क्यानडामा पचासको दशकदेखि शुरू भएको नेपालीहरूको आगमनको इतिहास १९९१ सम्म आइपुग्दा संस्थागत रूपमा एकत्रित हुँदै जान थाल्यो । १९९२ देखि समुदायका बीच सूचनाको आदानप्रदान गर्न हस्तलिखित पत्रिकाबाट लिखित इतिहास देखापर्दै जान थालेपछि १९९२ मै नेपाली भाषामा पत्रिका प्रकाशित हुन थाल्यो । नेपालीहरूको आगमनको विस्तारसँगै सामाजिक र साँस्कृतिक विकास सँगसँगै साहित्यिक गतिविधिले पनि अग्रसरता पाउँदै जान थाल्यो । किरण ढुगाङ्नाको सम्पादनमा ‘न्यूज लेटर’बाट शुरू भएको पत्रिका प्रकाशनमा ‘लाली गुँरास’, ‘दियालो’, ‘सौगात’, ‘अटवा चौतारी’, ‘शब्द’, ‘चौतारी’, ‘प्रतिध्यनि’, ‘स्पन्दन’ आदि सँगै संस्थाबाट निस्कने सोभिनियर आदिमा साहित्यिक रचनाले स्थान पाउँदै गएपछि क्यानडामा साहित्यले मलजल पाउँदै जान थाल्ल्यो ।
साहित्यिक कृतिको प्रकाशन २००१ मा शोभा भट्टाराईको ‘अन्त्यहीन अन्त्य’ उपन्यास प्रकाशित भएपछि शुरू हुन्छ । क्यानडाका लेखकको नेपाली भाषामा प्रकाशित भएको पहिलो कृति यहीँ नै हो । शोभा भट्टराईको ‘अन्त्यहीन अन्त्य’ उपन्यासमा उनको जीवनका अनुभवहरू मूख्य पात्र स्वयम् उपन्यासका शोभा मार्फत व्यक्त भएको छ । यस कुरालाई पुस्तकको भूमिकामा रहेको ‘यसमा मेरो जीवनका अत्यन्त पीडादायक क्षणहरूको चित्रण गर्ने प्रयास गरेकी छु’ भन्ने भनाइले पुष्टि गरेको छ । त्यसैले यसलाई ‘अनुभवन्यास’ नाम दिइएको छ ।
शोभा भट्टराईको आत्मकथात्मक यस उपन्यासमा आंशिक रूपमा उनको जीवन अनुभवमा आधारित छ । ९५ पृष्ठको यस उपन्यासको मूल विषयवस्तु वैवाहिक जीवन, विवाहपछिको विश्वास र व्यक्तिगत पीडाको वरिपरि घुमेको पाइन्छ । नेपालको सम्पन्न र प्रतिष्ठित परिवारमा जन्मेहुर्केकी एउटी महिला सम्पन्न र प्रतिष्ठित परिवारकै क्यानडामा बस्ने एउटा युवकसँग बिहेको प्रस्ताव आएपछि आमाबुवाले छोरीको भविष्यका लागि सहर्ष स्वीकारेर बिहे गराइदिन्छन् । बिहेपछि अन्जान देशमा आएर आफ्नो श्रीमानको बारेमा अप्रत्याशित रहस्य थाहा पाएपछि उनको संघर्षमय जीवनयात्रा शुरू हुन्छ । अन्जान देशमा एकपछि अर्को समस्या उत्पन्न गर्दै उपन्यासले गति लिँदै जान्छ । त्यसबाट उत्पन्न हुने मानसिक द्वन्द्व, आघात, असन्तुष्टि र समाज, सम्बन्ध र व्यक्तिगत अस्तित्व बीचको संघर्षको कथा चित्रण उपन्यासमा देखा पर्न थाल्छ ।
उपन्यासमा एउटी नवविवाहित महिलाको जीवन चित्रण गरिएको छ, जसले विवाहपछि आफ्नो श्रीमानको जीवनसँग सम्बन्धित एउटा चकित पार्ने सत्य थाहा पाउँछिन् । त्यसपछि शुरू हुन्छ एउटी महिलाको संघर्षको यात्रा । वैवाहिक जीवनमा तनाव बढ्दै गएपछि उत्पन्न भएको आत्मसंघर्ष र व्यक्तिगत स्वतन्त्रताको प्रश्न बढ्दै गएपछि सम्बन्धमा तगारो लगाउन बाध्य हुनु परेको उनकै कथा उपन्यासमा देखिन्छ । क्यानडाबाट प्रकाशित स्रष्टाको पहिलो कृति रहेता पनि यसमा साहित्यिक विशेषता रहेको छ । महिलाको दृष्टिकोणबाट सरल र भावनात्मक भाषामा लेखिएको यो उपन्यास छोटो भए पनि यसमा गहिरो मनोवैज्ञानिक विश्लेषण र नारी मनोविज्ञान उजागर भएको छ । यस उपन्यासलाई नेपाली साहित्यको मनोवैज्ञानिक दृष्टिले महत्त्वपूर्ण कृति मानिन्छ ।
यसै वर्ष २००१ मा नै नेपाली मूलकी क्यानडियन लेखिका मञ्जुश्री थापाको अङ्ग्रेजी उपन्यास ‘द ट्युटर अफ हिस्ट्री’ पनि प्रकाशित भएको थियो । यस काल्पनिक उपन्यासमा उनले १९९० को दशकको अन्त्यतिर नेपालमा देखापरेको राजनीतिक परिवर्तन र साँस्कृतिक अवस्थामाथि चार प्रतिकात्मक पात्र भ्रष्ट जडिया राजनीतिज्ञ, बाम राजनीतिज्ञ शिक्षक, ब्रिटिस गोर्खाका पूर्व सैनिक र चिया पसले कि विधवाका चारित्रिक उतारचढाउका माध्यमबाट उतारेकी छिन् । उनको यस उपन्यासमा परम्परा र आधुनिकता बीचको तनाव, प्रजातन्त्रका चुनौतीहरू, व्यक्तिगत इच्छा विरुद्ध सामाजिक अपेक्षाहरू र परिवर्तनशील जीवनमा अर्थको खोजीको अन्वेषण गर्ने प्रयास भएको छ ।
सन् २००१ देखि शुरू भएको कृति प्रकाशनको इतिहासमा आजको मिति (जुलाई २०२६) सम्ममा नेपाली भाषाका ५९ र अंग्रेजी भाषाका १९ वटा कृतिहरू गरी ७८ वटा कृति प्रकाशित भएको जानकारी पाएको छु । यसमा तलमाथि पनि हुन सक्छ भने धेरै कृतिका बारेमा सुनिए तापनि हेर्न-पढ्न पाइएको छैन । यो २५ वर्षको अवधीमा नेपाली भाषामा ८ वटा उपन्यास, १४ वटा कथा सङ्ग्रह, १६ वटा गद्य सङ्ग्रह (निबन्ध, प्रबन्ध, नियात्रा, जीवनी, संस्मरण, विचार संकला, हाँस्यव्यङ्ग्य सङ्ग्रह र ठट्यौली सङ्ग्रह), १८ वटा काव्य सङ्ग्रह (कविता, गीत), २ वटा समालोचना र एउटा नाटक सङ्ग्रह रहेका छन् ।
त्यस्तै अंग्रेजीमा ६ वटा उपन्यास, ३ वटा कवितासङ्ग्रह, २ वटा निबन्ध, प्रबन्ध, २ वटा कथा सङ्ग्रह, ६ वटा आत्मकथा र जीवनको अनुभव आदि प्रकाशित भएको जानकारी पाएको छु । यसका अतिरिक्त क्यानडामा रहेका साहित्यिक संस्थाबाट संयुक्त कविता सङ्ग्रहहरू पनि प्रकाशित भएको देखिन्छ ।
हुन त २०२५ को अन्त्यतिर शरद सुब्बाको ‘बाह्रसिङ्गा बाह्रसिङ्गा’ र राधिका ‘अङ्कुर’ प्रकाशित भएको थियो । ‘बाह्रसिङ्गा बाह्रसिङ्गा’ शिकार नियात्रा हो भने ‘अङ्कुर’ कविता सङ्ग्रह हो । हामीले शिकारका कथाहरू सुनेका छौँ तर शिकार नियात्रा मैले कतै पढेको छैन । शिकार नियात्रा प्रकाशित भएको पनि थाहा छैन । यस पुस्तकमा लेखकले नेपालमा शिकारका नियम-कानूनबाट लिएर अवरोध र खतराका केस्राकेस्रा केलाएका छन् । शिकार गर्ने सबै प्रक्रिया, तौरतरिका र नियम कानूनका बारेमा सविस्तार जानकारी दिएका छन् । शिकार गर्न जाँदाका अङ्कगणितलाई लेखकले यहाँ दृश्यात्मक तरिकाबाट प्रस्तुत गरेका छन् । बाघको मनोविज्ञानलाई समेत प्रस्तुत गर्ने प्रयास गरेका छन् । बाघको शिकारको कथा एकातिर छ भने अर्कोतिर यसमा बाघको वंशजबाट लिएर बाघको तथ्याङ्क अनि सेतोबाघका बारेमा पनि जाकारी देखाएका छन् । लेखकले शिकारको क्रममा देखिएका जनावरहरूको हाउभाउको चित्रण बडो रोचक ढङ्गबाट बयान गरेका छन् भने जङ्गली प्राणीसँगै जल प्राणीका बारेमा पनि प्रसङ्ग पस्केका छन् । यो पुस्तक शिकार गर्न गएको क्रममा लेखकसँग घटेका घटनाहरूको संस्मरणात्मक संकलन हो । यसमा शिकारका नियम कानून र शिकारका लागि चाहिने आवश्यक सामानहरूको विवरण प्रस्तुत गरेर पुस्तकलाई शिकार गर्ने तौर तरिका, सुरक्षा सम्बन्धी मार्गदर्शक, शिकारका नियमसङ्गत जानकारी आदिले भरिएकोले शिकार गर्ने गाइड पुस्तक बनेको छ ।
अर्यालको कविता सङ्ग्रह ‘अङ्कुर’मा महिला अनुभूति, आप्रवासको मनोवैज्ञानिक द्वन्द्व, प्रेमको उत्तरदायित्व, आमाबुवाप्रतिको आस्था र कर्तव्यनिष्ठा, सामाजिक संवेदनशीलता आदि विषयवस्तु समेटिएको छ । उनले आफ्ना अभिव्यक्तीहरूमा लैङ्गिक उत्पीडन र सांस्कृतिक रूढीहरू उजागर गरेकी छन् । सङ्ग्रहमा समेटिएका काव्यहरूले मूख्य रूपमा तीनवटा भावहरू मुखारित गरेको पाइन्छ– महिलाका विभिन्न स्वरुपको बयान, राष्ट्रिय भावहरू, मुलुकको बाध्यात्मक पलायन विवशता र परिस्थिति तथा बढ्दै गएको विष्तिष्णता र पारीवारिक सम्बन्धको प्रेमाभिव्यक्तहरू ।
यसकै आधारमा सङ्ग्रहमा सांस्कृतिक चेतना, आप्रवासी जीवन पद्धतिका अभिव्यक्तीहरू, प्रेमप्रतिको स्वच्छन्द विचार, प्रकृति प्रेम, आप्रवासको यात्रिक जीवनशैलीसँगै मातृभूमीमा बिताएका अतितको पुनरावृति र बितेका दिनहरूको मीठो सम्झनालाई कवितामा बिसाएकी छन् । यस सङ्ग्रहका प्रत्येक कविताले महिला भावनालाई मुखारित गर्न खोजेको छ । उनका धेरै कवितामा नस्टाल्जिया झल्किएको देखिन्छ । त्यसैले उनी कहिले स्वदेशको चोखो जागीरमा रमाएको क्षण सम्झन्छिन् त कहिले विदेशमा आएर एक्लोपनले थिच्न र चिथोर्न आएको अनुभव सुनाउँदै मनका चाहनाको पछि लागेर आशाको पलुवाहरूले नौंलो मार्ग पहिल्याउने विश्वासमा आशावादी स्वर देखाएकी छन् । उनले समाजमा समानता र विश्ववन्धुत्वको स्वर गुञ्जियमान गराउन सबैमा प्रेमोभाव हुनु पर्ने कुरामा जोड दिएको देखिन्छ । धेरै कविताले सद्भाव र सम्बन्धको अङ्कगणि मिलाउन खोजेको देखिन्छ । देश र आप्रवासी परिवेशलाई विषयवस्तु बनाएर त्यसमा आफुलाई आरोपित गर्दै लेखिएका प्रत्येक कविताले नयाँ भाव प्रष्फुटित गरेको छ ।
सन् २०२६ को जुन सम्ममा क्यानडाका सर्जकहरूका ११ वटा कृति प्रकाशित भएको देखिन्छ । नेपालीमा २ वटा उपन्यास र २ वटा कविता सङ्ग्रह अनि अंग्रेजीमा एउटा उपन्यास, २ वटा कविता सङ्ग्रह र ४ वटा आत्मकथा र जीवनको अनुभव सङ्ग्रह प्रकाशित भएको देखिन्छ ।
सन् २०२६ मा प्रकाशित भएका नेपाली उपन्यासमा किरण ढुङ्गानाको ‘धमिलिएको परिवेश’ र देवी घिमिरेको ‘मनझोली’ प्रकाशित भएको थियो भने श्रीयाँशी ज्ञवालीको ‘द डार्क सेक्रेतट्स अफ उन्नेम’ (उन्नेमका अँध्यारा रहस्यहरू) अंग्रेजी उपन्यास प्रकाशित भएको छ । अनुप न्योपानेको ‘हृदय’ काव्य सङ्ग्रह नेपालीमा प्रकाशित भएको थियो । अंग्रेजीमा पुष्पराज आचार्यको ‘ड्रापेरी अफ टाईम’ (समयको पर्दाफास) र सरस्वती लामिछानेको कराइखोला फ्लोज अंग्रेजी कविता सङ्ग्रह प्रकाशित भएका छन् ।
सन् २०२६ को मार्चमा इभान शर्माको आत्मकथा ‘द लिमिटलेस जर्नी फ्रम लिमिटेड टु लिमिटलेस’ को लोकार्पण भयो । उनी आफू डचेन मस्कुलर डिस्ट्रोफी रोगी हुन् । इभानले आफ्ना अनुभवहरू, भावनाहरू र संघर्षहरूलाई पुस्तकमा मन छुनेगरी शब्दमा कैद गरेका छन् । पुस्तकमा उनी आफ्नो पीडाहरूलाई विर्सन साहसिक कार्यहरूमा आफूमा रुपान्तरित गरेर आफ्नै संसारमा एक योद्धाको रूपमा उपस्थित गराएका छन् ।
उनी लेख्छन् – हामीसँग एक मांसपेशी परजीवी छ जसले आक्रमण गरिरहेको छ, धूर्त रूपमा आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर पारिरहेको छ तर म निडर भएर उसको आक्रमण सहदै उसलाई चुनौती दिदै आएको छु । उनलाई थाहा छ, यो युद्ध जित्न सकिदैन, तर पनि उनी निडरका साथ प्रतिद्वन्द्वी डचेन मस्कुलर डिस्ट्रोफीसँग लडिरहेका छन् । हरेक युद्धका दुई पक्ष हुन्छन् र दुवै जित्नको लागि लड्छन् । यद्यपि, इभानको युद्ध केवल बाँच्नको लागि होइन, यो परिवर्तनको लागि हो ।
उनी भन्छन् – हामीले रूपान्तरणको लागि पर्खनु हुँदैन आफैं रूपान्तरण हुनुपर्छ । ३० वर्षदेखि इभानले यो युद्ध आत्मविश्वासका साथ लड्दै आएका छन् । अरुको सहारामा आहार लिने र दैनिकी गर्नु पर्ने इभानले अध्ययनपछि जागिर खादै आएका छन् । यो पुस्तक एक शक्तिशाली संस्मरण हो, दुःखबाट पराजित हुन अस्वीकार गर्ने आत्माको ओडिसी हो । यो एक उज्यालो र गहिरो मानवीय कथा हो जुन हृदयमा रहन्छ । आफ्नो संघर्षमा एक्लो महसुस गर्ने जो कोहीले पनि यसको पृष्ठहरूमा आशा पाउनेछन्।
यसै वर्ष डा. नारायण पोखरेलको ‘बालाई सम्झँदा’ संस्मरण र तीनवटा अंग्रेजीमा आत्मकथाहरू पनि प्रकाशित भएको देखिन्छ । कोनाड रिजालको ‘अ जर्नि फ्रम म्याग्दी नेपाल टु अन्टारियो क्यानडा’ (म्याग्दी, नेपाल देखि ओन्टारियो, क्यानडा सम्मको यात्रा), ईभान शर्माको ‘द लिमिटलेस जर्नि फ्रम लिमिटेड टु लिमिटलेस’ (सीमितबाट असीमितसम्मको असीमित यात्रा) र क्नेहा शाहको ‘अ बिग स्ट्रोम ईन ए लिटल ब्रेन’ (सानो दिमागमा ठूलो आँधी) प्रकाशित भएका छन् । २०२५ मा फर्केर हेर्दा त्यस वर्ष राजेन्द्रप्रसाद प्रसाईको ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ कथा सङ्ग्रह, शरद सुब्बाको ‘बाह्रसिङ्गा बाह्रसिङ्गा’ शिकार यात्रासंस्मरण राधा अर्यालको ‘अङ्कुर’ कविता सङ्ग्रह र बासु शर्माको अंग्रेजीमा उनको आत्मकथा ‘अर्फाण्डे फ्रम ग्रिग टु ग्रिट’ (टुहुरास् ग्रिग देखि ग्रिट सम्म) प्रकाशित भएको थियो । यसै वर्ष सुनिल सिजापतीको ‘रिथिङ्किङ्ग एआई ईन स्मल बिजुनेस’ पनि प्रकाशित भएको देखिन्छ । तर साहित्य इतर भएकोले यसलाई समावेश गरेको छैन ।
अन्टारियोको मिसिसाँगा बस्ने सोह्र वर्षीय श्रीयांशीले एघार वर्षकै उमेरमा पहिलो रहस्यमय उपन्यास ‘द डार्क सेक्रेट्स अफ उन्नेम’ लेखेर एघार वर्षको उमेरमा प्रकाशित गराएकी थिइन् । ‘द डार्क आर्ट्स अफ उन्नेम’ उनको त्यहीँ उपन्यासको दोस्रो श्रृङ्खला हो । पहिलो उपन्यासको रहस्यमय शृङ्खलाको रुपमा आएको यस उपन्यासमा साहसिक यात्रा, आत्म–खोज, जादु तथा राजनीतिक द्वन्द्वलाई काल्पनिक संसारमा पाठकलाई पुर्याएर रोमाञ्चित तरिकाबाट प्रस्तुत गरिएको छ। लेखिका श्रियान्शी निकै कम उमेरमै प्रकाशन यात्रा सुरु गरेकी हुन्, र उनका कृतिहरू चरित्र–केन्द्रित कथानक तथा किशोरावस्थाबाट परिपक्वतासम्मको यात्रासम्बन्धी विषयवस्तु मन पराउने फ्यान्टेसी रुचाउने पाठकहरूमाझ लोकप्रिय बनेका छन्।
यस वर्ष अन्टारियोको मिसिसाँगा निवासी क्नेहा शाहको ‘अ बिग स्ट्रोम ई अ लिटल ब्रेन’ आत्मकथात्मक र अनुभव आधारित कृति प्रकाशित भएको छ । ७२ पृष्ठमा समेटिएको जीवनको यथार्थता समेटिएको छोराको पीडालाई आमाको शब्दमा यस कृतिमा पोखिएको छ । पुस्तकमा सत्र महिनाको कलिलो उमेरमा ब्रेन ट्युमरबाट पीडित छोराको पीडाका आरोह अवरोहको शाब्दिक बयान पाइन्छ । छोरा बिरामी हुनु, एकपछि अर्को उपचार गर्दा पनि छोरोको स्वास्थ्यमा सुधार नहुनु र अन्त्यमा छोरोको ब्रेन ट्युमरबारे जानकारी भएपछि कलिलो उमेरका शिशुमाथि भए गरिएका एकपछि अर्को कठिन परिक्षण र शल्यक्रियाका बारेमा एउटी आमाले देखेको भोगेको र अनुभव गरेका एकएक पलको बयानको शाब्दिक दृश्य यसमा पाइन्छ । लेखाइमा आएका कारुणिक बयानले पाठकलाई विचलित पनि पार्न सक्छ ।
यस पुस्तकमा छोराको उपचार र अनिश्चितताबीच आमाले भोगेको भावनात्मक यात्राको वर्णन पाइन्छ । शिशुको पीडा देख्दा उनी अपराधबोध र असहाय महसुस गर्छिन् । दुःखका बीच पनि उनी लेखनमार्फत आफ्नो भावना व्यक्त गरेर शक्ति पाउँछिन् । उनको यस पुस्तकले एउटी आमाको माया र सहनशीलताको शक्ति देखाएको छ । अन्ततः यसले कठिन परिस्थितिमा पनि आशा र आत्मबलको सन्देश दिन्छ । यसमा क्नेहाले बिरामी छोराको हेरचाहमा आमाको माया र त्यागमा देखिने निःस्वार्थ प्रेम, पीडा र भावनात्मक संघर्षका कुराहरू लेखनमार्फत बिसाएर दुःख र तनाव कम गर्ने प्रयास गरेको बताउछिन् । साथै सुखमय दाम्पत्य जीवनमा अचानक आउने समस्याले जीवन परिवर्तन हुने कुराहरूको र त्यसबाट उत्पन्न डर, चिन्ता र मानसिक तनावको चित्रण यस कृतिमा भएको छ ।
आत्मपरक जीवनगाथामा यो एउटी आमाको भावनात्मक यात्रामा आधारित छोटो आत्मकथा हो । उनको १७ महिनाको शिशुले गम्भीर उपचार र शल्यक्रिया भोग्नु परेको र त्यसपछि पनि उपचारको क्रमले निरन्तरता पाउँदै जानुका बारेमा आमाको माया, भावनात्मक शक्ति, अनिश्चिततामा पनि आशा खोज्ने क्षमता र आत्मबल बढाउने शक्ती यस पुस्तकबाट पाउन सकिन्छ ।
यस वर्ष पुष्पराज आचार्यले आफ्नो कविता सङ्ग्रह ‘ड्रापेरी अफ टाईम’ पनि प्रकाशित गराएका छन् । यस सङ्ग्रहमा समय, स्मृति, प्रकृति, प्रवासन, पहिचान र मानवीय अस्तित्वका विविध पक्षलाई गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरिएको छ । कविले वर्तमान क्षणको सौन्दर्य, स्मृतिका तहहरू, जीवनका विछोड र पुनर्मिलनका अनुभवहरूलाई सूक्ष्म बिम्बका माध्यमबाट अभिव्यक्त गरेका छन् । सङ्ग्रहका कविताहरूले मानिस, प्रकृति र सम्पूर्ण जीवित संसारलाई दार्शनिक तथा प्रतीकात्मक चेतनासँग जोड्छन् । साथै आप्रवासी नेपाली जीवनका अनुभूति र सांस्कृतिक पहिचानको प्रस्तुतिहरूलाई सरल तर गहिरो भावबोधयुक्त भाषा र सङ्गीतात्मक शैलीका माध्यमबाट पस्केका छन् ।
प्राध्यापन पेशाका आवद्ध आचार्य क्यानडामा सक्रिय शोधकर्ता, कवि र साहित्यकर्मीका रुपमा परिचित छन् । गत वर्ष उनले आश्मा शैयदको संयुक्त सम्पादनमा ‘वान्डरिङ्स् एन एन्थालोजी अफ एङ्गलोफोन नेपाली पोईट्री’ क्यानडाबाट प्रकाशित भएको थियो । नेपाली मूलका दसजना विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै अंग्रेजी भाषामा लेखिरहेका कविहरूका कविताहरू सङ्ग्रहमा रहेको छ । आचार्यले साहित्य, अनुवाद, चलचित्र तथा सांस्कृतिक अध्ययनका क्षेत्रमा पनि योगदान दिएका छन्
मिसिसाँगा, अन्टारियो निवासी डा. कोनाड रिजालले यसै वर्ष आफ्नो जीवनीमूलक कृति ‘अ जर्नि फ्रम म्याग्दी, नेपाल टु अन्टारियो, क्यानडा’ प्रकाशित भएको छ । अंग्रेजीमा लेखिएको यस पुस्तकमा नेपालको म्याग्दी जिल्लाको ग्रामीण परिवेशबाट सुरु भएको उनको जीवनयात्रा, शिक्षा, संघर्ष, अनुसन्धान, उद्यमशीलता र अन्ततः क्यानडाको ओन्टारियोसम्म पुगेको प्रेरणादायी यात्रालाई प्रस्तुत गरिएको छ । पुस्तकमा लेखकको बाल्यकालका अनुभव, शिक्षाप्रतिको लगाव, विदेशमा अध्ययनका चुनौतीहरू, नयाँ समाजमा घुलमिल हुने संघर्ष तथा सफलता प्राप्तिका कथाहरू समेटिएको छ । यस कृतिले एक नेपाली युवाले सीमित अवसरहरूबाट शुरु गरेर अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक, नवप्रवर्तनकर्ता र उद्यमी बन्नसम्मको यात्रालाई चित्रण गरेको छ ।
यस वर्ष अर्को कविता सङ्ग्रहका रुपमा अनुप न्योपानेको ‘हृदय’ प्रकाशित भएको पाइन्छ । सङ्ग्रह प्रकाशित भएको बारेमा जानकारी पाइए तापनि पुस्तक नपाईएकोले प्राप्त जानकारी अनुसार यसमा ६ वटा कविताहरू नेपाली र अँग्रेजीमा संग्रहित भएका छन् । नेपालको ‘द पोईट आईडल’ का प्रतिस्पर्धी रहेका अनुपको यसअघि उक्त कार्यक्रममा उनले प्रस्तुत गरेका उत्कृष्ट कविताहरू संकलन गरी संग्रहितरुपमा कविताको अडियो बुक निकालेको देखिन्छ । त्यस्तै, क्यालगरी निवासी देवी घिमिरेको आफ्नै प्रकाशनमा पहिलो उपन्यासका रुपमा ‘मनझरी’ यसै वर्ष प्रकाशित भएको छ । सामाजिक यथार्थवादी ‘मनझरी’ उपन्यासको विषयवस्तु यथार्थपरक सामाजिक पृष्ठभूमिमा आधारित छ । नब्बे र पन्चानब्बे वर्षका दुई महिला पात्रहरूको सात सालको उमेरमा विवाह भए पछि उनीहरूले निर्वाह गरेको जीवन संघर्षको कथा यस उपन्यासले समेटेको छ । सत्यकथालाई आधार बनाएर लेखिएको यो जीवनीपरक उपन्यासमा दुई महिलाको जीवनमा देखापरेका उचारचढाऊँ र पारीवारिक खुशियालीका लागि समस्याको समाधानलाई उपन्यासमा समेटिएको छ । सन् २०१२ देखि पहिला टोरन्टो र पछि क्यानडामा स्थाई रुपमा बस्दै आउनु भएकी देवी घिमिरेको कलम पद्य विधामा बढी चलेको देखिन्छ । उनले चारवटा गीति अल्बम पनि निस्किएको बारे जानकारी पाइन्छ ।
किरण ढुङ्गानाले क्यानडामा नेपाली संस्था र साहित्यको जग हाल्ने कामको थालनी गरेका हुन् । यस वर्ष उनको चौंथो साहित्यिक कृति र तेस्रो उपन्यास ‘धमिलिएको परिवेश’ प्रकाशित भएको छ । सामाजिक परिवेशमा लेखिएको ‘धमिलिएको परिवेश’ उपन्यासले व्यक्ति र समाजबीचको द्वन्द्व, स्वार्थका कारण बिग्रँदै गएको सामाजिक सम्बन्ध र स्पष्ट दिशा नभएको जीवन–परिवेश माथि प्रकाश परेको छ । शीर्षकले नै हाम्रो समाजको अवस्था स्पष्ट नभएको र सामाजिक मूल्य र आदर्शहरू धमिलो बनेको अवस्था उजगार गरेको छ । उपन्यासले पश्चिम नेपालको उत्तराखण्ड तर्फ पर्ने दुर्गम भूभागको एउटा सानो हिमाली गाँउको सुख–दुःख र गरिबीको दारुण अवस्थाको कथा पस्केको छ । गाँउमा अन्नबाली नभएपछि नेपालको सीमा काट्दै हिन्दुस्तानका शहरहरूमा कामको खोजिमा पलायन हुँदै जनो परिवेश र त्यसको परणाममा परिवारले सहनु पर्ने यथार्थ जीवन भोगाइ यस उपन्यासमा पाइन्छ । अभावको जीवनमा छोरीको बाऊ हुनुको पीडा अनि राज्य प्रशासनले असहयोग नीतिको कथा र त्यसको परिणाम उपन्यासले देखाएको । यस क्रममा चेलीबेटी बेचबिखनको घटना र त्यसप्रति राज्य, कानुन र प्रशासनको असफलता र संवेदनहीनतालाई तीव्र रूपमा उजागर गरेको छ ।
उपन्यासले नेपालमा गरीब निमुखाहरूको हकमा कानून ढिलो चल्ने र व्यवस्था निष्क्रिय हुने कारणले अपराध व्यवस्थित रूपमा फैलिएको वास्तविकता देखाएको छ । उपन्यासले समकालीन नेपाली समाजको सजीव चित्रण गरेको छ । अशिक्षित र अविकसित ग्रामिण समाजमा अहिले पनि अन्योल र निराशाले भरिएको वातावरण छ । समाजमा देखिएको नैतिक मूल्यहरूको पतन र आम मानिसको जीवनमा त्यसको असरलाई उपन्यासले गहिरो रूपमा देखाएको छ । उपन्यासमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरूको जीवन्त प्रस्तुतिले पठनीय बनाएको छ ।
यसै वर्ष अर्को अंग्रेजी कविता सङ्ग्रह अल्बर्टा, क्यालगरी निवासी सरस्वती लामिछानेको ‘कराइखोला फ्लोज’ प्रकाशित भएको छ । टोरन्टो विश्वविद्यालयबाट क्रिएटिभ राइटिङको अध्ययन गरी अल्बर्टालाई कर्मभूमि बनाउने लामिछानेको अनुवाद तथा साहित्यिक निबन्धहरू पनि प्रकाशित भएको पाइन्छ । उनले सन् २०२३ मा पाँचजनाको संयुक्त सम्पादनमा ‘एन्थोलोजी अफ नेपाली पोएट्री इन इङ्ग्लिस’ प्रकाशित गराएको देखिन्छ भने गत वर्ष दस जना आप्रवासी नेपाली कविहरूको संयुक्त अँग्रेजी कविता सङ्ग्रह ‘वान्डरिङरस–एन एन्थोलोजी अफ एङ्लोफोन नेपाली डयस्पोरा पाईट्री’ मा उनको कविता संग्रहित थियो ।
सरस्वती लामिछानेको पहिलो कविता सङ्ग्रह ‘कराइखोला फ्लोज’ मा उनले नेपालमा बिताएको बाल्यकालका क्षणहरूलाई काव्यात्मक ढङ्गले अभिव्यक्त गरेकी छन् । बाल्यकालदेखि नै प्रकृतिप्रेमी स्वभावकी लामिछाने प्रकृतिको सान्निध्यमा रमाउन रुचाउँथिन् । काठमाडौं छोडेपछि उनले नेपाल र क्यानडाका विविध अनुभवहरूको संगम भएका गीतात्मक कविताहरू सिर्जना गर्न थालेको देखिन्छ । यस सङ्ग्रह नेपालसँगै टोरन्टो, अल्बर्टा तथा प्रशान्त तटीय क्षेत्रका अनुभूतिहरू समेटिएका छन् । नेपालमा बितेको बाल्यकालदेखि क्यानडामा मातृत्वको यात्रासम्मका अनुभवहरूलाई कवितामार्फत व्यक्त गर्दै उनले ‘म हिमालयकी छोरी हुँ’ भन्ने अनुभूतिलाई अत्यन्त प्रभावशाली र कुशलतापूर्वक उद्घाटन गरेकी छन् ।
मे २०२६ को अन्त्यमा क्यालगरीका डा. नारायाण पोखरेलको ‘बालाई सम्झाँदा’ सस्मरण पुस्तक लोकार्पण भएको समाचार आएको छ । यसमा लेखकका बुवा चन्द्रमणिको जीवनका योगदान र उनले खार्पा क्षेत्रमा शिक्षाको ज्योति फैलाउनु भएको सत्य तथ्य जानकारी यस पुस्तकमा समेटेका छन् । निजका बुवासँग जोडिएका विभिन्न अनुभूतिको विवरण यस पुस्तकमा समेटिएको छ ।
क्यानडाबाट आजसम्म प्रकाशित भएका पुस्तकहरूको बारेमा थाहा पाएको जानकारीका आधारमा यो लेख तयार पारिएको हो । यसमा कसैको कुनै कृति छुट्न गएकोमा क्षमासँगै कृतिका बारेमा जानकारीका लागि अनुरोध गर्दछु ।

