साहित्यपोस्ट डट कम

‘बुङ्वाखा’काे सम्पादक सम्मानित

‘बुङ्वाखा’काे सम्पादक सम्मानित

बान्तावा भाषाको साहित्यिक पत्रिका ‘बुङ्वाखा’ (फूलबारी) का सम्पादक पदम राई ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान–२०८३’ बाट सम्मानित हुनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवका अवसरमा असार १३ गते आयोजित कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

उक्त अवसरमा सङ्घका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरणोपरान्त तथा नुवाकोटबाट प्रकाशित ‘सङ्गम’ साहित्यिक पत्रिकाकी सम्पादक सुमित्रा सुमीलाई पनि सम्मान गरिएको थियो ।

भोजपुरको हतुवागढी गाउँपालिका–२, रानीबासमा २०३२ चैत ३ गते जन्मिनुभएका पदम राईले त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले २०६१ सालदेखि बान्तावा भाषा, साहित्य र संस्कृतिलाई केन्द्रमा राखेर ‘बुङ्वाखा’ मासिक पत्रिका नियमित रूपमा प्रकाशन गर्दै आउनुभएको छ । २०८३ जेठसम्म आइपुग्दा पत्रिकाले २५५औँ अङ्क प्रकाशित गरिसकेको छ ।

लेखक, सम्पादक, प्रकाशक, वितरक तथा व्यवस्थापकका रूपमा परिचित राईले मातृभाषा साहित्यिक पत्रकारितालाई पूर्णकालीन रूपमा अगाडि बढाउँदै आउनुभएको छ । ‘बुङ्वाखा’को वार्षिकोत्सवका अवसरमा बान्तावा भाषामा कविता प्रतियोगिता तथा साहित्य महोत्सव आयोजना गर्ने परम्पराअन्तर्गत हालसम्म २१औँ बान्तावा साहित्य महोत्सव सम्पन्न भइसकेको छ । पत्रिकाका काठमाडौं, भोजपुर, धनकुटा, उदयपुर, खोटाङ, सुनसरी, इलाम, झापा, पाँचथर, सिक्किम र बेलायतमा प्रतिनिधिहरू रहेका छन् । साथै ‘बुङ्वाखा मूल अक्षयकोष’ स्थापना गरेर मातृभाषा साहित्यिक पत्रकारिताको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने कार्यसमेत जारी छ ।

राईका बान्तावा भाषामा ‘बुङ्वाखाआ बान्तावा यङ खुयुङु’ (कथा), ‘लादिप्मा’ (कवितासङ्ग्रह), ‘सेमुना साकेन्वा लाकछाम’ (लोकगीत), ‘हाङ्पोक सिन्मायु’ (बालसामग्री), ‘बान्तावा सचित्र शब्दसङ्ग्रह’ र ‘किरावा सान्दिवा’ (संस्मरण) लगायत कृतिहरू प्रकाशित छन् । उहाँ ‘बान्तावा शब्दकोश’ (२०८०) को सम्पादक मण्डलका सदस्यसमेत रहनुभएको छ भने दुई दर्जनभन्दा बढी कृतिको सम्पादन गर्नुभएको छ ।

त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रद्वारा तयार गरिएका बान्तावा भाषाका कक्षा १ देखि ७ सम्मका ‘आन यङ’ पाठ्यपुस्तक तथा भोजपुर र खोटाङका विभिन्न स्थानीय तहका बान्तावा भाषाका पाठ्यपुस्तकको लेखन तथा सम्पादनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

भाषाविज्ञका रूपमा राईले माझी, लोहोरुङ, जेरो, दुरा, थामी, बोटे, दराई, चेपाङ, मेचे, किसान, राजवंशी, तिलुङ, राजी, छुलुङ/छिलिङ, फाङ्दुवाली, लुङखिम र थारू भाषाको वर्णनिर्धारणमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको छ । ताजपुरिया भाषाको प्रारम्भिक व्याकरण तथा लोवा भाषाको वर्ण पुनरावलोकनमा पनि उहाँको उल्लेखनीय योगदान रहेको छ ।

राई यसअघि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ सहित विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको छ । उहाँको सम्पादनमा प्रकाशित ‘बुङ्वाखा’ मासिकले ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७०’ तथा ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९’ समेत प्राप्त गरेको छ । उहाँ हाल किरात राई प्रज्ञा परिषद्का सदस्यसमेत हुनुहुन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.