साहित्यपोस्ट डट कम

कविता : बुद्ध आऊन् अब

कविता : बुद्ध आऊन् अब

मर्छ मान्छे यहाँ धर्मका नाउँमा

बाँच्न निर्धक्कले पाउने ठाउँमा ।

ढाल हैनन् कुनै युद्ध रोक्ने तर

मारिँदै छन् यहाँ मानिसै आखिर ।।१।

हुन् सिया या कुनै भिन्न सुन्नीहरू

धर्मका आडमा युद्ध बुन्नीहरू ।

बन्न मान्छे सकून् देवता होइन

देखिँदै छन् यहाँ दैत्यको लक्षण ।।२।

अस्त्रको होडमा युद्ध रच्दै गए

विश्वमा त्रासदी बढ्छ झन् निश्चय ।

छैन त्यो चाहना रक्तले रङ्गियोस्

शान्ति सद्भावना प्रेमले झाङ्गियोस् ।।३।

ठान्छ आफैँ ठुलो गर्छ हुङ्कार त्यो

बन्नुपर्ने सबै अन्त्यमा हो धुलो ।

काट्छ भूगोल जो खण्ड पारी जल

बाँड्छ आकाश त्यो अंशमा बादल ।।४।

शान्तको क्षेत्र यो देश नेपाल हो

दृश्य हेर्ने यही विश्व सन्झ्याल हो ।

बुद्ध जन्मे यहीँ लुम्बिनी ग्राममा

शान्तिको रोपियो बीज सर्जाममा ।।५।

छोड हत्या नहुन् त्याग हिंसा अब

बाँच्नु हो जन्मिई मान त्यो गौरव ।

जीव जीवाश्म छन् प्राणधारी जति

बाँच्न पाऊन् सबै दैवका सन्तति ।।६।

ज्ञानले ध्यानले शाधना कर्मले

बन्छ मान्छे महान् ठानियो धर्मले ।

युद्ध लड्ने कला बाँड्दथे यादव

कृष्ण हैनन् यहाँ बुद्ध आऊन् अब ।।७।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.