विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका ट्वाँके दाइले अनेक उपाय लगाएर लामो समयपछि सर्वोच्चबाट भ्रष्टाचार मुद्धामा सफाइ पाए । सफाइ सँगसँगै खरदारबाट सुब्बामा बढुवा भए । निलम्बनमा परेदेखिको सबै तलबभत्ता एकमुष्ट पाए । अनि उनको पदस्थापन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भयो । उमेर हदले अवकाश पाउनुअगाडि करिब डेढ वर्ष दाइले सुब्बाका रूपमा जागिर खाने भए ।
दाइको छोराले काठमाडौंमा राम्रै रेस्टुरेन्ट चलाउँदै थियो । हुन त त्यसमा पनि दाइले खाएको घुसकै लगानी थियो । छोरोले पटक–पटक बिहे गर्न प्रस्ताव गरे पनि दाइले आफ्नो भ्रष्टाचार मुद्धा सकिन लागेको र सफाइ पाएपछि धुमधामका साथ बिहे गर्ने भन्दै छोरा र उसकी प्रेमिकालाई मनाएका थिए । छोरी अष्ट्रेलिया गएर उतै जमेर बसेकी थिई, औपचारिक बिहे गरिनसके पनि राम्रै केटासँग “लिभिङ्ग टुगेदर” मा थिई ।
दाइले पर्याप्त धन सम्पत्ति कमाइसकेका थिए । सर्वोच्चबाट भ्रष्टाचारको धब्बा पनि मेटाइसकेका थिए । उनलाई अब भौतिक सम्पत्ति जोड्नुपर्ने आवश्यकता खासै थिएन । भौतिक सम्पत्तिभन्दा पनि उनलाई मानसिक शान्ति, राम्रो स्वास्थ्य र आत्मसम्मान, आत्मसन्तुष्टि बढी आवश्यक थियो । भ्रष्टाचारको मुद्धासँगै खराब बानी व्यहोरा र आचरण छोडेर धर्मकर्ममा लीन भएका टी पी दाइ सबैको अनुमान विपरित अख्तियारमा पदस्थापन भएसँगै पुरानै ट्वाँके र घुस्याहा दैनिकीमा फर्किए ।
दाइको मति बिग्रिएको र दैनिकी फेरिएको सुनेर दुःखी हुँदै प्रत्यक्ष भेटेर सम्झाउन भोलिपल्ट बिहानै दाइको घर गए । दाइ चिया पिउँदै पत्रिका पढ्दै रहेछन् । मेरो उपस्थितिले दाइ भाउजू दुवै औधी खुशी भए । भाउजूले चिया ल्याइन् र खाना खाएर मात्र हिँड्ने उर्दी जारी गरिन् । भाउजूकै अगाडि दाइलाई सम्झाउँदै भनेँ – “तपाईंलाई सबै पुग्दो छ, बल्ल भ्रष्टाचारको मुद्धाबाट कानुनी रूपमा छुटकारा पाउनुभएको छ, सामाजिक रूपमा त कसले पत्याउँछ र ? अब एक–डेढ वर्षको बाँकी जागिरमा लोभ नगर्नुस्, असल कर्मचारी बनेर उदाहरणीय हुनुहोस् ।
मेरो कुरा सुनेर लामो सास फेर्दै दाइले भने – “तिमीले भनेको कुरा ठीक हो । मलाई सबै पुग्दैछ । एकपटक कानूनी रूपमा भ्रष्टाचारी ठहरिसकेपछि पनि अनेक उपाय गरी सफाइ पाएको छु । मलाई फेरि भ्रष्टाचारी हुनु छैन । मेरा छोराछोरीलाई भ्रष्टाचारीका छोराछोरी भनेर लाज मान्ने अवस्था आउन दिनु छैन । तर, अख्तियार नै भ्रष्टाचारको छानविन गर्ने निकाय हो । यहाँ जतनासँग घुस खाने भए पो समात्छन् । यहाँ त भ्रष्टाचारीसँगै मुद्धा नचलाउन, भ्रष्टाचार लुकाउन, मुद्धा कमजोर बनाउन घुस खाने हो । त्यसैले यहाँको भ्रष्टाचार देखिँदैन, समातिँदैन, तिमी चिन्ता नमान । यो डेढ वर्षमा भाइबहिनीको भव्य बिहे गर्ने र निवृत्त भएपछिलाई केही बन्दोबस्त गर्नुपर्छ । यहीँ सरुवा भएर आउन पनि राम्रै खर्च गरेको छु ।”
दाइको कुरा सुनेर म अवाक् भएँ । दाइ मैले सोचेभन्दा ठूला खेलाडी निस्किए । के भन्ने, के गर्ने ? अलमलमा परेँ । नाताले मेरा दाइ नभए पनि, दुःखका बेला हामी एकअकासँग नजिक थियौँ । मेरो स्वाभिमानले त्यहाँबाट ‘निस्किहाल्’ भन्यो । भान्सामा खसीको मासुमा सिठ्ठी लागिरहेको थियो, मगमग बास्ना हामी बसेको ठाउँसम्मै आइरहेको थियो । म शौचालय जानुपर्ने बहाना गरेर, शौचालयमै श्रीमतीको जरुरी फोन आएको बहाना गरी दाइभाउजूसँग बिदा मागी त्यहाँबाट निस्किएँ ।
महिना दिनपछि दाइको फोन आयो । फोनमा भने – “छोराको बिहे गर्ने भइयो, तिमीसँग सल्लाह पनि गर्नु छ, छिटो आऊ ।” भोलिपल्ट बिहानै दाइकोमा गए । दाइ बिहेमा निम्तालुको सूची तयार पार्दै रैछन् । मलाई सूची देखाउँदै भने – “एकपटक हेर त कोही छुटे कि ?” मलाई काम दिएर दाइ एकछिनमा आउँछु भन्दै घरबाट निस्के । मन नलागे पनि सूची हेरेँ । तीन हजारभन्दा बढीको सूचीमा नेतादेखि मन्त्रीसम्म, व्यापारीदेखि सचिवसम्म, सेनादेखि प्रहरीसम्म सबै समेटिएका थिए ।
मेरो बोली सुनेर छोरो आफ्नो कोठाबाट आयो र भन्न थाल्यो –“काका, बुवाको कुरा सुनेर मैले अहिलेसम्म बिहे गरिनँ । बुवाले सफाइ पाउनुभयो, अब म बिहे गर्छु । बहिनी पनि एक वर्षभित्र बिहे गर्ने योजनामा छे । बुवा आमालाई, दुनियाँलाई देखाउन भव्य बिहे गर्दिन मन छ । बहिनीलाई अनि मलाई पनि संस्कृतिलाई निरन्तरता दिन, सरल र सभ्य बिहे गर्नुछ । भव्य बिहे गरे पनि सबैले भ्रष्टाचारको पैसा खर्च गर्यो भन्ने हुन् । हामीलाई भ्रष्टाचारीको छोराछोरी भनेर सबैले भन्छन । यो बिहेमा तामझाम गरेर हामीलाई फेरि भ्रष्टाचारी भन्ने अवसर दुनियाँलाई दिनु आवश्यक छैन । बुवा आमालाई सम्झाइदिनुहोस्, मलाई भन्ने आँट आउँदैन, फेरि मैले भनेको पनि सुन्नुहुन्न । वहाँहरूले नमाने तामझाम नै गर्ने हो भने, म सुटुक्क गएर गुहेश्वरीमा रीतिपूर्वक बिहे गरेर आउँछु ।” छोराको कुरा सुनेर म चकित परेँ । मैले उसलाई ट्यापे, गँजडीकै रूपमा हेरेको थिएँ । उसलाई नभेटेको पनि धेरै भइसकेको थियो । तर उसमा आमुल परिवर्तन आइसकेको रहेछ । उसमा आएको परिवर्तनले म खुशीले गदगद भएँ र भनेँ– “म सम्झाउने प्रयास गर्छु ।”
एकछिनमा दाइ घर आए । छोराको कुरा दाइ भाउजू दुवैलाई सुनाएँ र छोरीको पनि त्यस्तै चाहना रहेको पनि सुनाएँ । दाइ भाउजूले पहिले त विश्वास नै गरेनन् । छोरासँग धेरै बोल्न डराउँथे र कुरा गर्न चाहेनन् । मेरो निरन्तर प्रयासपछि छोरीलाई फोन गरेर छोरीबाट दाजुबहिनी दुवैको सरल विवाह गर्ने चाहना रहेको पुष्टि गरे । छोरीसँग कुरा गरिसकेपछि छोरालाई बोलाएर सोधे । छोराले प्रष्ट रूपमा, आफू सामान्य विवाह गर्ने र तामझाम मन नपर्ने र आवश्यक पनि नरहेको जिकिर गर्यो । दाइ भाउजूलाई यो कुरा मन परिरहेको थिएन । बढी विवाद गर्नु उपर्युक्त नहुने ठानी मैले भनेँ– “बाबु तिमी अहिले जाऊ, म कुरा मिलाउँछु ।”
छोरो गइसकेपछि दाइ भाउजूलाई राखेर सम्झाउन खोजेँ । शुरुमै दाइ कड्किए –“अचेलका यी केटाकेटी, आफूलाई के सम्झन्छन्, बाउ-आमाको इच्छा, मेहनत, बाउआमाप्रतिको दायित्व केही विचार गर्नुपर्दैन । समाजले के भन्छ ? त्यत्रो कमाएर, सम्पत्ति भएर पनि छोराछोरीको बिहेमा हामीलाई बोलाएनन् भन्दैनन् ? सम्पत्ति भएर पनि के गर्नु छोराछोरीको बिहे पनि राम्ररी गरेन भन्दैनन् ?” दाइ यस्तै केही बर्बराइरहेका थिए । भाउजू दाइका कुरामा सही थाप्दै थिइन् र मलाई भन्दै थिइन् –“बाबु, केही गरी केटाकेटीलाई सम्झाइदिनुपर्यो ।”
दुईजना बर्बराइरहे, मैले रोकिनँ । के के भन्छन् टाउको हल्लाएर सुनिरहेँ र उनीहरूको मनको पुरै भडास सकिएपछि के भन्ने भनेर सोच्न थालेँ । एकछिनमा उनीहरूको बर्बराहट सकियो र मलाई भने –“बाबु, के गर्ने, तिमीले उपाय निकालिदिनुपर्यो । यिनीहरूकै बिहेलाई चाहिन्छ भनेर अनेक गरेर पैसा जम्मा गरेर राखिएको छ, गरगहना किनिएको छ, अरु व्यवस्था गरिएको छ, उनीहरूलाई वास्तै छैन, बाउ-आमाले गरेको मेहनतको मतलब नै छैन ।”
दाइ भाउजू बोलेर थाकेको देखेपछि डराउँदै भनेँ– “हजुरहरूले पनि बाउ-आमाको इच्छाविपरित र आफ्नै इच्छाअनुसार बिहे गर्नुभएको होइन ?” मेरो कुरा सुनेर दुवैले रिसाउँदै कड्के आँखाले हेरे । भाउजू केही बोलिनन् । दाइ रिसाउँदै भने – “तिमी चुपलाग, केटाकेटीलाई सम्झाउँछ कि भनेको त हामीलाई पो सम्झाउन थाल्यो । हाम्रो अवस्था र अहिलेको अवस्था एकै हो र ?” म खासै बोलिनँ, सुनिरहेँ । दाइ बोलिसकेपछि भनेँ–“आफ्नो बिहे त मान्छेले आफ्नो इच्छाअनुसार गर्न पाउनुपर्यो नि । यो उनीहरूको आफ्नो बिहे हो । फेरि उनीहरूले बिहेका लागि केही मागेका पनि छैनन् । आशीर्वादबाहेक अरू आशा गरेका पनि छैनन् । मैले भनेको मान्नुहुन्छ भने उनीहरूलाई उनीहरूले भने जस्तो बिहे गर्न दिनुहोस् ।”
दाइ भाउजूलाई मेरो कुरा पटक्कै मन परेको थिएन । दुवैले एकअर्कामा मुखामुख गरेर हेर्न थाले । एकछिन सन्नाटा छायो । बिस्तारै डराउँदै डराउँदै भाउजूले भन्न थालिन् – “अब उनीहरूको इच्छा नै त्यस्तै छ भने हामीले के गर्नु र ! आफूलाई त छोराछोरी दुवैको झमझम बाजा बजाएर धुमधामसँग बिहे गर्ने रहर छ नि ! हामीले रहर गरेर नहुने । हामीले जबरजस्ती गर्यो भने फेरि आवेगमा आएर केही गरि पो हाल्ने हुन् कि ?” भाउजूले यति के भनेकी थिइन्, दाइ कडकिए – “अब तिमी पनि छोराछोरीको पक्षमा लागेर मलाई एक्लै पारेकी ?”
म अरु बोलेर छुच्चो हुन खोजिनँ । भाउजू फेरि भन्न थालिन् – “मलाई चैँ उनीहरूको कुरा कहाँ मन परेको छ र ? अझै एकपटक राम्ररी सम्झाउन खोज्छु । अब माने भने मानीहाले, मानेनन् भने उनीहरूले भने जस्तै बिहे गरिदिनुपर्ला, बिहे नै नगरिदिएर त भएन । उनीहरूले पनि कुनै गैर कानुनी, अनैतिक विवाहको कुरा गरेका छैनन् । उही हाम्रो इच्छाभन्दा अलिक फरक किसिमको विवाहको कुरा मात्र न हो ।” दाइ एकछिन सोचमग्न भए र भने – “लौ तिमीहरू सबैको त्यस्तै विचार भए म मात्र किन हड्डी हुनु ? मैले भनेको कसले के नै मान्छ र ? तैपनि तिमीहरू दुवैजना मिलेर केटाकेटीलाई सम्झाऊ, बुझाऊ । केही गरी मन फेरिहाल्छन् कि ? हुन त यो भाइले के सम्झाउला र खाली मलाई मात्र सम्झाउँछ, सिकाउँछ, यो गर, त्यो नगर भनेर ।”
दाइको मप्रति पटक्कै विश्वास थिएन । भाउजूले कुरा मिलाउँदै भनिन्– “बाबुले पनि सम्झाउनुहुन्छ नि । उनीहरू नै हामीभन्दा बढी जान्ने हौँ भन्छन्, हामीले भनेको के मान्छन् र ?” म केही बोलिनँ । मुस्कुराएर टाउको मात्र हल्लाएँ । दाइ बिस्तारै भन्न थाले –“अब मानेनन् भने बिहेखर्च भनेर छुट्याएको पैसा हामीलाई बुढेस्कालमा काम लाग्छ । अब रिटायर हुन लागेको छु, पैसा कमाउन खासै बल गर्नु पनि परेन ।”
दाइले त्यति भनेको सुनेपछि मेरो मन खुशीले गदगद भयो । मेरो हर्षको भाव अनुहारमा नल्याइकन भनेँ– “म अहिले निस्कन्छु । फेरि आउँछु, मैले के गर्नुपर्छ म गरिहाल्छु नि ।” दाइले मेरो कुरा पत्याएनन् । भाव उनको अनुहारमा मजैले झल्कियो । म औपचारिकता निभाएर निस्किएँ ।
दुई दिनपछि छोरो फोन गरेर भेट्न आयो । बाउ-आमासँग बिहेका बारेमा भएका संवाद र उसले बहिनीको समर्थनमा गरेको विद्रोहको बेलिबिस्तार लगायो । उसले बाउ-आमा करिब–करिब उसको कुरा मान्न तयार भए पनि पूर्ण रूपमा तयार भइनसकेको र कहिले कसलाई त कहिले कसलाई लगाएर उसलाई सम्झाउने, फकाउने प्रयास गरिरहेको बेलिविस्तार लगायो । उसले बाउआमाको मन दुखाउन नचाहे पनि बिहेको सन्दर्भमा सम्झौता नगर्ने प्रष्ट अडान राख्दै भन्यो –“मैले वहाँहरूले भनेको अरू कुरा मानेकै छ । पहिले मति बिग्रँदा जे जति दुःख दिएँ त्यो दिएँ । त्यसमा मलाई पश्चाताप छ । म सप्रिसकेपछि मैले वहाँहरूले भनेको सबै कुरा मानिरहेकै छु । तर यो देखावटी र सामाजिक प्रतिस्पर्धा जस्तो बिहे मलाई गर्नु छैन । मेरै बाउआमाले उतिबेला क्रान्तिकारी बिहे गर्ने भनेर जनवादी बिहे गरेका होइनन्, अहिले उनीहरूलाई नै पुँजीपतिको जस्तो बिहे गर्नुपर्या छ ! कहिलेकाहीँ मलाई लाग्छ, क्रान्तिकारी त अभावले भएका रहेछन् । अभाव हटेसँगै विलासी र पुँजीपतिकै अभ्यास अनुशरण गरे ।”
छोराको कुरा सुनेर उसमा राजनैतिक चेत पनि राम्ररी नै पलाइसकेको थाहा पाएँ । उसले भनेको कुरामा कुनै प्रतिवाद गनुपर्ने अवस्था थिएन । उसको सुझबुझपूर्ण कुरा सुनेर भनेँ – “बिस्तारै सबै ठीक हुँदै जान्छ । तिमी कसरी र कहिले बिहे गर्ने हो तयारी गर । बहिनीसँग पनि सरसल्लाह गर । ऊ पनि बिहेमा आउनुपर्छ । दाइभाउजूसँग म कुरा मिलाउँछु ।” मेरो ढाडसले ऊ खुशी भयो र भन्यो, – “काठमाडौं नजिकै कुनै रिसोर्टमा दुलाहा पक्षबाट ४० जना र दुलाही पक्षबाट ४० जना गएर जग्गे बनाएर, वैदिक विधिसहित, अग्नि साक्षी राखी सात फेरा लगाएर बिहे गर्ने हाम्रो योजना छ ।” उसको योजना मलाई गज्जब लाग्यो अनि भनेँ– “ठीक छ, तिमी तिम्रै योजनाअनुसार तयारी गर ।”
जिन्दगीमा मध्यस्तकर्ताको काम कहिले गरेको थिइनँ । दुई दिनपछि मध्यस्तकर्ताको भूमिका निभाउन दाइभाउजू भेट्न गएँ ।
दाइभाउजूलाई छोराको बिहेको योजनाको बेलिविस्तार सुनाएँ । सबै सुनिसकेपछि दाइले अप्रत्यासित रूपमा ठट्यौली पाराले भने – “ठीकै छ त, उनीहरूको इच्छा त्यस्तै छ भने । उनीहरूले योजना गरेकोभन्दा त हामीले नै उस जमानामा क्रान्तिकारी बिहे गरेको ! केटाकेटीको योजनाले मलाई आनन्द हुने भयो । बूढेसकालमा खर्चको चिन्ता नहुने भयो । छोराछोरी आफैँ सक्षम छन् । अब केही महिना जागिर बाँकी छ, बिन्दास रिटायरमेन्ट प्लानतिर लागिन्छ ।”
छोराले आफैँले योजना गरेअनुसार नै विवाह गर्यो । भाउजू नेवारकी छोरी भए पनि माछा, मासु सबै त्याग गरेर पूजा, पाठ, धर्म, कर्मतिर लागिन् । बाँकी केही महिनाको जागिर दाइले असल कर्मचारी भएर बिताउने प्रयास गरे । दाइ असल कर्मचारी भए पछि अख्तियारमा उनलाई जगेडामा राखियो, केही काम दिइएन । यो बिचमा दाइले रक्सी छोड्ने धेरै प्रयास गरे, तर सफल भएनन् । कहिले हप्ता दिनसम्म छोडे त कहिले महिना दिन, तर उनले रक्सीको नशा सधैंका लागि केही गरी छोड्नै सकेनन् ।
केही महिनापछि दाइ सेवा निवृत्त भए । करिब पैंतीस वर्षे सरकारी जागिरे जीवनमा उनले राजनीति, कर्मचारी तन्त्र र शासन व्यवस्थाका धेरै आयामहरू देखेका थिए । उनी ठूला पदमा नपुगे पनि राज्य व्यवस्थाको दोहोलो काढ्ने सानो कणसम्म भएका थिए । आफ्नो बेलामा सानै पदमा बसेर पनि राज्य श्रोतको चरम दुरुपयोग गरेर रङ्गीन जीवन बाँचेका थिए । मन्त्रीदेखि सचिवसम्म सहज पहुँच बनाएका ट्वाँके दाइ भन्सारका खेलाडी थिए, धमिरा थिए । “अति गरे, खति हुन्छ” भनेझैँ उनको अतिले उनलाई औपचारिक रूपमा भ्रष्टाचारी बनायो । राज्यव्यवस्थाका सबै नाडी छामेका उनले अनेक टिकडम लगाएर, ठूलो रकम खर्चेर औपचारिक रूपमा भ्रष्टाचारको मुद्धामा सफाई पाए पनि उनी समाजमा भ्रष्टाचारी भनेरै सुपरिचित थिए ।
आम्दानी जसरी भए पनि ट्वाँके दाइसँग प्रचुर सम्पत्ति थियो । उनले बाउको सम्पत्ति लिएनन्, ससुरालीको लिएनन् । न त उनका छोराछोरीले नै उनको बाँकी सम्पत्तिको आशा गरेका छन् । जीवनका उकाली, ओराली राम्ररी नै देखेका ट्वाँके दाइ विन्दास सेवा निवृक्त जीवन बिताइरहेका छन् । बिहान मर्निङ्ग वाकमा भेटिन्छन्, दिउँसो सामाजिक सञ्जाल र चिया पसलमा गफ दिइरहेका हुन्छन् । बेलुका उनलाई मनपर्ने ह्विस्कीको आनन्द लिन्छन् ।

