कवितालाई जीवन र जगतको कलात्मक अनुभूतिका रूपमा परिभाषित गर्न गरिन्छ । कविले बाँचेको जीवन र जगतलाई उसले कल्पना गरेको जीवन र जगतसँग समायोजन गरेपछि शायद कविताको जन्म हुन्छ । “कविताको जन्म जसरी भए पनि जन्मिएपछि कि त्यो कविता विश्व स्तरको कविता हुन्छ कि कवितै हुँदैन”, भन्ने कवि मनु मन्जिलको तर्कलाई आत्मसात् गर्ने हो भने कविले लेखेका सबै लेख, कविता हुनुपर्छ । पछिल्लो समय कवि अस्मिता विष्टद्वारा लिखित ‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रह पढ्ने अवसर जुर्यो । कवि विष्ट अंग्रेजी भाषा र साहित्यलाई विश्वविद्यालयका कक्षाकोठाहरूमा अध्यापन गर्ने अध्यापक हुन् । त्यसभन्दा पर जाँदा उनी सर्जकका सिर्जनाहरूमाथि विभिन्न साहित्यिक कार्यक्रमहरूमा बहस साथै समीक्षात्मक टिप्पणी गर्ने एक खरो वक्ता पनि हुन् । अनुसन्धाता हुन् । आफैँमा कवि अर्थात् सर्जक हुन् । अरुका कृति वा सिर्जना यस्तो हुनुपर्छ भनेर टिप्पणी गर्ने समीक्षक अर्थात् समालोचक स्वयंका ४५ ओटा गद्य कविताहरूको सङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ भर्खरै बजारमा आएको छ ।
यस कविता सङ्ग्रहलाई प्रेमका कविताहरूको सङ्ग्रह भने पनि हुन्छ । झण्डै दुई तिहाइ प्रेमका कविताहरू संग्रहित छन् । प्रेमभित्र मिलन, विछोड, समर्पण, पश्चाताप, सहअस्तित्व जस्ता पक्षहरूलाई सरल भाषामा वैचारिक ढंगले प्रस्तुत गरिएको छ । प्रेमका कविताहरू पढ्दै जाँदा लाग्छ, प्रेमका रूप कति धेरै हुँदा रहेछन् । कतै शारीरिक प्रेम, कतै आत्मिक प्रेम त कतै अप्राप्य काल्पनिक प्रेमको अनुभूति पाठकले गर्न पाउँछन् । प्रेमलाई यसरी मिहिन ढङ्गबाट बुझेर काव्यात्मक लेपनद्वारा सिँगार्न सक्ने कविको क्षमतालाई सम्मान गर्नैपर्छ । ‘सम्झनाको धागोमा उनेर’, ‘प्रेम वर्षामा रुझिरहेका हामी’, ‘बैँस फुलेको साँझ’, ‘तिमी आउनू’ आदि कविताहरू प्रेमका उच्च नमुना हुन् । त्यसैगरी ‘एकसर्को माया’, ‘यौवनका चराहरू’ आदि दार्शनिक प्रेम कविताका उदाहरणहरू हुन् । केही कविताका यी हरफहरू पढौँ जसले पाठकलाई कृति पढ्नैपर्ने बाध्यता सिर्जना गरिदिन सक्छ:
तिम्रो अनुपस्थितिमा
म अनन्त रात भएकी छु (सम्झनाको धागोमा उनेर)
—
मायाको तापले पग्लिन थाल्छ
बिस्तारै एक प्राचीन सगरमाथा जब
र समाहित हुन्छ ऊ
युगौँदेखि उसैको प्रतीक्षामा जमेकी हिमनदीसँग । ( प्रेमवर्षामा रुझिरहेका हामी)
—
ढल्न लागेको
साँझ जस्तो मेरो जीवनमा
उसले बिहानीजस्तो यौवन फुलायो । (बैंस फुलेको साँझ)
‘ब्ल्याकहोलमा गीतहरू’ भित्र प्रेमबाहेक कारुणिक कविताहरू पनि छन् । जसले परिवारका सदस्यहरू गुमेपछिको रिक्तता, यादको बाढी, सहनै पर्ने कारुणिक क्रन्दन आदिलाई प्रस्तुत गरेका छन् । ‘बिदाइ आमा’, ‘सम्झनाको तोरणमा टाँगिएका बा’, ‘रातो सम्झना’ आदि कविताले आम पाठकले देखेका र भोगेका सत्यहरूलाई यति मार्मिक ढङ्गबाट भिजाइदिन्छन् कि पाठक पढ्दापढ्दै टक्क अडिन्छन् । परदेशतिरै पतिले चोला बिसाएपछि स्वदेशमा विक्षिप्त बनेकी पत्नीको कारुणिक चित्कारलाई कविले यसरी चित्र जसरी प्रस्तुत गरेको पाइन्छ:
जब छोडी गयौ तिम्रो ढुकढुकीलाई तिमीले
मुर्दाजस्तै चिसो हृदय भएकाहरूमाझ
तिनैले निचोरे, कुच्याए, पोखिदिए
मेरो रातो रहर
उडाए, खुइल्याए मेरो रातो अस्तित्व
लत्पत्याए मेरो सपनाको सुन्दर क्यानभास । (रातो सम्झना)
समाजमा सबै मान्छेहरू असल मात्र हुँदैनन् । समय समयमा कुपात्रहरूको जन्म हुन्छ । जो यतिसम्म क्रूर हुन्छन् कि, युगौँसम्म त्यसको असर फैलाउन सक्तछन् । यस्ता मान्छेहरूबाट सचेत रहनुपर्ने कुरा कवितामा पढ्न सकिन्छ । कविले ‘हरेक युगमा जन्मन सक्छन् कुपात्र’ कवितामा कुपात्रको चरित्रलाई यसरी चित्रित गरेको पाइन्छ:
हरेक युगमा जन्मन सक्छ कुपात्र
जो जन्मनुअघि नै बुन्छ शायद
शकुनिको भन्दा कुटिल चाल
धुजाधुजा पार्छ मानव सभ्यता
चपाउँछ माकुराको बच्चाझैँ आफ्नी आमाको स्वाभिमान ।
कवि विष्टका कवितामा आात्मविश्वास, उत्साह र उत्प्रेरणा पनि उत्तिकै सशक्त रूपमा प्रस्तुत भएको पाइन्छ । नेपाली समाजमा आमाहरू अर्थात् महिलाहरू पछाडि परेका थिए तर अब उनीहरू पछाडि छैनन् । आफ्नै कर्मद्वारा अगाडि आउन थालेका छन् । चाहे भने जस्तासुकै कार्यहरू पनि गर्न सक्छन् भन्दै महिला सशक्तिकरणका बेजोड नमुनाहरूलाई कवितात्मक बिम्बमार्फत उजागर गरेको देखिन्छ । नारीवादभन्दा पनि नारीचेतलाई प्राथमिकता दिएझैँ लाग्छ । वर्षौंदेखि पितृसत्ताबाट अस्तित्वविहीन भएर साधनको रूपमा बाँच्नु परेको नारी कथालाई कविताको विषयवस्तु बनाएको पाइन्छ । सङ्ग्रहमा ‘विनिर्मित पहिचान’, ‘आमाहरू निरीह हुँदैनन्’, ‘कुरूप सभ्यता’ जस्ता कविताहरू यसैका उल्लेख्य उदाहरणहरू हुन् ।
‘ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रहका ७/८ ओटा कविताबाहेकका सबै कविताहरू दार्शनिक कविता हुन् । कविताका शीर्षकबाटै पाठकले यो कुरालाई बुझ्न सक्छन् । कवितामा अङ्ग्रेजी शब्दहरू प्रयोग भएका छन् । मिथकीय विम्बहरूको प्रचुर प्रयोग गरिएको छ । केही कविताहरू त यस्ता छन् कि बिम्बको लस्कर लाग्छ । जसले पाठकको हृदयभन्दा बढी मस्तिष्क मन्थन गराइदिन्छन् । ‘ह्वाट्सएपमा अश्वत्थामाको मेसेज’, ‘हिंस्रक छाया’, ‘आगोको बिउ’, ‘दोहोरो मृत्यु’, ‘मेटामोर्फोसिस’ आदि दार्शनिक चेतले भरिएका बेजोड कविताहरू हुन् । यी कविताले मानवीय अस्तित्व, यर्थाथता, विसंगतिपूर्ण जीवन, विनिर्माणवादी चिन्तनजस्ता पक्षहरूलाई समेटेको पाइन्छ ।
विष्टका कविता कुनै एक समय, कुनै एक परिस्थिति वा कुनै एक प्रसङ्गमा मात्र सीमित छैनन् । समय वा परिस्थिति परिवर्तन भएसगैँ थुप्रै कविका कविताहरू हराएर जान्छन् अर्थात् पाठकले खोजी गर्दैनन् । तर ‘ब्ल्याकहोलमा गीतहरू’ भित्रका कविताहरू युगौँयुगसम्म पढिरहने देखिन्छन् । जसको कारण हो कविले कुनै जात, भाषा, धर्म, भूगोल, समयभन्दा माथि उठेर मानव जीवन र जगतका कविता लेखेको पाइन्छ । त्यसमा पनि प्रेमलाई प्राथमिकता दिनु कवितालाई अझै जीवन्त बनाउनु पनि हो ।
यस सङ्ग्रहभित्रका कविताहरू सामान्य पाठकभन्दा पनि कवितालाई खोजी गरेर पढ्ने पाठकका लागि लेखिए जस्ता लाग्छन् । कविताको भाषा सरल जस्तो लागे पनि बिम्ब र प्रतीकहरूको प्रयोग अत्यधिक गरिएको हुँदा कतिपय कविता बुझ्न सामान्य पाठकलाई भने हम्मेहम्मे नै पर्ने देखिन्छ । कविताको पूर्ण पठनबाट मात्र भाव ग्रहण गर्न सकिन्छ । कविता सरल हुनुपर्छ, सबै पाठकले बुझ्ने गरीको हुनुपर्छ भन्ने हो भनेचाहिँ विष्टका कविताहरू यस अर्थमा पूर्ण भने छैनन् । कुनै कुनै कवितामा पाठकले शब्दकोश पल्टाउनै पर्ने देखिन्छ । भाषिक शुद्धाशुद्धीको अवस्था केही कविताहरूमा माहासागर/महासागर (पृ.५३), तृसित/तृषित (पृ.१५) जस्ता त्रुटिहरू भेटिन्छन् । ‘नीरमायाहरू’ शीर्षकको कवितामा नीरमायामात्रै भेटिन्छिन् किन नीरमायाहरू भनियो होला भन्ने लागिरहन्छ ।
कविता सङ्ग्रहको नाम नै ‘ब्ल्याकहोलमा गीतहरू’ छ । ‘ब्ल्याकहोल’ शब्दले ब्रह्माण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षणशक्ति भएको अन्धकारमय अदृश्य भागलाई बुझाउँछ । यस अर्थमा कृतिलाई हेर्दा यहाँका कविताहरू ती अदृश्य भागहरूका गीत हुन्, जो कमै लेखिएका छन् र हरेक पाठक आकर्षित हुन्छन् । पाठक कविता पढेपछि कहिल्यै नपुगेको ठाउँ पुग्छन् । सङ्ग्रहमा प्रेमको विषयवस्तु प्रमुख रूपमा छ, तथापि देश, समाज, वैश्विक परिवेश, विकृति र विसङ्गति, प्रकृति, नारीवादी चेतना आदि पक्षहरू पनि पढ्न पाइन्छ । कवितामा बिम्बप्रतीकहरूको प्रयोग बढी भए पनि कविको काव्यात्मक क्षमताले गर्दा कविताहरू सलल बगेका छन् । गद्य कविता भए पनि लयचेत पनि उत्तिकै प्रभावशाली देखिन्छ । पछिल्लो समय नेपाली काव्य जगतले समयसँगै बग्दै बग्दै जाने र युगौँसम्म पढिरहने कृति पाएको छ, अर्थात् यी कविताहरू वर्तमान समयमा मात्र पढिने कविताहरू होइनन् । यो सुन्दर कृतिका निम्ति कविलाई हार्दिक बधाई ।

