साहित्यपोस्ट डट कम

क्यानभासमा टेम्केमयूम

क्यानभासमा टेम्केमयूम

गत वैशाख ११ गते नाफाको हलमा एउटा गज्जबको कला प्रदर्शनीको उद्घाटन भयो । गज्जबको यस अर्थमा कि यी कलाहरू काठमाडौं पूर्व भोजपुरको एउटा सानो गाउँमा सिर्जना गरिएका थिए । यो गाउँको नाम थियो ‘टेम्केमयूम’ । यही टेम्केमयूम पनि दुईवटा गाउँहरू मिलेर बनेको रहेछ । टेम्के अनि मयूम । यसर्थ पनि यो कला प्रदर्शनीकै नाम पनि क्यानभासमा टेम्केमयूम राखिएको रहेछ ।

अझ रमाइलो कुरा त आजभन्दा झन्डै एक वर्षअघि अर्थात गएको जेठको ५ गते यही टेम्केमयूमको एउटा अति रमणीय ठाउँ चखेवा भन्ने पर्यटकीय स्थलमा एउटा कलाको कार्यशाला भएको थियो । जहाँ काठमाडौंबाट १० जना अनि कोशी प्रदेशबाट ११ जना कलाकारहरू त्यहीँ ठाउँमा गई कला सिर्जना गरेका थिए । आज एक वर्षपछि यही कलाहरू काठमाडौंमा प्रदर्शन भएका हुन् । प्रदर्शनीमा चाहिँ यसबाहेक अरू चित्रहरू पनि समावेश गरिएको छ । यो कला प्रदर्शनी चाहिँ आगामी वैशाखको १४ गते नै सकिने कार्यक्रम छ ।

यी कलाकारहरूमा अरुणा हिङमाङ, विवेक मुकारम, विगेन राई, विनोद कुमार गुप्ता, विष्णु थापा, विद्यामान तामाङ, धिरज राई, गणेश लामा, कान्छाकाजी भासिमा, किशोर नकर्मी, महेन्द्र राई, नारदमणि हार्तमछाली, सगुन पोखरेल, सञ्जय वान्तवा, शिवचन्द्र राई, सुनिता राणा, सुमन श्रेष्ठ, शुष्मा राजभण्डारी, तारा राई, तिलक राई, यसोधा कुमारी लम्साल थिए ।

यो कार्यक्रम ‘नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान’ले गरेको हो । अर्थात टेम्केमयूम गाउँपालिका अनि नाफाको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो । टेम्केमयूम गाउँवासीहरूको आत्मीय सहयोग, सहभागितामा भएकोले गर्दा पनि यो कार्यक्रममा स्थानीय गाउँ–ठाउँको सुगन्धले भरिभराउ भएको देखिन्छ । यो ठाउँ शान्त, सौम्य, अनि प्राकृतिक मनोरम त छँदैछ । यसलाई यहाँका समुदायले आफ्नै संस्कृति संस्कारले ढपक्कै ढाक्दा यसले सुनमा सुगन्ध थपिदिएको महसूस हुन्छ । यसैलाई कलाकारले आत्मसात गरी कला बनाएका हुन् । कलाकारहरू त्यहाँ पुगे, घुमे, हेरे अनि अनुभव गरे अनि कलाको सिर्जना गरे । यसकारण पनि यी कलाहरूमा यसैको प्रतिबिम्ब यथेष्ट मात्रामा पाइन्छ ।

यति मात्र होइन यस भेगका स्थानीय कलाकारहरूको सहभागी भएको कारणले गर्दा पनि यस भेगको भावनालाई समेत यथेष्ट मात्रामा कलामा प्रतिबिम्बित भएको देखिन्छ । गाउँ–ठाउँमा एउटा मेला भएजस्तो पारामा यो कार्यक्रम हुँदा पनि थाहा नपाई यो एउटा आनन्दमय वातावरण पनि बन्न गएको थियो । राई लिम्बूहरूको घना बस्ती भएको कारणले गर्दा पनि यही समुदायको पुरानो परम्परागत कला संस्कृति, संस्कार अविच्छिन्न रूपमा आज पनि देख्न सकिन्छ । आज पनि यहाँका वासीहरूले संस्कारमा आबद्ध हुँदा कला बनाइरहेका हुन्छन् ।

कलाहरू सधैँ सिर्जना गरिरहेका यहाँका वा यस भेगका शिल्पीलाई कलाकारको रूपमा संलग्न गर्दा मात्र पनि कला स्वयं एक पाइला अगाडि बढेको महसूस हुन्छ । यी कलाकारहरूले संस्कारमा आबद्ध भएर बनाएका कलालाई लोककला भन्ने गरिन्छ । यस्तै लोक कलाहरू यहाँ सिर्जना भएका भने होइनन् । यस्ता कलाहरू पनि भएको भए अझ सुनमा सुगन्ध हुने थियो, भन्न अड्कलसम्म काट्न सकियो । यस्ता लोक कलाहरू कतै गएर सिकिने कुरा भन्दा पनि आ–आफ्नै आमा र बज्यैहरूबाट वा घरपरिवारबाटै सिक्दै गएर कलाको रूपमा देखा पर्ने गर्दछन् । पश्चिमाहरूले यही लोककलालाई आधार बनाएर आधुनिक कलाको विकास गरेका हुन् । अझ पश्चिमका कैयौँ आधुनिक कलाकारहरूले त यता एसिया वा अफ्रिकाका यस्तै–यस्तै इन्डिजिनस कलालाई आधार बनाएर अद्भुत कला बनाएका छन् । यता चाहिँ बोल्नेमा, चर्चा–परिचर्चा गर्ने अनि खोज गर्न वातावरण नहुँदा–नबनाउँदा चाहिँ नेपाली गाउँघरमा पल्लवित भइरहेका यस्ता कलाहरू अगाडि आउन सकिरहेका छैनन् । यसर्थ पश्चिमी आधुनिक कला त छँदैछ । कलाकार हुँ भन्ने कुरा थाहा नै नपाएकालाई संलग्न गराएर लोककलाको कार्यशाला भएको हुँदो हो त राई वा जनजातिको कलाको पनि विकास हुन्थ्यो होला ।

यसो भन्दाभन्दै पनि कार्यक्रमले परोक्ष रूपमा थुप्रै कुरालाई उजागर भने गरेको देखिन्छ । काठमाडौं उपत्यकामा मात्र गुम्सिएर बसेको ललित कला विशेष गरेर समसामयिक कलाहरू अहिले नेपालको कुनाकाप्चा विकट गाउँमा पनि पुगेको छ । यस संस्कृतिको विकासमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको निकै ठूलो हात रहेको मान्नुपर्छ । एक समय यस्तो पनि थियो । काठमाडौं उपत्याकाकै कलाहरू पनि आम मान्छेले हेर्न पाउन सम्भव थिएन । अर्थात् कहीँ कसैले प्रदर्शन गर्ने प्रचलन थिएन । अनि कलाहरू कलाकारकै घर–घरमा थुपारिएर रहेका हुन्थे । वा परम्परागत कलाहरू मठ–मन्दिर, विहारमा, राजदरबारहरूमा सजिएर रहेका हुन्थे । वा अलि पछि गएर कला सङ्ग्रहालय खुलेपछि पुराना कलाहरू यही सङ्ग्रहालयमा गएर हेर्न पर्दथ्यो । अवलोकन गर्न सकिन्थ्यो । आधुनिक कलाहरू थिए–थिएनन् हेर्न नपाएपछि चासो पनि हुँदैनथ्यो ।

पुरानो कला त तैविशेक, आजका कलाहरू त हेर्न पाउने सम्भव नै थिएन । वि.सं. २०२२ मा नेपाल ललित कला संस्था (यसलाई पनि छोटकरीमा नाफा भन्ने चलन छ) खुलेपछि यसै साल राष्ट्रिय कला प्रदर्शन हुन सुरु भयो । अनि सबैखाले कलाकारहरूले आ–आफ्ना कलाहरू यहाँ ल्याए । अनि यही नाफाले नक्सालस्थित सीता भवनको ठूला कक्षमा यी विभिन्न खाले कलाहरूलाई प्रदर्शनमा राखे । अनि यसपछि मात्र आम मान्छेले पनि आज बनाएका कलाहरूलाई हेर्न पाएका हुन् । आज यसैलाई नाफाले (ललितकला प्रज्ञा प्रतिष्ठानले) आजका कलाहरूलाई नै विकट गाउँसम्म पुर्‍याएको छ । यति मात्र होइन, विकट गाउँका कलाहरूलाई काठमाडौं भित्र्याएका हुन् ।

कला जीवनको एउटा अभिन्न अङ्ग हो अनि मान्छेको जीवनसँग कला सधैँ बाँच्छिरहेको हुन्छ । यसो हुँदै गर्दा पनि संस्कृतिको यथेष्ट मात्रामा चर्चा भइरहँदा पनि कलाको यसरी चर्चा हुने, कलालाई एक अलग्गै विधाको रूपमा हेर्ने परम्परा हुन सकेको थिएन । अझै पनि कलालाई सिर्जनशील सिर्जनाको रूपमा हेर्ने नेपालीको बानी परेको छैन । यसअर्थमा यो कला कार्यशाला अनि यो कला प्रदर्शनी एउटा भरपर्दो पहल हो भन्नै पर्छ ।

यहाँ प्रदर्शनमा रहेका चित्रहरू सबैजसो दृश्यचित्र नै हुन् । यसरी प्रकृतिमै गएर यस्ता दृश्यचित्रहरू बनाउने शुभारम्भ चाहिँ खास गरेर सन् साठीको उत्तरार्धमा देखा पर्‍यो । स्व. कलाकार रामानन्द जोशी मुम्बईबाट कलामा अध्ययन गरेर फर्केपछि उनले यस्ता प्रभाववादी दृश्यचित्र बनाउन शुभारम्भ गरेका थिए । यसभन्दा अघिका कलाकारहरूले पनि यस्ता दृश्यचित्र नबनाएका होइनन् तर यसैमा लागेर कला सिर्जना गरिरहने कलाकारमा चाहिँ रामानन्द जोशी नै हुन् । अर्थात् उनले नै आउटडोर पेन्टिङ सुरु गरेका थिए । उनले यसका लागि अलग्गै कोचिङ क्लास, कला ग्यालरी समेत खोलेका थिए । अनि यस्ता आउटडोर ल्यान्डस्केपको कार्यक्रम गर्ने, कलाकारमाझ यसैमा प्रतियोगिता गर्ने, फिल्डतिर लैजाने गर्दथे । यसैबखतदेखि यस्ता कला बनाउने प्रचलन तीव्र रूपमा बढेर गयो । अस्सीको दशकसम्म यसले चरम उत्कर्ष बोकेको थियो । पछि कलाकारहरू यो विधामा रम्न छोडेका थिए । केही वर्ष अघि कलाकार रतन राईले जलरङ्गी दृश्यचित्र सम्बन्धी कला संस्था नै खोली पुनः दृश्यचित्रलाई आकर्षणको केन्द्रविन्दु बनाए । अनि अहिले कलाकार एनभी गुरुङले यस्ता दृश्यचित्र बनाउने कला संस्था नै खोलेका छन् । अहिले यसले तीव्र गति समातेको छ ।

यही सिलसिलामा दृश्यचित्र मात्र गर्ने गराउने कार्यशाला गर्ने प्रचलन बढेर आएको हो । यो अहिलेको कार्यशाला पनि यसैको निरन्तरता भने हुन्छ । यसपल्ट भने यस्ता दृश्यचित्रसँगसँगै आधुनिक कला पनि बनेको छ । सबैको यस्ता आकारमूलक दृश्यचित्र बनिरहँदा तीन–चार जना कलाकारले अलि अलग्गै प्रकारका कलाहरू पनि बनाएका छन् । यसमा पनि विशेष गरेर राई समुदायको संस्कृतिमा आधारित भएर कलाकार नारद हार्तमछाली अनि सञ्जय वान्तवाले यस्ता चित्र बनाएका छन् । नारद हार्तमछाली अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति पनि हुन् । सञ्जय राई चाहिँ प्राज्ञ परिषद्का सदस्य हुन् । यो कार्यक्रम उनैको विभागअन्तर्गत आयोजना पनि भएको हो ।

सुप्तुलङ नामक नारदको यो चित्र अनेकौँ ज्यामितीय फर्मको संयोजनमा बनेको छ । त्रिकोण अनि गोलाकार एउटा अर्थसँग बसेको देखिन्छन् । उनैको अनुसार यो समुदायमा चुलो गहिरो महत्त्व रहेको हुन्छ । चुलोमा प्रयोग हुने तीनवटा ढुङ्गा आमाबाबु र छोराछोरीको प्रतीकात्मक बिम्बमा रहेको हुन्छ । अनि जीवनभर गरिने हरेक संस्कार वा मृत्यूपछि गरिने कैयौँ क्रियाकलापहरू यसैमा आबद्ध भएर देखा पर्ने गर्दछ । राम्रो संस्कार अनि संस्कृति बनाइरहन बनाइएका सामाजिक नियम आदि इत्यादि पनि यही चुलोसँग गाँसिएर देखा पर्दछ । यही भावना र अर्थका साथ उनले आधारभूत रङहरूलाई प्रयोग गरी यो चित्र बनाएका छन् । सञ्जयको यस्तै–यस्तै तर कोमल रङ अनि गोलाकार, त्रिकोण अनि चतुर्भुज आदिलाई सन्तुलनमा राखी प्रयोग गरेका छन् । बिन्दुबाट त्रिकोण अनि यसपछि गोलाकार अनि चतुर्भुज आदिको संयोजनले परम्परागत तान्त्रिक कलाको पनि याद गराउँछ ।

दृश्यचित्रहरूमा चाहिँ सुनिता राणाको डाँडामा फुलेको बैजनी रङको फूललाई मध्य पारेर बनाइएको चित्र मार्मिक देखिन्छ । कान्छा काजी भासिमा, शिवकान्छा राई, विद्यामान तामाङ, धिरेश राई, सुमन श्रेष्ठका दृश्यचित्र पनि खाइलाग्दा छन् । विश्व कला बजारमा हेर्दा पहिले–पहिले यस्ता प्रभाववादी चित्रहरू एउटा सिद्धान्तमा बसेर गरेका हुन्थे । अनि यसको मूल आशय भनेको चाहिँ वस्तुमा घाम परेपछि यसले पार्ने प्रभावको वातावरणलाई चित्रण गर्ने गर्दथे । उन्नाइसौँ शताब्दीको मध्यतिर यसैगरी प्रभाववादको उदय भएको थियो । नेपालमा चाहिँ यसैको प्रभाव परेको थियो । तर अहिले चाहिँ विश्वव्यापी रूपमा यस्ता दृश्यचित्रहरू आधुनिक पारामा देखा पर्न थालेका छन् । यसमा यथार्थ पनि हुन्छ, प्रभाववादी वा उत्तर प्रभाववादीदेखि लिएर अमूर्तता वा अभिव्यञ्जना सबैजसो प्रवृत्तिहरू एक साथ पसेको देखिन्छ । जसलाई हिजोआज समसामयिक दृश्यचित्र भन्ने चलन छ ।

यहाँ पनि यसको प्रभाव स्पष्ट देखिन्छ । जस्तो कि विद्यामानको चित्रलाई हेर्दा स्पष्ट अनुभव गर्न सकिन्छ । निलो आकाश मुनि देखा परेका हरिया पहाडहरू देखिँदा–देखिँदै पनि उनले वल्लो डाँडामा सुकेको काठमाथि कौतूहलता बोकेको चरा बनाएका छन् । यति नै बेला उनी कौतूहलतामा पर्नु चाहिँ उताबाट उड्दै आएको कागजको चरा देखेपछि हुन आएको देखिन्छ । यो एउटा नौलो अवधारणागत सोचले दृश्यचित्रलाई नयाँ आयाममा प्रवेश गराएको छ । सक्कली र नक्कली बीचको द्वन्द्व वा नक्कली चराको उड्ने क्षमता बढी देखिनुले पनि समाजमा ठूलो द्वन्द्व निम्ताएको छ, भन्ने जस्ता भाष्यलाई जन्माएको देखिन्छ । उनैको अर्को चित्र पनि यस्तै छ । पहाडको उबडखाबड बाटोका यथार्थ रूपमा गाडी कुदिरहेका देखिन्छ । तर गाडीभित्र ठूला–ठूला भ्यागुताहरू रमाएर बसेका देखिन्छन् । यो एउटा दृश्यचित्रको अत्याधुनिक रूप हो ।

कान्छाकाजीको चित्रमा पनि अलि लोभलाग्दो पहाड, हिम चुचुराहरू छन् । अग्रभागमा एक्लो घोडा के–के जाति खोज्दै बसेको देखिन्छ । धिरज राईको चित्रमा चोटिलो हिमाल वा हरियो डाँडा मात्र छैन । यसैबीचमा अस्वाभाविक रूपमा निलो पोखरी पनि देखिन्छ । गणेश लामाको अग्लो चट्टानमा सिँढीहरूको लाममा मान्छे हिँड्दै गरेको काल्पनिक दृश्यलाई अवलोकन गर्न सकिन्छ । किशोर नकर्मीले सूर्य उदाउँदै गरेको परिदृश्यलाई बनाउँदै गर्दा अग्रभागमा एउटा चरालाई राखिदिएको छ । सगुनले हरिया पहाडबीच देखा परेका निलो दहलाई प्राथमिकता पार्नु पनि आनन्दको प्रतिबिम्ब जस्तो लाग्छ । शिव छाङ्छा राईले राई संस्कृतिलाई जस्ताको तस्तै पस्कँदै गर्दा पनि यसले आधुनिक रूप लिएको देखिन्छ ।

यी र यस्तै यस्तै कल्पना अनि संयोजन र प्रस्तुतिको तौरतरिकाहरू अलग्गै पाराले देखिँदै गर्दा पनि अहिले दृश्यचित्रहरू नितान्त आधुनिक रूपमा देखा परेका हुन् । यसर्थ अहिलेको दृश्यचित्रले प्रशस्तै रूपमा भावना अनि अभिव्यञ्जना पनि अनि कतै कतै त विचारलाई समेत बोकेको देखिनु आजको दृश्यचित्रको मूल विशेषता पनि हो ।

कलाकार / कला समीक्षक

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.