साहित्यपोस्ट डट कम

वियोगीलाई चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार

वियोगीलाई चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार

पोखरेली स्रष्टा तथा छन्दनायक माधव वियोगीलाई चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

चितवन साहित्य परिषद्ले कृति मूल्याङ्कनका आधारमा प्रदान गर्ने उक्त पुरस्कार वियोगीको २०८२ सालमा प्रकाशित महाकाव्य ‘काव्यतपसी’का लागि प्रदान गर्न लागेको हो ।

साहित्यकार तथा समाजसेवी जीवा लामिछानेले आफ्ना मातापिताको सम्मानमा चिसापमार्फत वितरण गर्ने गरी स्थापना गरेको पुरस्कारका लागि २०८२ सालमा प्रकाशित भई मूल्याङ्कनार्थ पेस भएका कृतिमध्ये ‘काव्यतपसी’लाई उत्कृष्ट ठहर गरिएको परिषद्ले जनाएको छ ।

वियोगीलाई ५० हजार ४५ रुपैयाँ राशिको पुरस्कार भानुजयन्तीका अवसरमा असार २८ गते भरतपुरमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ । सोही समारोहमा बुनु लामिछाने, गायत्री श्रेष्ठ र शान्ति शर्मालाई पनि सम्मान गरिने जनाइएको छ ।

छन्दनायक वियोगी यसअघि असार २१ गते काठमाडौंमा डायमनशमशेर प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उहाँले पल्लव साहित्य पुरस्कार, छन्दरथी पुरस्कार, जसुन्धरा पुरस्कार, राधालक्ष्मी पुरस्कार, प्रतिभा पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार तथा महाकवि देवकोटा पुरस्कारलगायत डेढ दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

दश महाकाव्यसहित ४२ वटा पुस्तकका स्रष्टा वियोगीले नेपाली भाषाको श्रीवृद्धिमा लामो समयदेखि संस्थागत रूपमा पनि योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँ चिसापबाट दोस्रो पटक पुरस्कृत हुन लाग्नुभएको हो । यसअघि २०६२ सालमा उहाँको ‘छन्दशिरोमणि’ महाकाव्यलाई चितवन साहित्य परिषद्ले कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार प्रदान गरेको थियो ।

जनप्रिय बहुमुखी क्याम्पसका पूर्वप्रमुखसमेत रहनुभएका वियोगी छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानका सञ्चालक हुनुहुन्छ । उहाँ गृह पुस्तकालय अभियानका गण्डकी प्रदेश संयोजकसमेत हुनुहुन्छ भने छन्द विश्वविद्यालय स्थापनाका लागि पनि सक्रिय रहँदै आउनुभएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.