साहित्यपोस्ट डट कम

विश्वका विशिष्ट कथा- फरिया (बङ्गलादेश)

विश्वका विशिष्ट कथा- फरिया (बङ्गलादेश)

मूल: नजमूल अलाम

अनुवाद: गोविन्द गिरी प्रेरणा

काजेमाली छिटोछिटो हिंडिरहेको थियो । उसले काँधमा एउटा बोको बोकेको थियो । पोकाको एकातिर अलिकति चामल र दाल थियो । अर्कोतिर तेलको सिसी, कागजको थैलीमा अलिकति नून र कागज‌ले बेरिएको कपडा थियो । ऊ हातमा हरिया सागपातहरू र फलफूलको पोको लिएर बेच्न आएको थियो । त्यही बेचेर उसले जरूरी खाद्यान्न घरको लागि किनेको थियो । कागजले बेरेको कपडा चाहिं अरू केही नभएर एउटा फरिया थियो ।

निकै मोलतोलपछि एउटा फरिया सस्तो मोलमा किन्न सफल भएको थियो । र त्यो फरिया झगडाको बीउ नै थियो । सयौं इच्छुक ग्राहकहरूमध्ये बिसेक मात्रैले यति सस्तो मोलमा फरिया किन्न सक्छन् । काजेमाली ती थोरै भाग्यमानीमध्ये एक थियो । यो मिलमा बुनेको रातो पारि भएको फरिया थियो । पातलो बुनोट भएको यो छर्लङ्‌ग उतापट्टि देख्न सकिने खालको थियो ।

कसैले चिच्चाएर पछाडिबाट बोलाएको सुनियो, “काजेमाली भाइ ! बजारबाट फर्केको हो ?”

फर्केर हेदी उसले हाशिमपुरको नसीर मियाँलाई देख्यो । काजेमालीको नजिकै आएर नसीर मियाँले हँस्सीमा उडाउँदै भनेको थियो, “भाग्यले त तिम्रो साथ दिएकै हो बा । मैले बुझिसकें तिमीले निक्कै सस्तोमा फरिया किनेका छौ ।”

भाग्यले काजेमालीमाथि मुस्कान फ्याँकेको हो । मुश्किलले गाउँका पचास परिवारमध्ये एक वा दुई परिवारले मात्रै ‘कन्ट्रोल’बाट फरिया वा लुङ्‌गी पाउन सक्थे ।

डेढ वर्ष लामो कष्टप्रद प्रतीक्षापश्चात् काजेमालीले एउटा फरिया किन्न सकेको थियो । हीनताबोधले ऊ बरबरायो, “मैले एउटा फरिया आखिर किनेरै छाडें । जे भो राम्रै भो । तर मैले समस्याहरूसँग पनि त सामना गर्नुपर्छ । मेरा परिवार‌मा पाँचजना स्वास्नीमान्छेहरू छन् । दुई वटी साली, दुई हुर्किरहेका छोरीहरू र श्रीमती । छोरीहरू गेण्डी र नोनी आजकाल हलक्कै बढेका छन् । तिनीहरू दुवैलाई सिङ्‌गै सिङ्‌गै फरिया चाहिने भैसक्यो । बितेका अठार महिनामा तिनलाई एकधरो कपडा पनि दिन सकेको छैन । कसरी सक्थें ? जे जति तुच्छ रकम कमाउन सकें, ती सब राशनपानीमै खर्च भयो । अनि कसरी म फरिया किन्न सक्थें ? एउटा फरियालाई कम्तीमा चालीस-पचास टाका पर्छ ।’

नसीर मियाँले टाउ‌को हल्लाएर समर्थन गरेको थियो- “तिमीले ठीक भन्यौ काजेमाली भाइ ! ”

काजेमालीले हाते रुमालले चम्किलो अनुहारमा गम्भीरता ओराल्दै भन्यो, “मलाई डर लागिरहेछ, यो एउटा फरिया पाँचवटी आइमाईमाझ राखिदिएँ भने झगडा नभई छाड्ने छैन । भगवान जानून् मैले कुनै दिन यही फरियाको पासो लाएर झुन्डिनु नपरोस् !” काजेमालीले पूर्व घोषणा गर्‍यो र अस्वाभाविक हाँसो हाँस्यो ।

काजेमाली गाउँ पुग्दा घाम अस्ताइसकेको थियो । बिस्तारै चाल मार्दै उसले आफ्नो पिंढी नजिकैको मधूरो उज्यालो भएको दलानमा पाइला बढायो । अनि उसले त्यो फरिया होशियारीपूर्वक खरले छाएको पालीको अन्तरमा घुसार्‍यो कसैले नदेख्ने गरी । गला सफा गर्न उसले खाकखुक गर्‍यो र अन्तमा घरभित्र प्रवेश गर्‍यो ।

काजेमालीले कसैले नदेखिने गरी फरिया लुकाएको भए पनि केही दिन भित्रै घरका आइमाईहरूले यसको गन्ध पाए । सम्भव छ, गफाडी नसिर मियाँबाटै यो समाचारको प्रचार प्रसार भएको हो ।

काजेमालीले घरका स्वास्नीमान्छेको व्यवहारमा खास किसिमको परिवर्तन आएको अनुभव गरिसकेको थियो । कसैले पनि ऊसँग खुलेर कुरै गरेका थिएनन् । सालीहरू भिनाजुको अगाडि यसकारण पर्न चाहन्नथे कि तिनीहरूले लगाएका फरियाहरू अति जीर्ण थिए ।

जेठी साली खाना तयार गर्दथी र कान्छी साली चाहिं खाना खाने बेलामा हाते पङ्‌खा हम्केर शीतलता प्रदान गर्दथी ।

जेठी छोरी गेण्डी काजेमालीको लागि तमाखु भर्दथी र सानी छोरी चाहिं नजिकै बसेर चिलिमको आगो हेर्दथी । तर सबै उदास मनस्थितिमा थिए । गेण्डीकी आमा समेत पनि ऊसामु मुश्किलले ओठ खोल्दथी !

तिनीहरू‌को हृद‌यमा पलाएका सुन्दर आशाहरू एउटा भयानक प्रकोप झैं भित्रभित्र फैलेका थिए । सो सब निःसन्देह फरियाकै कारणले भएको थियो ।

अर्को दिन एउटा घटना घट्यो।

घरपछाडि एउटा पोखरी थियो । घरका आइमाईहरू त्यही पोखरीमा नुहाउने गर्थे । भाँडाकुँडाहरू र कपडाहरू पनि त्यही पोखरीमा धुनु पर्दथ्यो । जेठी साली एक साँझ नुहाइरहेको थिई । उसको यौवनले भरिपूर्ण देह पानीले भिजेको जीर्ण फरियामा झन् खुलेको थियो ।

काजेमाली बाँसघारीमा दिसा बसेर हातमुख धुन पोखरीतिर जाँदै थियो । टाढैबाट उसले देख्यो – मोरोलको छोरो सुरज आँखा गाडेर त्यो नुहाइरहेकी उसकी सालीको देहलाई एकनासले घुरेर हेरिरहेको थियो । त्यो ठिटो सुसेलेर अट्टहास गर्दै उसलाई जिस्क्याउँदै थियो ।

त्यो दृष्यले काजेमालीको रगत उम्लन पुग्यो ।

त्यसपछि ऊ त्यसको कठालो समाउन पुग्यो । सुरजलाई उसले साफसँग चुटिदियो ।

त्यस‌पछि गाउँको ठालू मोरोलको छोरो सुरज त्यहाँबाट छारतोस ठोकेर भागेको थियो ।

साँझ क्लान्त भएर काजेमाली खानै नखाई ओछ्‌यानमा पल्टेको थियो । तर मोरोलको दूतले बोलाउन आएपछि ऊ झटपट उठेको थियो । मोरोलले उसलाई तुरुन्त आउने आदेश दिएको थियो । मोरोलकहाँ उसले तत्कालै जानुपर्ने भयो । त्यसैले मोरोलको घरतिर त्यही दूतको पछिपछि हिंड्यो ।

काजेमालीलाई मोरोलका पाल्तु भुसतिघ्रेहरूले निर्दयतापूर्वक निर्घातसँग चुटे । सुरजलाई पिटेकोभन्दा कैयौं गुना ज्यादा पिटाइ खायो उसले । मोरोलका मानिसहरूले उसको जीर्ण लुङ्‌गी पनि धुजा धुजा बनाएर गल्लीको अँधारोमा नाङ्‌गै पारिदिए ।

काजेमाली बाटोभरि घस्रेर हिंडिरहयो… दलानसम्म… नाङ्‌गै छाती, रिस र उत्तेजनाले उम्लेर …

काजेमालीले त्यो फरिया पालीबाट निकाल्यो । त्यसै बेला उसले घरभित्र झगडा गरिरहेको एक प्रकारको कोलाहलपूर्ण आवाज सुन्यो । जेठी साली उचाल्लिएर बहिनीलाई भनिरहेकी थिई -“तैंले आफ्नो जवानीको सुन्दरता प्रदर्शन गरेर बिचरा सुकेनास भिनाजुलाई मोहित तुल्याएकी छेस् । फरिया पक्कै पनि तँ नै पड्‌काउँछेस् ।”

जेण्डीले अर्कोतिर भनिरहेको सुनियो – “वाराभावीसँग आकर्षक सुन्दरता छ । फरिया पाउन उसले त्यो सुन्दरता बुबालाई देखाउन सक्छे !”

काजेमालीले यो भन्दा बढी केही पनि सुन्न एवं सहन सकेन । त्यो फरिया हातले अँठ्याएर उसले रिसले थरथराएको छातीदेखि आर्तनाद गर्‍यो ।

अर्को दिन बिहान गाउँका सबै मानिसले काजेमालीलाई आफ्नै घर पछाडिको रूखमा नयाँ फरियाको पासो लगाएर निर्वस्त्र झुन्डिरहेको देखे ।

साझा गर्नुहोस्:
गोविन्द गिरी प्रेरणा

लेखकको बारेमा

गोविन्द गिरी प्रेरणा

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.