साहित्यपोस्ट डट कम

बुद्धि गुरुङ र सिर्जनाको क्षितिज

बुद्धि गुरुङ र सिर्जनाको क्षितिज

बुद्धि गुरुङ, जसको नाम सुन्नासाथ मेरो आँखामा एउटा सरल अनुहार र हातमा रङको ब्रस लिएर प्रकृतिसँग लुकामारी गरिरहेको एक अविश्रान्त यात्रीको छवि छम्छमी नाच्न थाल्छ । पोखराको स्वच्छ हावापानी र माछापुच्छ्रे काखमा हुर्किएको उहाँको कला–यात्रा आफैँमा एउटा अथक साधनाको पर्याय हो ।

मलाई लाग्छ, उहाँ रङका ऋषि हुनुहुन्छ । कला–क्यानभास र सिर्जनाको क्षितिजमा उहाँले आफ्नो कलाकर्मको धर्मलाई किञ्चित पनि बिर्सिएर अरू विधातिर हाम्फाल्नुभएको छैन । नपत्याउँदो किसिमले रङको कुशलता पोख्न सिपालु चित्रकारका रूपमा परिचय निर्माण गरिसक्नुभएका बुद्धि गुरुङ नेपाली चित्रकलाका स्थापित कलाकर्मी हुनुहुन्छ ।

साँच्चै, पोखरा आफैँमा एउटा जीवित क्यानभास हो । तर, त्यो क्यानभासलाई रङहरूको माध्यमबाट जीवित तुल्याउने थोरै शिल्पीहरूमध्ये बुद्धि गुरुङ एउटा देदीप्यमान नाम हुनुहुन्छ । सरल, सोझो र इमानदार ! यी तीन शब्द उहाँको व्यक्तित्वका गहना मात्र होइनन्, उहाँका चित्रकलाका आधारस्तम्भ पनि हुन् । उहाँको कलामा कृत्रिमपनको लेपन हुँदैन । पहाडी झरनाको जस्तै कञ्चन निश्छलपन हुन्छ ।

पानी रङदेखि जनजीवनको स्पन्दनसम्म

बुद्धि गुरुङको कला–यात्राको सुरुवाती पदचापहरू पानी रङसँगै अघि बढे । पोखराका ताल, कुहिरोले ढाकेका हिमाल र बर्खे झरीमा भिजेका गल्लीहरूलाई उहाँले यसरी उतार्नुभयो कि लाग्छ– ती चित्रहरूबाट अझै पनि फेवाको ओसिलो सुगन्ध आउँछ । तर, उहाँको सिर्जना प्रकृतिमा मात्र सीमित रहेन । बिस्तारै उहाँको ब्रसले समाजका रेखाहरू र जनजीवनका भोगाइहरूलाई छाम्न थाल्यो । क्यान्भासमा उत्रिएका ती आकृतिहरूले नेपाली माटोको सुगन्ध र मानिसहरूको संघर्षमय मुस्कान बोल्न थाले ।

रानीपौवाको त्यो कला–तीर्थ

पोखराको रानीपौवास्थित उहाँको घर र त्यहीँ रहेको ‘बुद्धिज् आर्ट स्टुडियो’ अनि ग्यालरी कुनै मन्दिरभन्दा कम छैन । त्यो ग्यालरीमा छिर्दा एउटा मौन तर मुखरित संसारमा प्रवेश गरिरहेको मैले महसुस गरेँ । अर्को कुरा परिवारै चित्रकलामा लाग्नु यौटा सुखद पक्ष हो ।

यथार्थवादी शैलीमा कोरिएका उहाँका चित्रहरूमा यस्तो जादु हुन्छ, जसले नेपाली कला पारखीलाई मात्र होइन, सात समुद्र पारिबाट आएका विदेशीहरूलाई पनि टक्क अडिएर हेर्न बाध्य बनाउँछ । उहाँको स्टुडियोमा पुग्दा महसुस हुन्छ– एकजना कलाकारले कसरी आफ्नो जीवनलाई रङ र रेखाको मन्त्रमा समाहित गर्न सक्छ । प्रकृतिका विविध स्वरूपहरूलाई कलाको आँखाले छानेर कसरी कलात्मक संरचनामा आकृतिबद्ध गर्न सक्छ भन्ने कुरा उहाँका कलामा स्पष्ट देख्न सकिन्छ ।

नेपाली कलामा जलरङ (वाटरकलर) माध्यमको लोकप्रियतालाई विस्तार गराउनमा उहाँको पनि महत्त्वपूर्ण योगदान रहेको छ । ‘मनभित्रको बस्ती’, ‘भट्टीपसल’, ‘रिक्साचालक’, ‘गाइनेको गीत’, ‘पहाडको ध्वनि’, ‘सारङ्गी’, ‘गन्धर्व’, ‘युद्धको गीत’ आदि शीर्षकमा उहाँले ‘चित्र–शृङ्खला’ नै रचना गर्नुभएको छ । यी चित्र–शृङ्खलामा नेपाली पहिचान मुखरित भएको मान्न सकिन्छ । केही वर्षदेखि आफूले कलामा परम्परा र शिल्पकला संयोजन गरी केही पृथक किसिमको कलारचना गर्दै आएको उहाँ बताउनुहुन्छ ।

प्रतिष्ठा र समर्पणको नाम

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ जस्तो गरिमामय पद सम्हालिसक्दा पनि उहाँमा देखिएको त्यो सौम्यपन र कलाप्रतिको अटुट निष्ठा वन्दनीय लाग्छ । पद र प्रतिष्ठाले उहाँको कलाकारितालाई कहिल्यै ओझेलमा पारेन । उहाँको जिम्मेवारीले नेपाली कलाको श्रीवृद्धिमा थप इँटा थप्ने काम गर्यो । परम्परागत कला र अन्य शिल्पकला विभागको विभागीय प्रमुख भएर उहाँले आफूले सकेको काम गर्नुभयो । त्यसैले उहाँ केवल एक कलाकार मात्र हुनुहुन्न, उहाँ नेपाली कलालाई विश्वबजारमा चिनाउने एक शान्त दूतसमेत हुनुहुन्छ भन्ने मेरो मान्यता छ ।

बुद्धि गुरुङका चित्रहरू हेरिरहँदा एउटा कुरा प्रष्ट हुन्छ– कला भनेको रङहरूको संयोजन मात्र होइन, यो त हृदयको अभिव्यक्ति हो । उहाँका प्रत्येक ‘स्ट्रोक’ हरूमा इमानदारिता झल्किन्छ । उहाँसँगको भेट र उहाँको कलाप्रतिको समर्पणले संसार जतिसुकै आधुनिक र जटिल भए पनि, सरलता र मौलिकता नै कलाको अन्तिम सत्य हो भन्ने तथ्य बोध हुन्छ ।

कलाकार गुरुङको पहिलो एकल कलाप्रदर्शनी २०४५ सालमा काठमाडौंस्थित नेपाल ललितकला संस्थामा भएको थियो । उहाँले अन्तर्राष्ट्रिय स्तरका कलाप्रदर्शनीहरूमा पनि सहभागिता जनाउनुभएको छ । २०५२ सालमा दक्षिण कोरियामा सम्पन्न पाँचजना नेपाली कलाकारका सामूहिक कलाप्रदर्शनीमा उहाँ सहभागी हुनुभएको थियो । बेलायत, बङ्गलादेश र इटलीमा पनि उहाँका चित्रकृति प्रदर्शित भइसकेका छन् । २०६३ सालमा काठमाडौंमा उहाँको छैटौं एकल कलाप्रदर्शनी भएको थियो । कलाकार गुरुङका चित्र रचनामा प्रायः घुर्मैलो, अँध्यारो, उज्यालो रङ–विन्यास देख्न सकिन्छ ।

उहाँका दृश्यचित्रमा पनि कलाकारको कल्पनाशीलता दृष्टिगोचर हुन्छ । राताम्मे गुराँस फुलेका जङ्गल हुन्, रूखका पोथ्रा, पहाडका अक्करे भीर अथवा पहाडका खोंच, रुखमा झुत्ती खेलिरहेका झ्याउ, लहरा सबै उहाँका कलामा साकार भएको पाइन्छ । यसबाहेक उहाँले ग्रामीण जीवनका विपन्न पक्षलाई आफ्ना सिर्जनामा समेट्दै आउनुभएको छ । गाउँबाट सहर पसेका रिक्सा चालक हुन् वा सडकमा गाउँदै हिँड्ने गाइने हुन्, ती सबै पात्रलाई उहाँले निकै आत्मीयतापूर्वक आफ्ना प्रत्येक क्यानभासमा अङ्कन गर्नुभएको छ ।

गएको वर्ष मेरो पोखरा बसाइ र बुद्धि गुरुङसँगको सामीप्य मेरा लागि अर्को अविस्मरणीय यात्रा मात्र थिएन, कला र सम्बन्धहरूको पुनरावलोकन गर्ने एउटा सुन्दर उत्सव जस्तै बनेको कुरा अहिलेसम्म पनि म सम्झिरहन्छु । उहाँको कला स्टुडियोमा नयाँ चित्रहरू नियाल्दै गर्दा मैले अनुभव गरेँ– समयको गतिसँगै बुद्धिजीको सिर्जनात्मक क्षितिज अझ फराकिलो र परिष्कृत बन्दै आइरहेको छ । क्यानभासमा रङहरूको जुन सौन्दर्य र संयोजन उहाँले पछिल्लो समय पस्किनुभएको छ, त्यसले उहाँको कला–यात्रा अब परिपक्व चरणको एउटा यस्तो उचाइमा पुगेको छ जहाँ रङहरू आफैँ बोल्न थालेका छन् । तिनलाई शब्द, व्याख्या, विवेचनाको कुनै आवश्यकता पर्दैन ।

त्यो दिन मेरा आँखा उहाँका चित्रहरूमा मात्र सीमित रहेन । उहाँको सहजता र आत्मीयताले मलाई पोखराका अन्य साधकहरूसम्म डोर्यायो । कलाकार हरेराम जोजुको निवासदेखि वरिष्ठ साहित्यकार सरुभक्तको आँगनसम्म पुग्दा र अग्रज कलाकार दुर्गा बराल (वात्स्यायान) को कलाकुटीसम्मको भेटघाटले मेरो मनमा एउटा छुट्टै ऊर्जा भरिदियो । ती भेटहरू औपचारिकता थिएनन् । वर्षौँदेखिको सम्बन्धलाई पुनः ताजा बनाउने ‘नवीकरण’ का सुन्दर पलहरू थिए ।

अन्ततः, बुद्धि गुरुङका चित्रहरूमा जति गहिराइ छ, उहाँको व्यक्तित्वमा त्योभन्दा बढी सरलता र निष्ठा छ । उहाँको स्टुडियोका ती परिष्कृत क्यानभासहरू र पोखराका मूर्धन्य स्रष्टाहरूसँगका ती सामीप्यका क्षणहरूलाई हृदयमा सजाएर म काठमाडौँ त फर्किएँ, तर मेरो मानसपटलमा अझै पनि त्यही रङ र सम्बन्धको सुगन्ध खेलिरहेको छ ।

बुद्धिजीको कला र सहृदयपनको यो संगमले सच्चा कलाकार आफ्नो क्यानभासमा मात्र सीमित रहँदैन, उसले त समाज र सम्बन्धहरूमा पनि उत्तिकै सुन्दर रङ भर्न सक्छ । उहाँको कला–साधना नेपाली कला जगत्का लागि एक अनमोल निधि हो, जसको सुवास समयसँगै अझै गाढा हुँदै जाने छ । आँखालाई रङका शीतल सौन्दर्यले तृप्त पार्ने छ । मनलाई कलाको जादुमय आकर्षणले लोभ्याइ रहने छ ।

बुद्धि गुरुङ नेपाली कला आकाशका ती नक्षत्र हुनुहुन्छ, जसको चमकले आगामी पुस्ताका कलाकर्मीहरूलाई सदैव मार्गनिर्देश गरिरहने छ । कलाको नयाँ क्षितिजको दैलो उघारिरहने छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.