काठमाडौं । जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यस वर्षका लागि प्रदान गरिने दुई राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा बसेको बैठकले साहित्यकार विश्वप्रेम अधिकारी र भैरव सांस्कृतिक संरक्षण समिति (गम प्याँख), पोखरालाई यस वर्षका पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले ‘धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार’ नेपाली लोकसंस्कृति र साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्याएका स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गर्ने भएको छ ।
वि.सं. १९९९ साल साउनमा स्याङ्जाको पुतलीबजार–१० मा जन्मिएका अधिकारीका कविता, काव्य, कथा, निबन्ध, संस्कृति, समीक्षा तथा कथासहित ११ वटा कृति प्रकाशित छन् । उहाँले कल्याणी, रहर र रजस्थल लगायतका साहित्यिक पत्रिकामा प्रधानसम्पादक तथा सम्पादकका रूपमा कार्य गर्दै साहित्यिक पत्रकारितामा पनि उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
उहाँ यसअघि शङ्खनारायण साहित्य पुरस्कार, कालीगण्डकी साहित्य–कला पुरस्कार, बालनरसिंह–सुवर्णकुमारी साहित्य पुरस्कार, पल्लव भाष्कर लामिछाने साहित्य पुरस्कार, त्रिमूर्ति पुरस्कार, नेत्रशोभा स्मृति पुरस्कार, तुलसीराम स्मृति पुरस्कार, कृष्णमुना साहित्य पुरस्कार, नई धनरूप पुरस्कार, नरेन्द्र शर्मा साहित्य पत्रकारिता पुरस्कार, वी.डी. त्यागी साहित्य पुरस्कार, भैरव भाषा–वाङ्मय पुरस्कार तथा टिमुरको झोल कथासङ्ग्रहका लागि उत्कृष्ट कथाकृति पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । हाल उहाँ पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका कुलपतिका रूपमा कार्यरत हुनुहुन्छ ।
त्यसैगरी ‘धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कार’ नेपाली लोकगीत र मौलिक संस्कृतिको संरक्षणमा छ दशकभन्दा बढी समयदेखि सक्रिय भैरव सांस्कृतिक संरक्षण समिति (गम प्याँख), पोखरा लाई प्रदान गरिने भएको छ ।
समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली मौलिक कला, संस्कृति र विशेषतः भैरव नृत्यको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । नेवार समुदायको अग्रसरतामा सञ्चालन हुँदै आएको भैरव नृत्यलाई संस्थागत रूपमा व्यवस्थित गर्न वि.सं. २०२९ मा समिति स्थापना गरिएको थियो । प्रारम्भमा १२ वर्षको अन्तरालमा प्रदर्शन हुने यो नृत्य पछिल्लो समय प्रत्येक ६ वर्षमा आयोजना हुँदै आएको समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिनुभयो ।
भैरव नृत्यमा भैरवसहित काली, इन्द्रायणी, बाराही, कुमारी, वैष्णवी, ब्रह्मायणी, गङ्गा, गणेश, दागिनी, भुच्चा र कवाङ गरी १२ पात्र रहने परम्परा छ । यही कारण यो नृत्य ‘बाह्र भैरव नृत्य’का नामले पनि परिचित छ ।
प्रतिभा छनोटका लागि अग्रज पत्रकार तथा साहित्यकार कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा साहित्यकार असफल गौतम र कुञ्जराज थापा सदस्य रहेको तीन सदस्यीय छनोट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको अध्यक्ष मदनराज थापाले जानकारी दिनुभयो ।
दुवै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार जनकवि केशरी धर्मराज थापाको जन्मजयन्तीका अवसरमा साउन १ गते पोखरामा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

