साहित्यपोस्ट डट कम

‘अन्धता जस्तो घातक विष केही छैन’

‘अन्धता जस्तो घातक विष केही छैन’

सत्य के हो ? सत्यलाई कसरी परिभाषित गर्ने ? हामीले सत्य ठानेका विचारहरू समयको कसीमा परीक्षार्थी हुनुपर्छ कि पर्दैन ? हामीले मान्दै आएको सत्य परिवर्तनशील हुनुपर्छ कि पर्दैन ? सुन्दै आएका सत्यमाथि समय अनुसार विमर्श गर्न आवश्यक हुन्छ कि हुँदैन ? सत्यलाई प्रश्नको तराजुमा तौलन कति आवश्यक छ ? प्रश्नको घर्म के हो ?

प्रश्न, अरूप्रति नै उठाउने विषय हो त ! प्रश्नका औँला आफैँप्रति उठाउन कति सक्छौँ ? देखिन्छ प्रश्न आफूतिर उठ्दा मान्छे तिलमिलाएको । भनिन्छ, आफ्नो जिउको भैँसी पनि नदेख्ने अरूको जिउको लिखा देख्छन् । जबसम्म हामी आफूप्रति प्रश्न उठाउँदैनौँ तबसम्म हामी सचेत हुनै सक्दैनौँ । आफूले आफैँलाई गरेको प्रश्नले हामीलाई स्पष्टताको लोकमा पुर्याउँछ ।

आज म यस्तै प्रश्नहरूको संसारमा चित्त बुझ्दो उत्तर पाएर रमाएकी छु । जहाँ आफैँलाई प्रश्न गरेर निर्धक्क उत्तर दिइएको छ, त्यो पनि बुद्धको जीवन दर्शनमाथि । सरल भाषामा लेखिएको यो पुस्तक रोचक प्रश्नोतर शैलीमा लेखिएको छ । यस कृतिले बुद्धको जीवन, उनको धार्मिक मन्तव्य, बौद्ध धर्मका दार्शनिक अवधारणा र यसका व्यवहारिक पक्ष र बौद्ध धर्मको इतिहासका विषयमा सङ्क्षिप्त प्रामाणिक जानकारी स्पष्ट पारेको छ । पुस्तक पढ्दै जाँदा तपाईं छक्क पर्नुहुनेछ किनकि तपाईंका मनमा उठेका प्रश्नहरूको चित्त बुझ्दो समन यहाँ छ ।

बुद्धको जन्मको कथा होस् या शिवको घाँटीमा बेरिएको सर्पको माला, स्वस्थानीका रमाइला कथा या कालकूट निलेका नीलकण्ठको अन्तर्य । हाम्रा धर्मग्रन्थभित्र कति कथा छ्न् कति । ती कथामा कस्तो दर्शन लुकेको छ ? ती कथाहरूले के सङ्केत गर्छन् ? बुद्धिको कसौटीमा पर्गेल्न आवश्यक रहेछ । हामीले सुन्दै आएका ती कथाहरू कति वैज्ञानिक छ्न् भन्ने पाटोलाई विवेकशील मस्तिष्कले मन्थन गर्नुपर्ने रहेछ । हाम्रा धर्मग्रन्थहरूका कुन-कुन कथामा कथाकारको स्वैरकल्पना मात्र छ ? कुन कथामा कथाकारहरूको मनगडन्ते विचार मात्र छ ? त्यो विषयमा गम्भीर भएर पुनः समीक्षा गर्ने समयमा हामी उभिएका छौँ ।

हाम्रा धर्म, परम्परा, संस्कृतिलाई पनि केलाउने, निफन्ने समयमा छौं । महाआख्यानहरू भत्किन सक्छन् भनेर स्वीकार्नुपर्ने अवस्था आएको छ । इतिहासलाई जस्ताको त्यस्तै स्वीकार्ने समय छैन । चिन्तन, मनन र अध्ययन गर्ने बेला आएको छ । दर्शनहरू कथाको कसीमा मात्र स्वीकार्ने कि बुद्धिको उज्यालो आँगनमा राखेर केलाउने ? यस्ता प्रश्नले मलाई बेलाबेला घोचिरहन्छ । सोच्थेँ धर्म, संस्कृति र संस्कारमाथि प्रश्न उठाउन ठूलै आँट चाहिन्छ तर सोही धर्म, संस्कृति र संस्कारभित्रका विश्वासिला व्यक्तिले नै प्रश्न उठाइदिएर स्पष्ट पारिदिए कस्तो हुन्थ्यो होला ! ‘बुद्ध धर्म एक बुद्धिवादी अध्ययन’, डा. भदन्द आनन्द कौसल्यायन अनुवादक उमाकान्त पौड्यालको यो कृतिले निकै सन्तुष्ट तुल्याएको छ ।

समय गतिशील छ । प्रश्नको कठघरामा प्रतिपल आजको समय दौडिएको छ । आजको युग प्रश्नको युग हो । प्रश्न उठाउन सक्नु आजको आवश्यकता हो । प्रश्नको मुहानबाटै ज्ञानको द्वार खुल्छ । गीताको उदय प्रश्नबाटै भएको हो । अर्जुनका मनमा प्रश्न नउठेको भए गीता ज्ञानबाट हामी वञ्चित हुने थियौं । गीताको जन्म सम्भव थिएन यदि जिज्ञासुको मन शान्त हुन्थ्यो भने ।

‘बौद्ध धर्म एक बुद्धिवादी अध्ययन’मा सुन्दर प्रश्नहरूको डोरीले बौद्ध दर्शनको भित्र पसेर बौद्ध दर्शनकै आकाश ओडेका भदन्त आनन्द कौसल्यायनको तर्क र बुद्धिबाट मन्थन गरिएको छ । जुन अति नै विश्वसनीय छ । यहाँ बुद्धिको समुद्रमा सत्य, तर्क र विज्ञानको मन्थनबाट निस्किएका मोतीहरू, हार बनाएर गलामा लगाउन उपयुक्त छन् ।

अनुवादक उमाकान्त पौड्याललाई धन्यवाद दिनै पर्छ । यो किसिमको चिन्तन र मन्थन पनि त गर्न सकिँदो रहेछ भनेर बुझ्ने अवसर नेपाली साहित्यमाझ उपलब्ध गराइदिएकामा । यस्ता अमूल्य मोतीहरू बटुलेर हामी माझ ल्याइदिने अनुवादकको खोज, अनुसन्धान लोभ लाग्दो छ । योभन्दा अगाडि पनि बुद्धकालीन समाजको अध्ययन अनुसन्धान गरेर सुन्दर पुस्तक हामीलाई उपहार दिनुभएको थियो । सरल भाषा र उत्कट जिज्ञासाले पुस्तकलाई सुन्दर, रोचक, सत्य, तथ्यको गहना लगाउन सफल भएका छन् अनुवादक । फाइन प्रिन्टले प्रकाशन गरेको यो कृति १५६ पृष्ठमा फैलिएको छ । रु. ६४० मूल्य धारण गरेर पनि यो कृति अमूल्य बनेको छ तर दुर्भाग्य आज हामी अरूले उठाएको प्रश्नलाई गम्भीर रूपमा सुनेर मनन गर्ने अभ्यासमा छैनौं । हामीलाई प्रश्नको औंला स्वीकार्य छैन । हामी जे छौं, त्यो नै सही हो भन्ने भावले हामीलाई जडतातिर लैजाँदैछ । जडता आजको माग हैन । यहाँ एउटा सुन्दर प्रश्न छ जुन आजको सभ्य समाजले मन्थन गर्न आवश्यक छ ।

प्रश्न – सिद्धार्थ गौतम कुन कुलमा जन्म लिए ?

उत्तर- यस विषयमा जातक अट्ठकथामा लेखिएको छ ।

“त्यसपछि महापुरुषले जन्म लिने कुलको विषयमा विचार गरे । उनले सोचे, बुद्ध वैश्य र शूद्रकुलमा उत्पन्न हुँदैनन् । लोकमान्य क्षत्रिय अथवा ब्राह्मण यिनै दुई कुलमा मात्रै उत्पन्न हुन्छन् । हिजोआज क्षत्रिय कुल नै लोकसम्मत र श्रेष्ठ मानिन्छ, यसै कुलमा जन्म लिन्छु ।”

यो भनाइ जुन मस्तिष्कको उपज भए पनि स्पष्ट छ – यो जातिवादले दूषित मस्तिष्कको मिथ्या कल्पना हो । यसमा पहिलो आपत्ति त यही हुन्छ, कुनै पनि प्राणीले आफू जन्मिनुअघि आफ्नो जन्मको विषयमा कसरी विचार गर्न सक्छ ? दोस्रो कुरा, कुनै महापुरुषले आफू जन्मिन महाकुल नै रोज्ने विषय कसरी मनमा ल्याउन सक्छन् ? संसारका थुप्रै महापुरुषले कुनै महामान्य कुलमा जन्म लिएका थिएनन् । जातिवादी सोचद्वारा दूषित यो भनाइ सबै दृष्टिले अमान्य ठहरिन्छ । यसमा ग्रहण गर्न लायक अंश यति मात्रै छ- “सिद्धार्थ गौतमको जन्म क्षत्रिय कुलमा भएको थियो (पृष्ठ ४ )।”

डा. भदन्त आनन्द कौसल्यायनका जम्मै उत्तर तथ्यपरक, तर्कसङ्गत र वैज्ञानिक छन् । यी प्रश्नहरूसँगै पाठकका मनमा उठेका प्रश्नहरू पनि सन्तुष्ट हुनेछन् भन्नेमा म विश्वस्त छु । यो पुस्तकमा २६४ वटा प्रश्न र तिनको समाधान छ । बुद्धको जन्म र बाल्यकालसँग सम्बन्धित प्रश्नको उत्तर पढ्दा नै मेरो हृदयमा तरङ्गको लहर उठ्यो । जिज्ञासाको हुरीले अरू प्रश्नतिर मलाई आकर्षित गर्यो । युवावस्था र गृहत्यागसँग सम्बन्धित पहिलो प्रश्न र उत्तरले नै मलाई सन्तुष्टि दिलायो । आज हरेक अनुयायीहरूले यसरी नै समीक्षा गर्नुपर्ने रहेछ भन्ने लाग्यो । मेरो मनमा पनि यो प्रश्न उठेको थियो ।

प्रश्न- के सिद्धार्थ सधैँ बालक नै रहे ? उनले यौवनमा प्रवेश नै गरेनन् ?

उत्तर- यस्तो होइन । जातकको (निदान) अट्ठकथामा लेखिएको छ, “क्रमशः बोधिसत्त्व सोह्र वर्षका भए । राजाले बोधिसत्त्वका लागि ग्रीष्म, वर्षा र हेमन्त तीन ऋतुका निम्ति उपयुक्त तीन ओटा महल बनाउन लगाए । ती दरबारहरू एउटा नौ तले, अर्को सात तले र तेस्रो पाँच तले थिए । त्यहाँ राजाले नाचगानमा सिपालु ४४ हजार नृत्याङ्गना नियुक्त गरे । बोधिसत्त्व अप्सराले घेरिएर देवताझैँ अलङ्कृत नारीले घेरिएर नाचगान आदि मनोरञ्जनको उपयोग गर्दै ऋतुअनुसारका प्रासदमा विहार गर्थे । राहुलमाता उनकी पटरानी त थिइन् नै । एक जना सिद्धार्थ कुमारको मनोरञ्जनका लागि ४४ हजार नृत्याङ्गनाको फौज ! उदेकलाग्दो ! ( पृष्ठ १५)।”

अन्धता जस्तो घातक विष केही छैन यो संसारमा । हामी आफ्ना निकटका सामान्य मान्छेको थोरै आलोचना पनि सुन्न सक्दैनौँ । आफ्ना मान्छेले गरेको गल्तीलाई खुल्लमखुला स्वीकार्न सक्दैनौँ । देखेको यथार्थ र सत्य कुरामा पनि मुख खोलेर बोल्न सक्दैनौँ । सार्वजनिक रूपमा विरोध गर्न हिच्किचाउँछौँ । वास्तवमा हामीले त स्वयंलाई पो धोका दिएका रहेछौँ । यहाँ बुद्धधर्मका अनन्य अध्यापन र गम्भीर विचारका विचार पढ्दा त म नतमस्तक भएकी छु । हामीले सिक्ने कुरा कति धेरै छन् यो संसारमा तर मलाई यो पुस्तक पढिसकेपछि, आफूले आफैँलाई गरिएको प्रश्न मूल्यवान् र अर्थपूर्ण हुनेरहेछ भन्ने लाग्यो ।

यस्ता तार्किक प्रश्न र उत्तर पढ्दा मेरो हृदय शान्त भयो । नयाँ चेतना उजागर पनि भयो । प्रश्न आफ्ना लागि पनि हो भन्ने दिव्यज्ञान प्रज्ज्वलित भयो । हृदय गदगद् भयो । वास्तवमा हरेक धर्मशास्त्रका कुरालाई अक्षता केलाए जसरी केलाउन आवश्यक रहेछ । धान, ढुङ्गा, भुस- बोक्रालाई चालेर, निफनेर सत्य तथ्य र तर्कको तराजुमा जोखेर मात्र स्वीकार्नु पर्ने रहेछ ।

यो पुस्तक पढेपछि मलाई यस्तो लाग्यो कुनै पनि धर्म र संस्कृतिलाई सतही रूपमा मानेका व्यक्तिहरूले मात्र उडन्ते कुरामा विश्वास गर्दा रहेछन् । जान्नु र मान्नुमा आकाश जमिनको भिन्नता रहेछ । कुनै धर्मलाई सतही रूपमा मान्नु त हावाकै भरमा उड्नु रहेछ, जान्नु नै श्रेष्ठतम् रहेछ । आजको आवश्यकता कुनै पनि सिद्धान्त, विचार, दर्शन, शास्त्र, नीति र धर्मलाई बुद्धिको तराजुमा तौलिएर केलाउन सक्नुपर्ने रहेछ । हरेक व्यक्तिले आफ्नै विचारलाई पनि बेलाबेला प्रश्न गरेर पनि नियाल्न सक्नुपर्ने रहेछ । विचार, सिद्धान्त, शास्त्र र धर्म खोल मात्र हैन जसलाई जसरी मन लाग्छ उसैगरी भिरेर हिँड्ने । यो त विवेकको मस्तिष्कले सत्य, तथ्य कुराहरू केलाएर धारण गर्ने विषय पो रहेछ । जानेका बुझेका गम्भीर अध्येताहरू वैज्ञानिक विचारबाट हरेक कुरालाई चिन्तन मनन र ग्रहण गर्दा रहेछन् । आफैँलाई चिन्नु कति महत्त्वको विषय रहेछ । आफैँभित्रको गहिराइसम्म पुगेर हरेक कुराको सत्य खोतलेका छन् यहाँ डा. भदन्त आनन्द कौसल्यायनले । नमन छ यस्ता समीक्षकप्रति ।

भनिन्छ अरूलाई एउटा औंला देखाउँदा चार औंला आफूतिर फर्किन्छ । तर हामी एउटा औंलालाई नै विशेष ठान्न अभ्यसित छौँ । अरूको चासोमा बढी केन्द्रित हुन्छौं तर आफूलाई हेर्ने फुर्सद हामीलाई छैन । जसले आफूलाई हेर्छ, जसले आत्ममूल्याङ्कन गर्छ, आत्मसमीक्षा गर्छ ऊ साँच्चै बुद्धिवादी अध्ययनको मार्गमा हिँड्न सफल हुन्छ । बुद्धि कसैको पेवा होइन । यो कुनै वादमा अटाउँदैन । बुद्धिलाई कुनै धर्ममा सीमित गर्न सकिँदैन । बुद्धि त सनातन हो । बुद्धि नै साझा धर्म हो । बुद्धि नै साझा ईश्वर हो । आजको समय बुद्धिवादी अध्ययन अनुसन्धानको समय हो ।

आफूले अनुसरण गरेको धर्म, संस्कृति र दर्शनलाई यति न्यायपूर्ण, निष्पक्ष, पारदर्शी, सूक्ष्म र विवेकपूर्ण किसिमले मन्थन गरेर वैज्ञानिक समीक्षा प्रस्तुत गर्न सक्ने शक्तिलाई सलाम गर्न पाउँदा म धन्य भएकी छु ।

बौद्ध दर्शनप्रति उमाकान्त पौडेलको अपार रुचि र आस्था छ । बुद्ध दर्शनभित्र निकै भिज्नु पनि भएको छ । मलाई पनि लाग्थ्यो …

-के बुद्ध साँच्चै जन्मिने बित्तिकै जुरुक्क उठेर सात पाइला हिँडेकै थिए त !

– महलबाट निस्किएर सिद्धार्थ कहाँ गए ?

– २९ वर्षसम्म बुद्ध घरबाट बाहिर नै निस्किएनन् ?

– जन्ममृत्यु, रोग र बुढापाबाट त्यति लामो समयसम्म बुद्ध अन्जान नै थिए त ? डा. भदन्त बडो तार्किक उत्तर दिन्छन् … ‘हातमा आइसकेको चक्रवर्ती राजाको पदवीलाई अशुचि जस्तै त्यागेर भोगको कामनारहित चित्तले आषाढ पूर्णिमा र उत्तराषाढा नक्षत्रका दिन मध्यरातमा सिद्धार्थ नगरबाट निस्किए । नगरबाहिर निस्केपछि उनलाई फेरि एकपटक नगर हेर्ने इच्छा भयो । उनले नगरतर्फ मुख फर्काएर नगर हेरेपछि आफ्नो गन्तव्यतिर अघि बढे । अट्ठकथाकारका लागि सिद्धार्थको अभिनिष्क्रमण अत्यन्तै महत्त्वपूर्ण भएकाले उनले यसलाई अनेक फूलबुट्टा भरेर रोचक र प्रभावोत्पादक बनाउने प्रयास गरेको देखिन्छ । अट्ठकथाकारको वर्णन सजीव भाषामा यस प्रकार अघि बढ्छ – त्यस बेला देवताले सिद्धार्थको अगाडि, पछाडि, दायाँ र बायाँ चारैतर्फ प्रत्येक दिशामा ६० हजार राँको बालेर उज्यालो बनाइरहेका थिए । अरू देवता, नाग, सुपर्ण (गरुड) आदिले दिव्य गन्ध माला, चूर्ण र धूप आदिले पूजा गर्दै हिँडिरहेका थिए । आकाशबाट मेघ बर्सेझैँ अविरल रूपमा पारिजात, मन्दरा आदिको पुष्पवृष्टि भइरहेको थियो । चारैतर्फ किसिम-किसिमका ६८ लाख बाजा बजिरहेका थिए । यस्तो श्री सौभाग्यको साथ हिँड्दै बोधिसत्व एक रातमा ३० योजन दुरी पार गर्दै तीन राज्यको सिमाना काटेर अनोमा नदीको तीरमा पुगे ।

यस वर्णनलाई अट्ठकथाकारको साहित्यिक मनको उडानका रूपमा मात्रै हामी सत्य मान्न सक्छौँ । अन्यथा यदि त्यो यथार्थ भइदिएको भए सिद्धार्थको गृहत्याग नै हुन सक्दैनथ्यो । के २ लाख ४० हजार राँको बल्दाको उज्यालो र ६८ लाख बाजा बज्दाको कोलाहलबीच कपिलवस्तुका बासिन्दा सुतेरहे होलान् ? उनीहरू कपिलवस्तुका नागरिक थिए, लङ्काको कुम्भकर्ण होइन । एक योजन बराबर लगभग आठ माइल १२ (कि.मि) मानिएको छ । एक रातमा ३० योजन अर्थात् २४० माइल यात्रा गरेको कुरा पनि विश्वसनीय मान्न सकिँदैन । सम्भव छ, अनोमा नदी गोरखपुर जिल्लाको औमी नदी नै होस् । कपिल्वस्तुबाट त्यस नदीको यथार्थ दुरी नाप्न सकिन्छ ( पृष्ठ २६ )। यसरी तार्किक उत्तरहरूको सुन्दर कलेवरमा पुस्तक सजिएको छ ।

बुद्ध-जन्म भूमिका बासिन्दा हामी नेपाली पनि लाभान्वित हुँदा राम्रो हुने देखिएकाले यसको नेपाली भाषामा अनुवाद गर्ने जाँगर चलेको अनुवादक पौड्यालको अभिव्यति पनि पठनीय छ ।

साझा गर्नुहोस्:
अनिता कोइराला

लेखकको बारेमा

अनिता कोइराला

अनिता कोइराला साहित्यका सबैजसो विधामा कलम चलाउँछिन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.