युएईलाई कर्मथलो बनाएर लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आउनुभएका गजलकार राज लम्साल ‘यात्री’को पहिलो गजल सङ्ग्रह ‘यात्री’ सार्वजनिक भएको छ । साहित्यपोस्टले प्रकाशनमा ल्याएको सो गजल सङ्ग्रहको गत जेठ १६ गते काठमाडौँमा आयोजित एक समारोहकाबीच लोकार्पण गरिएको थियो ।
प्रेम, राजनीति, सामाजिक विकृति विसङ्गति लगायत विषयलाई समेटेर तयार पारिएका ८१ ओटा गजल यसमा सङ्ग्रहित छन् । साहित्यपोस्टले हरेक वर्ष प्रदान गर्दै आएको ‘साहित्यपोस्ट काव्य पुरस्कार २०८२’ को उत्कृष्ट ५ कृतिहरूको सूचीमा गजलकार लम्सालको गजल सङ्ग्रह ‘यात्री’ पनि पर्न सफल भएको छ ।
दुई दशकदेखि साहित्य लेखन र झन्डै त्यति नै समयदेखि सङ्गीतमा समेत सक्रिय रहँदै आउनुभएका लम्सालका यसअघि केही संयुक्त कृतिहरू प्रकाशित छन् । साहित्यपोस्टका युएई संयोजक समेत रहनुभएका गजलकार यात्रीका केही गजल तथा गीतहरू सङ्गीतबद्ध भई बजारमा आइसकेका छन् ।
मोरङको सुन्दरहरैँचा स्थायी निवासी गजलकार यात्री पछिल्लो डेढ दशकभन्दा लामो समयदेखि रोजगारीको सिलसिलामा युएईमा हुनुहुन्छ । पछिल्लो केही वर्षदेखि भने उहाँ युएईमै निजी व्यवसाय सञ्चालन गर्दै आइरहनुभएको छ ।
गजल सङ्ग्रह ‘यात्री’ र उहाँको लेखन यात्रासँग सम्बन्धित रहेर केही कुराकानी गर्ने कोशिश गरिएको छ । अब प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश….
१) राम्रो सिर्जना गर्नु जति चुनौतीपूर्ण कुरा हो, त्यसलाई सङ्ग्रहित गरेर बजारमा ल्याउनु पनि त्यति नै चुनौतीको काम हो । पहिलो पटक साहित्यिक बजारमा पाइला राख्दाको अनुभव कस्तो छ ?
– ‘साहित्यिक बजार’ भन्दा पनि ‘साहित्यिक धरातल’ भन्नु अझ उपयुक्त हुन्छ जस्तो लाग्यो । साहित्यिक धरातलमा पाइला टेकेको मात्रै छ ‘यात्री’ले, यात्रा कति सहज वा असहज त्यो त बिस्तारै बाटोले तय गर्ला । चुनौतीको कुरा गर्नु भएको छ, एउटा बालकलाई जन्मेपछि कोल्टे फर्कनु, बामे सर्नु, बिस्तारै उभिन सिक्नु अनि हिँड्न कोशिश गर्नु चुनौती नै हो । यात्री त्यही बालक जस्तै छ । समय क्रमसँगै जन्मेपछि उसले पनि यी चुनौतीहरू सामना गर्दै आफ्नो गन्तव्य तय गर्ला । अहिलेलाई यत्ति भनेँ ।
२) गजल सङ्ग्रहलाई लिएर के कस्ता प्रतिक्रियाहरू प्राप्त गरिरहनुभएको छ ?
– ‘यात्री’ प्रकाशन हुनुभन्दा अगाडि केही अग्रज साहित्यकार, गजलकारहरू समक्ष पाण्डुलिपि पठाएको थिएँ । अब नेपाली गजललाई सीमित दायराभित्र कैद गरेर मात्र राख्न मिल्दैन । नेपाली गजलको दायरा फराकिलो बन्दै गइरहेको अवस्थामा यसलाई स्वच्छन्द आकाशको चरी जसरी उड्न दिनुपर्छ । त्यो उडानको शुरूवात केही वर्ष अगाडिदेखि शुरू भइसकेको र त्यहीँ उडानमा साथ दिन ‘यात्री’ पनि समावेश भएको प्रतिक्रियाहरू पाएको छु । नव युवा-युवतीहरूले सङ्ग्रह भित्रका प्रेमिल गजलहरू वाचन गर्दै म्यासेन्जरमा म्यासेज पठाउने क्रम पनि चलिरहेको छ । समग्र ‘यात्री’ प्रतिको प्रतिक्रियाहरू समय क्रमसँगै आउँदै जालान् ।
३) बजारीकरणका हिसाबले नेपाली साहित्यमा गजलको माहोल कस्तो देख्नुहुन्छ ?
– पछिल्लो समय नेपाली गजलले नेपाली साहित्यमा निक्कै राम्रो प्रगति गर्दै गइरहेको सर्वविदितै छ । यसको श्रेय अग्रज गजल अभियन्ता, गजलकार, गजल पाठक तथा श्रोताहरूलाई नै जान्छ । गजललाई परिमाणभन्दा पनि परिणाममुखी लेखिनु पर्छ र त्यसरी लेखिएका गजलहरूको सम्भवतः बजारीकरण पनि राम्रो हुने नै भयो ।
४) प्रवासमा रहेका सर्जकहरूको एउटा दुःख के हो भने- प्रकाशन भएका किताब बजारमा पुर्याइदिनुको साटो गोदाममा थन्क्याएर राखिएको गुनासो हामीले थुप्रै सुन्दै आएका छौँ । यस्तो नहोला भन्ने कुरामा तपाईं आफ्नो प्रकाशक (साहित्यपोस्ट) प्रति कति विश्वस्त हुनुहुन्छ ?
– कुनै पनि प्रकाशकले आफ्नो व्यावसायिक प्रयोजनका लागि मात्र नव-लेखक वा लगानी कर्तालाई प्रयोग गरिनु हुन्न । यसले दुवै पक्षलाई हानी गर्छ । सबैको आ-आफ्नो धर्म हुन्छ । धर्म चाहिँ बिर्सनु हुन्न । स्थापित लेखकका सन्दर्भमा त प्रकाशकहरू पहिल्यै आफू सचेत भएका हुन्छन् । नव-लेखकहरूका विषयमा चाहिँ यस्ता समस्याहरू सुन्नमा आएका छन् । साहित्यपोस्टले त झन् नव-लेखककै निमित्त तीन विधामा हरेक वर्ष पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ । नव-लेखकहरूका विषयमा यति धेरै सोच्ने साहित्यपोस्टबाट पक्कै पनि सही समय र सही स्थानहरूमा पुस्तकहरू पुगेका छन् । र, पुग्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।
५) सङ्ग्रहभित्र भूमिका लेख्ने क्रममा साहित्यकार सरुभक्तले “राज यात्री लम्साललाई म व्यक्तिगत रूपमा चिन्दिनँ ।” भनेर भन्नुभएछ । चिनजानै नभएको, यसअघि तपाईंका सिर्जनाहरू पढ्दै नपढेको मान्छेलाई आफ्नो कृतिको भूमिका लेखाउनु पर्ने जरूरी किन ठान्नुभयो ?
– जरूरी भन्दा पनि उहाँलाई आदर्शका रूपमा लिएको हुँ । यस अर्थमा कि, नेपाली गजलले लामो समयदेखि विवाद खेप्दै आइरहेको अवस्थामा, गजल लेख्दै गरेका नव-लेखकहरू अन्योलमा परिरहेका बेला, सबै वादहरूको अस्तित्व रहनु पर्दछ, वादहरूको झगडाले हानी नेपाली गजललाई नै हुने हो भनेर जुन अभियानमा उहाँ तटस्थ उभिनुभएको थियो, त्यही तटस्थता नै मेरो आदर्श बन्न पुग्यो । त्यसपछि साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालासँग उहाँलाई भेट्ने वा सङ्ग्रहको भूमिका लेखिदिनु हुन्छ कि भन्ने विषयमा छलफल भयो । गजल सङ्ग्रहको पाण्डुलिपि साहित्यकार सरुभक्तको इमेलमा पठाएँ । उहाँबाट प्रतिक्रिया पनि राम्रो आयो । र, यसरी हामी परिचित भयौँ ।
६) आफ्ना बाउ-आमाप्रति सन्तानले गर्ने अवहेलना, तिरस्कार र सन्तानहरू गैरजिम्मेवार बन्दै गएको आजको हाम्रो समाजलाई गजलका शेरहरूमार्फत थुप्रै ठाउँमा प्रस्तुत गर्न खोज्नुभएको छ । तपाईं आफैँ पनि दुई सन्तानका बाउ हुनुहुन्छ । तपाईंले चाहिँ आफ्ना सन्तानबाट कस्तो अपेक्षा राख्नुभएको छ भविष्यमा ?
– ‘यात्री’ गजल सङ्ग्रह पूरै पढेर यति सुन्दर प्रश्नहरू राखिदिनु भएकोमा धन्यवाद ! मैले घरलाई मन्दिर ठानेको छु । बुवा आमा घरका साक्षात् देवता हुन् । हामी एक दिन चिनजान भएकाहरूसँग त मीठो बोल्ने प्रयास गर्छौं । राम्रो व्यवहार गर्न खोज्छौँ । जो हाम्रो जिन्दगीमा कहिल्यै कुनै काम आउँदैनन् । न हामीलाई अप्ठ्यारो पर्दा उनीहरूले आर्थिक सहायता गर्छन् । न बिरामी हुँदा हस्पिटल लिएर जान सक्छन्, न त बिहान बेलुकीको छाक नै टारिदिन्छन् । तर घरमा भएका बा-आमा जो जिन्दगीभर हाम्रा लागि बाँचिरहे, हाम्रो खुशीका निम्ति निस्वार्थ प्रेम गरिरहे, उहाँहरूको ममता र हेरचाहप्रति हामी जब प्रश्न उठाउन थाल्छौँ, जहाँ बा-आमाको मन हामी सभ्य बन्ने होडबाजीमा दुखाउन थाल्छौँ, त्यसपछि घर परिवारमा संस्कार मर्दै जान्छ । संस्कारबिनाको घर मसान घाट जस्तै बन्न पुग्दछ । त्यसैले पनि ‘यात्री’का शेरहरूमा बढी घर-परिवार, बा-आमा, सम्बन्धका कुरा आएका छन् । परिवारभित्र फाटो नआओस् । हरेक घर सधैँ मन्दिर बनोस्, यही कामना सहितको अपेक्षा छ।
७) देशको राजनीतिक परिपाटी र त्यसले निम्त्याएका विकृतिमाथि पनि तपाईंका शेरहरूले आवाज उठाउने कोशिश गरेका छन् । अहिलेको परिवर्तित राजनीतिक अवस्थालाई चाहिँ यहाँले कसरी हेरिरहनुभएको छ ?
– ‘यात्री’भित्र समावेश भएका गजल र शेरहरूमा १५/२० वर्ष अगाडिदेखि खेलिएको राजनैतिक खेलको चरित्र पनि चित्रण गरिएको पाउनु हुनेछ । जुन समयको कालखण्डमा लेखिन्छ, त्यही समयको चित्रण अवश्य पनि हुने नै भयो । अहिलेको परिवर्तित राजनीतिको काम कर्तव्यहरू हेर्न बाँकी नै छ । राम्रो हुँदै गए पक्कै पनि कविता, कथा, गजलहरूमा राम्रो नै लेखिने छ । अपेक्षा गरौँ अबदेखि कोही साहित्यकारहरूले परिवर्तित राजनीतिका बारेमा आलोचना तथा व्यङ्ग्य लेख्नै नपरोस् ।
८) गजल लेखन शृङ्गारिक परम्पराबाट बाहिर निस्किएर अन्य विभिन्न विषयहरू पनि समेटिन थालेको अवस्थामा छ । एउटा उदाहरण तपाईंको गजल सङ्ग्रह पनि हो । यसमा तपाईंको निजी धारणा चाहिँ के छ ?
– यही सङ्ग्रहको भूमिकामा साहित्यकार सरुभक्तले लेख्नु पनि भएको छ, “पछिल्लो समय गजल, गाजल मात्र होइन । अहिले गजलकारहरू आधुनिक समयका स्वतन्त्र लय सिर्जना गर्न आफ्ना जातीय र लौकिक लयहरू प्रयोग गर्न बढी इच्छुक देखिन्छन् ।” उहाँले भने जस्तै मेरो धारणा पनि त्यही हो । घर-परिवार, समाज, राजनीति, प्रकृति, भूगोल, देश, परदेश सबै समेटिनु पर्दछ । पाठकहरूले यी सबै कुरा ‘यात्री’भित्र पाउनु हुनेछ ।
९) बहरवादी र गैरबहरवादी गजलकारहरूको भीडमा तपाईं आफू चाहिँ कुन वादको गजलकार हो ?
– नेपाली साहित्यको माध्यमिक कालमा प्रमुख प्रतिमा मोतीराम भट्टले वनारस अध्ययनकलामा हिन्दी, उर्दू गजलको सानिध्य पाएपछि बहरबद्ध प्रवृत्तिलाई नेपाली साहित्यमा भित्र्याए । तर माध्यमिक कालबाट राणा शासनकालको अन्त्य हुनु पूर्व नै गजल लेखनको धारा सुक्दै गइसकेको थियो । तीसको दशकपछि नयाँ भाव, नयाँ विचार, नयाँ विषयहरू नेपाली गजलकारहरूले भित्र्याउँदै जान थाले । त्यसपछि बहरका बन्धनहरू बिस्तारै खुकुलो बन्न थाले । अरबी, फारसी, हिन्दी, उर्दूले तोड्न नसकेको बन्धनहरू नेपाली गजलकारहरूले तोडेर नेपाली मौलिकता जन्माए । यसकै फलस्वरूप २०८१ सालमा लेखनाथ जयन्तीको दिन ‘पोखरेली गजल प्रेमी समूह पोखरा’ले ‘गजल घोषणापत्र-२०८१’ जारी गरेको थियो । यो घोषणापत्र बहरबद्ध गजल लेखनसहित सबै खालका स्वतन्त्र र लयबद्ध गजल लेखनको सह-अस्तित्वपूर्ण विकास हुनुपर्छ भन्ने घोषणापत्र हो भनेर साहित्यकार सरुभक्त लेख्नुहुन्छ । उहाँकै लेखसँग सहमति जनाउँदै अब हामी जुन भूगोलमा उभिएका हुन्छौँ, जुन परिवेशमा बाँचेका हुन्छौँ, हामीलाई त्यहाँ बहने हावाले, प्रकृतिले, समाजले, राजनीतिले पक्कै पनि छोइरहेको हुन्छ । तपाईंले भन्नुभएका वादहरुको पक्ष र विपक्षमा भन्दा पनि यी सबैको सह-अस्तित्वमा रहेर समसामयिक दृश्यहरू शब्दहरूमा कैद गरी पाठकको भावना बुझेर समवेदना छोएर लेख्न सकियो भने नेपाली गजलले त्यतिबेला ठूलो सफलता पाउने छ ।
१०) गजल के हो तपाईंका लागि ?
– एक अर्थमा भन्नुपर्दा एक पानामा लेखिएको कथा, कविता, निबन्ध वा भनौँ एउटा ग्रन्थ वा एउटा युगले बाँचेको समय प्रस्ट्याउन खोजेको भाव, दुई लाइनले बनेको एक शेरले बोक्ने वजन नै गजल हो । अर्को अर्थमा भन्नुपर्दा मेरो एक्लोपनको सहयात्री पनि हो गजल । राति निद्रा नलाग्दा, निद्रा लगाउने औषधि हो गजल । एक्लै ड्राइभ गरिरहँदाको सारथि हो गजल । मनकै नजिक बसेर मेरो आँसुको रङ्ग पढिदिने मौन आवाज हो गजल ।
११) लेखनका लागि यहाँलाई के कस्ता कुराहरूले बेसी प्रभावित पार्ने गर्छ ?
– मन कहिल्यै स्थिर नहुने रहेछ । आँखाले देखेका दृश्यहरूलाई मनले महसूस गरेर मस्तिष्कमा पठाइदिन्छ । अनि मस्तिष्कले सोच्न बाध्य बनाइदिन्छ । त्यही सोचिएका र देखिएका समवेदना नै हुन् मलाई लेख्न प्रेरित गर्ने । जस्तो एउटा गजल लेखिनुको पछाडिको परिदृश्य यस्तो थियो, वृद्ध बा-आमा एयरपोर्टको तारजालीबाट एकनास भित्र उड्न लागेको हवाइजहाज हेरिरहनु भएको थियो । सोचेँ, उहाँ छोरो उडाउन आउनु भएको होला । परदेश पुगेपछि छोरोले बिर्सियो भने ती बा-आमाको मन कति रुन्छ होला ?
घर छोडेकै साल बिर्सियो छोराले
गर्नु थियो केही सवाल बिर्सियो छोराले ।
नहुँदा पनि कहिल्यै भोको राखेनौँ
हुने भएछ अनिकाल बिर्सियो छोराले ।
१२) “पानीको यात्रा समुद्रदेखि समुद्रसम्मको हो, मलाई कहीँ पुग्नु छैन । यात्रीको यात्रा माटोदेखि माटोसम्मको हो ।” यो तपाईंको भनाइ हो । यो यात्रा चाहिँ कत्तिको सजिलो अथवा अप्ठ्यारो, कस्तो चलिरहेको छ ?
– जसरी समुद्रको पानी बाफिएर माथि उड्दै गर्दा त्यो पानीले सोच्दो हो – म त समुद्रलाई छोडेर धेरै माथि पुग्ने छु । तर उसले सोचेको हुँदैन, पछि झरी बनेर धर्तीमा बजारिनुको पीडा । उसले सोचेको हुँदैन, अघि भर्खरसम्म सङ्लो ऊ, अब धमिलिँदै खहरे नदी बन्दै, किनारसँग ठोक्किँदै, फेरि समुद्रमै पुग्नुको चक्र । त्यस्तै हो हाम्रो जीवन पनि । थोरै सफलता पाउने बित्तिकै हामी धर्ती छोडेर उड्न खोज्छौँ । आफ्नो धरातल बिर्सिन्छौँ । तर हामी कहीँ पुगेकै हुन्नौँ । हामी सबै यात्री हौँ । यही माटोमा जन्म लिएर, यही माटोमा समाप्ति छ हाम्रो । यही जीवन समाप्तिभन्दा अगाडिको यात्रा अरू जस्तै म पनि गरिरहेको छु ।
१३) जाँदाजाँदै अन्त्यमा केही ?
– जाँदाजाँदै मेरा मनका शब्दभावहरूलाई यहाँ राखिदिनु भएकोमा तपाईंसहित साहित्यपोस्ट परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । कुनै पनि राष्ट्र आफ्नो कला, साहित्य, सङ्गीतबिना सधैँ अपाङ्ग सरह हुन्छ । त्यसैले नेपाली कला, साहित्य, संस्कृति, सङ्गीतलाई माया गरौँ ।धन्यवाद ।
(समाप्त)

