काठमाडौं । जलरिका साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ २०८३ चार स्रष्टालाई अर्पण गरिने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष जलेश्वरी श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष सङ्गीतकार माणिकरत्न स्थापित (गीत–सङ्गीत), समालोचक प्रा. डा. गोविन्दराज भट्टराई (समालोचना), आख्यानकार नयनराज पाण्डे (आख्यान) तथा कवि मोमिला जोशी (काव्य) सम्मानित तथा पुरस्कृत हुनुहुनेछ।
प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्नुका साथै हरेक वर्ष ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ अर्पण गर्दै आएको छ ।
नेपाली वाङ्मयको उन्नयन, विशिष्ट साधक–स्रष्टाको सम्मान तथा नवोदित प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यले २०७४ सालमा जलरिका साहित्य प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानले स्थापना वर्ष २०७४ मा दुई विधाका दुई स्रष्टालाई सम्मान गरेको थियो । त्यसपछि २०७५ सालदेखि हरेक वर्ष तीन जनालाई सम्मान गर्दै आएकोमा यस वर्षदेखि चार विधाका चार स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरिएको अध्यक्ष जलेश्वरी श्रेष्ठले जानकारी दिनुभयो ।
यो सम्मान कवि द्वारिका श्रेष्ठ र उहाँकी धर्मपत्नी कथाकार जलेश्वरी श्रेष्ठले कवि द्वारिका श्रेष्ठका माता–पिता बुद्धिबहादुर श्रेष्ठ र रेशमकुमारी श्रेष्ठको स्मृतिमा स्थापना गर्नुभएको हो ।
सम्मानित स्रष्टाहरूलाई जनही एक लाख रुपैयाँ नगद तथा ढलौटको प्रतिमा प्रदान गरिनेछ । सम्मान समारोह आगामी ३१ जेठमा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ ।

