साहित्यपोस्ट डट कम

बर्माको परिवेश र मेरो बाल्यकाल

बर्माको परिवेश र मेरो बाल्यकाल

विसं. १९९५तिर चौबिस/पच्चिस वर्षका मेरा बुवा खड्गप्रसाद दाहाल र आमा जमुनादेवी दाहालले आफ्ना तीन वर्ष र डेढ वर्ष उमेरका दुई छोरी (मेरा दिदीहरू), अन्तरे भाइ जयप्रसाद सहित ताप्लेजुङबाट बर्मातिर लाग्नुभएको रहेछ । ताप्लेजुङको खेवाङ्गबाट पच्चीस रुपैयाँ र एकटिन घ्यू (१२ किलो जति) बोकेर भारतको दार्जेलिङ हुँदै कलकत्ता र कलकत्ताबाट पानीजहाजको सातदिन सातरातको यात्रा गरी बर्माको राजधानी रंगुन पुग्नुभएछ । पहाडबाट जाँदा पहिले बर्मा घुमिफिर गरिआएका  साथीहरू पनि रहेछन् र तिनीहरूले राजधानी रंगुनबाट ४००/५०० किलोमिटर टाढा उत्तरपूर्वमा रहेको थाइल्याण्डको सीमा जोडिएको बर्माको स्यान स्टेट (Shan Qmate) को लोइलेम भन्ने शहरको आसपासको मैदाने भन्ने नेपाली रहेको गाउँमा बस्न पुग्नुभएछ ।

त्यही मैदाने भन्ने ठाउँमा मेरो ठूलो दिदी डिकमायाको विवाह लिलाधर ढकालसँग नौ वर्षको उमेरमा भएको रहेछ । मेरो बुवाको काकाकी छोरी अर्थात् मेरी फुपू (हाल बौद्ध काठमाडौंमा बस्ने भाइहरू रमेश ढकाल, जयदेव ढकाल लगायतकी आमा) को विवाह चन्द्रमणि ढकालसँग भएको थियो । मेरो दिदी र फुपूको विवाह एकै लगनमा सहोदर दाजु र भाइसँग भएको रहेछ । मेरो बुवाका काका दयाराम दाहालका चारजना छोरा बलभद्र, लक्ष्मीप्रसाद, हरिप्रसाद र दुई बैनीसँग बर्मा जानुभएको रहेछ । बर्मा त्यस बेलासम्म अर्थात् सन् १९४७ सम्म बृहद भारतकै प्रान्त थियो । आसाम, मणिपुर जस्तै बर्मा जान-आउन पनि खुला थियो । पासपोर्ट लिनु पर्दैनथ्यो ।

नेपालबाट बर्मा जाने धेरैजसो मानिस अशिक्षित भएको हुँदा गाईवस्तु पालन गर्ने पेशा अपनाएका हुन्थे त्यस बेला । अलि पढेलेखेका क्षेत्री र मंगोलमूलका राई, लिम्बु, मगर, लामा आदि चैं त्यस बेलाको ब्रिटिस आर्मीमा कार्यरत हुन्थे । हाम्रा बुवा केही मात्रामा लेखपढ गर्न जान्ने हुनुहुन्थ्यो । छेउछाउ छिमेकीले गाईपालन गरेकाले यो नै सजिलो पेशा हुन्छ भन्ने ठानेर बुवाले पनि गाईपालन गरी दूध र घ्यू बेच्ने कार्य गर्नुभयो । त्यहाँ गाईपालन व्यवसाय राम्रोसँग हुने गरेको थियो । मैले थाहा पाउँदा अर्थात् म सात/आठ वर्षको हुँदा हाम्रो गोठमा दुई सयभन्दा बढी नै गाईहरू थिए । अझ अलि धनी हुनेका त चार–पाँच सय सम्म गाई हुन्थे ।

त्यो मैदाने भन्ने ठाउँको केही वर्षको बसाइपछि बुवाआमा पैदल हिंड्दा दुई घण्टा जति लाग्ने ‘कुट्खेउ’ भन्ने गाउँमा बसाइँ सरेर जानुभएछ । त्यही कुट्खेउ भन्ने ठाउँमा मेरो जेठो दाजु पृथ्वीनाथ दाहालको विसं. २००० मा, माइला दाजु तुलसीराम दाहालको विसं. २००२ मा, माइली दिदी टिकुमायाको विसं. २००४ मा, र म थानेश्वरको विसं. २००६, वैशाख ११ गते जन्म भएको थियो । पछि मेरो औपचारिक नाम थानेश्वरबाट दुर्गाप्रसाद भएको थियो ।

म जन्मेको ठाउँलाई पल्लो कुट्खेउ भनिन्थ्यो र त्यो भन्दा आधा घण्टा जति हिँड्दा पुगिने अर्को गाउँलाई ओल्लो कुट्खेउ भनिन्थ्यो । त्यही ओल्लो कुट्खेउमा मेरी कान्छी बैनी विष्णुदेवीको जन्म विसं. २००९ र काइलो भाइ हरिप्रसाद दाहालको जन्म विसं. २०१० भएको थियो । जहाँ जहाँ पुग्थ्यौँ हामी त्यहाँ त्यहाँ गाईपालन व्यवसाय चली नै रहन्थ्यो । गोठमा कम्तीमा पनि सयदेखि एकसय पचास वटासम्म गाई सधैँ नै हुन्थे – दही, मही, घ्यू, दूध जति पनि हुने । सानामा प्रशस्त मात्रामा गोरस् खाइयो ।

बर्मा नेपालभन्दा साढे चार गुणा ठूलो पहाड, जङ्गल र समथर भूमी रहेको देश हो । सन् १९६२ सम्म बर्माको गाउँतिर जग्गाजमिन किन्न पर्दैनथ्यो । आफूले जति घेरबार गर्‍यो, त्यो आफ्नो हुन्थ्यो । हाम्रो पनि सबै ठाउँमा खेत बाहेकको दुई/चार विगाहा जग्गामा गहुँ, मकै, तरकारीहरू लगाइएको हुन्थ्यो । बाँस, दारिम र अन्य धेरै रूखहरू हुन्थे । पछि हामीलाई स्कूल पढाउन सजिलो हुन्छ भनी बुवाआमा कुट्खेउबाट शहर लोइमेन हुँदै दुई अढाई किलोमिटर जति पर नामपान भन्ने गाउँमा पुनः बसाइँ सर्नुभयो । नामपान त्यहीँको स्थानीय स्यान भाषाको शब्द हो । नामपानको अर्थ पानी देऊ भन्ने हुँदो रहेछ – नाम भनेको पानी र पान भनेको देऊ । नामपान बसाइँ सरिसक्दा म लगभग छ वर्षको थिएँ जस्तो लाग्छ ।

“...अनि म शहरमा स्कूल भर्ना भएँ ठूलो दाजु, माइलो दाजु र म लोइलेम शहरमा रहेको एउटा हिन्दी स्कूलमा भर्ना भएर पढ्न थाल्यौं । त्यही हिन्दी स्कूलमा मैले भारतको राष्ट्रिय गान “जनमन गण अधिनायक जय हे भारत भाग्य विधाता ! पन्जाव सिन्धु गुजरात मराठा द्रविड उत्कल बंगा !! ” गाउन जानें । हिन्दी स्कूलमा “दो एकान दो, दो दुनी चार” आदि पनि सिक्न पाएँ । हिन्दी स्कुलमा डेढ वर्ष पढेपछि बुवाले हिन्दी पढाएर काम छैन भनेर मलाई एउटा अंग्रेजी भाषाको रोमन क्याथोलिक मिसन स्कूल (RCM School) मा भर्ना गरिदिनुभयो । त्यो स्कूलमा अंग्रेजी  र बर्मिज भाषामा मात्र पढाइ हुन्थ्यो । त्यहाँ पढ्दा म करिब छ वर्षको थिएँ । नामपान गाउँबाट तीन किलोमिटर जति टाढा लोइलेममा थियो त्यो रोमन क्याथोलिक स्कूल ।

स्कूल जाँदा तीनवटा खोला तरेर सेतो कमेरो माटोको उकालो चढेर जानुपर्ने थियो । स्कूल बिहानको आठ बजे शुरू हुन्थ्यो । बिहान चिया रोटी खाएर एक्लै स्कूल जान्थेँ । त्यो कमेरे उकालो चढेपछि पन्ध्र मिनेट जतिको तेर्सो बाटो हिँड्नु पर्थ्यो । त्यो कच्ची बाटोको छेउमा एउटा सानो ऐँसेलुको बोट थियो मेरो समय हेर्ने घडी । मैले त्यो बोटको छायामा कोरेर राखेको रेखालाई समयको मापदण्ड बनाएको थिएँ । मैले कोरेको रेखालाई त्यो सानो ऐँसेलुको बोटको छायाले कटेछ भने स्कूल ढिलो भयो भनेर बुझ्दथेँ र छाया रेखामा नपुगी लामो रहेछ भने छिटो छ र स्कूल समयमै पुगिन्छ भनेर ढुक्क हुन्थेँ ।

पछि बुवाले लोइलेम शहरमा नै  घर किन्नुभयो । माइला भट्टराई र टिकाराम बर्मा छोडी नेपाल आउने योजनामा हुनुहुँदो रहेछ । माइला भट्टराई भनेको लोकनाथ भट्टराई र मुक्तिनाथ भट्टराईका बुवा हुनुहुन्थ्यो । वहाँको राम्रो काठको आधुनिक खालको चिटिक्क परेको टाँडे घर थियो । त्यही घर बुवाले किन्नुभयो । त्यो घरको छेउमै नेपाली स्कूल थियो । म पढ्दै गरेको रोमन क्याथोलिक मिसन स्कूल दश मिनेटको दूरीमा थियो । शहरबजार भएकोले निकै आनन्द हुने नै भयो । नयाँ घर बजारमा किने तापनि हामी तीन दाजुभाइ मात्र त्यस घरमा पढ्न बस्थ्यौं । बुवाआमा अरू भाइबैनीका साथमा गाउँतिर गाईगोठमा बस्नुहुन्थो । गोठबाट दैनिक बजारमा दूध, घ्यू बेच्न आउनुहुन्थ्यो र हामीलाई पनि दूध दिनहुँ एक बिसाजति (दुई लिटर जति) र हप्ता/दश दिनमा एक बिसा (दुई किलो जति) घ्यू पनि ल्याइदिनुहुन्थ्यो । बिसा बर्माको त्यस बेलाको तौल नाप्ने एकाइ थियो ।

त्यही ठाउँमा बस्दाबस्दै नेपाली स्कूल पनि करेसामै भएकोले नेपाली भएर नेपाली भाषा नजानी हुँदैन, नेपाल जाँदा गाह्रो हुन्छ भन्ने विचार गरी मेरो बुवाले मलाई नेपाली स्कूलमा भर्ना गरिदिनुभयो । त्यही नेपाली स्कूलमा पढ्दा मैले पुस्तकमा ‘गजे घले भिसि’ भन्ने शीर्षक भएको लेख पढेको थिएँ । त्यसमा लेखिएको एउटा हरफ यस्तो थियो – “गोरखा राइफल्सका हस्तराम गुरुङ तन्नेरी ठिटाहरू खोज्दै गोरखाको बारपाक पुगे । त्यहाँ तिनको गजे घलेसँग भेट भयो । ती दुईका कुरा भए । गजे घलेले भारतको गोरखा पल्टनमा भर्ना हुने इच्छा प्रकट गरे ।” त्यही पढेकोले मैले गजे घलेले जापानसँगको लडाइँमा वीरताको लागि ब्रिटिसको सैनिक सर्वोच्च पदक भिसि (भिक्टोरिया क्रस) पाएको र सन् १९४३ मा गजे घले गोरखाको बारपाकमा जन्मिएका थिए भनेर । विसं २०७२ साल वैशाख १२ गते पौनै बाह्र बजेतिर बारपाकमा गएको महाभूकम्पको घटना हुनासाथ मैले सानामा पढेको गजे घलेलाई सम्झिएको पनि थिएँ ।

यसरी बाल्यकालमा धेरै ठाउँ र धेरै स्कूलमा सर्दै पढियो । नेपाली स्कूलमा पनि केही समय पढेपछि फेरि त्यही अंग्रेजी रोमन क्याथोलिक मिसन स्कूलमै फर्किएँ । मेरो दुई दाजु पनि त्यही स्कूलमा पढ्न थाल्नुभयो । त्यस स्कूलमा पढ्दा मेरो दुई कक्षाबाट एकैपल्ट चार कक्षामा स्तरबृद्धि भयो । त्यो स्कूल क्याथोलिक मिसनबाट चलेको हुनाले पढाउने शिक्षक र अरू प्रशासनिक कर्मचारीहरूलाई सिस्टर, मदर र फादर भनी सम्बोधन गर्नुपर्ने हुन्थ्यो । पढाउने सिस्टरहरू कडा मिजासका हुन्थे र धेरैजसो दक्षिण भारतका हुन्थे । कोहीकोही इटाली र ब्रिटेनका पनि थिए । म एक कक्षामा पढ्दा एउटी सिस्टरले अंग्रेजी स्पेलिङ सोध्दै आइन् र मलाई ‘सोप’को स्पेलिङ भन्न लगाइन् । स्कूल आएको केही दिन मात्र भएकोले अलिअलि मात्र अंग्रेजी जान्दथें । मैले Cop ‘सोप’ भनेर उत्तर दिएँ । मलाई ती सिस्टरले ब्रेन्चमाथि उभिन लगाइन् र पछाडिबाट लट्ठीले एक स्वाँठ हानिन् । पछि जान्ने एकजना साथीले Soap ‘सोप’ भनेर ठिक उत्तर दियो अनि पो म छक्क परें ।

 . . . .

बर्मा बस्दाको सेरोफेरो

बर्मामा म जन्मेर हुर्केको ठाउँहरू कुटखेउ, नामपान, लोइलेम, हुनाम र वानखुम हुन् । बर्मा नेपालभन्दा साढे चार गुणा ठूलो सुन्दर प्रकृति भएको कम जनसंख्या भएको बुद्ध धर्म मान्ने देश हो । ठाउँ ठाउँमा ‘फया’ (देवता वा देवालय) हुन्थ्यो । ती पगोडा शैलीका देवालयलाई पगोडा पनि भनिन्थ्यो । जङ्गली फलफूल जङ्गलैभरी पाइन्थ्यो । जङ्गलमा आँप, कटहर, जामुन, मलिंडो, अमला, अर्चल, खस्रे, खन्यू र अरू पनि अनेक प्रकारका फल जो नेपालमा पाइँदैन, बर्मामा पाइन्थ्यो । बर्मा जङ्गल भएको मुलुक भएकाले दिनभरी जङ्गलमा हिंड्दा भोक लाग्ला कि भन्ने चिन्ता नहुने, केही न केही फलफूल अवश्य पाइन्थ्यो । बाल्यकालमा गाई, बाख्रा चराउन पनि जान्थेँ म । गाईलाई बिहान दूध दुहेपछि छोडिन्थ्यो । धेरै टाढासम्म गाउँ नहुने भएकोले दिनभरी सयौं संख्यामा गाईहरू चरेर बेलुका आफै फर्केर आउँथे । कुनै कुनै ठाउँमा भने ठूलो जङ्गल घारी भएको हुँदा गाउँका साथीहरूसँग गाई हेर्न जानुपर्थ्यो । बाघ, चितुवा र त्यहाँका रैथानेले मारेर खाने डर हुन्थ्यो । तीन/चार घण्टाको बाटो हिँड्दा पनि अर्को कुनै गाउँ देखिँदैनथ्यो । म जन्मे बढेको गाउँहरूको सम्झना गर्दा ती ठाउँहरूको सेरोफेरो अनि घट्नाहरू अझै पनि मेरो मन मस्तिष्कमा ताजा भएर आउँछ ।

कुटखेउ : लोइलेम निकै ठूलो शहरबजार थियो त्यस बेलामा । लोइलेमबाट पन्ध्र/बीस मिनेट ओह्रालो एउटा नदीको पुल तरेर त्यति नै उकालो चढी केही मिनेट समतल हिँडेपछि पुगिने एउटा १०/१५ घर भएको गाउँ थियो ओल्लो कुटखेउ । त्यसको छेउमा एउटा ठूलो तलाउ थियो । त्यसलाई खामती तलाउ भनिन्थ्यो । त्यो तलाउ पोखराको फेवाताल जत्तिकै ठूलो थियो । त्यो तलाउ वारि हाम्रो गाउँ थियो उच्च भागमा । त्यहाँबाट तलाउ पारि मोटरबाटोमा गाडी गुडेका प्रष्ट देखिन्थे । म र दाजुहरू भएर त्यो तलाउको पारिपट्टि करिब एक किलोमिटर पर पिच बाटोमा गुडेका गाडीहरू हेर्थ्यौं । कति गाडी कुन रङ्गको आउँछ, ठूलो गाडी आउँछ कि सानो गाडी आउँछ भनेर खेल्दै घण्टौंसम्म बस्थ्यौं । खुब रमाइलो हुन्थ्यो । त्यहाँ म छ वर्षसम्म बसेको रहेछु । स्कूल पनि जाँदैनथ्यौं हामी त्यस बेलासम्म ।

 . . . .

म जन्मेको ठाउँ अर्थात् पल्लो कुट्खेउ

पल्लो कुटखेउ चैं वल्लो कुटखेउबाट आधा घण्टा जति पूर्वतिर पैदल हिंड्दा पुगिने अर्को गाउँ थियो जहाँ मेरो जन्म भएको थियो । मैले जान्दा अर्थात् ६/७ वर्षको हुँदा त्यहाँ गाउँ थिएन । हामी लगायत सबै मानिस अरू ठाउँ सरिसकेको थियौं । हामी पनि वल्लो कुटखेउमा बसाइँ सरेका रहेछौं । माइली दिदी –डेढ वर्ष, माल्दाजु – साढे तीन वर्ष, ठूला दाजु – ६ वर्ष हुनुहुन्थ्यो रे पल्लो कुटखेउबाट वल्लो कुटखेउ सर्दा ।

पल्लो कुटखेउदेखि दुई घण्टा पैदल पहाडको बाटोमा पर्ने हुनाम भन्ने ठाउँको गोठमा बुवाआमा बस्नुभएको थियो अरे । हाम्रो गोठमा २०० जति गाई थिए अरे । आमालाई सुत्केरी व्यथा लाग्न लागेको संकेत पाएपछि आमाले तीनजना आफ्नो बालक छोराछोरी लिएर बिहान छ बजेतिर हुनाम गोठबाट पल्लो कुटखेउ घर लाग्नुभएछ । डोकोमा सरसमान र सानी छोरी हालेर दुई छोरा डोर्‍याउँदै जङ्गल, पहाड उकालो बाटो हस्याङफस्याङ गर्दै हिँड्दै जाँदा बाटोमा झन व्यथाले च्यापेछ । दुई साना छोरालाई जङ्गलको पहाडी बाटोमा आमालाई अईऽऽऽया भयो तिमीहरु आउँदै गर भनेर चाँडो चाँडो भगवानको नाम जप्दै पल्लो कुटखेउको घर आइपुग्दा नपुग्दै २००६ साल वैसाख ११ गते विहान करिब आठ बजे मेरो जन्म भएको भनेर आमाले मलाई पछि भन्नुभएको थियो ।

त्यसबेला मानिसहरूले कतिसम्म दुःख, कष्ट भोगेका थिए भन्ने कुरा मेरो आमाले भोगेका गतिविधिले नै प्रष्ट पार्छ । बुवाले गोठमा गाईवस्तु रेखदेख गर्नुपर्ने भएकोले सधैँ घर आउन पाउनुहुन्नथ्यो । तीन/चार दिनमा आउजाउ गर्नुहुन्थ्यो । मेरी आमा लगायत त्यस बेलाका आमाहरूले दिनभर अनेकौं काम गरी आठ/दश छोरा/छोरीहरु कसरी हुर्काए बढाए ? सम्झँदा पनि अचम्म लाग्छ । यति साधन सम्पन्न भएर पनि आजकल एउटालाई हुर्काउन कति हम्मेहम्मे पर्छ भन्ने देखिएकै कुरा हो ।

  . . . .

दाजुले मेरो खुट्टाको बुढीऔंलो काटिदिंदा….

कुट्खेउ गाउँमै बस्दा एकदिन आमाले घर लिपपोत गर्न रातोमाटो खनेर ल्याउन मेरो माल्दाजु (तुलसीराम दाहाल)लाई अह्राउनुभयो र मलाई पनि साथै लैजान भन्नुभयो । घरबाट दश मिनेटमा पुगिने र घरबाट देखिने अलि उकालो उकालो परेको सधैँ माटो ल्याउने ठाउँमा माटो ल्याउन पुग्यौं । माल्दाजुले फलामको खन्तिले रातोमाटो खन्न थाल्नुभयो । म पनि छेउमा दुई खुट्टा पसारेर बसें । माटो खन्दै गरेको छेउमा खुट्टा भएकोले दाजुले ‘खुट्टा हटा !’ भन्नुभयो । मैले हटाइनँ । फेरि ‘हटा !’ भन्नुभयो । मैले ‘हटाउँदिन’ भनेछु ।  माल्दाजुले अहिले ‘काटिदिन्छु’ भन्नुभयो । मैले ‘लु काट् त !’ भनेको त फलामको खन्तिले मेरो दाहिने खुट्टाको बुढीऔंलोमा हान्नुभएछ । मेरो खुट्टाको बुढीऔंलो पूरै काटिएर तल छालाले मात्र अड्कियो । म रुन थालें अनि दाजुले फकाउँदै घर ल्याउनुभयो । म त्यसबेला करिब चार र माल्दाजु सात वर्षका थियौं । दाजुले डर देखाउन छेउमा हान्न खोज्दा औंलामा लागेको थियो । घरमा दाजुलाई आमाले धेरै गाली गर्नुभयो । म पनि निकै रोएँ । बुवा घरदेखि दुई घण्टा जति टाढाको हुनाम भन्ने ठाउँमा गोठमा हुनुहुन्थ्यो । आमाले काँचो सिम्रिक पिसेर लगाई कपडाको पट्टी बाँधिदिनुभयो । त्यसबेला आजकलको जस्तो घरमा औषधि हुँदैनथ्यो । छेउछाउमा पाइने झारपातको झोल निकालेर साधारण घाउ खटिरामा लगाइन्थ्यो । ठूलो घाउमा काँचो सिम्रिक लगाउँदा हड्डि जोडिन्छ भनिन्थ्यो । म बालक नै थिएँ, खर्ल्याङ, खर्ल्याङ गरेरै भए पनि खेल्न थालें । आमा पनि धेरै व्यस्त हुनुहुन्थ्यो । बैनी, म लगायत मेरा दुई दाजुहरू समेतलाई हेर्नुपर्ने, पकाएर खुवाउनुपर्ने । अझ घरमा पालिएका दुई/चारवटा गाईबाख्राको हेरचाह, बारीमा गोडमेल, घाँस दाउरा गर्नुपर्ने कामले व्यस्त मेरी आमाले भनेजस्तो हेरचाह गर्न सक्नुभएको थिएन ।

दुई/तीन दिनपछि बुवा गोठबाट आउँदा म खर्ल्याङ, खर्ल्याङ गरी हिँडेको देखेर सोधखोज गर्नुभयो । खुट्टाको बुढीऔंलो काटिएको भन्ने थाहा पाएपछि ‘मेरो छोरो मरेछ, कसैले वास्ता गरेनछन्‌’ भन्दै रुँदै मलाई बोकेर छेउका काजीबाको घर पुग्नुभयो । मेरो छोरो यस्तो हुँदा तपाईँहरूले ख्याल गर्नुभएन भनेर गुनासो गर्नुभएको म अहिले पनि सम्झिरहन्छु ।

घरबाट लोइलेम शहर नजिकै थियो र त्यहाँ निकै ठूलो ब्रिटिस शासनको बेला बनाएको अस्पताल थियो । बुवाले मलाई त्यही अस्पतालमा लगेर देखाउनुभयो । डाक्टरले काटिएको बुढीऔंलाको तल एउटा सानो काठ राखी औषधि लगाई बेण्डेज गरिदिए अनि चार/पाँच दिनमा आउन भने । केही दिन पछि मेरो खुट्टाको औंला जोडियो अनि घाउ पनि निको भयो । तर पहिले जस्तो भएन । अहिले पनि दाहिने खुट्टाको बुढीऔंलो अलि बाङ्गो छँदैछ ।

  . . . .

दोस्रो विश्वयुद्धको त्रास

दोस्रो विश्वयुद्धले बर्मालाई समेत छोयो । अंग्रेज साम्राज्यले सन् १८८६ मा बर्मा कब्जा गरी भारतको अङ्ग बनायो । पछि त्यो अंग्रेज शासनलाई लखेट्न भारतका शुभाषचन्द्र बोस, जवहारलाल नेहरु, महात्मा गान्धी र बर्माका नेता आउन्सानको नेतृत्वले जापानसँग सहयोग लिई अंग्रेज भगाओ नारा लिएर जापानसँग सहायता मागे । साम्राज्यवादी जापान पनि भारतका अंग्रेजबाट स्वतन्त्र पाउन चाहने । उनीहरूसँग भारतीयहरूको मित्रता थियो त्यसैले भारतीय र नेपालीहरू समेतलाई भारतीय ठानी जापानीहरूले आफ्ना मित्र ठान्थ्यो । तर गोरखाहरू भने जापानका दुश्मन थिए किनकि अंग्रेजी फौजमा गोरखा थिए । गोरखासँग जापानको धेरै ठाउँमा लडाइँ भएको थियो त्यसैले गोरखा भन्ने बित्तिकै जापानी फौजले गोली ठोकिहाल्थे रे । कतिले नजानेर ‘गोरखा हुँ’ भन्दा ज्यान पनि गएको थियो रे ।

बर्माभरी अंग्रेज भगाउन जापानी सैन्य हजारौं संख्यामा आएछन् । बुवा भन्नुहुन्थ्यो जताततै युद्ध विमानबाट प्याराशुटमा दिनहुँ हजारौं सेना ओरालिन्थे हामी बसेको ठाउँ लोइलेम तथा आसपास क्षेत्रमा । अंग्रेजको खोजीमा जापानी सेना गाउँगाउँ पस्न थालेछ । मानिस देख्ने बित्तिकै बन्दूक ताकेर ‘कोरेवा’ आदि शब्द भन्थे अरे । गान्धीका भनेर जनै र टुप्पी देखाइदियो भने ‘अरिगातो’ अर्थात् धन्यवाद भन्दै जान्थे अरे । तर कसैकसैले नजानेर ‘छैन’ भन्यो भने ‘चाइना चाइना’ भन्दै गोली ठोकेर मार्‍यो पनि अरे किनकि त्यस बेला जापान र चाइना अर्थात् चीनबीच पनि युद्ध हुँदैथियो । बुवा भन्नुहुन्थ्यो ‘गान्धीको नाम, जनै र टुप्पीले गर्दा हामी धेरैपल्ट बाँच्यौं ।’ टुप्पी, जनै देखाएर गान्धीका भन्यो भने अरीगातो (नमस्ते, धन्यवाद) भन्दै जापानीहरूले माया गर्थे रे ।

यस्तो युद्धको चपेटामा पाँच/छ वर्ष बुवाआमा पनि पर्नुभएछ । मेरो बुवा जापानीहरूको सीप र कला देखेर प्रभावित हुनुहुन्थ्यो । बुवा भन्नुहुन्थ्यो – जापानी राज्यको प्रभावमा परेको बर्माको अवस्था यस्तो थियो कि बाटोमा कुनै मूल्यवान् वस्तु सामान राख्दा कसैले पनि लाने, चोर्ने आँट गर्दैनथे । चोर्ने, बदमासी गर्नेलाई धेरै गाउँमा गोली ठोकेर मारिएको थियो रे ! जापानीहरूले लगाउने लुगा बडो जतन गरी बनाउँथे अरे । सर्टको कुम र कुहिनु अनि पाइन्टको घुँडामा चाँडो नफाटोस् भनेर पहिल्यै डबल कपडाले सिउने गर्थे अरे ।

बुवाले भने अनुसार एकपल्ट हाम्रो गाउँ छेउको बजार लोइलेममा जापानी सैन्य क्याम्प बसेछ । सेनाहरू दूधको खोजीमा गाउँ कुट्खेउ पसेछन् र कसकसका घरमा गाईपालन वा दूध छ भन्दै खोजेछन् । त्यस बेला हाम्रोमा निकै दूध हुनेरहेछ र बजारमा लगेर बिक्री गरिने रहेछ । जापानी सेनाहरू आई क्याम्पमा दिनहुँ दूध चाहिएकोले ठेक्कामा दिन भनेछन् तर बुवाले ‘दिन सकिँदैन दूध छैन’ भनी आलटाल गरी पठाउनुभएछ ।

भोलिपल्ट एकजना अफिसर समेत आई फेरि दूध मागेछन् । बुवाले के के भनी पुनः दिन इन्कार गर्नुभएछ । पर्सिपल्ट केही जापानी सेनाहरू आई बुवालाई पक्रेर लगेछन् र क्याम्पमा डोरीले झुन्ड्याएछन् । मरता क्या नहीँ कर्ता ! भनेझैँ बुवाले भोलिदेखि म दूध ल्याएर दिन्छु भनेपछि लत्ता, कपडा चामल, पैसा आदि दिएर ‘अरिगातो (धन्यवाद)’ भन्दै छोडिदिएछन् । बुवा खुशी हुँदै घर आउनुभएछ र अर्को दिनदेखि दूध पुर्‍याउन थाल्नुभएछ ।

लडाइँले सबैतिर हाहाकार थियो घरबार, लत्ता, कपडा, खाना सबै छाडेर कैयौंदिनसम्म जङ्गल भाग्न मानिसहरू बाध्य भएका बेला घरमा चाहिँ सबै थोकले भरिपूर्ण भएछ । त्यस बेला जापानीहरूलाई म्लेच्छ हुन्, तिनलाई घरभित्र छिर्न दिनुहुँदैन, दूध पनि दिनुहुँदैन, नजिकिए भने स्वास्नी, छोराछोरी लान्छन् भन्ने गरिन्थ्यो । कतिकोमा त्यस्तो भएको पनि रहेछ । त्यसैले बुवा तथा गाउँलेहरूले जापानीलाई दूध बेच्न नमानेका रहेछन् ।

लडाइँको समयमा खाल्डो वा सुरुङ (ट्रेन्च) बनाएर बस्न पर्ने थियो अरे । जब लडाकु हवाईजहाज (फाइटर) आकाशमा मडारिन थाल्थ्यो, ट्रेन्चभित्र पसिहाल्नु पर्ने । बुवाआमा लगायत सबै त्यसै गर्ने रे । दश, बीस फाइटर विमानले आकाशबाट बम र गोली वर्षा गरेको दृश्य बुवाआमाले पचासौंपल्ट देख्नुभएको कुरा पछि हामीलाई भन्नुहुन्थ्यो । त्यसैताका हाम्रो एकजना नातामा बडाबा पर्ने लोकमणि घिमिरे गाउँ गएर लोइलेम घर फर्कँदै हुनुहुँदो रहेछ । अंग्रेजहरूलाई पिछा गर्दै जापानी फाइटर जहाज आकाशमा देखा परेछन् । वरिपरिका मानिस ट्रेन्चतिर पस्न थालेछन् । घिमिरे बडाबा (भिमप्रसाद घिमिरेको बुवा) पनि ट्रेन्चमा पस्नुभएछ । जहाजले धेरै ठाउँमा बम र गोली बर्साएछ र अर्को चक्कर मार्न अलि पर गएछ । त्यही मौकामा बडाबा ट्रेन्चबाट निस्किएर दौडँदै घर पुग्नुभएछ । भोलिपल्ट त्यो ट्रेन्चमा हेर्न जाँदा त हिजो सँगै त्यहाँ लुकेका दर्जनभन्दा बढी मानिसको ट्रेन्चभित्र बमले लागेर मृत्यु भएको पो रहेछ । त्यो जहाजले अर्को चक्कर मारी पुनः त्यहाँ बम प्रहार गर्दा त्यो ट्रेन्च नष्ट भएको रहेछ । यस्ता युद्धका धेरै कुरा मैले बुवाआमा र त्यस बेला युद्धमा परेका मानिसहरूबाट सुनेको छु । मैले पनि धेरै ठाउँमा बमले बनाएका ठूलाठूला खाल्डाहरू देखेको थिएँ ।

  . . . .

नामपान : नामपानको अर्थ ‘पानी दिनु’ हुन्छ । शायद धेरै पानी भएको ठाउँले गर्दा त्यस्तो नाम भएको हुनसक्छ । नभन्दै नामपानमा छेउछाउमै तीन वटा खोला थिए– सधैँभरी पानी बग्ने । नुहाउने, लुगा धुने र खाने त्यही खोलाको पानी हुन्थ्यो । जनसंख्या अति कम र गाउँले परिवेश भएकोले पानी सफा कञ्चन हुन्थ्यो । एउटा खोला त निकै ठूलो थियो चार/पाँच फिटसम्म गहिरो र बीस पच्चीस/फिटसम्म चौडा । त्यहाँ दैनिक हामी दाजु र म साथीहरूसँग पौडी खेल्थ्यौं । नामपान गाउँमा दश/बाह्र वटा घरहरू थिए सबै नेपालीका । हाम्रो, शिवाकोटी, हाम्रा बडाबा, एकजना घिमिरे थरका मानिस र माइला भट्टराई (मुक्तिनाथ भट्टराई र लोकनाथ भट्टराईका बुवा) त्यही गाउँमा बसोबास गर्थ्यौ । अरू पनि थिए त्यहाँ । म, ठूल्दाजु, माल्दाजु, लोकनाथ, मुक्ति हाम्रो स्कूल जाने साथीहरू थिए । स्कूल जानेमध्ये म सबैभन्दा सानो थिएँ । करिब तीन किलोमिटर टाढा रहेको लोइलोम बजारमा तीन वटा स्कूल थिए । एउटा नेपाली, अर्को हिन्दी र अर्को अंग्रेजीको रोमन क्याथोलिक मिसन स्कूल । सबै स्कूलमा केही न केही समय पढेको कुरा मैले माथि उल्लेख गरिसकेको छु । कुनै समयमा म रोमन क्याथोलिक मिसन स्कूल पढ्न छ वर्षको उमेरमा एक्लै जाने गर्थेँ । त्यही एक्लै जाने क्रममा मैले अघि नै उल्लेख गरेको ऐँसेलुको बुटाको छायालाई समय मापन गर्ने माध्यम बनाएको थिएँ ।

हाम्रो गाउँ नामपान एकतिर अलि अग्लो र तीनतिर धेरै टाढासम्म समथर भएको ठाउँ थियो । घरबाट आधा कि.मी. जति पर वरको ठूलो घारी थियो । त्यसको वरिपरि घुम्न आधा घण्टा जति लाग्थ्यो । त्यस घारीमा एउटा ठूलो बरको रूखको हाँगा बाहिर निस्किएको थियो । त्यो हाँगो हामीले उफ्रँदा भेट्न सक्थ्यौं र दिनहुँ दाजु, दिदी, साथीहरूसँग म त्यो हाँगो माथि चढेर पिङ झैं तलमाथि खेल्थ्यौं । दुई–तीन जनासम्म त्यस हाँगोमा बसेर मच्चिन्थ्यौं । त्यो हाँगो ठूलै थियो र भाँचिने सम्भावना कमै थियो । एक दिन दिउँसो खाना खाइसकेपछि म (छ/सात वर्षको) र मभन्दा डेढ वर्ष जेठी दिदी त्यो बरको हाँगामा चढी मच्चिन थाल्यौं । खुब मज्जा आइरहेको थियो । एक्कासि त्यो बलियो हाँगो कर्‍याक्क गरी भाँचियो र मेरो एउटा तिघ्रा चेप्यो । दिदीलाई केही भएनछ । भाँचिएको हाँगो निकै ठूलो भएकोले मैले निकै बल गर्दा पनि निस्कन सकिनँ । धेरै बेर दिदीले समेत बल लगाएर हाँगोलाई अलिकति उचालेपछि म निस्कन सफल भएँ तर हिँड्न नसक्ने भएछु । मैले उपद्रो गरेँ अब घरमा आमाबुवाले कुट्ने भए भन्ने लाग्यो । केही बेरमा निकै साहस बटुलेर म घस्रिँदै घस्रिँदै घरछेउको झाडीमा लुकेर बसेँ । दिदीले घर गएर घटना बताएपछि मेरो ठूलो दाजु लिन आउनुभयो र फकाएर घर ल्याउनुभयो । 

नामपान गाउँमा हाम्रो करिब पाँच/छ बिगाहा जग्गाको घर र बारी थियो । त्यहाँ दश/बाह्र झाङ मालबाँस र भालुबाँसका घारी थिए । बाह्र/पन्ध्र बोट गुलिया र अमिला दारिमका बोट, केही अम्बकका बोट र अरू धेरै प्रकारका बोटबिरुवा र ठूलो खरबारी पनि थियो । बारीको बीचमा र पुच्छारमा एक/एक वटा निरन्तर पानी बगिरहने कुला(खोला) थिए । त्यो बारीमा मौसम अनुसार गहुँ, मकै र विभिन्न सागसब्जी, तरकारी लगाएका हुन्थे । मकै लगाएको बेला बारीको बीचमा एउटा अग्लो टुङ (सानो अग्लो घर) बनाएको थियो । त्यहाँ दाजु, दिदी र म पालो पालो गरी टुङमा चढी टिन ठटाएर वा डल्ला माटोले हानेर काग र चरा खेदाउथ्यौं । मकै धेरै भएकाले पाकेपछि भाँचेर डोकामा बोकेर ल्याई घोगा सुकाउने, नङ्ग्याउने, छोडाउने गर्थ्यौं । मकै छोडाउने महिनौंसम्मको काम हुन्थ्यो । मकै पिँधेर गाईलाई दान खोले पकाएर खुवाउँथ्यौं तर मानिसले चाहिँ पोलेर वा भुटेर मात्र खान्थ्यौं । मकैको भात चैं कसैले खाँदैनथे । बर्मा धान उत्पादन र निर्यातमा संसारकै अब्बल दर्जामा पर्ने देश भएकोले चामल धेरै सस्तोमा पाइन्थ्यो । त्यसैले धानको चामलको मात्र भात खान्थ्यौं । मकैको भात र खोले त गाईलाई मात्र दिने हो भन्ने लाग्थ्यो हामीलाई ।

नामपान गाउँमा पनि हामीसँग सय/सवा सय जति गाई थिए । बिहान आमाबुवा चारबजे नै उठी गाईको गोबर फाल्ने, थारा गाईलाई फुकाएर गोठबाट बाहिर भकारामा थुन्ने र दूध दुहुने काम गर्नुहुन्थो । गोठ १५०/२०० हात लामा खरले छाएको घर हुन्थ्यो । हामीले दुहुना गाईका बाच्छा भकारो (बाच्छा थुन्ने खोर)बाट पालैपालो गरी छोड्नुपर्थ्यो । गोठ लामो भएकोले आमाबुवा कहाँ हुनुहुन्छ भनेर ठम्याउन नै गाह्रो हुन्थ्यो । वहाँहरूले कुन गाईको बाच्छा छोड्न भनेर कराउनुहुन्थ्यो, त्यही अनुसार बाच्छा छोड्नुपर्थ्यो । बाच्छाहरू ठेलाम्ठेल गर्दै निस्कन्थे । हामीले छान्दै पठाउँथ्यौं । कहिलेकाहीँ त दुई/तीनवटा पनि बलजफ्ती निस्कन्थे । बिचरा बाच्छाहरू माउको दूध पहिला खान हानथाप गर्थे । हामीले हातखुट्टा र फरिको (सानो ढोका) को सहायताले सकभर छानेर पठाउँथ्यौं । लगभग प्रत्येक गाईका नाम हुन्थे । गाईहरूका नाम काली, सेती, उज्याली, राती, ठूली, सानी आदि हुन्थे । स्थानीय जातका मात्र गाई हुने भएकाले एउटा गाईले डेढ/दुई किलो जति मात्र दूध दिन्थे । दुई थुनको दूध मात्र दुहेर बाँकी बाच्छालाई छोडिन्थ्यो । दूध दुहेपछि गोठको बीचभागमा झुन्ड्याएर राखेको ठूलो बाल्टिन (भाँडो) मा दुधेरामा दुहेको दूध खन्याउनु पर्ने हुन्थ्यो किनकि धेरै हुँदा पोखिने वा कहिलेकाहीँ गाईले लात्ती चलाउँदा पोखिने डर पनि हुन्थ्यो । दूध दुहिसकेपछि दुई/तीन लिटरजति दूध घरमा छोडेर बाँकी भएको दूधलाई बिर्को भएको दुईवटा ठूला भाँडामा हालेर चियाखाजा खाईवरी बुवा बजारमा बेच्न वा ठेक्कामा दिन जानुहुन्थ्यो । आमा, ठूल्दाजु, माल्दाजु भने मल फाल्न, थाङ्ग्रा काट्न, घाँस काट्न र अरू विभिन्न काममा लाग्नुहुन्थ्यो । म र माल्दिदी अलि सानै भएकोले घर सरसफाइ गर्ने र मकै र गहुँ खान आउने काग, चरा धपाउने काममा खटिन्थ्यौं ।

  . . . .

चोर पकडा गया….

कहिलेकाहीँ म घरमा एक्लै पनि हुन्थेँ । घरमा कराईभरी तताएर राखेको दूधको बाक्लो टम्म लागेको तर हुन्थ्यो । घरमा एक्लै भएको मौकामा मचानमाथि चढेर त्यो तर चोरेर खान्थें । दूधको तर कहिलेकाहीँ गायब भएकोले के भएको हो भन्ने चासो परेछ घरमा सबैलाई, विशेषगरी बुवा, आमा र ठूल्दाजुलाई । बिरालोले पो खायो कि ! भन्ने पनि लागेछ । बिरालोले खाएको भए त एकठाउँबाट मात्र खान्छ, सबै त खाँदैन भन्ने कुराकानी आमा र दाजुहरूले गर्नुहुन्थ्यो । म सुनेको नसुने झैं गर्थेँ ।

एकदिनको कुरा हो । म घरमा एक्लै बसेको समयमा त्यसैगरी मचानमा चढेर जुठो नहुने गरी एक हातले थापेर अर्को हातले बाक्लो तर सोरेर निकालें । सोरेर निकालेको तर मुखमा क्वाप्प मात्र के हालेको थिएँ, ‘चोर पकडा गया, चोर पकडा गया’ भन्दै खाटमुनि लुकेर बस्नुभएको ठूल्दाजु (पृथ्वीनाथ दाहाल) खाटमुनिबाट फुत्त निस्किएर मलाई पक्रनुभयो । मेरो त सातोपुतलो उड्यो । मेरो ठूलो दाजु त्यस दिन चियो गर्न बस्नुभएको रहेछ । ठूलो दाजु ज्ञानी र सज्जन हुनुहुन्थ्यो । वहाँले मेरो कान तान्नुभयो र अबदेखि चोरेर नखानू, बदमासी गर्नुहुँदैन भनी बाचा गराएर छोडिदिनुभयो । त्यो दिनदेखि मैले तर चोर्न बन्द गरें ।

  . . . .

पुस्तकको कुमालेले झुक्क्याउँदा…..

त्यही नामपान गाउँमा एकदिन हाम्रो छेउको बाटापारि सिवाकोटीको घरमा हामी दाजु, दिदी र मैले कहिल्यै नदेखेको पहिरन लगाएर एकजना पाहुना आएका रहेछन् । हामीले कक्षा एकको किताबमा त्यही मानिसकै जस्तो पहिरन लगाएको चित्र देखेका थियौं । त्यो चित्र समेत भएको पाठको शीर्षक ‘कुमाले दाइ’ भन्ने थियो र त्यहाँ लेखिएको थियो – “कुमालेले बजारमा हाँडी बेचेको हेर । कुमालेले दौरा सुरुवाल र टोपी लगाएको छ , कम्मरमा पटुका बेरेको छ, पटुकामा खुकुरी भिरेको छ” यस्तै यस्तै । चित्रमा देखे जस्तै र पाठमा पढे जस्तै मानिस छिमेकमा देखेपछि हामी सबै घर आएर आमाबुवालाई ‘त्यो पल्लो घरमा कुमाले आएको छ, यस्तै छ ।’ भन्दै किताब खोलेर देखायौं । बुवाले पनि ‘के भन्छन् यी केटाकेटीहरू ?’ भन्दै छिमेकमा हेर्न जानुभयो । त्यहाँबाट फर्किएपछि बुवाले ‘त्यो त नेपालबाट आएको मानिस हो । नेपाली लुगा लगाएको हो ।’ भनेपछि हामी छक्क परेका थियौं । हामीले त कुमालेले मात्र यस्तो लुगा लगाउँछ होला भन्ने ठानेका थियौं । त्यति बेलासम्म दौरा सुरुवाल, टोपी र पटुका लगाएर खुकुरी भिरेको मानिस हामीले देखेकै थिएनौं । हामी नेपाली हौं भन्ने चैं थाहा थियो तर साँच्चिकैको नेपाली कस्ता हुन्छन् भन्ने नै थाहा पाएका रहेनछौं । मैले त बर्मामा बसुन्जेल अर्थात् म बाह्र वर्षको हुँदासम्म पनि त्यो छिमेकमा देखिएको मानिस बाहेक दौरा, सुरुवाल, पटुका, टोपी लगाएको नेपाली देखेको थिइनँ ।

 . . . .

अनि मेरो नाम दुर्गाप्रसाद भयो…..

कुटखेउमा बस्दा हाम्रा पुरोहित पं. पूर्णानन्द गौतम हुनुहुन्थ्यो । म लगायत सबै दाजुभाइ, दिदीबैनीको न्वारन वहाँले गर्नुभएको हो । दाजुहरूको व्रतबन्ध पनि वहाँले गर्नुभएको हो । ठूली दिदीको बिहे पनि पं. पूर्णानन्दले नै गर्नुभएको थियो । पछि नामपान गाउँ सरेपछि हाम्रो पुरोहित अर्को हुनुभयो । नयाँ पुरोहितले आफ्नो नाम बडो गर्वका साथ पं. शालिकराम उपाध्याय बराल भन्नुहुन्थ्यो तर गाउँघरमा भने वहाँलाई चौथे पण्डित भन्थे । वहाँले पहिले ब्रिटिस गोरखा पल्टनको चौथो बटालियनमा पण्डित भएर काम गर्नुभएकोले वहाँलाई चौथे पण्डित भन्ने गरेका रहेछन् । वहाँ हाम्रो घरमा कर्मकाण्ड पूजाआजा आदिमा आइरहनुहुन्थ्यो र मलाई काखमा राखेर के के भन्दै जिस्काउँदै खुब माया गर्नुहुन्थ्यो । म सानोमा गोरो, राम्रो, माक्कमुक्क हिस्सी परेको थिएँ भनेर आमाले भन्नुहुन्थ्यो । राम्रो देखेर धेरै जनाले मलाई माया गरेको अझसम्म सम्झना छ । चौथे पण्डित लोइलेम बजारमा बस्नुहुन्थ्यो । वहाँ गफ गर्न सिपालु विद्वान हुनुहुन्थ्यो । वहाँका दुर्गा, तारा, चन्द्रमा नामका तीन छोरी र सूर्य नामका एक छोरा थिए । राम्रो लागेर वहाँले मलाई छोराको साथी अर्थात् दुई छोरा बनाउन र पढाइदिन समेत भनेर आफ्नो घर लिएर आउनुभयो र वहाँकी जेठी छोरी दुर्गादेवीको भाइ भनेर मेरो नाम दुर्गाप्रसाद राखिदिनुभयो । अब म थानेश्वरबाट दुर्गाप्रसाद दाहाल भएँ । यो नाम पहिलेको भन्दा अलि राम्रो पनि लाग्यो मलाई । केही समय वहाँकै घरमा बसेर पढें मैले । त्यहाँबाट रोमन क्याथोलिक स्कूल नजिकै थियो । नामपाल जस्तो धेरै हिँडेर जानुपर्ने थिएन । म एक कक्षामा पढ्दा नै दुर्गा दिदी नौ वा दश कक्षामा पढ्नुहुन्थ्यो । पछि वहाँले एमएस्सी गरी रंगुन युनिभर्सिटीमा प्रोफेसर हुनुभयो भन्ने कुरा नेपाल आएपछि थाहा पाएँ ।

(‘कथाकार रोहित दहालद्वारा संकलित एवं प्रकाशोन्मुख पुस्तक ‘दुर्गाप्रसाद दाहाल : आत्मवृतान्त’ बाट)

 

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.