काठमाडौं । नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानाडाका विभिन्न सहरमा शृङ्खलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ । ब्यान्डले सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) मा कन्सर्ट आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० मा सदबरीस्थित ‘सदबरी कम्युनिटी एरेना’मा हुनेछ । त्यसपछि अप्रिल १३ मा टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’मा प्रस्तुति दिनेछ भने अन्तिम कार्यक्रम अप्रिल १८ मा लन्डन सहरको ‘लन्डन म्युजिक हल’मा आयोजना हुनेछ ।
आयोजकका अनुसार टोरन्टो कन्सर्टको टिकट पूर्ण रूपमा बिक्री भइसकेको छ भने अन्य दुई सहरका लागि पनि टिकट तीव्र रूपमा बिक्री भइरहेको छ । क्यानाडामा रहेका नेपाली समुदायको उल्लेख्य उपस्थितिका कारण यसपटकको यात्रा विशेष हुने अपेक्षा गरिएको छ ।
नेपथ्यले यसअघि तीन वर्षअघि क्यानाडाका विभिन्न सहरमा प्रस्तुति दिएको थियो । पछिल्ला वर्षहरूमा अध्ययन र बसाइँसराइका कारण क्यानाडामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ, जसले यस्ता सांगीतिक कार्यक्रमप्रति आकर्षणसमेत बढाएको छ ।
ब्यान्डका अगुवा तथा मुख्य गायक अमृत गुरुङले क्यानाडामा रहेका नेपाली दर्शकको उत्साहले आफूहरू उत्साहित भएको बताउनुभयाे । “नयाँ वर्षको अवसरमा स्वदेशको सम्झना र दर्शकको मायासँगै मञ्चमा उभिनेछौँ,” उहाँले भन्नुभयाे ।
नेपथ्यको टोलीमा यसपटक ६ कलाकार र ८ प्राविधिकसहित १४ सदस्य रहनुहुनेछ । टोली अप्रिल ४ मा क्यानाडा प्रस्थान गर्ने र अप्रिल २० सम्म त्यहाँ रहने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार क्यानाडामा रहेका नेपालीका लागि नयाँ वर्षलाई उत्सवमय बनाउन नेपथ्यलाई आमन्त्रण गरिएको हो । सदबरी र लन्डनका कन्सर्टका लागि भने अझै टिकट उपलब्ध रहेको जनाइएको छ ।

