि वस्तुमा एस्थेटिक्सले वास पाएको हुन्छ । त्यो सर्वोत्कृष्ट हुन्छ । उनी भन्छन्– यसैमा म उदासीपन पनि महसूस गर्छु, आनन्द पनि खोज्छु ।
यसले कथाहरू पनि बोकेको हुन्छ । जस्तो कि उनका चित्रमा ड्रइङ्ग रुममा बसेर केटाकेटीहरू टिभी हेर्दै गरेका देखिन्छन् । सँगैको र्याक मा पुस्तकहरू टन्नै देखिन्छन् । यसमा एक्सन पनि अनि यसैसँग मौन संवाद पनि भएको देखिन्छ । यसकारण पनि अनेकौँ फिगरहरू देखिँदा–देखिँदै पनि यो एक प्रकारको अमूर्तता पनि हो । धागाहरूको बुनावट बन्दै गर्दा बहावको तरलतालाई समाउँछ अनि उनका अनेक आकारमूलक पात्रहरू अमूर्तताको रूपमा देखा पर्दछन् । यसले एउटा अवयव, वस्तु अनि मान्छेहरूबीचको रिलेसनसिपको अद्भुत महसूस गराउँछ । अझ भाव र आशाहरू उजिल्याउने उनको कलागत उद्देश्य हुन जान्छ ।

