साहित्यपोस्ट-नपढी सुखै छैन...

बुद्ध दर्शनमाथि ओशोका पाँच कथा

बुद्ध दर्शनमाथि ओशोका पाँच कथा

मौन : एक औषधि

बुद्धको सामु एकजना युवक आए, उनी दार्शनिक थिए । उनले बुद्धसित प्रश्न सोधे । बुद्धले उनको प्रश्न शान्तिपूर्वक सुने र भने–“एउटा काम गर । दुई वर्ष पर्ख । दुई  वर्षसम्म चुपचाप बस । त्यसपछि सोध अनि म उत्तर दिनेछु ।”

ती युवकले भने–“दुई वर्षसम्म चुपचाप बस्नुपर्ने अनि तपाईं उत्तर दिने । उत्तर थाहा छ भने अहिले नै किन दिनसक्नुहुन्न ?”

बुद्धले भने– “मलाई उत्तर थाहा छ । तर अहिले तिमी लिन सक्ने अवस्थामा छैनौ ? अहिले तिमीभित्र लिने पात्रता बनेको छैन ।  तिमी ग्रहण गर्न सक्तैनौ । म त अमृत हालिदिन्छु तर तिम्रो भाँडो उल्टो छ । अमृत व्यर्थ खेर जान्छ । तिमीले दुई वर्षमा आफ्नो भाँडोलाई सिधा पार्नुपर्छ ।  तिमी दुई वर्षसम्म चुपचाप बस ।”

बुद्धको यो कुरा सुनेर रूखमुनि बसेको भिक्षु हाँस्न लाग्यो । त्यस युवकलाई ती भिक्षुले भने–“  धोकामा नपर, सोध्नु थियो भने अघि नै मलाई यो कुरा सोधेको भए हुने थियो । किनकि तिमी यहीँ मेरो सामुबाट गएका थियौ । मलाई पनि त्यही भनिएको थियो कि दुई सालसम्म चुपचाप बस । म दुई वर्षसम्म चुपचाप बसेँ । अहिले म भित्र कुने प्रश्नै उठ्तैन । दुई वर्षसम्म चुपचाप मौन रहनुले यस्तो मजा आएको छ कि अब प्रश्नसित कुनै लिनुदिनु नै छैन । ती सबै प्रश्न गिरिसके ।  सोध्नु छ भने अहिले सोध ।  म आफ्नै अनुभवबाट यो कुरा बताइरहेको छु ।”

तर बुद्धले भने कि म उत्तर दिन्न, म औषधि दिन्छु । म उत्तर दिन्न, उपचार दिन्छु ।  म वैद्य हुँ, दार्शनिक हुइनँ । यो मेरो उपचार हो  दुई वर्ष चुपचाप बस । यो औषधि हो । फेरि दुई वर्षसम्म तिमीले जब यो औषधि उपभोग गर्नेछौ, तिमी परिपुष्ट बनिसक्छौ, त्यसपछि फेरि सोध्नू ।

र परिणाम यही भयो– दुई वर्षसम्म ती युवक– जसको नाम थियो– मौलुंकपुत्त । चुपचाप बसे । दुई साल पूरा भयो तर उनले केही सोधेनन् । उनको मनका सबै प्रश्नहरू समाप्त भैसकेका थिए ।
- - -

कठिन प्रश्न ?

कसैले बुद्धसित सोध्यो–“तपाईं को हो ?”

उनी हाँसे त्यसपछि बोले–“यो कुरा बताउन त कठिन छ ?”

तर त्यस मानिसले बहुत आग्रह गर्‍यो ।

उसले भन्यो–“केही त भन्न सकिहाल्नु हुन्छ नि, किनकि तपाईं सामुन्नेमा मौजुद हुनुहुन्छ । केही अर्थपूर्ण जवाफ त पक्कै होला ? केही न केही त हो तपाईं ।”

तर बुद्धले भने– “केही पनि भन्न सक्तिन । म छु, तर यो कुरा भन्दा पनि त्यसले मलाई असत्यमै लिएर जान्छ ।”

फेरि त्यस मानिसले अर्को प्रश्नको अर्को उपाय निकाल्यो ।

उसले सोध्यो– “तपाईं पुरुष हो या स्त्री ?”

बुद्धले भने– “यो भन्न पनि कठिन छ । कुनै बेला म पुरुष थिएँ । तर त्यतिखेर मेरो सारा प्राण स्त्रीतर्फ आकर्षित थियो । जब म पुरुष थिएँ, मेरो मन स्त्रीहरूले भरिएको  थियो र जब मेरो मनबाट  स्त्रीहरू बिदा भएर गए, त्यसको साथसाथै मेरो पुरुष पनि बिदा भएर गयो । यतिखेर म के हुँ भन्नै सक्तिन । म जान्दै जान्दिन कि म को हुँ ? र यसको परिभाषा गर्न कठिन छ ।”

(परम आनन्दका सूत्रबाट)
- - -

 नजिकै छ गन्तव्य

बुद्ध एउटा गाउँको नजिक पुगिरहेका थिए । एक किसान भेटियो । सोधे - “गाउँ कति टाढा छ ?”        

उसले भन्यो – “नजिकै छ । बस् एक दुई माइल टाढा होला ।”

दुई माइल बाटो हिँडिसकियो, गाउँको कुनै पत्तो थिएन ।

फेरि अर्को कुनै गाउँलेसित सोधियो, जुन खेतमा काम गरिरहेको थियो ।

उसले भन्यो– “बस्, दुई माइल पर छ ।”

फेरि दुई माइल हिँडियो । आनन्द धेरै रिसाउन लागे ।

उनले भने– “यस इलाकाका मानिस झुट्टो बोल्ने मानिस रहेछन् । दुई माइलको ठाउँमा चार माइल हिँडिसकियो । गाउँ आउने कुनै ठेगान छैन ।”

तेस्रो मानिससित सोधे । उसले भन्यो, “बस्, अब पुग्नै लाग्नु भयो, बस दुई माइल मात्र बाँकी छ ।”

बुद्ध हाँस्न थाले । आनन्द क्रोधित बने । बुद्धले भने– “तिमी सम्झ, यी मानिस बडा होशियार छन् । यिनीहरूले हामीलाई नथकाईकन चार माइल हिँडाइदिए । र यति कुरा त पक्का छ कि गाउँ अब नजिक आइसकेको छ । हामी गाउँदेखि टाढा गएका छैनौँ । यति त पक्का हो कि हामी जहाँको ताहीँ छौं किनकि दुई माइल– दुई माइल– दुई माइल– यो कुरा कम उपलब्धिको कुरा हो कि हामी गाउँदेखि टाढा भएका छैनौँ । कति मान्छे हिँड्दा हिँड्दै गाउँदेखि टाढा हुन्छन् ।”

त फेरि बुद्धले भने, “एउटा कुरा त पक्का छ, कि हामी त्यसै ठाउँमा छौं । कमसे कम भलै अगाडि नबढे पनि त्यो ठाउँ दुई माइल टाढा मात्र त छ । र यी गाउँका मानिस बडा होशियार हुन् । बडा दयालु छन् । त्यसमा पनि बटुवाप्रति औधी दयालु छन् । यिनैको सहारामा हामी गन्तव्यमा पुग्नेछौं ।”

परमात्मा नजिक पनि  छन् टाढा पनि । नजिक यति नजिक यसभन्दा नजिक केही हुनै सक्तैन । टाढा यति टाढा यसभन्दा टाढा अरू केही हुन सक्तैन । जब पुग्नेछौँ तब बिलकुल नजिक लाग्दछ । जबसम्म पुग्दैनौँ तबसम्म त्यसभन्दा टाढा अरू केही हुन्न ।  र गुरुको करुणाले तिमीलाई भन्नेछ– बस्, अब तिमी पुगिहाल्छौ, थोरै टाढा मात्र छ । थोरै हिम्मत । दुई कदम अरू... बिलकुल नजिक आइसकेका छौँ ।

                                      (दिया तले अँधेराबाट)
- - -

समाधिस्थ स्थिति

बुद्ध एउटा गाउँमा हिँडिरहेका थिए । केही मानिस उनलाई गाली दिइरहेका छन् । उनी हाँसेर अघि बढिरहेका छन् । केही भिक्षुले उनलाई सोधे– उनीहरूले  तपाईंलाई गाली दिइरहेका छन् । तपाईंले तिनको जवाफ फर्काउनु भएन ।

बुद्धले भने– मैले पनि कुनै बेला उनीहरूलाई गाली दिएको थिएँ होला, त्यसैको उत्तर  उनीहरू अहिले दिइरहेका छन् ।

अब पनि अघिको सिलसिला के जारी राख्नु ? जरूर मैले अघि कुनै समयमा उनीहरूलाई गाली गरेको हुँला, नत्र भने उनीहरूले यति कष्ट किन गर्थे ? अकारण त कुनै पनि कुरा घटित हुन सक्तैन । अहिले फेरि मैले उनीहरूलाई गाली दिएँ भने अगाडिको सिलसिला  जारी हुन्छ । सौदाबाजी सुरु हुन्छ । लेनादेना जारी हुन्छ । अहिले म खुशी छु । अब अगाडि उनीहरूसित कुनै लेनादेना बाँकी रहेन । अब म  अगाडि बढ्दछु ।

ठिकसित सम्झ, असलमा ज्ञानी पुरुष बोझ आफ्नो शिरमा हाल्दैनन् । त्यस बोझलाई परमात्मा उपर छोडिदिन्छन् । साँचो कुरा त यो हो कि पूरै बोझ परमात्मा उपर छोडिदिन्छन् । र जुन पुराना आदतहरूले हमला गर्छन्, त्यसलाई उनीहरू पछिल्लो कर्मका फल मानेर साक्षी भावले झेल्दछन् । त्यसमा उनीहरू कुनै दुःख पनि लिँदैनन् ! हिजो मैले गरेको थिएँ, त्यसैले यस्तो भयो ।  

(गीता दर्शन भाग–१बाट)

- - -

आफैँलाई सुनिन्छ !

बुद्धले एकदिन आफ्ना शिष्यहरूलाई भने– म जे बताउँछु तिमीहरू यो नठान्नू कि तिमीहरूले त्यही कुरा सुन्छौ । अर्थात् मैले जे बोले पनि तिमीहरूको आफ्नै मनले बोलेको कुरा सुनेका हुन्छौ ।

शिष्यहरूलाई यस कुरामा पत्यार भएन । बुद्धले एकरात त्यसको परीक्षण गरिदिए । त्यो रात दश हजार भिक्षुहरूको बीचमा एउटा चोर पनि  आएको थियो । एउटी वेश्या पनि आएकी थिई, बुद्धको उपदेश सुन्नको लागि ।

बुद्ध रोज राति धर्मदेशना गर्थे, बोली सकेपछि अन्तिम बचन हमेशा यस्तो हुन्थ्यो–“भिक्षुहरू हो ! अब जाओ । रात्रिको  काम पूरा गर्ने समय आयो । अब त्यस कार्यलाई पूरा गर ।”

रात्रिको काम थियो ध्यान । सारा जगत सुतिसक्यो अब तिमी जाग । सारा कोलाहल शान्त भयो, अब तिमी शान्तिमा डुब । अब सारा उपद्रव बन्द भयो । बजार बन्द भयो । दोकानहरू बन्द भए । मानिसहरू हिँडिसके । अब तिमी यस अमूल्य अवसरको उपयोग गर । आधा रात भन्दा ज्यादा सुन्दर समय ध्यानका लागि अरू कुनै पनि हुन सक्तैन । त दिनदिनै ध्यान गर, ध्यान गर भनेर के भनिराख्नु ? त्यसैले उनी भन्दथे– अब राति भयो, जाऊ रातिको अन्तिम काम पूरा गर ।

जब बुद्धले यो कुरा भने, चोर छटपटायो । उसले मनमनै भन्यो– ठिकै त भनिरहेका छन् । अब त यहाँबाट जानुपर्छ । आधारात हुन लागेको छ । अब आफ्नो काम गर्नुपर्छ । वेश्याले सोची– धन्य ! कसरी थाहा पाए ? यत्रा मान्छेहरूको बीचमा पनि मलाई चिने । अब म जानुपर्छ । ठिक भनेका छन् मैले आफ्नो काम पूरा गर्नुपर्छ ।

दोस्रो दिन बिहानै बुद्धले भने कि राति एउटा चोर पनि थियो यहाँ, एक वेश्या पनि थिइन् । तिमी भिक्षुहरू जब ध्यान गर्न गयौ, चोर चोरी गर्न गयो, वेश्या आफ्नो देहव्यापारमा काम गर्न गइन् । र सबै यो मानेर गए कि मैले त्यही नै भनेको थिएँ ।

तिमी त्यही कुरा सुन्दछौ जे तिमी सुन्न सक्तछौ । तिमी सुन्छौ त तिम्रै कुरा सुन्छौ । शब्द म बोल्छु, अर्थ तिमी दिन्छौ ।  शब्द त मेरो हुन्छ, अर्थ त मेरो हुँदैन । शब्द मबाट जान्छ तिम्रो पासमा, तिम्रा कानहरूमा ध्वनि पैदा गर्दछ । मेरो प्राणको अर्थ त मेरो प्राणमै छुटिबस्छ । फेरि त्यो शब्द गुन्जन्छ तिमी भित्र र जुन अर्थ संग्रहित हुन्छ त्यो तिम्रो हो ।

(आपने मालिक आपबाट)

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

पुण्य कार्की

लेखकको बारेमा

पुण्य कार्की

थप रचनाहरू पढ्नुहोस् →

पुण्य कार्की कथाकार, लघुकथाकार र निबन्धकार हुनुहुन्छ । उहाँ लामो समयदेखि प्राध्यापन (शिक्षण) र पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उनका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् र विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा उहाँका रचनाहरू नियमित रूपमा छापिन्छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.