मूल: यास्मिन गुणरत्ने
अनुवाद: गोविन्द गिरी प्रेरणा
मेरो लोग्नेलाई आफ्नो ‘इमेज’ सम्बन्धी समस्या थियो । अष्ट्रेलिया आउनुअघि मलाई थाहा थिएन, ऊसँग कुनै ‘इमेज’ पनि थियो सुत्ने कोठाको ऐनामा देखिने प्रतिबिम्ब र चउरमा देखिने छाया बाहेक । तर अहिले देखियो उसले एउटा ‘इमेज’ प्राप्त गरेको छ र त्यसैले समस्यासँग सम्बन्ध राखेको छ । मैले जतिसुकै बाहिर राख्न खोजे पनि उसले सोच्यो – सारा अष्ट्रेलियालीहरूमा ऊ अनौठो देखिन्छ ।
मेरो हिन्दूत्वले भरिएको दिमागले पकड्नै सकेन यी समस्या आखिर के हुन सक्छन् । भगवान शिवका इमेजहरू श्रीलङ्काका मन्दिरहरूमा छन् । उनी विविध रूपमा देखा पर्छन् र हामी उनलाई जुनै रूपमा पनि पुज्न सक्छौं । हरेकले यो जान्दछन् । मेरी आमाले मलाई त्यही रूपमा लोग्नेलाई पुज्न सिकाएकी थिइन् । मैले सधैं उनको त्यस पाठलाई विशेष गरी मेरो लोग्ने विचलित भएको बेला पछ्याउने प्रयास गरेकी छु । यसैकारण मैले उसका यी समस्याहरूका बारेमा ज्यादैज्यादै नै ध्यान दिएर होशियारी पूर्वक सुनें । तर उसले देख्यो – म कति चकित थिएँ र उसले अधैर्यका साथ जिब्रो फट्कार्यो ।
“हो” उसले भन्यो- “हामी एशियाली हौं, तिनीहरू अष्ट्रेलियाली ! जब अष्ट्रेलियालीहरू हामीसँग भेट गर्छन्, पहिला तिनीहरू के देख्छन् ? हामीबीच फरक !”
“तर हामी त यहाँ एशियाली हैनौं” मैले भनें, “अष्ट्रेलियालीहरू जब एशियाली भन्छन्, तिनीहरूको मतलब वास्तविक एशियाली भन्ने हुँदैन, हाम्रो जस्तो । तिनीहरू किङकोङका कुरा त गरिरहेका हुन्छन् – सबै जान्दछन् – हामी किङ कोङ होइनौं ।”
“मैले तिमीलाई हजारपल्ट भनें किङकोङ नभन,” मेरो लोग्नेले फर्केर भन्यो, “तिनीहरूको सभ्यता हामीले भनेजस्तै कहाँ छ त ? अष्ट्रेलियालीहरू एक किसिमको एशियाली र अर्को किसिमको मूर्ख एशियाली बीचको भिन्नताको त्यस्तो कुनै सीमारेखा कोर्न, छुट्याउन सक्दैनन् । अष्ट्रेलियालीहरू कहिल्यै धेरै मुलुक शासन गर्ने एउटै शासक अन्तरगत थिएनन् ।”
“आफ्नो मुलुक श्रीलङ्का र मानिलिऊँ भारतमै पनि कुन केन्द्रबिन्दु हो एशियाली समाजको जसलाई हामी सधैं सुदूर पूर्वका जनता भन्छौं ‘किङ कोङहरू !’” मेरो लोग्ने भन्छ – “यो भन्ने प्रवृत्ति हो । त्यो प्रवृत्ति अंग्रेजबाट सिक्यौं हामीले, हाम्रो वेलामा उपनिवेश छँदा र अब त्यसलाई पूरै अस्वीकार गर्नु पर्दछ । हामी अब त स्वतन्त्र भएका छौं । तर पश्चिमको परिवारबाट आएको ऊ जस्तोलाई यी सब कुरा थाहा हुने कुरै भएन । कुनै पनि यस्तो कारण छैन ‘किङकोङ’ भन्ने प्रवृत्तिको लागि । भारत र श्रीलङ्कामा यस्तो प्रवृत्ति नै छैन । जातिपाती र रङ्ग भन्ने कुराका लागि कुनै त्यस्तो निश्चित ठाउँ छैन । जहाँ दैवी योजना अन्तरगत झैं सबथोक सुन्दरतापूर्वक यथावत चलोस्। यो सबैले जान्दछन् । हुनता पश्चिमेलीहरू भिज्न सक्दैनन भन्ने भनाई छ र त्यसरी नै दुःखकासाथ भन्नुपर्ने हुन्छ पश्चिमीकृत एशियाली लोग्ने जस्तो । मेरो लोग्नेजस्तो ।
यस्तो पश्चिमेली हुन खोज्दा मेरो विपरीत मेरो लोग्ने अर्ध शाकाहारीसम्म भएको छ । त्यसैले स्वभावतः उसका सबै जस्ता धारणाहरू पनि अर्ध एशियाली भन्नका लागि मात्र छन् । म धेरै भान्सामा हुन्छु । कारण यहाँ अष्ट्रेलियामा हाम्रा कुनै नोकर चाकर छैनन् । एकदिन म मेरो लोग्नेलाई पिरमोण्टबाट किनेर ल्याएको झिँगेमाछा तार्दै थिएँ । माछा बजारहरूले मेरो दिमागमा यस्तो विचार ल्यायो, हामी जस्ता सच्चा एशियालीको लागि स्वर्णिम मध्यस्थितिको जन्म भएको होला । निश्चय नै त्यो सुन्दर मानिसले यही कुरा रेडियोमा सधैं बोलेजस्तो म प्रवृत्तिवादी होइन । तर यस्तो देखिन्छ कहिलेकाहीं पश्चिमेलीहरू र किङकोङ [सुदूर पूर्वेलीहरू – मेरो मतलब ] बढी अमिल्दा देखिन्छन् । साँच्चै अत्यन्तै रोमाञ्चकारी भने हैन ।
मेरो लोग्ने भन्छ- “हामी एशियालीहरू, रङ्गप्रति बढी प्रवृत्तीवादी छौं ।” भैगो उ त्यति धेरै गलत नहोला । हाम्रा मानिसहरू रङ्गप्रति त्यति प्रवृत्तीवादी छैनन् । तिनीहरू केवल पौराणिक र पवित्र प्रथालाई सम्मान गर्छन् र त्यसको आफ्नै परिभाषा छ सुन्दरता कुन हो र कुन होइन । विवाहले मेरो घरमा विशेष महत्व राख्तछ । म सधैं यसकारण खुशी छु कि मेरो सादा चरित्र सधैँ नै छायामा परेको छ । अत्यधिक मात्रामा । म देख्दछु यहाँका ‘सन ट्यान क्रिम’ उत्पादकहरू यसलाई प्राकृतिक स्थान भन्दछन् । अष्ट्रेलियाली स्वास्नीमान्छेहरू हरेक हिउँद यो किन्न मरि मेट्छन् ।
जे होस्, व्यक्तिगत रूपमा म बस्तुवादी होइन । किनभने निश्चय नै तिमी जस्तो रङ्गमा छौ, त्यही रूपमा जन्मेका हौ । तिमीले यसलाई आविष्कार गर्ने त होइन । व्यक्तिगत रूपमा मैले हेर्ने बाटो मै मन पराउँछु । यसलाई मैले कहिल्यै थपघट गर्ने कुरा पनि आउँदैन । हाम्रो अष्ट्रेलियाको शुरूका रोमाञ्चकारी हप्ताहरूमा मेरो लोग्नेले मलाई ‘स्वर्णिम सुन्दरी’ भन्ने गर्थे जति वेला अष्ट्रेलिया स्वयम् नयाँ र सुन्दर लाग्थ्यो । तर कति छिट्टै ऊ बेखुशी भएको थियो ।
भान्सामा हुँदा रेडियो सधैं मसँग हुन्थ्यो र मैले मिष्टर केजीलाई सुनिरहँदा एकदिन मलाई अचानक यस्तो लाग्यो कि अष्ट्रेलियाली शब्दाबली सुधार्न लगाएर उसलाई सकारात्मक बाटोमा ल्याउन सकिन्छ । मैले एउटा नोटकापी किनें । भान्सामा रेडियो पछाडि राखें र जब ७५/८५ अथवा ९५ प्रतिशत अष्ट्रेलियालीको प्रतिनिधित्व गर्ने खालको अपरिचित शब्द भन्ने लाग्थ्यो – म टिपिहाल्थें । यसरी म नयाँ रोचक शब्दहरूसँग यथार्थमा परिचित हुन पुगें ।
कुनै शब्द मलाई आश्चर्य लाग्दो हुन्थ्यो । जस्तै ‘वास्टार्ड !’ यो शब्द मैले एउटा भोजमा मेरो लोग्नेको साथीले भनेको सुनेकी थिएँ । मैले भोज खान डाक्ने महानुभावलाई सोधें, उसले भन्यो, “अष्ट्रेलियालीहरू स्नेहको रूपमा यो शब्द प्रयोग गर्छन् ।”
प्रोफेसर क्लष्टर उनले भनेका सबै कुराको पुछ्रे नोट मन पराउँथ्यो । उनले एउटा कथा भने अष्ट्रेलियाली प्राज्ञिकहरूको बारेमा । कसरी क्र्याम्विजका भोजहरूमा खुल्ला रूपले’ वास्टार्ड’ शब्दको प्रयोग गरिन्थ्यो । (प्रोफेसर क्लष्टर अष्ट्रेलियाली हुन् तर निश्चय नै मेरो लोग्ने झैं क्याम्ब्रिजमा शोधका लागि गएका थिए । त्यसैले उनी अष्ट्रेलियालीहरूको कथा हाल्छन् ।)
“क्षमा मित्र ।” अष्ट्रेलियालीले भनेको थियो, “यो त्यस्तो केही पनि होइन । मलाई यसको खास ज्ञान पनि छैन । हामी जसलाई पनि ‘वास्टार्ड’ भन्छौं ।” र अंग्रेजले क्वारक्वार्ती हेरेको थियो ।
ओहो प्रिय ! मैले कथा राम्रोसँग भनिन क्यारे । म प्रोफेसर क्लस्टरले जस्तो त सक्दिन नि ! तर विश्वास गर म कोसिस गर्दछु । म सधैं अभ्यास गरिरहन्छु । र म पहिलोपल्ट अष्ट्रेलिया आएको भन्दा कता हो कता राम्रो भइसकेको छु । प्रोफेसर क्लस्टरका शब्दावली राम्रा छन् र अष्ट्रेलियालीका राम्रा अर्थहरू छन् । “मिठो न्यानो स्वागत छ ।” मेरो लोग्नेको भनाइमा अष्ट्रेलियालीहरूले मानिसहरूलाई ‘बास्टार्ड’ भन्नु ठिकै हो भन्ने लाग्छ । यो भन्दा भन्दै ऊ हाँस्यो । म पनि हासें । वास्तवमा म यी सब कुरामा पटक्कै खुसी थिइन । हामी एशियालीहरू सबैलाई राम्रो आदर गर्छौं । र यो ‘बास्टार्ड’….। भैगो, त्यतिवेला म स्नेहवत ठानिरहेको थिएँ रोनाल्ड ब्ल्याकस्टोनले बाहेक । मैले कुनै बेला उसलाई ‘बास्टार्ड’ भनेको थिएँ तर स्नेहबस होइन ।
रोनाल्ड ब्ल्याकस्टोन समाजशास्त्रका प्रोफेसर हुन् । विश्वविद्यालयमा उनी ‘शेरे सिड्नी’ मानिन्छन् । यसकारण उसले भन्यो- “एशियालीहरूले” (सुदूर पूर्वेलीहरू उसको भनाइ सम्भवतः यस्तो हुनुपर्छ) – उसले टेलिभिजनमा भन्यो, “मासु पोलेर वातावरणलाई प्रदूषित पार्छन् र हामी अष्ट्रेलियालीहरूले” उसले भन्दै गयो, “हाम्रो समाजमा भिज्न नसक्ने एशियालीहरूलाई त्यो खतराबाटबाट मुक्ति दिनु पर्छ ।“
हप्तौं पछिसम्म अखबारहरूले प्रोफेसर ब्ल्याक स्टोनले अष्ट्रेलियाको आप्रवाससम्बन्धी नीतिको बारेमा बोलेका कुराहरू- प्रशंसाहरू प्रकाशित गरे । त्यसै पछि त हो मेरो लोग्नेको ‘इमेज’ सम्बन्धी समस्या शुरू भएको । मैले रेडियो होशियारीपूर्वक सुन्ने र अष्ट्रेलियाली शब्दावलीमा मिहिनेत गर्न थालें । मेरो नोटकापी नयाँ शब्दावलीहरूले भरिंदै गएपछि मलाई आफ्नो काममा विश्वास लाग्न थाल्यो । जब मेरो लोग्ने एक्लै हुन्थे, मैले नयाँ शब्दावलीमा ध्यानाकर्षण गराउँथे । मैले सोचें- यसले उसलाई आत्मविश्वास जगाइदिनेछ । एकदिन उसले भन्यो- “शुभ दिन प्रिय !” मैले भनें – “म अब यौन सम्बन्धी शब्दहरूमा आइपुगेकीछु ।”
उसले यो सुन्दा झस्क्यो र अनौठो प्रभाव देखायो । अनि बाँकी साँझको लागि उसले यसलाई पन्छायो । र अर्को दिन फेरि मैले कोशिश ग रें।
“ब्ल्याकस्टोनले के भन्छ तिमी त्यसलाई किन महत्व दिन्छौ ?” उसले सोध्यो, “तिम्रो आँखा त च्यातिँदैन, टाउको त झुक्दैन ।”
त्यसपछि निराश भएर लोग्नेले मलाई पुलुक्क हेर्यो -“पिट्न खोजेकी ?”
समाजमा भिज्ने क्रममा हामीले अष्ट्रेलियाली नाम फेर्ने रीतिरिवाज सिक्न थाल्यौं । प्रोफेसर क्लस्टर भन्छन् – “यसले पुराना दिनको सम्झना गराउँछ । सन् १९३९ मा सयौं जर्मन आप्रवासीहरूले रात बित्दा नबित्दै नाउँ फेरेका थिए । मेरो लोग्नेको साथीको हजुरबुवाको घरेलु नाउँ मिकालाकिस थियो र व्यापारमा ती बदनाम थिए । त्यसैले उनले स्कटिस नाउँ राखे । दुई पुस्तादेखि तिनीहरू म्याकेन्जी भएका छन् ।
त्यसैले हामी आफ्नो नाम फेर्ने धुनमा लाग्यौं र विक्रम सिन्हा राख्यौं । पुरानो पनि केही होस् भनेर सिंह चाहिँ राख्यौं । जसको अर्थ हुन्थ्यो ‘बहादुर सिंह’ र यसको सम्बन्ध मेरो लोग्नेको सिंहाली जातिसँग थियो ।
“सिंह धेरै मन पर्यो ।” मेरो लोग्नेले भन्यो, “तिमीहरूले मलाई खतरनाक सम्झेलान् लण्डन ट्रान्सपोर्टको पन्जाबी !”
“सर्दार मुण्डी डार्लिङ !” मेरो लोग्नेले भन्यो, “सम्झ्यौ ?”
यो वेरीको एउटा पन्जाबी ठट्टा थियो जुन उसले ब्रिटिस म्युजियममा शोध गर्न जाँदा यात्रामा पत्तो लगाएको थियो । ऊ सधैं बसको टिकट त्यही फेटावाल कण्डक्टरसँग लिन्थ्यो । मैले यसलाई वेरी प्रसन्न हुने विषय ठानें । जे होस, छ, खुशी नै देखियो ।
“विभाग परिवर्तन भएको ढोकामा आज मेरो नाउँ थियो” उसले मलाई भन्यो, “हामीलाई अब विक्स भनिनेछ ।”
मलाई यो कुरा मन परेको थियो । जे भए पनि त्यो मेरो नाउँ थियो । हुन ता श्रीमती विक्स म यहाँ बोल्दैछु भन्न क्या मजा आउँछ । कसैले पनि मेरो नाउँ गलत उच्चारण गरे भन्नेछु- “ए ! यता आउ ! जिब्रो अलि घुमाएर बोल !”
सबैभन्दा पहिले हामीले आफ्नो नाउँ परिवर्तन गर्यौँ । हुन त जेन्नी मेरो वास्तविक नाउँ थिएन । मेरो साँचो नाउँ नवरन्जिनी थियो जसको संस्कृतमा ज्यादै राम्रो अर्थ थियो । मेरो लोग्नेको वास्तविक नाउँ भारत थियो जसको अर्थ हिन्दूस्तान हुन्छ । जे भए पनि के भो र । प्रोफेसर ब्ल्याकस्टोनको टेलिभिजन कुराकानी पछि ती नाउँ र तिनका अर्थहरू सबभन्दा पहिले हामीले त्याग्यौं मानौं तिनीहरू दौडिरहेका कारबाट झरे !
यस कारण अहिले हामी वेरी र जेन भयौं । स्वच्छ हुन समय लाग्यो (वेरीलाई ओछ्यानबाट उठाउन कठिनाइहरू छन् – जब भारत ओछ्यानमा हुन्छ) र मैले भनें जुनसुकै कठिन समयमा पनि जीवनको रोचक पक्ष के छ भने यदि राम्रै मिहिनेत गरियो भने पत्याउन नसक्ने काम हुन्छ ।
म सम्झन्छु, वास्तवमा मेरो पुरानो नाउँ भन्न नपराएर यसलाई परिवर्तन गर्न चाहिरहेको बेला कसैले मलाई घरमा नवरन्जिनी भनेर बोलायो ।
हामीले होल्डेनको लागि मोरिस छाड्यौं । “एउटा ठूलो नराम्रो घर” जग्गा खरिद विक्री गर्ने दलालको झ्यालबाट कसैले भन्यो, “मान्छेको इज्जतै छैन । भर्खरै बनाइएका पर्खालहरू पनि ठीक नपारिएका । एउटी स्वास्नी मान्छेले मात्र ठेगानमा ल्याउन सक्छे । सिर्फ चरमसँग, साँच्चै ।” त्यसमाथि घरको रङ्गीन तस्वीर र मूल्य थियो ।
यो महँगो थियो, कुरा अलगै हो, तर घर जीवन धान्नको लागि चाहिने ठाउँ हो र छोराछोरी छाड्न । मेरो नोटबुकले देखायो – दलालले देखाएको यो निकै सुन्दर अष्ट्रेलियाली घर थियो । त्यसैले मैले यसलाई मन पराउन तम्तयार भएँ ।
जिन्दगी यसपछि एकपछि अर्को आश्चर्यलाग्दो हुँदै गयो । अर्को कुरा के भयो भने वेरीले आफ्नो चश्मा झटारो फ्याँक्यो र कन्ट्याक्ट लेन्सको लागि हिंड्यो । यो निश्चित रूपले राम्रो कदम थियो । वेरीका आँखा राम्रा छन्, साँचै कै डरलाग्दा आँखी भौं सहित जसलाई अब तपाईं राम्रोसँग देख्न सक्नुहन्छ । ऊ यी सब परिवर्तनहरूले अत्यन्तै प्रसन्न देखियो र भोजहरूमा हातमा सुन्तलाको सर्वत लिएर ठाडै उभिएर बेइज्जती पिएको अनुभव गर्नुको साटो अब ऊसँग सुन्दर समय थियो ।
“वेरी !” एक साँझ उनलाई भनें । हामी लज विश्व विद्यालयको स्वागत समारोहमा सरिक हुने क्रममा थियौं । “तिम्रो सोचाइ अब यति ठूलो आकारमा परिवर्तन भएको छ, अब तिमी स्वास्नी समेत बेच्न सक्छौ ।”
निश्चय नै यो मेरो सानो ठट्टा थियो । सम्पूर्णमा मैले सोच्नै सकेको थिइनँ हामी यति नराम्रोसँग अस्ट्रेलियामा प्रस्तुत भइरहेका थियौं । विशेष गरी जब एउटा अग्ले सेतै कपाल भएको अष्ट्रेलियाली, जसले मलाई झ्यालबाट हरेक साँझ देख्थ्यो, मेरो कोठाको सुनौला रङ्गको सारी र त्यसलाई सुहाउने तिलक मेरो थाप्लोमा थियो, नजिक आयो र सोध्यो, “स्वाम्पेन लिने हो ?”
“मैले स्याम्पेन मन पराउँछु भनेर तिमीले कसरी थाहा पायौ ?” मैले भनें ।
“किनभने तिमीले पहिल्यै दुई वटा लिइसकेका छौ ?”
उसले भन्यो – “म तिम्रो चियो गर्दै थिएँ ।”
जे होस् यो एउटा रमाइलो भोज थियो । यसपछि मेरो अष्ट्रेलियाली शब्दावली सप्रेको थियो । धेरैजसो म घरमा हुन्थें र मेरो बारेमा छिमेकी र परिचितहरूले के सोच्छन् म बुझ्दथें ।
ऊ पछाडिबाट मेरो गिलास भर्न खोज्दै थियो ।
“म रोन ब्ल्याकस्टोन हुँ ।” उसले भन्यो ।
जब उसले सिसी फर्कायो, म वेरीतर्फ फर्कें । वेरी त्यहाँ थिएनन् । शायद ऊ ताजा हावा खान यताउति छेउ लागेको थियो । मैले चाल पाएँ, ऊ थिएन । मैले उसको सहारा खोजें ।
मेरो साथी फर्कियो ।
“प्रोफेसर स्ल्याकस्टोन” मैले भनें, “म तपाईलाई भेट्न अत्यन्त व्यग्रतासाथ पर्खिरहेकी थिएँ । हप्तौंदेखि, साँच्चै, मैले अर्थोक केही पनि सोचेकी छैन ।”
यो सुनेर ऊ प्रसन्न भयो । धेरै वेरसम्म उसले मलाई खाउँला झैं गरेर हेर्यो । मैले पत्तो पाएकी थिएँ, अष्ट्रेलियालीहरू विशेष गरी परिपक्व मानिस जसले संसार चिनिसकेका छन्, तिनीहरूमा यसको प्रभाव कस्तो पर्छ ।
“तिमी कति आश्चर्यलाग्दी राम्री छौ ।” यसो भन्दा उसले भन्यो, “मैले त तिमीलाई यहाँ एउटा विद्यार्थी झैं ठानिरहेको थिएँ ।”
एक क्षणसम्म मैले साँच्चै यही स्थिति भइरहोस् भनेर चाहें । मैले उसका आँखाका कुनाहरू प्रसन्नताले चञ्चल भएको थाहा पाएँ तर त्यो क्षण तुरुन्तै बिलायो । जसै मैले उसका नीला आँखाहरूमा चियाएँ, बितेका तीन महिनाका दुःखद घटनाहरू मेरा कानमा युद्धका सङ्केत घण्टी में बज्न थाले । “म कुनै विद्यार्थी होइन प्रोफेसर स्ल्याकस्टोन” मैले भनें – “म त्यस्तो व्यक्ति हुँ जसको जिन्दगीलाई तिमीले व्यक्तिगत रूपमा पृथ्वीमै नर्क भोग्न बाध्य गरिदिएका छौ ।”
ऊ मतर्फ झुकेर मेरो कुरा ध्यानपूर्वक सुन्दै थियो । उसका आँखा मेरा आँखामा जडित झैं भए । तर तुरुन्तै उसले पाइला पछाडि सार्यो ।
“म पनि” म भन्दै गएँ, “स्वास्नी हुँ । कसैको स्वास्नी जसको व्यक्तित्व तिमीले किञ्चित नमानी नष्ट गरिदिएका छौ ।”
ऊ सरोकारवाला झैं देखियो । “के तिमी निश्चित मान्छौ ?” उसले भन्यो, “तिमीले सोचिरहेको ठीक हो ?”
मैले गहिरो सास फेरेर शिवलाई मनमनै प्रार्थना गरें ।
“निश्चय नै मैले ठीक सोचिरहेको छैन ।” मैले जवाफ दिएँ – “म कसरी ठीक सोच्न सक्छु, जब कि मलाई साथ दिनेहरू नै मन कालो हुनेहरू छन्, गधा छन् ।” मैले सोधें – “र अर्को कुक्कुर साले रोनाल्ड ब्ल्याकस्टोन छ नि, खै त्यो ?”
कोठाको कुराकानी अचानक अन्त्य भयो । निश्चय पनि मैले स्वाभाविक नरम स्वरमा बोलेकी थिइनँ । हाम्रो शिक्षकले कोलम्बोको विद्यालयमा पढाउँदा भनेका थिए- “विदेशी भाषा विदेशी भूमिमा बोल्दा हामीले सम्झनु पर्छ प्रत्येक शब्द प्रष्ट उच्चारण गर्नुपर्छ ता कि हामी जे भन्दै छौं त्यो बुझिने होस ।” त्यसै कारण प्रोफेसर ब्ल्याकस्टोनसँग मैले चर्केर बोलेकी थिएँ ।
यो बीचको मौनतालाई मैले प्रोफेसर ब्ल्याक स्टोन को आतङ्कितअनुहार पछाडि अर्को प्रभावको वेग्लै अनुहार देखें ।
“वेरी !” मैले प्रसङ्ग अघि बढाउँदै भनें, “वेरी ! सिंहालीमा वेरी भनेको के हो थाहा छ ? प्रोफेसर ब्ल्याकस्टोन, मलाई यो बताउन देऊ ! सिंहालीमा ‘वेरी’ शब्दले असक्षम भन्ने जनाउँछ । अर्थात् रद्दी । मेरो लोग्नेलाई भारतबाट वेरी जस्तो बनाउने यो सब तिमी नै हो ।”
रुक्मिनीदेवीले श्रीलङ्काली सिनेमा ‘वेट्रायल’ मा हेरे जस्तै दृष्टि फ्याँकें मैले ।
“तिमी जनावर हौ ! नीच हौ प्रोफेसर ब्ल्याकस्टोन !” मैले भनें -“तिम्रो टाउकोमा गिदी छैन, तिमी विषालु किरा हौ।”
मानिसहरू झुरुम्म झुम्मिएर हामीलाई छोपिरहेका थिए । मेरो शब्दावली राम्रो र कठोर थियो र मलाई लाग्दै थियो मेरो आवाज मेरो नियन्त्रणमा अब छैन । यो त्यसै हुन सक्थ्यो । मलाई रिसको अग्निमा बलिरहेको अनुभव हुँदै थियो र मैले उसलाई विषालु किरा भनें । ऊ भने यो सब स्याम्पेनको कारणले भएको भन्ठान्दै थियो । किनभने उसले एउटा परिचारिकाबाट मेरो निमित्त ‘ससेज रोल’ लिएर मद्दत गर्न खोज्यो ।
यो त अति नै भयो वा ।
“तिमी कति गर्छौ ?” मैले सम्हाली नसक्नु भएर भनें – “तिमी तथाकथित समाजशास्त्री, तिमीले बुझ्नुपर्छ बङ्गुरको मासु छुनभन्दा मर्न तयार हुन्छन् वास्तविक एशियालीहरू । तिमीले यो मासुको गन्धले वातावरण नै दुषित तुल्याइ रहेछौ ।”
परिचारिका तुरुन्तै किस्ती तानेर वेपत्ता भई। मैले भनिरहें, “तिमीले मलाई ‘ससेज रोल’ दिएर के देखाउन खोजेको अनभिज्ञ झैं ! म तमील हुँ, प्रोफेसर ब्ल्याकस्टोन । एउटी हिन्दू ! पूर्ण शाकाहारी हुनुमा मेरो गर्व छ । मलाई किन त्यो दिन ल्यायौ ? एउटा सुङ्गुर खाने किङ कोङ ठानेर ?” मैले अष्ट्रेलियावासीहरूबाट सिकेका नयाँ शब्दहरू प्रयोग गर्न थालें ।
त्यो पाखण्डीलाई सम्बोधन गर्दा म गहिरो खाडलमा परे झैं भएकी थिएँ ।
“महाशया !” उसले भन्यो, “तपाईंले मलाई पाखण्डी भन्नु भयो र म बाध्य भएँ यो भन्न, तपाईंले मलाई लाजमर्नु तुल्याइदिनु भएको छ ।”
म आश्वस्त भएँ । उसले लाज लागेको स्वीकार गरिसकेथ्यो । उसले त्यसरी नै कृतज्ञता जनाइसकेको थियो र त्यसले मान्छेहरूलाई तत्काल विश्वास गरिहाल्न हुन्न भन्ने देखाइसकेको थियो । जस्तो मैले त्यसै दिन कारमा जाँदा भनें, “अनुभव अनुसार अष्ट्रेलियालीहरू पनि सभ्य हुनसक्छन यदि तिमीले चलाखीपूर्ण व्यवहार गर्यौ भने ।”
मैले नयाँ आदरसहित त्यो पाखण्डीलाई स्नेहवस हेरें । मैले सोचें, “ऊ जस्तो हुन्छ म पनि त त्यस्तै हुन सक्छु नि ! मलाई लाग्यो- मैले उसलाई उत्साहित गर्नुपर्छ यो देखाउँदै कि कसरी सही एशियाली र उनका संस्कृतिले अष्ट्रेलियालीहरूको जीवनको बाटो मिलाउन सक्छन् ।
“प्रोफेसर ब्ल्याकस्टोन” मैले हाँसेर भनें र हात जोडेर झुकें जसरी भगवान् कृष्ण आफ्ना पराजित शत्रु सामु कुरुक्षेत्रमा झुकेका थिए । “म डराएकी छु, म अहिल्यै हिंड्छु, तर म खुसी छु, हाम्रो भेट भयो । गुडवाई वास्टार्ड !”
मेरो स्नेही अष्ट्रेलियाली विदाइले उसलाई निःशब्द, आश्चर्य र खुशीमा डुबाइदियो । र त्यसैबेला देखि मैले महशुश गरें अष्ट्रेलियालीहरू सच्चामा, हृदय देखि नै सही मित्र हुन्छन् । तिनीहरू गहिरोसँग सोच्छन्, यति धेरै कि तिनीहरूको त्यो आवेग उतार्ने उपयुक्त शब्द नै पाईंदैन । म कसरी भनूँ – त्यो फेसनमा म उसलाई राम्रो ठान्छु भनौं । त्यसपछि सही शब्दहरू प्रवाहित हुन थाले मेरो मस्तिष्कमा जुन मैले आफ्नो नोटबुकमा उतारेको थिएँ । “प्रोफेसर ब्याकस्लेन !” मैले भनें “तिम्रा सबै दुर्भावनाहरू सही अर्थमा परिवर्तन होऊन् !”

