काठमाडौं । पठन संस्कृतिको प्रवर्द्धनमा सक्रिय संस्था बुकाहोलिक्सको १०८औँ शृङ्खलाअन्तर्गत मार्टिन चौतारीको सभाहलमा विशेष साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
मासिक ‘चकटी बहस’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रवासमा रहेर नेपाली साहित्यमा नयाँ आयाम थपिरहेका दुई युवा कवि नदीशको कविता सङ्ग्रह ‘हिउँद’ र डा. अनमोल कँडेलको ‘ईश्वरको कारागार’ माथि गहन अन्तर्क्रिया गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता, पर्यालेखक तथा पुरातत्त्वका सोधार्थी राजु झल्लु प्रसादले दुवै कृतिमाथि परम्परागत समालोचनाभन्दा फरक ढङ्गले पुरातात्त्विक तथा ‘जेनजी’ मनोविज्ञानको दृष्टिकोणबाट विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले कवितालाई ‘समय-अवशेष’ (टाइम आर्टिफ्याक्ट) का रूपमा बुझ्नुपर्ने धारणा राख्दै यी कृतिहरूले समकालीन समाज, मनोविज्ञान र चेतनाको गहिरो अभिलेख प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
नदीशको ‘हिउँद’ कृतिबारे बोल्दै उहाँले यसमा डार्क इकोलोजी, डिजिटल युगको एक्लोपन र हराउँदै गएको मानवीय न्यानोपनको खोजी देखिएको बताउनुभयो । मिनिमलिस्टिक शैलीमा लेखिएका कविताहरूले पाठकलाई ‘मनको हेरचाह’ गर्ने अनुभूति दिने उहाँको भनाइ थियो ।
त्यस्तै, डा. कँडेलको ‘ईश्वरको कारागार’ वैचारिक र अस्तित्ववादी प्रश्नहरू केन्द्रित कृति भएको उल्लेख गर्दै प्रसादले कविताहरूमा विद्रोही बौद्धिकता र आत्मपहिचानको खोजी प्रबल रूपमा अभिव्यक्त भएको धारणा राख्नुभयो ।
विमर्शका क्रममा उहाँले समकालीन कवितामा ‘नयाँ इमानदारिता’ को प्रवृत्ति बढ्दै गएको चर्चा गर्दै उत्तर-उत्तरआधुनिकताको संकेतसमेत औंल्याउनुभयो । साथै, कविताका केही सीमाहरू पनि औंल्याउँदै स्थानीय मिथकहरूको प्रयोग बढाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रकाशक भूपेन्द्र खड्का, बुकाहोलिक्सकी संस्थापक सगुना शाह, समीक्षक राजकुमार बानियाँ, अस्मिता अस्मिता, सिल्की मून ऋचालगायतले पनि आ-आफ्नो पाठकीय दृष्टिकोण राख्नुभएकाे थियाे ।
विमर्शले समकालीन नेपाली कवितामा देखिएका नयाँ प्रवृत्ति, चुनौती र सम्भावनाबारे गहन बहस सिर्जना गर्दै कार्यक्रमलाई सार्थक बनाएको सहभागीहरूले बताएका छन् ।

