मर्छ मान्छे यहाँ धर्मका नाउँमा
बाँच्न निर्धक्कले पाउने ठाउँमा ।
ढाल हैनन् कुनै युद्ध रोक्ने तर
मारिँदै छन् यहाँ मानिसै आखिर ।।१।
हुन् सिया या कुनै भिन्न सुन्नीहरू
धर्मका आडमा युद्ध बुन्नीहरू ।
बन्न मान्छे सकून् देवता होइन
देखिँदै छन् यहाँ दैत्यको लक्षण ।।२।
अस्त्रको होडमा युद्ध रच्दै गए
विश्वमा त्रासदी बढ्छ झन् निश्चय ।
छैन त्यो चाहना रक्तले रङ्गियोस्
शान्ति सद्भावना प्रेमले झाङ्गियोस् ।।३।
ठान्छ आफैँ ठुलो गर्छ हुङ्कार त्यो
बन्नुपर्ने सबै अन्त्यमा हो धुलो ।
काट्छ भूगोल जो खण्ड पारी जल
बाँड्छ आकाश त्यो अंशमा बादल ।।४।
शान्तको क्षेत्र यो देश नेपाल हो
दृश्य हेर्ने यही विश्व सन्झ्याल हो ।
बुद्ध जन्मे यहीँ लुम्बिनी ग्राममा
शान्तिको रोपियो बीज सर्जाममा ।।५।
छोड हत्या नहुन् त्याग हिंसा अब
बाँच्नु हो जन्मिई मान त्यो गौरव ।
जीव जीवाश्म छन् प्राणधारी जति
बाँच्न पाऊन् सबै दैवका सन्तति ।।६।
ज्ञानले ध्यानले शाधना कर्मले
बन्छ मान्छे महान् ठानियो धर्मले ।
युद्ध लड्ने कला बाँड्दथे यादव
कृष्ण हैनन् यहाँ बुद्ध आऊन् अब ।।७।

